कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्वमा महिलालाई चटारो

पुरुषले घरेलु काम गर्न नहुने भन्ने पुरातन मान्यताका कारण महिला दृश्य–अदृश्य श्रमको मारमा परिरहेका हुन्छन् ।
साधना प्रतीक्षा

काठमाडौँ — ‘मलाई चाडपर्व आयो कि दिक्क लाग्छ, केवल एउटा बोझजस्तो ।’ ‘मलाई पनि त्यस्तै लाग्छ । पहिले सानो छँदा दसैं, तिहार, तीज कहिले आउला भनेर महिना दिनदेखि औंला भाँच्थेँ, अहिले त चाड जति नजिक आयो, उति हैरान हुन्छु ।’ 

‘त्यति मात्र हो र ? आफ्नो त ढाड दुख्ने समस्या चाडपर्वका बेला झनै बल्झिन्छ । पकाउने–खुवाउने, घरधन्दा, पाहुनाको सम्मान, नातागोता–इष्टमित्रको ख्याल उफ् π’ ‘चाडवाड लोग्नेमान्छेका लागिमात्र पो रहेछ π हामी आइमाईलाई के र ?’


दसैंका बेला बजार जाँदा गाडीमा सुनेको संवाद हो यो । उनीहरू जस्तै थुप्रै आमनेपाली महिला चाडपर्वमा रमाउन सक्दैनन् । मन मिल्ने साथीहरूसँग यसरी नै दु:ख बिसाउने गर्छन् । कुनै पुरुष चाडपर्वप्रति यसरी वितृष्णा देखाएर गुनासो पोख्दैनन् । उनीहरूका लागि चाडपर्व रमाइलो र मोजमस्तीको अवसर हुन्छ ।


कस्तो विडम्बना π एउटै सामाजिक र सांस्कृतिक परिवेशभित्र पनि महिला र पुरुषका भिन्न अनुभव–अनुभूति अनि दु:खेसा । उही सामाजिक–सांस्कृतिक अनि उस्तै पारिवारिक परिवेश भित्रका एकथरी सदस्यहरू चाडपर्वमा बेहिसाब मनोरञ्जन गर्न सक्छन्, एउटा पर्व सकिन नपाउँदै अर्को पर्वको प्रतीक्षा गर्न थाल्छन् भने अर्काथरी सदस्यहरू तिनै पर्वलाई बोझ ठानेर सकेसम्म छिटो त्यसबाट उम्किने इच्छा राख्छन् किन ?


लैङ्गिक विभेदयुक्त हाम्रो सामाजिक तथा पारिवारिक संरचनाभित्र यसरी महिला र पुरुष समान परिवेशमा पनि भिन्न अनुभव गरिरहेका हुन्छन् । पुरुष–प्रधान सामाजिक संरचना भित्रको लैङ्गिक विभेद अनि सोही अनुरूप निर्धारित भिन्न प्रकारको पारिवारिक भूमिकाका कारण पुरुष वर्ग निश्चित समय तथा कार्यक्षेत्रमा कार्यरत हुन्छन् भने महिला वर्गको कार्यक्षेत्र तथा कामको समय असीमित हुने गर्छ ।


घरेलु श्रम गर्ने महिला केही घडी रात बाहेक आराम गर्न पाउँदैनन् । कामकाजी महिला श्रमको दोहोरो मारमा परिरहेका हुन्छन् । पुरुषले घरेलु काम गर्न नहुने भन्ने पुरातन मान्यताका कारण महिला यसरी दृश्य–अदृश्य श्रमको मारमा परिरहेका हुन्छन् । विशेषगरी चाडवाड तथा उत्सवका बेला पुरुष खाने–पिउने, मनोरञ्जन–घुमफिर गर्नेदेखि साथीसँग गफगाफमा मस्त भैरहेका देखिन्छन् ।


त्यसो गर्नुलाई उनीहरू आफ्नो पुख्र्यौली अधिकार ठानिरहेका हुन्छन्, तर महिलालाई भने कामकै चटारो हुन्छ । परिवारका मान्यजन, विशेषगरी पुरुष सदस्यको चाहना अनुसारको खानपान, पाहुनाको व्यवस्थापन, बालबालिकाको जिम्मेवारी आदि सबै उनीहरूकै दायित्वभित्र पर्छ । दसैं–तिहार जस्ता पर्वमा पुरुष खान–पिउन अनि तास खेल्नमै व्यस्त रहन्छन् ।


जागिरे पुरुषहरू यो समय आफ्नो इच्छा अनुसारले उपयोग गर्छन्, मानौं उनीहरूले सम्पूर्ण दायित्वबाट छुट्टी पाएका हुन्छन् । महिलाहरू भने आफ्नाबारे सोच्नसम्म पाउँदैनन्, मानौं उनीहरू केवल अर्काकै सेवाका लागि बनेका हुन् । परम्परादेखि चलेको यस्तो असमान श्रम विभाजन तथा पारिवारिक भूमिकामा परिवर्तन नआउने हो भने समानता सम्बन्धी जस्तोसुकै ऐन–कानुन बने पनि महिला–पुरुषबीच सही अर्थमा समानता कायम हुन सक्दैन ।


हाम्रो समाजमा चाडपर्वका बेला एउटा वर्ग आवश्यकताभन्दा बढी खाएर र काम नगरेर बिरामी पर्ने गर्छ । अर्को वर्ग समयमा नखाएर तथा अत्यधिक कामको बोझले रोगी बन्ने गर्छ । अधिकांश पुरुषले यो समयमा बढी मात्रामा मांश–मदिरा सेवन गर्ने, अनिदो बसेर जुवा–तास खेल्ने आदिका कारण स्वास्थ्य सम्बन्धी विभिन्न समस्या झेल्ने गर्छन् भने सोही परिवेशका महिला क्षमताभन्दा बढी काम गर्ने, लामो समय भोकै बस्ने (परिवारका सबै सदस्यलाई खुवाएपछि मात्र खाने), लामो समय उभिएर तथा निहुरिएर काम गर्ने, आराम गर्ने समय नपाउने आदिजस्ता कारणबाट रोगी बन्ने गरेका देखिन्छन् ।


भिन्न पारिवारिक भूमिकाका कारण चाडपर्व महिलाका लागिमात्र नभएर स्वयम् पुरुषकै लागि पनि समस्या बनिरहेका हुन्छन् । भूमिका परिवर्तन गरेर पुरुष वर्गले पनि अत्यधिक मांश–मदिरा तथा जुवा–तासमा मात्र नरमेर घरेलु भूमिकामा महिला वर्गसँग सहकार्य गर्ने हो भने परिवारका दुवै वर्गको हित हुने थियो । दुवै वर्गको शारीरिक श्रम तथा आरामबीच सन्तुलन हुनगई सबैले स्वस्थ जीवन जिउने वातावरण बन्न सक्थ्यो ।


हाम्रो समाजमा महिला र पुरुषबीच सामाजिक तथा पारिवारिक भूमिकामा सामञ्जस्य देखिँदैन । अर्कातिर महिला–महिलाबीच पनि नातागत रूपमा भिन्न प्रकारको पारिवारिक भूमिका निर्धारण गरिएको हुन्छ । निश्चित नाताका महिला बढी मारमा परेका हुन्छन् । विशेषगरी बुहारी वर्गका महिला कामको अतिरिक्त बोझले उठ्नै नसक्नेगरी थिचिएका हुन्छन् ।


भर्खर कलेज पढ्दाको एउटा प्रसङ्ग सम्झन्छु । खाने पानीको समस्या भएको गाउँको पँधेरोमा पानी पिउन गएका बेला लाइन बसेका पँधेर्नीमध्ये एउटीले भनिन्, ‘यो गाउँमा पानीलाई घिउ भन्छन् ।’ तत्कालै अर्कीले थपिन्, ‘हो त नि, बुहारीलाई फलामकै जीउ भन्छन् ।’ कस्तो मार्मिक अभिव्यक्ति थियो त्यो † परम्परागत समाजको यथार्थ चित्रण पनि ।


हामीकहाँ बुहारी वर्गलाई सासू वर्गले मेसिनकै रूपमा हेर्ने प्रचलन छ । सहरिया, शिक्षित समाज तथा आत्मनिर्भर अवस्थाका बुहारी यस प्रकारको मान्यताबाट केही हदसम्म मुक्त भए पनि आम महिलाले बुहारी अवस्थामा कुनै न कुनै रूपमा पीडा झेलेकै देखिन्छन् । परम्परागत मूल्य–मान्यताले प्रेरित समाजमा महिलाले आफू बुहारी हुँदा सासूबाट पाएको कटुता आफू सासू भएपछि पुन: आफ्ना बुहारीमा हस्तान्तरण गर्दै आउने हुनाले महिला–महिला बीचको विभेदकारी भूमिकामा परिवर्तन आउनसकेको देखिंँदैन ।


यथार्थमा आफूले भोगेको दु:ख–पीडा अरूले भोग्न नपाओस् भन्ने चाहना नै मानवता हो । तर यसलाई मनन गर्न नसक्ने नारी मानसिकताका कारण अधिकांश परिवारमा एकथरी महिला काम नपाएर उँघिरहेका हुन्छन् भने अर्काथरी महिला कामको अत्यधिक भारले गलिरहेका देखिन्छन् । नातागत रूपमा निर्धारित परम्परागत पारिवारिक भूमिकाप्रति पनि विचार पुर्‍याउनुपर्छ ।


चाहे लैङ्गिक आधारमा होस् वा पारिवारिक सम्बन्धका आधारमा, विभेदकारी विधि–व्यवहारले प्रश्रय पाइरहनु हुँदैन । परिवारभित्र लिङ्गमा आधारित तथा नाता–सम्बन्धमा आधारित श्रमव्यवस्थामा परिवर्तन हुनुपर्छ । यसो भएमात्र चाड–पर्व तथा उत्सवमा परिवारभित्र हरेक भूमिकामा रहेका सदस्यले काम, आराम तथा मनोरञ्जनको समान अवसर प्राप्त गर्न सक्छन् ।


कसैले पनि चाड–पर्वलाई बोझका रूपमा लिनु पर्दैन । काम नपाएर बिरामी हुने तथा आराम नपाएर रोगी हुनेहरूको संख्यामा केही हदसम्म भए पनि कमी आउन सक्छ । त्यसैले समानता र अधिकारका सन्दर्भका पारिवारिक भूमिकालाई समावेश गरिनु आवश्यक देखिन्छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?