१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सयपत्री माला किन मिल्काउनु ?

रुघा, मर्की–ब्रोन्काइटिस निको होस्, पाइल्स र महिनावारीमा रगत बग्ने समस्या कम होस्, बुढ्यौलीमा समेत दृष्टि नघटोस्, छाला स्वस्थ रहोस् भनेर हिजोआज दिनमा ५ कपसम्म सयपत्री चिया पिउने पारखी भेटिएका छन् ।
नारायण घिमिरे

काठमाडौँ — नेपाली समाजमा चलनचल्तीका शब्द ‘सफा’ र ‘पवित्र’ बीचको भिन्नता बुझ्न मलाई झन्डै ३ दशक लाग्यो । मेरो बुझाइमा ‘सफा’ भनेको एउटा अवस्था हो, कुनै कार्य गरी प्राप्त गर्न सकिने । जस्तै– तामा वा स्टिलको जुठो गिलास खकालेर पानी पिउने प्रयोजनका लागि ‘सफा’ बनाउन सकिएला ।

सयपत्री माला किन मिल्काउनु ?

तर त्यो ‘पवित्र’ नै हुन्छ भन्ने निश्चित छैन । ‘पवित्र’ शब्दले समग्रमा सधैं ‘शुद्धता’ राख्ने संस्कृतिको बृहत अवस्थालाई इंगित गर्छ । तिहारका बेला दिदीबहिनीको धन्य मनले दाजुभाइलाई लगाइदिने सयपत्रीको माला, लगाइदिने भावना र त्यसको परिवेश सबैलाई ‘पवित्र’ मान्न सकिन्छ । किन र कसरी सयपत्रीको माला पवित्र भयो भन्ने तर्कका लागि भने अलिकति चर्चा जरुरी होला ।


तिहार भन्ने बित्तिकै हामी सयपत्री फूल सम्झन्छौं । हाम्रा पुर्खाले तिहारको मालाका लागि सयपत्री र मखमली नै किन रोजे होलान् ? फूल, कोपिला, पात, डाँठ र जराको आयुर्वेदिक महत्त्व रहेको सयपत्रीबारे आयुर्वेदिक फर्माकोपियामा खासै उल्लेख छैन । तर आयुर्वेदले सयपत्रीको पात र फूलको थुप्रै प्रयोजन सुल्झाएको छ ।


मेक्सिकोमा सयपत्रीलाई ‘झन्डु’ भनिँदो रहेछ । त्यहाँ बगैंचाको सौन्दर्यका साथै झन्डु फूलबाट चाडबाडमा खानाको परिकार बनाउँदा रंगाउन हालिने पहेंँलो र सुन्तला–रातो खाद्य रंग बनाइन्छ । हाम्रा गाउँघरमा पनि चिसो लाग्दा, रुघाखोकी र ब्रोन्काइटिस हुँदा सयपत्रीको सम्पूर्ण बिरुवा पिँधेको झोल ३०–४० मिलिलिटरजति पिउने चलन नभएको होइन । छालामा साह्रै दुख्ने र पिप बन्ने बिबिरा उठ्दा, हाड–जोर्नी र मांसपेशी दुख्दा सयपत्रीको पातको लेदो दलेर छुटकारा लिइआइएकै छ ।


गाउँघरमा पिसाब पोल्दा सयपत्रीको पात र फूल पिँधेर बनेको लेदो ५०–६० मिलिलिटर पिउन दिने चलन छ । त्यही लेदो लगाउँदा पाइल्सको फुन्द्रो घट्छ भने पिप आउने घाउ ड्रेसिङ गर्दा छिटो सन्चो हुन्छ । तातोपानीमा सयपत्रीको स्टिम डिस्टिलेट ४–५ थोपा हाली पिउँदा दमका बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आउँछ ।


नाथ्री फुट्दा धेरै रगत बग्न रोक्ने अचुक औषधी भनेकै सयपत्री फूल उमालेर सेलाएको पानी नाकमा हाल्नु हो । रजस्वला र पाइल्समा सामान्यभन्दा बढी रगत बगेमा सयपत्रीको पातको लेदोलाई चौथाइ थुर्मी गाईको घिउमा हल्का भुटेर खाने चलन अद्यापि छँदैछ ।


अब पाठकवृन्दलाई आफ्नै आँगनमा ढकमक्क फुलेको सयपत्रीका वैज्ञानिक तथ्य जान्ने खुल्दुली जाग्नु स्वाभाविक छ । सयपत्रीका फूल, डाँठ र जरा बहुगुणी छन् । सयपत्री फूलको एक्सट्रेक्टमा झन्डै ९३ प्रतिशत अत्यन्त उपयोगी पिग्मेन्टस हुन्छन् । ८८ प्रतिशत लुटिन र ५ प्रतिशत जियाजेन्थिन । लुटिनले प्रकाशको किरणबाट निलो प्रकाश सोस्छ । थोरै कन्सन्ट्रेसनमा सोस्दा पहेंँलो देखिन्छ भने धेरै कन्सन्ट्रेसनमा सोस्दा सुन्तला–रातो । सयपत्रीको पत्रमा हुने लुटिनको मात्राले यसको रंग निर्धारण गर्छ । जियाजेन्थिनले भने रामपुर पहेंँलो जातको मकैको गेडाजस्तो पहेंँलो रंग दिन्छ ।


लुटिन र जियाजेन्थिन आँखाको रेटिनाको लागि जरुरी पर्ने क्यारेटिनोइड हो । बुढ्यौलीमा आँखाको दृष्टि घट्दै जानुको धेरै कारणमा एउटा मुख्य कारण रेटिनामा लुटिन, जियाजेन्थिन जस्ता क्यारेटिनोइडको कमी हुनु पनि हो । सयपत्री फूलले दिने रंगमा मनग्य लुटिन र जियाजेन्थिन पिग्मेन्टस पाइने हुँदा सयपत्री फूलबाट बनाइएको खाद्य रंग मानव दृष्टि वृद्धिमा सहयोगी हुने भेटिएको छ । सयपत्री फूलको रंग हालिएको दाना खुवाएको कुखुराले पारेको अन्डामा लुटिन र जियाजेन्थिन क्यारेटिनोइड धेरै पाइन्छ ।


दृष्टि वृद्धिका लागि त्यही अन्डा खाएर लुटिन र जियाजेन्थिन रेटिनासम्म पुर्‍याउन सकिने आजसम्म हामीलाई उपलब्ध सबैभन्दा उत्कृष्ट तरिकामध्ये एक मानिएको छ । त्यसैले कुखुराको न्युट्रिसन सप्लिमेन्ट बनाउन सयपत्रीको माग बढ्न थालेको छ ।


दूषित हावापानीबाट मानिसको छालामा संक्रमण गर्ने किटाणु प्राय: ग्राम पोजेटिभ र ग्राम नेगेटिभ प्रकृतिका हुन्छन् । सयपत्रीको बिरुवा पिँधेको लेदोमा लेमोनिन, ओसिमिन, लिनालाइल एसिटेट, लिनालोल, टेजिटोन र नोनाइल अल्डिहाइड जस्ता केमिकल हुन्छन् । सयपत्रीको फूल र बिरुवाको झोलमा र वातावरणमा जाने बासनामा पाइने माथिका तत्त्वहरूमा ग्राम पोजेटिभ र ग्राम नेगेटिभ ब्याक्टेरिया मार्ने (एन्टी–ब्याक्टेरियल) गुण हुन्छ ।


यसले छालालाई ती किटाणुको संक्रमणबाट जोगाउँछन् । एन्टी–सेप्टिक गुणका कारण नै छालाको रोग, डन्डिफोर, खटिरा आदिमा सयपत्रीको उपयोग घरेलु उपचारमा प्रयोग हुँदै आइरहेको छ । सम्भवत: बासनाको उक्त गुणका कारण हाम्रा पुर्खाले घर वरिपरि सयपत्रीको झाडी बनाउने गरेका होलान् । रगतमा प्रो–थ्रम्बिन कमी हुने, प्लेटिलेट्स बढ्ने अनि रक्तस्राव नरोकिने समस्या संसारमा विकराल बन्दैछ ।


सयपत्रीको पात निचोरेर निकालिएको रसमा मानिसको रगतमा प्रो–थ्रम्बिन बन्न सहयोगी हुने ग्यालिक एसिड, इस्कोपोलिटिन, फ्रिनुलिक एसिड, कुयरसिसिटिन भेटिन्छ । तिनले प्रो–थ्रम्बिन बन्न र रक्तस्रावका बेला रगत जमाउन सहयोग गर्छन् । सयपत्रीको पातको रस एकातर्फ एन्टी–सेप्टिक हुने र अर्कोतर्फ रगत जमाउन सघाउने हुँदा पाइल्स र महिनावारीमा रामवाण सावित भएका छन् ।


वनस्पतिमा पाइने प्रोटिन पेरोक्सिडेज, अक्सिडेज, लिपोक्सिनेज र क्याटालेज रोग र किरा प्रतिरोधात्मक इन्जाइम मानिन्छन् । पछिल्लो समय जैविक विधिबाट सयपत्रीको पात निचोरेर निकालिएको रस छर्कंदा गोलभेँडा खेतीमा रोग र किरा प्रतिरोधात्मक इन्जाइम आश्चर्यजनक रूपमा वृद्धि गर्न सकिएको छ । सयपत्रीको जैविक विधिबाट बिरुवामा रोग र किरा प्रतिरोधात्मक शक्ति बढाउन सक्षम ग्रिन इस्प्रे प्रमाणित भएकाले मानिसका लागि स्वस्थबद्र्धक कृषि उत्पादनमा पनि सयपत्री बिरुवाको माग बढेको छ ।


जब सयपत्री खेती मालामा मात्र सीमित भएन र यसको अथाह गुणबारे जानकारी बाहिरियो, यसको चिया पिउने चलन पनि बसिहाल्यो । सामान्यतया ४ किलो सयपत्रीको फूल सुकाउँदा १ किलोजति तयार हुन्छ । झुरुम–झुरुम हुनेगरी सुकाइएको सयपत्री हातले माडिदिँदा धुलोपिठो बन्छ । सयपत्रीको २ चिया चम्चा धुलोलाई उम्लिएको २ सय मिलिलिटर पानीमा १० देखि १५ मिनेट छाडिदिएपछि बन्ने झोल छानेर तातै चिया खान सकिन्छ । रुघा, मर्की–ब्रोन्काइटिस निको होस्, पाइल्स र महिनावारीमा रगत बग्ने समस्या कम होस्, बुढ्यौलीमा समेत दृष्टि नघटोस्, छाला स्वस्थ रहोस् भनेर हिजोआज दिनमा ५ कपसम्म सयपत्री चिया पिउने पारखी भेटिएका छन् ।


आज विश्व बजारमा सयपत्रीको चिया, ट्याब्लेट, गोली र क्याप्सुल तथा दृष्टिबद्र्धक चूर्ण, रगत सफा गर्ने जुस, छालाको लागि क्रिम आयुर्वेदिक सप्लिमेन्टका रूपमा बिक्री भइरहेको छ । हामी भने भाइटीकाको मालामा सीमित गरी गमक्क परी बसेका छौं । अरु जे होस्, दिदीबहिनीको धन्य मनले दाजुभाइलाई सयपत्री गाँसेर माला लगाइदिने पवित्र संस्कृतिमा भने हामीले जति गर्व गरे पनि हुन्छ ।


लेखक खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : कार्तिक २९, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?