कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

महिला आफैं कति दोषी ?

कानुनले निषेध गरेको काम गर्ने पुरुषको चरित्रले पारिवारिक प्रतिष्ठा नखस्किने तर न्याय खोज्ने पीडित महिलाले घरपरिवारको इज्जत सिध्याउने उदेकलाग्दो मापदण्ड छ ।
उषा थपलिया

काठमाडौँ — बागबजारको पेटीमा सात–आठ महिना जतिको शिशु च्यापेर एक महिला उभिएकी थिइन् । सामुन्नेमा हेलमेट लगाएका पुरुष देखिन्थे । ती महिला मसिनो स्वरमा अनुनय–विनय गर्दै थिइन्, ‘मैले डेराभाडा कसरी तिर्नु, छोरी केले हुर्काउनु ? प्जिल तपाई घर आउनुस्, हाम्रो विचल्ली नपार्नुस् ।’

पुरुष कड्किए, ‘सर्वोच्चमा गएर मुद्दा हाल्छेस् भने ’नि हाल्, तर म उनलाई छाड्न सक्दिन, माइत जान्छेस् कि आफै गरिखान्छेस्, त्यो तेरो कुरा हो, अब तँ यहाँबाट गैहाल् ।’


स्कुटर पार्क गरिन्जेलको समयमा देखिएको उक्त दृश्य कारुणिक थियो । युवकको क्षोभजन्य चरित्र सही सक्नुकै थिएन । वार्तालापबाट अनुमान गर्न सकिन्थ्यो, नवजात छोरी र श्रीमतीलाई छाडेर अर्कै महिलासंँगको सम्बन्धमा पुरुषले बासस्थान फेरेका छन् । छोरी र श्रीमतीको दायित्वप्रति उनलाई सरोकार छैन ।


आफ्नो गलत प्रवृत्तिप्रति ग्लानि महसुस हुने कुरै भएन । खुला सडकमा श्रीमतीमाथि कठोर व्यवहार

गर्ने तिनै निर्विवेकी पुरुषका कारण धेरै दिनसम्म मन भारी भैरह्यो ।


अर्को घटना मेरी साथीको हो । सामाजिक र आर्थिक हैसियतले उच्च वर्गमा गनिन्छिन् उनी । बंगला, गाडी र उच्च भौतिक सुखसुविधा सहित लायक श्रीमान एवं छोराछोरीको साथमा उनको जिन्दगी धपक्क बलेको देखिन्छ । आफै सुन्दरताकी धनी ती साथी बाहिरी दुनियाँसंँग सधैं प्रसन्न भावमा प्रस्तुत हुने स्वभावका कारण सबैतिर प्रशंसनीय छिन् । हेर्दा उनी जति सुखी र भाग्यमानी महिला अरु कोही छैन जस्तै लाग्छ । तर आन्तरिक रूपमा भने सधैं चोइटिएर बाँच्ने पीडाबाट उनी मुक्त छैनन् ।


उनका श्रीमान अर्कै विवाहित महिलासंँगको सम्बन्धमा रहेको भेउ पाएको लामै समय भैसक्यो । प्रमाण यथेष्ट छन्, उनीसंँग । सोही विषयमा श्रीमानसँंगै धेरैपटक कुरा भैसक्यो, कतिपटक चर्को विवाद पनि । पतिको बानीले उनलाई विक्षिप्त बनाइरहेको छ । एउटै छानोभित्र रहे पनि पति–पत्नी बीचको आत्मियता देखावटीमात्र रहेको उनी बताउँछिन् । ‘राम्रो लाउनु, खानु, बच्चा हुर्काउनु, अरु कुरामा दख्खल नदिनु’ भन्ने श्रीमानको भनाइले उनलाई सबैभन्दा बढी दु:खी बनाउँछ । विभाजित मनस्थितिमा बाँच्नुभन्दा पतिबाट अलग भएर बस्ने सोचाइ हरपल आउँछ, तर छुट्टै कमाइ नहुँदा सन्तानको जिम्मेवारी सम्हाल्ने हिम्मत छैन । समाजसँंगको धक पनि छ ।


यी समाजका केही नमुना घटना हुन् । पुरुषका व्यक्त–अव्यक्त यस्ता चरित्रले धेरै महिलाको चैन खोसेको छ । माथिका दुवै घटनामा मुख्य दोषी पुरुष हुन्, तर पुरुषलाई त्यो मार्गमा हिँडाउन भूमिका निर्वाह गर्ने महिला पनि दोषमुक्त छैनन् । पहिलो घटनामा नवजात शिशु र निरीह महिलामाथि जुन हदसम्मको पीडा थोपरिएको छ, त्यो उनको पति या पुरुष एक्लैले दिएको हैन ।


उनको पतिलाई घरपरिवारबाट अलग गर्न सघाइरहेकी, साथ र समर्थन दिइरहेकी दोस्री महिला पनि उत्तिकै दोषी हुन् । कतिपय महिला पुरुषको घरपरिवारबारे जानकार हुँदाहुँदै पनि सम्बन्ध कायम गर्न अग्रसर देखिन्छन् । कतिपय त्यसबारे जानकारी नभएको/नगराइएको जवाफ दिएर उम्किन्छन् । कुनै पुरुषसंँग सम्बन्ध गाँस्नुभन्दा अघि उनको पारिवारिक अवस्था पत्ता लगाउनु महिलाको न्युनतम जिम्मेवारी हो । एक महिलाको जिन्दगीमात्रै हैन, सम्पूर्ण परिवार तहस–नहस पार्न महिला नै उद्यत हुन्छन् भने महिला भएकै आधारमा उनीहरूको भूमिकालाई कतिन्जेल निर्दोष ठहर्‍याइरहने ?


दोस्रो घटनामा, मेरो साथीको श्रीमानसँंग सम्बन्ध राखिरहेकी महिला विवाहित हुन् । सम्बन्धमा रहेको व्यक्ति, श्रीमती र तीन सन्तानप्रति जिम्मेवार हुनुपर्ने पुरुष हो भन्ने उनलाई थाहा छ । आफ्नो श्रीमानलाई परिवारमै फर्काइदिन मेरी साथीले उनीसंँग धेरैपटक फोनमार्फत अनुरोध गरिसकेकी छन् । तर उनको अनुरोधलाई पति र ती महिला दुवैले वास्ता गरेका छैनन् । ती महिलाले आफ्ना पतिमाथि छलछाम गरिरहेकी होलिन् ।


समाजमा बढेको यस्ता विकृतिका हिस्सेदार जुन वर्ग, लिंग, जात, धर्म, समुदायबाट भए पनि दोषमुक्त बनाइनुहुन्न । अझ सिर्जनाका प्रतीक मानिने महिला अशान्ति, ध्वंसका कारक बन्छन् भने समाजमा कुन समुदायबाट आशा गर्ने ? घरपरिवारको इज्जत जोगाउने अभिभारा केवल पीडित महिलाको भागमा थोपरिएको छ । त्यही अभिभारा वहन गर्ने नाममा आत्मसम्मान गुमाउन महिला सधैं बाध्य छन् । कानुनले निषेध गरेको काम गर्ने पुरुषको चरित्रले पारिवारिक प्रतिष्ठा नखस्किने तर न्याय खोज्ने पीडित महिलाले घरपरिवारको इज्जत सिध्याउने उदेकलाग्दो मापदण्ड कायम छ ।


सन्तानप्रति दायित्वका कारणसमेत पीडित महिलाहरू आफ्नो मानवीय मूल्य खोज्न हत्तपत्त अग्रसर हुँदैनन् । सन्तान लिएर एक्लै बस्दाको आर्थिक भार, सामाजिक असुरक्षा, अनर्गल टिकाटिप्पणी जस्ता पक्षले पीडा सहेरै बस्ने स्थितिमा महिलालाई खुम्चाइदिन्छ । हुर्किएका सन्तानको अभिमत बुझ्ने हो भने पनि स्थिति उही देखापर्छ ।


आमाको पीडा बुझ्नेभन्दा आफ्नो सुविधा, हैसियत र रवाफ नगुमोस् भन्नेतिर अहिलेका सन्तानको बढी झुकाव देखिन्छ । बाबुका कारण परिवारभित्र समस्या छ भन्ने थाहा भएका ठूला सन्तानले समेत ‘आमाले सहेरै बसिदिए हुन्थ्यो, नभए हाम्रो स्टाटस केही बाँकी रहन्न’ भन्ने गरेको धेरैले बताउँछन् ।


यस्तै परिस्थितिका कारण अन्याय महसुस हुँदा पनि पीडित महिलालाई न्यायका खातिर अघि बढ्न सजिलो छैन । एउटी महिलालाई पीडित बनाउन अर्की महिला पीडककै भूमिकामा उदाउनु विडम्बना हो । एउटी महिलालाई घात गर्ने पुरुषले अरुलाई गर्दैन भन्ने सामान्य चेतसमेत महिलामा नरहेको देखिन्छ । ‘चारित्रिक विचलन एकबाट दुईमा उक्लिन मात्र गाह्रो, त्यसपछि सामान्यझैंं फैलिँदै जान्छ,’ मनोविदहरूको निष्कर्ष हो यो ।


यस्तै परिघटना बहुविवाहको सवालमा जहीँ–तहीँ देखिन्छ । सामान्य महिलाले मात्र हैन, समाजमा लब्धप्रतिष्ठा हासिल गरेका महिलाले समेत विवेक गुमाउँदा अघिल्लो परिवार उजाड भएको देखिएको छ । उच्च अध्ययन गरेका, कानुन तथा अधिकारको क्षेत्रमा क्रियाशीलदेखि सञ्चारकर्मी तथा चेतना जगाउन अखबार लेखनमा स्थापित भैसकेका कतिपय महिलासमेत यो सवालसँंग जोडिने गरेका छन् ।


अघिल्लो परिवारप्रति अनभिज्ञ रहेका कारण प्रेम सम्बन्ध भएर विवाह भएको उनीहरू निर्धक्क बताउँछन् । तर थाहा पाएपछि पीडितलाई कानुनी अधिकार प्रत्याभूति गराउन भूमिका निर्वाह भयो–भएन, त्यसले अर्थ राख्छ । अधिकांशबाट त्यो उदारता प्रस्तुत भएको पाइँदैन । यस विपरीत केही उच्च महिलाको प्रवेशपछि अघिल्लो परिवार कारुणिक अवस्थामा पुगेको मात्र हैन, अभाव, निराशा, कुण्ठा र डिप्रेसनका कारण आत्महत्या जस्ता घटनाक्रमले परिवार तहस–नहस भएको दृष्टान्तसमेत पाइन्छ ।


बहुविवाह र परस्त्रीगमनको सन्दर्भमा दोषजति महिलालाई थोपरेर पुरुष वर्गलाई निर्दोष देखाउने यो लेखको आशय हैन । छँदा–खाँदाको परिवारप्रति कर्तव्यच्युत हुँदै अन्यत्र जाल फ्याल्ने पुरुषहरूको नीच कर्म त आलोचनाको तहमा समेत रहेको देखिन्न । तर हरेक महिला सजग हुने हो भने पुरुष एक्लैले चाहँदैमा समाजमा विकृति बढ्ने अनि त्यसबाट कोही महिला र परिवार पीडित हुने स्थिति आउने थिएन ।

प्रकाशित : कार्तिक २९, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?