कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

प्राध्यापकका अप्राज्ञिक कर्म

विश्वविद्यालयको लोगो बेच्दै तन, मन, ऊर्जा अन्यत्र खर्च गर्ने र सार्वजनिक शिक्षामा प्वाल पार्ने धमिरे प्रवृत्ति प्राध्यापकहरूमा मौलाएको छ ।
वाईपी आचार्य

काठमाडौँ — त्रिविको नियम अनुसार एउटा प्राध्यापकले सातामा कम्तीमा स्नातक तहमा १५ र स्नातकोत्तर तहमा १२ पिरियड पढाउनुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्ट अनुसार त्रिविका प्राध्यापकले ६ पिरियडभन्दा कम पढाउँछन् । कतिले त वर्षौंदेखि पढाएका छैनन् । कसैले नेता भएका कारण पढाउँदैनन् ।

प्राध्यापकका अप्राज्ञिक कर्म

कोही विद्यार्थी नपाएर पढाउँदैनन् । कोही पद पाएकाले पढाउँदैनन् । कसैले पद नपाएर बम्किएर पढाउँदैनन् । १५ पिरियड पढाउने र २–४ दिनमा हाजिरमात्रै धस्काउनेले पाउने तलब बराबर छ । स्थायी भएपछि पढाइरहनु पर्दैन भन्ने मान्यताले घर गरेको छ ।


त्रिविका अधिकांश आंगिक क्याम्पसमा पढाउने भनेका आंशिक शिक्षक हुन् । उनीहरूको पारिश्रमिकमा शोषण छ, तर पनि पढाउँछन् । उनीहरूले अग्रज हिँडेको बाटो देखेका छन् । राजनीतिक आडमा आंशिक, अनशनका आडमा करार र प्राध्यापक संघका आडमा स्थायी हुने सजिलो बाटो देखेका छन् । त्यही आशामा शोषण सहेका छन् ।


मैले हालै त्रिविका शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायका २० जना प्राध्यापक र सहप्राध्यापकमा सानो अध्ययन गरेको थिएँ । २० जनामध्ये १७ जना कुनै न कुनै राजनीतिक पार्टीको कमिटीमा रहेर काम गरिरहेका थिए । आफ्नै पहलमा अनुसन्धान कसैले पनि गरेको पाइएन । अनुसन्धानमूलक लेख १० जनाले मात्रै लेखेका छन् । पाठ्य–पुस्तक भने सबैले लेखेका छन् ।


अन्तर्राष्ट्रिय जर्नलमा लेख २ जनाले मात्रै प्रकाशन गरेका छन् । सेवा प्रवेशमा अांशिक करार हुँदै आन्तरिक स्थायीको बाटो आउनेहरू १३ जना थिए । यी मध्ये कसैले पनि सातामा १२ पिरियड कक्षा लिने गरेको देखिएन । यसले त्रिविमा प्राज्ञिकता स्खलन हुँदै गएको देखाउँछ । अनुसन्धान गर्ने र यसको नतिजा प्रसारण गर्ने संस्कृति भुत्ते भएको छ ।


त्रिविको नाम, निजीमा काम, दिमागमा दाम हुनाले त्रिविको गुणस्तर खस्कँदै गएको छ । सतर्कता केन्द्रको रिपोर्ट अनुसार एउटै सिफ्टमा दुई–तीनतिर पढाउनेहरू पनि भेटिए । करिब १८ प्रतिशत प्राध्यापकले अनुमति लिएर अन्यत्र पढाइरहेका छन् । अनुमति नलिई निजीतिर धाउनेको संख्या प्रशस्तै छ । गैरसरकारी संस्थामा कन्सल्टेन्सी गर्नेहरू अध्ययनका विषय बनेका छैनन् ।


लोगो विश्वविद्यालयको लगाएर त्यही लोगो बेच्दै तन, मन र ऊर्जा अन्यत्र खर्च गर्ने र सार्वजनिक शिक्षामा प्वाल पार्ने धमिरे प्रवृत्ति मौलाएको छ । अन्यत्र किन धाउनुपर्‍यो भन्ने प्रश्नको जवाफमा अधिकांश प्राध्यापक भन्छन्, ‘तलब कम छ, भारतमा १ लाख ५० हजार तलब हुँदा हाम्रोमा त्यसको एक चौथाइ पनि तलब छैन ।’ अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दा प्राध्यापक तलब सुविधामा ठगिएकै देखिन्छ । तर देशको प्रतिव्यक्ति आय, अन्य क्षेत्रको सुविधा र उनीहरूको कामको परिणामलाई हेर्दा यो सुविधा थोरै होइन ।


जापानमा कामको भारले शिक्षकहरूले निर्धारित समयभन्दा बढी विद्यालयमा विताउँदा प्रजनन र अन्य सामाजिक समस्या आएपछि उनीहरूलाई कम समय विद्यालयमा रहन प्रोत्साहित गर्ने कार्यक्रम ल्याइँदैछ । एकजना चिनियाँ प्राध्यापकसंँग शिक्षकको अनुपस्थित दर घटाउने कुरा गर्दा उनी अचम्म परे । ‘यस्तो पनि हुन्छ †’ उनले भनेका थिए । चीनमा शिक्षक अनुपस्थित भन्ने कसैलाई थाहा छैन । तर नेपालमा विश्वविद्यालयका प्राध्यापकलाई आफ्नो पिरियडमात्रै पढाउन जान पनि सकस भएको छ । पढाउन नगएका कारण सामाजिक समस्या सिर्जना भएका छन् ।


त्रिविमा केही प्राध्यापकका लागि आवास व्यवस्था छ । आवासमा बस्न मापदण्ड छैन । अधिकांश दलीय आड र कोटाको भरमा बसेका छन् । जसले कम पिरियड लिन्छ, अनुसन्धान गर्दैन, त्यसैले टप्काउँछ आवास गृह । एक पटक आवासभित्र छिरेपछि निस्कने द्वार छैन । त्रिवि गेष्टहाउसमा म्यारिज खेलेको देख्ने थुप्रै छन् । कसले अनुगमन गर्ने ?


पार्टीका बडे नेता र मन्त्री आवास गृहमा प्राध्यापकको लाइन हुन्छ । राजनीतिक नियुक्तिको आशिर्वाद लिन जानेहरूको लर्को लाग्छ । विश्वविद्यालयका विभिन्न निकायमा शिक्षण र अनुसन्धानको अनुभव नभएका तर चाकरीमा राम्रो दख्खल भएकाहरूले नेतृत्व गरेका छन् । उनीहरूबाट कसको हित होला ? उनीहरू उत्तरदायी कोप्रति होलान् ?


प्राध्यापक आन्दोलनले विश्वविद्यालय बन्द भएका घटना अब अनौठा भएनन् । आफू वा आफ्नो मान्छेले पद नपाएको निहुँमा महिनौं विश्वविद्यालय बन्द रहन्छन् । पठन–पाठन ठप्प पारिन्छ । आफै पेनडाउन गर्ने, बन्द गर्ने तर त्यो दिनको तलब लिने काम भए । यो कुन तहको नैतिकता हो ? के यो भ्रष्टाचार होइन ? अत्याचार होइन ? अराजकताको पराकाष्ठा होइन ? यसबाट विद्यार्थीले के सिक्ने ? के यही हो, प्राज्ञिकता ? के यही हो, अनुसन्धान र नवप्रवर्तन ?


पार्टी निकट रहेका प्राध्यापक संघ–संगठन र आजीवन अधिवेशन नहुने साझा प्राध्यापक संघ विश्वविद्यालयको स्रोत दोहनमा केन्द्रित छन् । यिनीहरू आंगिक क्याम्पसका प्राध्यापकहरूको मात्रै अधिकारका कुरा गर्छन् । प्राध्यापक संघ–संगठनमा संलग्नले निजी क्याम्पस चलाएका छन्, तिनले त्यहाँका शिक्षकको आवाज दबाइदिन्छन् । अधिकांश सामुदायिक र निजी क्याम्पसका शिक्षकहरूमाथि श्रमशोषण भएको छ ।


एकातिर समाजवादका नारा घन्काएर नथाक्ने अर्कातिर निजी क्याम्पस सञ्चालन गर्नेहरूले बौद्धिक श्रम चुसेका छन् । पुँजीवादको रक्षक बनेका छन् । शिक्षकलाई अतिरिक्त मूल्यबाट आएको नाफाबाट अलग्याएका छन् । यी सामुदायिक र निजीका शिक्षक सशक्त आन्दोलन गर्न पनि सक्दैनन् । आफ्ना पीडा प्रत्यक्ष ओकल्न सक्दैनन् । दबाएर राख्छन् । प्राध्यापक संघले उनीहरूको पीडाको नेतृत्व गर्न सक्दैन ।

त्रिविका प्राध्यापक बदलिन जरुरी छ । मानिसलाई बाँध्ने नैतिकताले हो । गुरु दोणाचार्यले द्रौपदलाई हराएर पाएको पुरै राज्य लिएनन्, राजा बनेनन्, गुरु नै भएर बसे ।


त्यसैले उनी सम्मानित छन् । शिक्षण पेसा पैसा कमाउनमात्रै होइन, ज्ञान निर्माण, प्रसार र सम्मानका लागि हो । यी सबै नैतिकताको जगमा मात्रै प्राप्त हुन्छन् । प्राध्यापकहरू बेरिएको राजनीतिक घुम्टो च्यातिदिनुपर्छ । पार्टी निकट प्राध्यापक संघ–संगठन बन्द गर्नुपर्छ । लोकतन्त्र भनेको अराजकताको राज होइन, कानुनको शासन हो ।


राज्य र विश्वविद्यालयका नीति–नियम नमान्ने, आंगिकमा बास बसेर निजीमा खास काम गर्नेहरूलाई कारबाही गर्नुपर्छ । दण्डहीनता अन्त्य गर्नुपर्छ । उनीहरूलाई पार्टीको ओतबाट अलग्याउनुपर्छ । विद्यार्थी जाग्नुपर्छ । प्राध्यापकलाई व्यस्त गराउने प्रोजेक्टहरू सञ्चालन गर्नुपर्छ । सबै प्राध्यापक खराब छैनन् । सम्मानित र क्षमतावानहरूलाई अवसर दिनुपर्छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?