कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

उठ्नेछ समुद्री छाल

हाम्रा शासकले धर्मनिरपेक्षता र समाजवादका सबै आवरणको धज्जी उडाएका छन् । सबैको ध्यान अन्यत्र मोड्न राज्यका अंग अदालत, विश्वविद्यालय, बैंक, गुप्तचर विभागलाई संकटतिर धकेलिरहेका छन् ।
अरून्धती राय

काठमाडौँ — शाहिदुल आलम चम्पाकली २–५ ढाका सेन्ट्रल जेल किरानीगन्ज ढाका, बंगलादेश । उनीहरूले तिमीलाई लिएर गएको एक सय दिनभन्दा बढी भइसकेको छ । तिम्रो देश होस् वा मेरो देश, आजभोलि समय–परिस्थिति राम्रो छैन ।

उठ्नेछ समुद्री छाल

जब तिमीलाई आफ्नै घरबाट केही अज्ञात मानिसले अपहरण गरेको खबर सुन्यौं, हामीलाई सबैभन्दा खराब परिणामको भयले पिरोलेको थियो । कतै तिम्रो पनि ‘इन्काउन्टर’ (भारतमा सरकारी सुरक्षाकर्मीले कुनै गैरन्यायिक हत्या गर्दा प्रयोग गरिने शब्द) गर्ने हुन् कि अथवा कुनै ‘गैरराज्य शक्ति’ले मार्ने पो हो कि ? तिम्रो लास पनि ढाकाको कुनै फोहोर नालीमा भेटिने पो हो कि अथवा खासै गहिराइ नभएको कुनै पोखरीमा तिम्रो शरीर तैरिरहने पो हो ? यस्तै भयले हामीलाई पिरोलिरहेको समयमा जब तिमीलाई गिरफ्तार गरिएको घोषणासँगै प्रहरी चौकीमा तिम्रो जिउँदो शरीर देख्यौं, हामी एक प्रकारले ज्यादै खुसी भयौं ।


के साँच्चिकै म तिमीलाई केही लेख्दैछु ? अहँ होइन । म तिमीलाई मात्र केही लेखिरहेकी हुँदो हुँ त मैले यतिमात्र लेख्थेंँ हुँला– ‘प्रिय शाहिदुल, जेलको चिसो कोठाभित्र तिमी जतिसुकै एक्लो भए पनि तिमीमाथि हाम्रो नजर छ । हामी तिम्रो पहरेदारी गरिरहेका छौं ।’


म तिमीलाई मात्र केही लेखिरहेकी हुँदो हुँ त दसकौंदेखि विश्व मानचित्र भित्रको हाम्रो भागका मानव समुदाय र उनीहरूले भोगेको त्यो पीडा, त्यो खुसी, त्यो हिंसा, त्यो दु:ख र शून्यता, त्यो मुर्खता, त्यो क्रूरता, त्यो निर्दोषपना, त्यो बहुलठ्ठीपूर्ण जटिलताबारे हाम्रो संचेतनामा प्रस्ट रूपमा खोपिएका तिम्रा काम, तिमीले खिचेका तस्बिर र तिम्रा शब्दबारे म केही लेख्ने थिइन ।


तिम्रा कृतिहरू जति प्रेमले उज्याला बनेका छन्, त्यत्ति नै चहकिला भएका छन्, उनीहरूको सरकारी अनुसन्धानबाट । तिमीले जे कुरा आफ्नै नाङ्गो आँखाले प्रत्यक्ष देख्यौ, तिनै कुरा आफैले देख्दा रिसले उनीहरू तिम्रा कृतिमाथि प्रश्न उठाइरहेका छन् । जसले तिमीलाई कारागारमा थुनेका छन्, उनीहरूले तिम्रा कामबारे मुस्किलले बुझेका छन् । कुनै दिन उनीहरूले आफ्नै भलाइका लागि तिम्रा कामबारे बुझ्ने आशामात्र गर्न सक्छौं ।


तिम्रो गिरफ्तारी तिम्रो देशका नागरिकलाई चेतावनी दिन चालिएको पाइला हो– ‘हेर, शाहिदुल अलामलाई हामी यस्तो गर्न सक्छौं भने नाम, परिचय नभएका तिमीहरूजस्ता साधारण मानिसलाई हामी केसम्म गर्न सक्छौं होला त । हेर । त्यसकारण हाम्रो डर मान ।’


बौद्धिकतामाथि हमला

तिमीमाथि लगाइएको औपचारिक अभियोगमा तिमीले आफ्ना (कथित) फेसबुक पोस्टमा तिम्रो देशको आलोचना गरेको भनिएको छ । तिमीलाई बंगलादेशको कुख्यात सूचना तथा सञ्चार प्रविधि ऐनको धारा ५७ अन्तर्गत गिरफ्तार गरिएको छ । उक्त धारामा लेखिएको छ, ‘कसैले इलेक्ट्रोनिक माध्यममा झुठा र अश्लील, अपमानजनक, कसैको मानहानि वा चरित्रमाथि दाग लाग्ने, नियम–कानुनमा आँच पार्ने वा पार्न सक्ने, राज्य वा कोही व्यक्तिको आपत्तिजनक तस्बिर, धार्मिक विश्वासमा चोट पर्ने वा पर्न सक्ने’ सामग्री राखे गिरफ्तार गर्न सकिनेछ ।


यो कस्तो कानुन हो ? अमूर्त, अविवेकी, माछालाई जालमा फँसाउन बल्छी थापेजस्तो । आफूलाई लोकतान्त्रिक भन्ने देशमा यस्तो कानुनको ठाउँ कहाँ हुनसक्छ ? ‘राज्यको सही तस्बिर’ कस्तो हो र कस्तो हुनुपर्छ भन्ने कुराको निक्र्योल गर्ने अधिकार कोसँग हुन्छ ? के बंगलादेशको कुनै एउटामात्र वैधानिक रूपमा मान्य र स्वीकारिएको तस्बिर छ ? त्यो कानुनको धारा ५७ ले जबर्जस्त चाप्लुसीका अभिव्यक्ति बाहेक अरू कुनै पनि खालका अभिव्यक्तिलाई अपराधी करार गर्न सक्छ ।


यो बुद्धिजीवीमाथि मात्र होइन, सम्पूर्ण बौद्धिकतामाथि हमला हो । विगत पाँच वर्षमा बंगलादेशमा १२ सयभन्दा बढी पत्रकारलाई यही धारामा टेकेर कारबाही गरिएको हामीले सुनेका छौं र तीमध्ये चार सय मुद्दा अहिले पनि चालु छन् ।


भारतमा पनि हाम्रो बौद्धिकतामाथि यस्ता हमला सामान्य बनिरहेको छ । बंगलादेशको सूचना तथा सञ्चार प्रविधि ऐनजस्तै भारतमा गैरकानुनी गतिविधि नियन्त्रण ऐन छ । त्यही कानुनको आडमा विद्यार्थी, अभियन्ता, वकिल, प्राज्ञ लगायत सयौं मानिसलाई गिरफ्तार गर्ने एकपछि अर्को लहर आएका छन् ।


तिमीमाथि चलाइएको मुद्दाजस्तै उनीहरूमाथिका मुद्दा पनि तुच्छ र हास्यास्पद छन् । हुन त माथिल्ला तहका अदालतले उनीहरूलाई सजिलै मुक्त गर्ने कुरा प्रहरीलाई थाहा नभएको पक्कै होइन । तर राज्यको लक्ष्य वर्षौंसम्म कारागारमा कोचेर उनीहरूको साहसलाई छिन्नभिन्न बनाउनु हो । यो सजायको प्रक्रिया हो ।


त्यसकारण प्रिय शाहिदुल, तिम्रो नाममा यो पत्र लेख्दै गर्दा मलाई थप्न मन छ– प्रिय सुधा, प्रिय साईबाबा, प्रिय सुरेन्द्र, प्रिय शोमा, प्रिय महेश, प्रिय सुधीर, प्रिय रोना, प्रिय अरूण, प्रिय वर्णन, अनि सँगै प्रिय तारिक, प्रिय एजाज, प्रिय आमिर, प्रिय कोपा, प्रिय कमला, प्रिय माधवी, प्रिय मासे, प्रिय राजु अनि अरू पनि सयौं–सयौं नामहरू ।


यस्ता कानुनबाट जनताले कसरी आफूलाई रक्षा गर्न सम्भव हुनसक्छ ? यो त ‘पारानोइक्स’ (शंका गर्ने मानसिक रोग) प्रमाणित भएका रोगीहरूसामु कोही एक जनालाई बेकसुर प्रमाणित गर्ने जस्तो काम हुनजान्छ । हरेक तर्कले थप आशंका जन्माउने र भ्रम फैलाउने काममात्र गर्छ ।


चुनावको समीप

हामी दुवैका देश यतिबेला आमनिर्वाचनको ढोकामा छन् । यस्तो समयमा हामीले अझ बढी गिरफ्तारी, थप गैरकानुनी मृत्युदण्ड, थप हत्या, थप ब्लगरलाई ह्याक गरी सिध्याउने, आदिवासी, धार्मिक र जातीय द्वन्द्व उछाल्ने, ‘आतंकवादी’का नाममा हमला, पत्रकार तथा लेखकको हत्या आदि घटनाको अपेक्षा गर्न सक्छौं । हामीलाई थाहा छ, चुनाव भनेको धमनीमा लाग्ने आगोको लप्का हो ।


आफूलाई धर्मनिरपेक्ष लोकतन्त्रवादी दाबी गर्ने तिम्रो प्रधानमन्त्रीले बंगलादेशलाई साउदी अरब सरकारले दिएको अर्बाैं डलर अनुदानको पैसाले ५ सय मस्जिद बनाउने घोषणा गरेकी छन् । ती मस्जिदले ‘सही’ प्रकारको इस्लाम धर्म प्रचार गर्ने भनिएको छ ।


यता भारतमा हाम्रा शासकले हाम्रो संविधानलाई उँचो बनाएका धर्मनिरपेक्षता र समाजवादका सबै आवरणको धज्जी उडाएका छन् । भयावह प्रशासनिक असफलता र गहिरिँदो जनअसन्तोषबाट सबैको ध्यान अन्यत्र मोड्न एकपछि अर्को राज्यका अंग– अदालत, विश्वविद्यालय, बैंक, गुप्तचर विभागलाई संकटतिर धकेलिरहेका छन् ।


सत्तासीन शक्ति (सरकार होइन, सरकारको निर्देशक कम्पनी राष्ट्रिय स्वंयसेवक सङ्घ) ले हुलदंगाबाट ध्वस्त बनाइएको बाबरी मस्जिद रहेको ठाउँमा विशालतम हिन्दु मन्दिर निर्माणनिम्ति ठाउँ खाली गरिदिन आदेशका लागि सर्वोच्च अदालतलाई वैकल्पिक तरिकाबाट उक्साउने वा धम्की दिने काम गरिरहेको छ । चुनावी चक्रसँगै राजनीतिक नेताहरूको धर्मनिष्ठता र सार्वजनिक कोष बनाउने ध्येय कसरी एकाएक बढ्ने गर्छ, चकित पार्ने कुरा छ ।


हो, हामी यिनै कुराको विरोधमा उभिएका छौं । पूर्ण राष्ट्र, पूर्ण मानिस, पूर्ण नागरिक, पूर्ण हिन्दु, पूर्ण मुसलमानका यस्ता चिटिक्क चम्काइएका परिभाषाको विरोधमा हामी उभिएका छौं । यस्ता पूर्णहरूको सफासुग्घर परिभाषाको वास्तविक मनसाय भनेको बहुमत सधैं पूर्ण हुने र अल्पमत सधैं दानवीय हुने हो । यस्तै प्रकारका विचारकै कारण युरोप र सोभियत सङ्घका मानिसले ठूलो विनाशलीला सामना गर्नुपरेको थियो ।


उनीहरूले सरसफाइको अतुलनीय आतंक सामना गर्नुपरेको थियो । युरोपले हालसालै मात्र आम नरसंहार (होलोकस्ट) सुरु भएको ‘क्रिस्टलनाख्ट’ घटनाको ८० औं वार्षिक कार्यक्रम मनायो । त्यहाँ पनि सबै कुरा सुस्त–सुस्त गतिमै सुुरु भएका थिए । त्यहाँ पनि चुनावबाटै सबै कुरा सुरुआत भएका भए । अनि त्यहाँ पनि पुराना गनगन अझै सुरु हुनथालेको सुनिन्छ ।


यहाँ हामी हाम्रो आफ्नै देशमा विनाशकारी चुनाव निकट भविष्यमा भोग्दैछौं । उनीहरूले माछालाई जालमा फँसाउने आफ्नो नीति प्रयोग गर्नेछन् । विपक्षको खेदो खन्न उनीहरू पनि आफू छायामा बस्नेछन् ।

सौभाग्यवश, हामी पनि निकै गएगुज्रेका भद्रगोल मानिस हौं । हामी पनि विविध र भद्रगोल तरिकाले नै उभिनेछौं ।


प्रिय शाहिदुल, एकदिन समुद्री छाल उठ्नेमा म आशावादी छु । हो, त्यो उठ्नेछ । यो मुर्खतापूर्ण अदूरदर्शी क्रूरताको ठाउँ कुनै सौम्यता र दूरदर्शिताले लिनेछन् । हाम्रो पृथ्वीलाई निलिरहेको यो रुग्णता, यो अस्वस्थहरूको मुक्केबाजीको पनि अन्त्य हुनेछ ।


तिमीलाई ढाकामा छिट्टै भेट्ने आशासहित ।

सद्भावपूर्वक

अरून्धति


(शाहिदुल आलम बंगलादेशका प्रख्यात फोटोपत्रकार तथा अधिकारकर्मी हुन् । गत साउन २० गते राति सादा पोसाकका प्रहरीद्वारा गिरफ्तार गरिएका ६३ वर्षीय शाहिदुललाई बिहीबार उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । सडक सुरक्षाको सवालमा भएको विद्यार्थी आन्दोलनमा सरकार निर्मम रूपमा प्रस्तुत भएको आरोप लगाउँदै उनले अल जजिरा टीभीमा अन्तर्वार्ता दिनुका साथै फेसबुकमार्फत सरकारको विरोध गरेका थिए । त्यही निहुँमा गिरफ्तार शाहिदुलका पक्षमा भारतकी चर्चित लेखिका, अधिकारकर्मी अरून्धति रायले पत्र लेखेकी हुन् ।)


स्क्रोल डट आईएनबाट निरज लवजु र राजेन्द्र महर्जनद्वारा अनूदित ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?