कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

नस्ल ल्याऔं गाई बनाऔं

सम्पादकीय

काठमाडौँ — गाई तिहार मनायौँ, अब गाईबारे छलफल गरौँ । धेरै गाई–भैंसी अनुत्पादक छन् । किनकि तिनलाई स्याहार पुगेको छैन । आहार अपर्याप्त छ । त्यो पनि कमसल । कृत्रिम गर्भाधान सेवा प्रवाह कम छ । उन्नत साँढे/राँगो सबैतिर छैनन् । भूस्वामित्व खण्डीकृत हुँदै गएको छ । बाछी हुर्काउने चलन घटेको छ । कृषि श्रमिक पाइँदैनन् । 

नस्ल ल्याऔं गाई बनाऔं

धेरै किसान बजारको पहुँचबाट अझै वञ्चित छन् । दूध संकलन, चिस्यान केन्द्र तथा ढुवानीका पूर्वाधार कमजोर छन् । कतै मिल्क होलिडे त कतै दूध अभाव छ । दूध पाउडर र दुग्धजन्य उत्पादन वर्षमा दुई अर्बभन्दा बढीको आयात गर्छौं । नेपालीको प्रतिव्यक्ति आय मात्र होइन, दूधको उपलब्धता पनि कम छ । वर्षमा प्रतिव्यक्ति ९२ लिटर चाहिनेमा २० लिटर अपुग छ ।


किसान घाटा छ भन्छन् । मारमा उपभोक्ता छन् । गुणस्तर बढाउने नाममा पाउडर मिसाइएको दूध खानुपर्ने बाध्यता छ । शुद्ध र स्तरीय दूधमा सहज र सुलभ पहुँच हाम्रो अधिकार हो । ‘पालौँ पशु कमाऔँ धन, शुद्ध दूध स्वस्थ जीवन’ नारासाथ विश्व दूध दिवससमेत मनाइन्छ । गाईभैंसीका सरोकारबारे खासै सुर्ता मानिँदैन ।


नेपालमा सामान्यत: दुई किसिमका गाई पालिन्छन्– स्थानीय र बाहिरी नस्लका । स्थानीय गाई गाउँघरतिर किसानले गैरव्यावसायिक प्रयोजनले पाल्छन् । निर्वाहमुखी खेती तथा पशुपालन गर्नेहरू– हुँदा खाने हुन् या खान पुग्ने– दुवै थरीको आवश्यकता हो, एउटा दुहुनु गाई । परिवारलाई धेरथोर ‘सेतो थोपो’ खान पुग्छ । बारीका लागि मल हुन्छ । संस्कृति–परम्परा धान्न गोबर–गहुँत मिल्छ । पूजापर्वमा गाईकै दूध चढाइन्छ । धूप हाल्न यसकै घिउ प्रयोग हुन्छ ।


यही गाई पाल्नुको कारण छ– जोत्न मिल्ने गोरु यसैले जन्माउँछ । यी गोरुको जुरो हुन्छ । हाम्रा किसान उन्नत गाईलाई पोषण पुर्‍याउनै सक्दैनन् । चोकर खुवाउँछन् । सन्तुलित आहार नपुग्दा उनीहरूको प्रजनन क्षमता घट्छ । दोस्रो बेतसम्म तैबिसेक धान्छन् । तेस्रो बेत ब्याउन सक्दैनन् ।


बाहिरी नस्लका गाई व्यावसायिक प्रयोजनले पालिन्छन् । कसैले घरकै लागि पनि पालेका होलान् । किसानकामा पुग्ने गाई शतप्रतिशतै बाहिरी नस्लका हुँदैनन् । कति ७५ प्रतिशत होलान्, कति ५० प्रतिशत ।


यहाँ खासै गाईका स्रोतकेन्द्र छैनन् । एउटाबाट अर्को किसानकामा लाने चलन छ । यो गैरव्यावसायिक भएकाले गुणस्तरीय किनबेच पनि हुँदैन । स्रोतकेन्द्रै बनाएर उच्च नस्लका उत्पादनमा ध्यान दिए किसानले राम्रो गाई मात्र होइन, साँढे पनि पाउँछन् ।


सरकारले ०७१ मंसिरमा भारतबाट १० हजार गाई ल्याउने तयारी गरेको थियो तर त्यहाँको सरकारले पञ्जीकृत गाई अर्को देश लान नमिल्ने भनेपछि नेपाल चीनतर्फ मोडियो । सिचुवान प्रान्तबाट १० हजार गाई ल्याउने सुरसार भयो ।


३२ अर्ब रुपैयाँमा १० हजार गाई ल्याइने थाहा पाएर स्थानीय किसान चिडिएका छन् । आहारा, नस्ल सुधार, उत्पादन, प्रशोधनसँग जोडिएको प्रविधि मात्र ल्याउने भन्ने बहस पनि छ । गाईपालनमा बाह्य

लगानी आउनु राम्रो हो । त्यस्तो लगानीले पुँजी ल्याउँछ, प्रविधि भित्र्याउँछ । हाम्रा किसानले क्षमता अभिवृद्धि गर्ने अवसर पाउँछन् । रोजगारी बढ्छ ।


दुई वर्षयता नेपालमा वार्षिक १० प्रतिशतका दरले दूध उत्पादन बढेको छ । पशु सेवा विभागले वार्षिक देशभर ६ लाख गाईमा कृत्रिम गर्भाधान गर्दा ४ लाख गर्भिणी हुन्छन् । तीबाट २ लाख बाछी र दुई लाख बाछा जन्मिन्छन् । एक लाख बाछी २६ महिनापछि दुहुन सकिने बन्छन् ।


विगत दुई वर्षमा एक लाख दुधालु गाई हुर्किएकाले किसान विदेशीको आवश्यकता किन भन्ने प्रश्न गर्छन् । उनीहरूको तर्क जायज हो, बढीमा एक लाख रुपैयाँ पर्ने र ३०–४० लिटरसम्म दूध दिन सक्ने गाई यहीँ छन् ।


स्थानीय गाई पाल्नेहरू कम दु:खी छन् । उनीहरूका आवश्यकता सीमित छन् । उन्नत जात पाल्नेका दु:ख बढी छन् । सुरुमा भनेजस्तो गाई नै पाउँदैनन् । दर्ता नगरिएका गाई चोरबाटो भारतबाट ल्याइन्छन् । यसरी ल्याउँदा वंशानुगत विवरण उपलब्ध हुँदैन । तिनका माउले बाछाबाछी कति पाए ? दूध कति दिन्थे ? ‘फ्याट’ कति थियो ? कुनै रोग पो थियो कि ? व्यावसायिक पशुपालनमा यी जानकारी अत्यावश्यक हुन्छन् । दर्ता नभएका गाईमा यस्तो विवरण भेटिँदैन । यसो हेर्‍यो, चिल्लो र ठूला फाँचा देख्यो, धाप मार्‍यो, किनिहाल्यो ।


सरकारी तवरमै विदेशबाट गाई ल्याउनु ठीकै होला । त्यो सर्वोत्तम उपायचाहिँ होइन । यसरी ल्याउँदा पनि फेरि ब्याउने के टुंगो ? अर्को बेतमा कति दूध दिन्छ ? कतै रोग पो छ कि ? यस्ता समस्या आउन सक्छन् ।


उत्तम उपाय बाहिरबाट उन्नत वीर्य ल्याउने हो । यो प्रमाणित हुन्छ, रोग पनि हुँदैन । नेपालमै भएका उन्नत जातका राम्रा गाई छान्ने । तिनमा कृत्रिम गर्भाधान गर्ने । र, देशभर प्रसार गर्ने ।


यहाँ उपलब्ध पहिलो रोजाइको गाई होलिस्टियन फ्रिजियन हो । नेदरल्यान्ड मूलका यी गाई अमेरिका, युरोप हुँदै एसियाभर छन् । यिनको विकास पनि भइरहेको छ । दूध उत्पादन अझ बढ्दो छ । जर्सी पनि राम्रामा गनिन्छन् ।


यहाँ एउटा गाईलाई लाखजति पर्छ । विदेशबाट ल्याए लगानी दोब्बर लाग्छ । हामीले आफ्नै क्षमता वृद्धि गर्नुपर्छ । यहाँका नराम्रा पन्छाएर राम्रा गाई छान्न सक्नुपर्छ । उन्नत जातका बाछी काम लाग्छन् ।


बहर व्यवस्थापनमा भने समस्या छ । तिनको जुरो हुँदैन, जोत्न मिल्दैन । पछिल्ला दिन बाछा सडकमा देखिन्छन् । थाकिसकेपछि गाईकै व्यवस्थापनमा पनि पिरलो छ । व्यावसायिक किसानहरू यिनको व्यवस्थापनमा निर्मम बन्ने गरेको सुनिन्छ । कैयौं दिन खान नदिने । सीमा कटाउने । सडक तथा खुला ठाउँमा बेवारिस छाडिदिने ।


अर्कातिर बस्तुभाउको प्राकृतिक असर पनि छ । यिनबाट मिथेन ग्यास उत्सर्जन हुन्छ । यसले वायुमण्डलमा क्षति पुर्‍याउँछ । विश्वव्यापी सरोकार आखिर विश्वले नै हल गरिहाल्छ ।


उन्नत गाई पाल्दा आर्थिक हिसाबले किसान मर्कामै छन् । असार–भदौमा दूध बढी हुँदा बनाएको पाउडरको पनि भाउ पाउँदैनन् । भारतबाट आएकाले विस्थापित गर्छ । किसानको प्रतिस्पर्धात्मक क्षमता कमजोर छ । तिनको क्षमता बढाएर बजार कज्याउने उपाय खोज्नुपर्छ । स्थानीय तवरमै गाई उत्पादन व्यापक बनाए केही हदसम्म सम्भव छ ।


दूधमा आत्मनिर्भर हुन सकिन्छ । दुग्धजन्य पदार्थ निर्यात गर्ने दिन पनि आउन सक्छ । जनशक्तिको कमी होइन । अवसर पाए किन भेडा चराउन बिदेसिनुपथ्र्यो ? राज्यले व्यवस्थित योजना बनाउनुपर्छ– किसानहरूलाई बाटो देखाउने, कृषितर्फ आकर्षित गर्ने । पशुपालनलाई लाभदायी पेसा प्रमाणित गर्ने । गाईको स्याहार–शुश्रूषा गरे नै दूध खान पाइन्छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?