पर्यटक भित्र्याउने पूर्वाधार
काठमाडौँ — सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । त्यसैअनुरूप प्रचारप्रसार, नयाँ पर्यटकीय गन्तव्य पहिचान र सूचीकृतजस्ता काम अगाडि बढाएको छ । यो सराहनीय काम हो । यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउँछ ।
पर्यटन वर्ष आउन करिब १३ महिना मात्र बाँकी रहँदा पूर्वाधार व्यवस्थापनमा भने ध्यान पुगेको देखिँदैन ।
एक वर्षमा २० लाख पर्यटक आउनु भनेको सरदर हरेक महिना १ लाख ६० हजार पर्यटकको व्यवस्थापन गर्नु हो । व्यवस्थापन सुविधाजनक तरिकाले गर्न सक्नुपर्छ ।
भविष्यमा तिनै पर्यटक प्रचारप्रसारको उचित माध्यम हुन सक्छन् । एकै पटक पर्यटकको घुइँचो लाग्दा कसरी बासस्थान व्यवस्था गर्ने, पर्यटकीय स्थल पुग्ने मार्ग र साधन केके हुन् भन्ने विषयमा बेलैमा गम्भीर बन्नुपर्छ ।
पर्यटन व्यवसाय अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ । नेपालले यस क्षेत्रबाट उचित लाभ हासिल गर्न सकिरहेको छैन । सरकारले पर्यटन व्यवसायलाई प्राथमिकतामा रखेको प्रचार बढी गर्नु तर पूर्वाधारको विकास र व्यवस्थापनमा ध्यान नदिनु यसको कारण हो । नेपालको पहाडी क्षेत्रमा सहज र सुविधायुक्त यातायातको अभाव छ । हवाईसेवा विस्तार सुस्त गतिमा छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कामले पूर्णता पाइसकेको छैन । ती विमानस्थलले सन् २०२० मा सेवा दिन सक्ने सम्भावना छैन ।
सरकारले पहिचान गरेका नयाँ पर्यटकीय गन्तव्यमा स्तरीय होटेल खोल्न सकिने सम्भावना छैन । पर्यटकीय सिजनमा पर्यटकले भोग्नुपरेको सास्ती र उचित खान र बस्न व्यवस्थापन नभएको गुनासो सुनिरहेको अवस्थामा होमस्टेले कति र कसरी धान्ला, सरकारले गम्भीर भएर बेलैमा सोच्न आवश्यक छ । भरपर्दो वैकल्पिक व्यवस्थापन गर्न नसके पर्यटन वर्ष प्रत्युपादक बन्ने जोखिम छ ।
पर्यटकलाई घुमफिरको समयमा मनोरञ्जन पनि चाहन्छ । त्यसका लागि सरकारले तत्काल तयारी थाल्नुपर्छ । पर्यटकीय स्थल वर्गीकरण गरेर निश्चित स्थानमा चौबिसै घण्टा पर्यटकीय सेवा प्रदान गर्ने वातावरण बनाउनुपर्छ । ठमेललाई चौबिसै घण्टा खुला गर्ने भने पनि व्यवहारमा लागू भएको छैन ।
यातायातका साधनमा पर्यटकमैत्री व्यवस्था छैन । पर्यटकले बुझ्ने भाषा गन्तव्यको नाम वा सूचना पाइँदैन । सहरी क्षेत्रमा पनि गन्तव्य रुटको विषयमा जानकारी दिने व्यवस्था अभाव छ । सरकारले सूचीकृत गर्दै गरेको पर्यटकीय स्थानको रुट बनाउन धेरै समय लाग्ने पक्का छ । अबको तेह्र महिना दिनरात नभनी खट्ने हो भने मात्र आशा गर्ने अवस्था आउला । पर्यटकमैत्री होर्डिङबोर्डको अभावदेखि ठगी रोक्नेसम्मका चुनौती छन् । अहिलेबाटै पूर्वाधार व्यवस्थापनमा लाग्ने हो भने सहज वातावरण सिर्जना हुन सक्ला ।
पर्यटन वर्षलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने र पर्यटन व्यवसायलाई देशको आर्थिक मेरुदण्डको एक अंग मान्ने हो भने सरकारले सबै संयन्त्र परिचालन गरेर पहिचान भएका गन्तव्यसम्म पर्यटक सहज पुग्ने वातावरण बनाउनुपर्छ । सडकको स्तर उन्नतिमा सरकारले दिनरात नभनी काम गर्नुपर्छ । होमस्टेलाई प्रभावकारी र सुविधायुक्त बनाउन कदम चाल्नुपर्छ ।
पर्यटकीय स्थलमा खाने, बस्ने र केही दिन बिताउन सक्ने गरी व्यवस्थापनको तयारी थाल्नुपर्छ ।
पर्यटक कुनै गन्तव्यमा घुम्नु भनेको आनन्द लिनु हो । कुनै कुरा कमी भएको महसुस भए छोटो अवधिमै पर्यटक फर्किन्छन् । त्यसैले पूर्वाधार विकासको तयारी जतिसक्दो छिटो थाल्नुपर्छ ।
प्रकाशित : मंसिर २, २०७५ ०८:१७