कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मेरो कोख चिहान होइन 

लीलाकुमारी अर्याल

काठमाडौँ — मेरा दुई छोरी छन् । ती दुवै छोरी जन्मिँदा म खुसी थिएँ । चिकित्सा विज्ञानको जमानामा आफ्ना शिशुको लिंग जन्मिएपछि मात्रै थाहा पाएकी हुँ । छोराछोरीमा भेदभावको सोच मभित्र पलाएको भए एउटी छोरी हुँदाहुँदै म अर्को नजन्माउन डाक्टरलाई कैंची चलाउन लगाउँथेँ । मैले दुई सन्तान चाहेकी थिएँ । त्यसमा लिंगको अर्थ थिएन । 

मान्यजनबाट भने बारम्बार एउटै आशिक दोहोरिरहन्छ । यसपालि दसैंको टीका अर्पण गर्दा लगभग सबै मान्यजनले मलाई उस्तै आशयका आशिक दिए– एउटा कुरा हामीलाई खड्केको छ । तिमीलाई भगवान्ले पुरुष शिशुको जन्म उपहार दिनेछन् । तिमी सौभाग्यवती बन्नेछ्यौ ।

पाको उमेरका मान्यजनले आशिक दिँदा मेरो कुनै गुनासो रहँदैन । उहाँहरूले परम्परागत शैलीको आशिक दिनुभयो । उहाँहरू त्यस्तै सोच भएको समाजमा जन्मनुभयो, हुर्कनुभयो । उहाँहरूको विचारको घेरा सानै थियो । मैले सुनिबसेँ । साइनोअनुसारको सम्मान गरेँ । पाका उमेरका मानिसभन्दा आजका आधुनिक, शिक्षित, समाजसेवी कहलाएका मानिसले झन्झन् पुरातन (अर्थोडक्स) विचार बोकेको देख्दा अचम्मित हुन्छु ।

आफ्नो स्वार्थमा आधुनिकताको ढोङ रच्ने मानिस पनि लैंगिक भेदभावको सन्दर्भमा ढुंगेयुगमै देखिन्छन् ।

शिक्षित वर्गले नै छोरा जन्माउने आसमा छोरीलाई लत्याएका छन् । लिंग पहिचान गरी गर्भपतन गर्नु कानुनी रूपमा दण्डनीय हो । यस्तो कानुनी मान्यता दुरुपयोग गर्दै गर्भमा छोरी भए नजन्मँदै कैंची लगाएर फ्याँक्ने प्रशस्तै छन् ।

डाक्टरलाई पेसेवार हत्यारामा रूपान्तरण गर्न ‘शिक्षित’ बाबुआमाले लगाइरहेका छन् । यस्ता बाबुआमाले डाक्टरलाई लिखित अनुमतिका साथै निश्चित रकम पनि दिएका हुन्छन् । यसमा उनीहरूलाई पछुतो छैन । उनीहरू ठान्छन्, त्यही कोखबाट एक दिन एक पुरुष बच्चा जन्मनेछ र उसले उनीहरूलाई स्वर्गसम्मको यात्रा गराउनेछ ।

केही कानुनले अधिकार प्रत्याभूत गरेकाबाहेक लगभग नब्बे प्रतिशत गर्भपतनका घटना संस्कारबाट प्रेरित छन् । सम्पत्तिको उत्तराधिकारीभन्दा परलोकको यात्राका लागि छोरा नजन्मेसम्म छोरीहरू निमोठिरहने परम्परा बनेको छ । समाजको मेरुदण्डका रूपमा रहेको संस्कारलाई सबैले मान्नुपर्ने हुन्छ । तथापि संस्कार समयसापेक्ष छ वा छैन वा त्यसको व्यावहारिक प्रयोगले मानिसलाई फाइदा पुर्‍याएको छ कि छैन भन्ने जस्ता पक्षको राम्रो ज्ञान हुुनु आवश्यक छ ।

आधुनिकताका नाममा संस्कार मान्नुहुन्न वा रूढिवादिताका नाममा संस्कार सधैं उही रूपमा मानिरहनुपर्छ भन्ने कुरा दुवै असान्दर्भिक हुन् । संस्कार समयसापेक्ष परिवर्तन गर्न सक्नुपर्छ । पुरातन संस्कारलाई तिरस्कार गर्नुपर्छ । संस्कार मानव निर्मित हो । परिवर्तन गर्नै नमिल्ने लालमोहर त्यसमा लगाइएको हुँदैन । यसको परिमार्जन गर्ने मानिसले हो, समाजले हो ।

कृपा नामक संस्थाले सन् २०१४ मा गरेको अनुसन्धानअनुसार त्यस साल नेपालमा तीन लाखभन्दा बढी गर्भपतन भएको थियो । त्यसबाहेक गोप्य रूपमा पनि गर्भपतन गराइएको हुन्छ । लाग्छ, महिलाको शरीरलाई चिहानघाट बनाइँदैछ ।

त्यसमा महिलाले पनि साथ दिइरहेका छन् तर म मेरो कोखलाई चिहानघाट बनाउन दिन्नँ । कैयौंलाई निमोठेर निस्किएको एक छोराले मृत्युपश्चात् स्वर्ग तार्ला नतार्ला तर मलाई शतप्रतिशत विश्वास छ, निमोठिनबाट जोगिएका छोरीहरूले बाबुआमाको मृत्युपूर्वको जीवनलाई स्वर्गतुल्य साबित गरिदिन सक्छन् ।

लेखक नेपाल विद्युत् प्राधिकरणकी सहायक निर्देशक हुन् ।

प्रकाशित : मंसिर २, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?