कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

राष्ट्रिय स्वाधीनताका भेट्रान

बालकृष्ण माबुहाङ

काठमाडौँ — पहिलो विश्वयुद्ध (१९१५–१९१८) अन्त्य भएको गत ११ नोभेम्बरमा सय वर्ष पुग्यो । त्यस दिन युद्धविरामको सम्झनामा पेरिस, लन्डन, पोल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत स्थानमा भव्य कार्यक्रम भए । विश्वयुद्धसित नातासम्बन्ध नभएकाले हुन सक्छ, युद्धविरामको शताब्दी वर्षबारे नेपाल बेखबर रह्यो ।

राष्ट्रिय स्वाधीनताका भेट्रान

यो अस्वाभाविक थिएन । तर विश्वयुद्धको नरसंहारबाट बचेखुचेका लाहुरेहरू संयुक्त अधिराज्य बेलायतले लन्डनमा गरेको कार्यक्रमको प्रभातफेरीमा छिटफुट देखिए । लाहुरेको सहर धरानमा ‘पप्पी (भाङको फूल) डे’ आयोजना गरेर पहिलो विश्वयुद्धविरामको सम्झना गरेको सामाजिक सञ्जालमा देखियो । प्रथम विश्वयुद्ध र नेपालबीच सम्बन्धको सेतु बनेको लाहुरेका विषयमा यो आलेख केन्द्रित छ ।


लाहुरे, उसको बहादुरी, भाडाको सिपाहीको पगरी र नेपालको स्वतन्त्रतामा उसले पुर्‍याएको योगदानको संक्षिप्त चर्चा गरिनेछ ।


नेपाली बृहत् शब्दकोशअनुसार ‘लाहुरे’ को अर्थ ‘भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान, रिकुटे’ हुन्छ । लाहुरे (को) माया, अस्थायी माया प्रीति, क्षणिक प्रेम व्यापार । लाहुरेको अपुरो र पूर्वाग्रही परिभाषा शब्दकोशको छ ।


सन् १८०९ तिर राजा रणजित सिंहको फौजमा पन्जाबको राजधानी ‘लाहोर’ जाने गोर्खाली, सन् १८१४–१६ को एङ्लो–नेपाल युद्धमा बन्दी बनाइएपछि गोर्खाली सेना इस्ट इन्डिया कम्पनीको सेना बनेर उसकै अधीनमा बेलायत, सिंगापुर र ब्रुनाईमा कार्यरत फौज र सन् १९४७ मा स्वतन्त्र भएको गणतन्त्र भारतको सम्प्रभुता रक्षाका लागि भर्ती भई जाने नेपाली नागरिक ‘लाहुरे’ हुन् । उनै लाहुरेलाई संसारले गोर्खा भनेर चिन्छ, अंग्रेजको जिब्रोले गुर्खा भन्छ ।


लाहुरेको पहिलो पहिचान बहादुरीको हो । अंग्रेज सेनापतिहरूको लिखतको सन्दर्भ लिँदै मानवशास्त्री लिओनल केप्लन लेख्छन्, ‘इस्ट इन्डिया कम्पनीको रैथाने सेनामा बहादुरी, शारीरिक तन्दुरुस्ती र साहसी गुणको कमी थियो, एङ्लो–नेपाल युद्धमा गोर्खाली सेनामा त्यो देखियो ।’


काठमाडौंस्थित इस्ट इन्डिया कम्पनीको प्रतिनिधि (सन् १८३३–४३) बीएच हडसनको सोचमा लडाकु जातिका युवालाई भारतीय सेनामा निरन्तर भर्ती गरेर दोहन गर्न सक्यो भने लडाकु सेनाको आवश्यकता पूर्ति हुन्छ, अर्कोतिर भविष्यमा आफूविरुद्ध उपयोग हुने सम्भावना शून्य हुन्छ । रोजेको जाति, लाहुर जान इच्छा गर्ने व्यक्ति र शारीरिक रूपमा फिट ठिटाहरू खोज्न त्यो बेला ४/५ महिना लागेको इडेन भ्यान्सिटार्टको अनुभव छ । विभिन्न उपायले गोर्खाली सेना अंग्रेजले दोहन गरिरह्यो, गरिरहेकै छ ।


केप्लनको तर्क छ, गोर्खा सेना लडाकु हुनुको सामाजिक मान्यता छ । कुन जाति लडाकु हो र कुन होइन भन्ने सामाजिक वर्गीकरण छ । युरोपियनका सन्दर्भमा सेना वैयक्तिक रुचिको पेसा मात्र हो । बहादुरीको विशेषता ‘सामूहिक’ कि ‘वैयक्तिक’ भन्ने रहेछ । ‘कवाडी भएर बाँच्नुभन्दा मर्नु निको’ भन्ने विचार गोर्खालीका लागि सांस्कृतिक चेतनाले निर्देशित छ ।


युरोपियनको सन्दर्भमा त्यो वैयक्तिकतामा सीमित छ, सामूहिक सरोकारको विषय हुन्न । लडाकु जातिको पगरी गोर्खालाई मात्र पाएको होइन । पूर्वी अफ्रिकी मुलुक न्यासाल्यान्ड (मलावी) का याओ जातिका लडाकुलाई पनि किङ्स अफ्रिकन राइफल्स (केएआर) मा भर्ती गर्दा अंग्रेजले ‘मार्सल रेस’ भन्थ्यो ।


अर्को पहिचान ‘भाडाका सिपाही’ हो । विदेशी सेनामा पैसाका लागि भर्ती भई काम गर्ने व्यक्तिलाई भाडाका सिपाही भनिन्छ । अमेरिकी प्राध्याक एलेन एल फ्राएअनुसार सत्रौं शताब्दीमा जर्मनी र अस्ट्रियाले सेना बजारबाट आपूर्ति गर्थे । अमेरिकी क्रान्तिका बेला बेलायतले आफ्नो उपनिवेश जोगाउन करिब ३० हजार जर्मन सेना भाडामा लग्यो ।


भियतनामसितको लडाइँमा अमेरिकाले दक्षिण कोरियाली, फिलिपिनो र थाईलाई सेनामा भर्ती गर्‍यो । पाकिस्तानले आफ्ना नागरिक लिबियालगायत मध्यपूर्वी देशमा भर्ती पठाउँछ भने साउदी अरबले गर्ने आर्थिक सहयोगका लागि नियमित सेना आपूर्ति गर्छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा विभिन्न मुलुकले पठाएकाहरू पनि भाडाकै सिपाही भएको कतिपयको टिप्पणी छ । फ्रान्समा ‘विदेशी लिजनरी आर्मी’ का रूपमा दुनियाँको जोकोही नागरिक व्यावसायिक सीप र कठिन तालिम लिन सैनिकमा भर्ती हुन्छन् ।


कुनै राज्यले आफ्नो नागरिक अर्को राज्यको सुरक्षार्थ खटाउनु स्वतन्त्र मुलुकको नैतिकताले नदिने कुरो हो तर बेरोजगारी समस्या र शासकीय कमजोरीका कारण विदेशी सेनामा व्यावसायिक वा सैनिक सेवामा भर्ती जानु आलोचनाको विषय रहेन । बिसौँ शताब्दीमा छद्म मर्सिनरी व्याप्त भएको राजनीतिशास्त्रका प्राध्यापक जेनिस ई थमसनको तर्क छ ।


सन् १९४७ मा बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछि अंग्रेजसित भएको त्रिपक्षीय सन्धिको अनुसूची ‘ग’ (नेपाल सरकारको सुझाव) को पहिलो बुँदामा भनिएको छ, ‘गोर्खालीलाई बेलायती तथा भारतीय सेनाले पाउने वृत्ति विकास, कल्याणकारी सेवा र सुविधा समान हुनुपर्छ ताकि उनीहरू ‘भाडाका सिपाही’ हुन् भनेर गरिने निन्दा पूर्ण रूपमा अन्त्य होस ।’


बाह्रवटा बुँदामा दिइएको सुझावलाई बेलायती प्रतिनिधि सायमोनले कृतज्ञता दर्साउँदै भनेका छन्, ‘वित्तीय तथा अन्य आपूर्तिको सीमिततालाई ध्यान दिँदै गोर्खालीलाई प्रदान गरिने सेवासुविधा बेलायती सेनालाई दिएसरह हुनेछ ।’ त्रिपक्षीय सन्धिपछि बेलायत र भारतको सेनामा कार्यरत गोर्खाली सेना तीनवटा राज्यको आवश्यकता वा इच्छाका आधारमा कार्यरत भएकाले तिनलाई भाडाका सेना भन्नु उचित देखिन्न । कि राज्य नै भाडाको राज्य भन्नुपर्ने हुन्छ ।


सुगौली सन्धिमा गोर्खाली सरकारले धेरै कुरा गुमायो । जंगबहादुर राणा भर्तीको विरोधी थिए तर उनी आफैं दिल्लीको सिपाही विद्रोह दबाउन ६ हजार नेपाली सेनासहित अंग्रेजको समर्थनमा पुगे । साटोमा ‘नयाँ मुलुक’ नेपालले पायो । बेलायती भिसेरोयले सन् १९०५ मा नेपाल स्वतन्त्र राष्ट्र नभई भारतको अभिन्न अंग र महारानीको श्रीपेच (क्राउन) अधीनस्थ हो भनेका थिए, अपितु अफगानिस्तानभन्दा फरक मान्थे ।


विश्वयुद्धअगावै राणाहरूले आफ्नो मुलुकको सम्पूर्ण सैनिक क्षमता आफूले प्रयोग गर्न सक्ने विश्वास अंग्रेजलाई दिएका थिए । आंशिक रूपमा नेपाली सैनिक र करिब ६५ हजार गोर्खा भर्ती गर्न दिने आश्वासन राणाले अंग्रेजलाई दिएका थिए । राणाको चाहना ‘नेपाल एक स्वतन्त्र राष्ट्र हो’ भनेर अंग्रेजले सहमति देओस् भन्ने थियो । पहिलो विश्वयुद्धमा करिब १ लाख २० हजार गोर्खा होमिएका थिए । दोस्रो विश्वयुद्धमा करिब २ लाख नेपाली इस्ट इन्डिया कम्पनीका बफादार सेना भई लडे । दुवै युद्धमा गरेर करिब १ लाख ५० हजार घाइते भएको र करिब ४५ हजार मारिएको अनुमान छ ।


सन् १९२३ मा बेलायत र नेपालबीच भएको मैत्रीपूर्ण सन्धिमा ‘दुवै सरकार आआफ्नो स्वतन्त्रता स्वीकार गर्दै आन्तरिक तथा बाह्य रूपमा परस्पर सम्मान गर्न सहमत छन्’ भनियो । नेपाल स्वतन्त्र राष्ट्रका रूपमा विश्वमा चिनिन संयुक्त अधिराज्यको समर्थन जरुरी थियो, त्यो लाहुरेले पहिलो विश्वयुद्धमा रगत, पसिना बगाएर, मृत्युमा होमिएर मात्र सम्भव भयो ।


सन् १९३०–३५ तिर लाहुरेको पेन्सन वार्षिक ५० लाख रुपैयाँँ भित्रिन्थ्यो भने करिब १ करोड २५ लाख तलब पुग्थ्यो । तत्कालीन सरकारले १० लाख रुपैयाँ सलामी पाउँथ्यो । विकास निर्माणमा सहयोग र सुरक्षा बन्दोबस्तका खर खजाना राज्यले पाउँथ्यो ।


नेपालमा २००७ सालमा राणाशासन गयो, कांग्रेस सत्तामा आयो । २०१७ सालमा कांग्रेस गयो, राजतन्त्र हाबी भयो । २०४७ सालमा सक्रिय राजतन्त्र गयो, बहुदल आयो । दसवर्षे सशस्त्र संघर्षपछि गणतन्त्र गयो । मानिस भन्छन्, खै के भयो ? सबै राजनीतिक परिवर्तन आन्तरिक सत्ता फेरबदलका लागि थिए । धेरैले बलिदान दिए तर सत्तामा पालोपैंचो मात्र थियो ।


विश्व साम्राज्यको नायक बेलायतको २ सय वर्ष सैनिक सेवा गरेर, लाखौं जीवन बलिदान दिएर, आफ्नो जन्मभूमि नेपालको स्वतन्त्रता कायम गर्ने कार्यको हेक्का कसैलाई छ ? ठन्डा दिमागले सोच्ने हो भने १३–१३ वटा भिक्टोरिया क्रस प्राप्त गर्ने तिनै लाहुरे हुन्, जसको बहादुरिको प्रशंसा विश्वमा छ, जसले नेपाल ‘गोर्खाहरूको’ देश भनेर चिनाए । उनीहरू नेपालका ‘भेटरान’ हुन् ।


प्रथम विश्वयुद्ध अन्त्यको सम्झना गरिरहँदा त्रिपक्षीय सन्धिको मर्ममुताबिक समान सेवा, काम र दाम ती भेटरानले पाएका छन् कि छैनन् भन्ने पनि ख्याल गर्नुपर्छ । लाहुरेलाई कसैले इज्जत गर्छ, नागरिकता दिन्छ, सेवासुविधा दिन्छ, पुरस्कृत गर्छ भने त्यो राज्यको इज्जतको कुरो हो । विडम्बना, बेलायतले आवासीय भिसा वा त्यहाँ बसोबास गर्न दिएको नागरिकता नेपाल राज्यलाई आँखाको तारो बनेको छ ।

प्रकाशित : मंसिर २, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?