१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तुलसीमा धार्मिक जलप

औषधीय गुणको तुलसीलाई धार्मिक र संस्कृतिक रूप दिएर संरक्षण र संवर्द्धन गरिएको हो । 
कमल रिजाल

काठमाडौँ — असार शुक्ल एकादशी अर्थात् हरिशयिनी एकादशीका दिन सुतेका विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुन्छन् भन्ने धार्मिक विश्वास छ । यसैका आधारमा यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।

यस दिन चार महिनाअघि अर्थात असार शुक्ल एकादशीका दिन सारिएको तुलसी र साथमा विष्णुको पूजा गर्ने परम्परा छ । यसलाई तुलसी विवाह भन्ने गरिन्छ । यसो गर्नाले भुक्ति र

मुक्ति मिल्छ भन्ने मान्यता छ ।


तुलसी बहुआयामिक महत्त्वको वनस्पतिमा पर्छ । यसको धार्मिक महत्त्व जति बढी छ, समाजिक, आर्थिक र आयुर्वेदीय महत्त्व त्योभन्दा बढी छ । गरुड पुराण सारोद्धारले तुलसीलार्इं गीता, गङ्गा र शालिग्रामको जत्तिकै पवित्र भनेको छ । उसले तुलसी भएको घर स्वयं तीर्थ हो भन्ने उद्घोष गरेको छ ।


ब्रह्मवैवर्त पुराणमा उल्लेख भए अनुसार तुसलीका आठ नाम छन् । यिनमा वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी, कृष्णजीवनी पर्छन् । यिनको नाममात्र लिनाले पनि दु:खको बन्धन टुट्छ भन्ने मान्यता छ ।


पद्मपुराण, शिवपुराण, ब्रह्मवैवर्तपुराण तथा देवी भागवत आदि सबै ग्रन्थले तुलसीको धेरथोर चर्चा गरेका छन् । यिनमा देवी भागवत र ब्रह्मवैवर्त पुराण केही अगाडि छन् । देवी भागवतमा गङ्गा, तुलसी, षष्ठी, मङ्गलचण्डिका, काली, स्वाहा, स्वधा, पुष्टि, तुष्टि, सम्पत्ति सबैलाई स्वयं माता भगवतीको रूप मानिएको छ । तुलसी विष्णुको विशेष प्रिय वनस्पतिमा पर्छ । उनको पूजामा तुलसी नभई हुन्न ।


तुलसीमा किटनाशक विशेष शक्ति छ । वातावरण शुद्धीकरणको क्षेत्रमा पनि यो उत्तिकै महत्त्वपूर्ण मानिन्छ । तुलसीको मोठ वरिवरि किरा–कमिलाले आक्रमण गर्न सक्दैनन् भन्ने विश्वास छ । यसको सुकेको मञ्जरी र डाँठहरूमा समेत किरा लाग्ने गरेको पाएको छैन ।


अन्य वनस्पतिलाई लामो समयसम्म कच्चा पदार्थका रूपमा राख्न सकिन्न, तर तुलसीलाई भने जति समय राखे पनि केही हुँदैन । यस बाहेक यसमा प्राणबद्र्धक शक्तिसमेत पाइएको छ । यसको गन्धले पृथ्वी वरिपरिको हावा शुद्ध गरी आयु र आरोग्य बढ्ने तर्क विशेषज्ञहरूको छ । वायुमण्डलकै शुद्धीकरणमा पनि धेरथोर सहयोग पुग्ने उनीहरू बताउँछन् ।


तुलसीको मोठ बनाउने र सिंगार्ने हाम्रो पुरानो परम्परा हो । यो सभ्यता र संस्कृतिको चिनारी पनि हो । आयुर्वेदशास्त्रीहरूका अनुसार यो जति सुगन्धित हुन्छ, त्यति नै रोगनाशक समेत छ । रुघा, खोकी र दममा यो बढी उपयोगी हुन्छ । यसको नियमित सेवनबाट पुरानो दम, खोकी र निमोनियासमेत ठिक भएको पाइएको छ ।


कतिपय आयुर्वेद कम्पनीले चियामा समेत यसको प्रयोग गर्न थालेका छन् । घरमै बनाएको चियामा तुलसीको पत्ता हालेर खाने पनि धेरै छन् । रक्त शुद्धीकरण, हाडजोर्नीको दु:खाइ, उदर रोग, अजीर्ण, मन्दाग्निजस्ता समस्यामा यो निकै लाभदायक मानिएको छ । यसको व्यावसायिक खेतीसमेत हुनथालेको छ ।


तुलसीबारे वैदिक संहितासमेत सचेत देखिन्छन् । अथर्ववेद तेस्रो काण्डको १८ आंै सूक्तलाई वनस्पति सूक्त भनिन्छ । ऋग्वेद १० औं मण्डलको ९७ औं सूक्त र यसै मण्डलको १६३ औं सूक्तलाई ओषधी सूक्त भनिन्छ । अथर्ववेदमा औषधी सम्बन्धी दर्जनौं सूक्त भेटिन्छन् ।


तुलसीको छुट्टै नाम छैन, तर संयुक्त रूपमा तुुलसी र तुलसीजस्तै औषधीय गुण भएका वनस्पतिको भने खुलेरै चर्चा छ । ऋग्वेद १०।९७ को चौथो मन्त्रमा आएको उर्जाबद्र्धक र ओज तथा पोषणप्रदायक वनस्पतिको प्रसङ्ग तुलसीसितै सम्बन्धित देखिन्छ । अथर्ववेदमा २८९ वटा वनस्पतिजन्य औषधीको नाम आएको छ । तिनमा ९४ प्रमुख मानिन्छन् । तुलसी पनि यसै वर्गको वनस्पतिमा पर्छ । यसको अर्थ औषधीय गुणले युक्त भएको वनस्पति यति नै हुन् भन्ने होइन । वस्तुत: औषधीय गुण नभएका वनस्पति छैनन् । मात्र चिन्न सक्नुपर्छ, सबैमा केही न केही गुण फेला पर्छन् ।


हिन्दु संस्कृति वन्य प्रान्तमा विकास भएको हो । पाषाणकालीन सभ्यताको वरिपरि घुमिरहेको मानव समूहलाई सामाजिक रूप दिन अरण्यवासी ऋषिमुनिहरूले यसको विकास गरेका थिए । यस क्रममा उनीहरूले आफ्ना अगाडि जेजति वन र वनस्पति देखे, त्यसैभित्र मानवोपयोगी बढी गुण र विशेषता भएको वनस्पति खोज गरे ।


यस्ता वनस्पतिमा अगाडि बेल, शमी, वर, पीपल, दुवो, डुम्री, कुश, तिल, तुसली, आँक, पलास, खएर, अपामार्ग आदि छन् । यीमध्ये केही पौष्टिक र औषधीय गुणले बढी महत्त्वका छन् भने केही मानिसले फालेको कार्बन डाइक्साइड आफूले लिएर मानिसलाई चाहिने अक्सिजन प्रवाहमा सक्रिय छन् । त्यसैले उनीहरूले धार्मिक र संस्कृतिक रूप दिएर वा धार्मिक जलप लगाएर यिनको संरक्षण र संवर्द्धन गर्ने प्रयास गरेका हुन् ।

प्रकाशित : मंसिर ३, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?