कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भ्रातृ संस्थाको पथभ्रष्टता

सम्पादकीय

काठमाडौँ — नेविसंघमा तदर्थ समिति बनाउने र नबनाउने विवाद चर्किंदा शनिबार नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भयो । शीर्ष नेताहरू अन्य कार्यक्रम छाडेर विद्यार्थी किचलोबारे छलफल गर्न राजधानी बस्न बाध्य भए । बैठक जारी छ । 

भ्रातृ संस्थाको पथभ्रष्टता

पार्टीको विद्यार्थी संगठनमा यसअघि उमेर हदको विवाद थियो । एक महिनासम्म पूर्ण विधान नपाउँदा नेविसंघ अधिवेशनको तयारीमा जुट्न सकेन । भ्रातृ संस्थाको विधान पार्टी केन्द्रीय कार्यसमितिले पारित गर्नुपर्ने प्रावधानले कांग्रेसलाई राष्ट्रिय राजनीतिको प्रतिपक्षी भूमिकाभन्दा पनि आफ्नै पार्टीभित्रका विद्यार्थीका पक्ष–विपक्ष मिलाउनुपर्नेमा अल्मल्याएको छ ।

कांग्रेसले आफ्ना पेसागत संगठनलाई दुई थरी वर्गीकरण गरेको छ । भ्रातृ संगठन र शुभेच्छुक संस्थाका रूपमा । नेविसंघजस्ता उसका भ्रातृ संस्था एक दर्जनभन्दा बढी छन् । नेकपाअन्तर्गत पनि तत्कालीन एमाले र माओवादीका झन्डै दुई दर्जन भ्रातृ संगठन छन् ।

पञ्चायतकालमा प्रतिबन्ध हुँदा पार्टीका क्रियाकलाप विद्यार्थी संगठनले गर्थे । तिनका कार्यसूची जनतामा लैजान्थे । प्रशिक्षित र संगठित हुन्थे/गर्थे । पार्टीको संगठित शक्तिको स्रोत यिनै थिए । मुलुकमा देखिने प्रतिपक्षी शक्ति खासमा यिनै थिए । सत्ताविरुद्ध आन्दोलन गर्ने, राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा आफ्नो अडान राख्ने गर्थे । जनमत निर्माण गर्न गतिविधि गर्थे ।

पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई सुनाइएको मृत्युदण्डको सजायको विरोध गर्ने क्रममा काठमाडौंमा उठेको विद्यार्थी आन्दोलनकै कारण २०३६ सालमा राजा वीरेन्द्र जनमत संग्रह घोषणा गर्न बाध्य भएका थिए । सात सालदेखि प्रजातन्त्र अविच्छिन्न रूपमा अघि बढेको भए यस्ता संस्था समयक्रममै पाखा लाग्थे । राजनीतिमा बेलाबेला अवरोध आए । यस्ता संयन्त्र आवश्यक बने । २०४६ र ६२/६३ को जनआन्दोलनका लागि पनि नेविसंघ र अखिल चाहिएका थिए ।

निश्चित कालखण्डमा खास उद्देश्यका लागि बनाइएका संस्थाको औचित्य सधैं उही र उस्तै रहँदैन । समय र समाजको गतिशीलताअनुसार यस्ता संस्थाले आफ्नो चरित्र र वेग बदल्नुपर्ने हुन्छ ।

बहुदलीय प्रजातन्त्र पुन:स्थापना भइसकेपछि पार्टीहरूले विद्यार्थीलाई राजनीति मुक्त गर्दै लैजानुपर्थ्याे । उनीहरूलाई शैक्षिक एजेन्डामा सीमित राख्नुपर्थ्याे । चाहे कम्युनिस्ट हुन् या कांग्रेस, इतिहासको धङधङीबाट मुक्त हुनै सकेनन् । संस्कारी राजनीति सिक्नै सकेनन् । समयको बहाव पहिल्याउनै जानेनन् । उल्टो समाजका हरेक तह र तप्कामा राजनीति छिराए । दलीयकरण गरे ।

परिणाम आज विद्यार्थी संगठनहरू शैक्षिक एजेन्डामा सीमित छैनन् । पार्टी र गुटका अस्त्र बन्न अभिशप्त छन् । नीतिगत, सैद्धान्तिक आधारमा विभाजित छैनन्, स्वार्थ र सुविधाले बाँडिएका छन् । शिक्षासम्बन्धी विचार–विमर्श बहसमा उत्रिँदैनन्, बरु बन्द–हडताल, अवरोध, चक्काजामजस्ता प्रदर्शनकारी भूमिकामै रमाउँछन् । शिक्षा व्यवसायीहरूसँग लेनदेन गर्छन् ।

विद्यार्थीले आफ्नो सोच्ने स्वतन्त्रता र सीमा राजनीतिक सम्झौता र सुविधामा साट्यो भने समाज र राष्ट्रले केही लाभ पाउँदैन । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने तटस्थता र निष्पक्षता विद्यार्थीका गुण हुन् । उसले सधैं प्रश्न गर्ने र अझै सिक्ने साथै आफ्नै राजनीतिक नेतृत्वलाई समेत सावधान तुल्याउने भूमिका लिनुपर्ने हो । यस्ता संगठनको चरित्र उही छ, पार्टीले घन्काएको मादलअनुसार आफ्नो कम्मर मर्काउने । न स्वतन्त्र अस्तित्व छ, न स्वाधीन चेत ।

बहुदलीय प्रतिस्पर्धाका क्रममा पार्टीहरूले ‘मनी’ र ‘मसल’ अर्थात् पैसा र पाखुरालाई आफ्नो आधार शक्ति बनाए । भोटको राजनीतिका क्रममा बहुदलीय प्रतिस्पर्धा विकृतिको होड बन्यो । विद्यार्थी शक्तिलाई पाखुराकै रूपमा प्रयोग गरिरहे । उनीहरू पनि उपयोग भइरहे । यस मानेमा विद्यार्थी राजनीति पञ्चायतकालमा भन्दा विकृत छ । त्यतिबेला उनीहरू पार्टीका वैचारिक प्रतिनिधि थिए । आजको विचारको बहस पार्टीले त छोडिसके, उनीहरूले किन गरुन् ?

देशमा विचारभन्दा व्यवहार प्रधान भइसकेपछि बहस गर्नुपर्ने विद्यार्थी विवाद गरिरहन्छन् । देश राजनीतिक स्थिरतातर्फ बढेको छ । यस्तो अवस्थामा राजनीतिलाई सङ्लो बनाउन यस्ता संगठनको सीमा तोक्नुपर्छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?