कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

त्रिविको र्‍यांकिङ कति राम्रो ?

उही मुटु उही भावना
कमल लामिछाने

काठमाडौँ — एउटै विश्वविद्यालय हुनु, देशैभरि आंगिक र आबद्ध क्याम्पस विस्तार हुनु र निजी क्षेत्रबाट नयाँ विश्वविद्यालय स्थापना सहज नहुनुले लथालिंग हुँदाहुँदै पनि त्रिवि र्‍यांकिङमा अगाडि देखिएको हो । 

त्रिविको र्‍यांकिङ कति राम्रो ?

केही पहिले एउटा अन्तर्राष्ट्रिय संस्थाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई विश्वका उत्कृष्ट विश्वविद्यालयको ८ सयदेखि १ हजारको सूचीभित्र समेटेपछि यसलाई सयभित्र पार्न के गर्नुपर्ला भन्ने बहस हुनथालेको छ । हुन त अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ८ सयदेखि १ हजारभित्र पर्नु उल्लेखनीय नहोला, सूचीमै नअटाएको विगतको दाँजोमा हाम्रालागि यो सकारात्मक अवस्था हो ।


सँगै के पनि बुझ्न जरुरी छ भने गुणस्तर मापनमा यही र्‍यांकिङ अन्तिम सत्य होइन । र्‍यांकिङको चर्चा गर्दा अन्य देशमा कसरी विश्वविद्यालय खोलिएका छन्, कसरी काम गर्छन्, कति विश्वविद्यालय छन् ? अनि हाम्रो त्रिविलाई कसरी सञ्चालन गरिएको छ ? केलाउन जरुरी हुन्छ ।


नेपालको जेठो र झन्डै एकमात्र एकाधिकार कायम गर्न सफल त्रिविको स्थापना २०१६ सालमा भएपछि पञ्चायतकालभरि महेन्द्र संस्कृत विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालय खोलिएन ।


पछि काठमाडौं, पोखरा, पूर्वाञ्चल लगायतका विश्वविद्यालय खोलिए पनि कुनै न कुनै रूपले तिनमा त्रिविको छाया परिरह्यो । ६० भन्दा बढी आंगिक र १ हजारभन्दा बढी आबद्ध क्याम्पस रहेको त्रिविलाई हेर्दा लाग्छ, यसको मुख्य काम गुणस्तर र प्रतिस्पर्धात्मक रूपले विश्वविद्यालय खोल्न रोक्नेगरी विभिन्न तहमा आबद्धता बाँड्नु हो ।


त्रिविले झन्डै २ हजारजति स्नातक र त्यत्तिकै संख्यामा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरी आंगिक र आबद्ध क्याम्पसलाई जोड्दा आफूलाई विश्वकै ठूलो विश्वविद्यालयमा रूपान्तरण गर्न सफल छ । शिक्षक र कर्मचारी गरी १५ हजार जतिलाई रोजगारी दिएको त्रिविलाई धेरै विद्यार्थी र कर्मचारीको हकमा पनि उछिन्ने विश्वविद्यालय थोरै होलान् ।


र्‍यांकिङमा हेरिने अर्को विषय भनेको विद्यार्थी र प्राध्यापकको अनुपात, प्रकाशन गर्ने अनुसन्धानात्मक आलेख, अनुसन्धान गर्न आवश्यक दक्षता, क्षमता अनि लगनशीलता तथा आर्थिक सुविधा हो ।


गुणस्तरलाई एकैछिन थाती राख्ने हो भने त्रिविमा आफैंले सञ्चालन गरेका जर्नल यथेष्ट रहेछन् । त्यहाँबाट आफ्ना आलेख प्रकाशन गर्न अन्तर्राष्ट्रिय स्तरका जर्नलको दाँजोमा छिटो–छरितो र सहज हुने गर्छ । त्रिविका केही प्राध्यापक आफूले प्रकाशन गरेको आलेखको संख्यामा गर्व गर्छन् ।


कतिपयले पत्रपत्रिकामा प्रकाशित आफ्ना लेखलाई समेत गन्ने गरेको देखिन्छ । जापानमा सहायक, उप तथा सह–प्राध्यापकको बढोत्तरीनिम्ति आलेखको मूल्याङ्कन गर्दा आफ्नै विभागीय जर्नलमा प्रकाशित गरेकाहरूको दाँजोमा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेकाहरूलाई प्राथमिकता दिएको पाइन्छ ।


हुन त बेलायत तथा अमेरिकामा केही विश्वविद्यालयबाट निस्कने जर्नल यति नामुद छन् कि सम्बद्ध क्षेत्रका त्यहाँ प्रकाशन गर्न पाउनुलाई ठूलै उपलब्धि ठान्ने गर्छन् । तर त्रिविका जर्नललाई त्यो रूपमा हेर्न नसकिनेमा सायदै कसैले विमति राख्ला ।


यसैले संख्याका हिसाबले त्रिविले राम्रै अंक पाए पनि त्यस्ता आलेखलाई कत्तिको सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिएका छन् र प्रभाव भएका जर्नलहरूमा कति आलेख प्रकाशित भएका होलान् भनी हेरियो भने हाम्रो अवस्था खास विषयगत विधालाई अपवाद मान्दा उत्साहजनक देखिँदैन । र्‍यांकिङको अर्को मापदण्ड त्यहाँबाट उत्पादित विद्यार्थीका रोजगारीको अवस्था हो । देशभरि नै आंगिक र आबद्ध क्याम्पस भएकाले विश्वविद्यालयका रूपमा रोजगारदाताका नजरमा उसको आधिपत्य रहनु अस्वाभाविक होइन ।


साथै विद्यार्थी र शिक्षकको अनुपातमा पछाडि रहे पनि धेरैजसो नेपाली विदेशिएको सन्दर्भमा विदेशमा गएर पढ्नेहरूको अनुपातमा त्रिविले धेरै मुलुकका नाम चलेका विश्वविद्यालयलाई उछिन्नु स्वाभाविक हो ।


र्‍यांकिङका लागि तयार गरिने सूचकमा एउटै विश्वविद्यालय हुनु, देशैभरि आंगिक र आबद्ध क्याम्पस विस्तार गरी उच्चशिक्षामा केन्द्रीय निरंकुशता हावी हुनु र निजी क्षेत्रबाट नयाँ विश्वविद्यालय स्थापना सहज नहुनुले लथालिङ्ग हुँदाहुँदै त्रिविको अवस्था सकारात्मक देखिएको हो । तर गुणस्तर, व्यावहारिक शिक्षा, अनुसन्धान, विद्यावारिधि हासिल गरेकाहरूको संख्या अनि तिनले प्रकाशित गर्ने शोधपत्रलाई केलाउँदा अवस्था निराशाजनक मात्र छैन, पद्धति र पारदर्शितामा पनि लिकबाट बाहिरै पो छ कि झैं भान हुन्छ ।


अधिकांश क्याम्पसमा क्याम्पस भन्न लायकका भौतिक संरचना छैनन् । प्रयोगशाला र भौतिक सामग्रीको अभावमा विद्यार्थी तथा शिक्षकका नजरमा अनुसन्धान कर्मकाण्डी सिदान्तजस्तो बनेको छ । विश्वविद्यालयमा गरिने अनुसन्धानका आधारमा तयार पारिने शोधपत्रको मूल्याङ्कन गरी स्नातकोत्तर तथा विद्यावारिधि उपाधि प्रदान गर्नुपर्नेमा त्रिविकै केही प्राध्यापकको मिलेमतोमा सोधपत्र खरिद–बिक्री भएका समाचार बाहिरिँदासमेत दोषीमाथि कारबाही भएको छैन ।


निरंकुशता हटाउन भन्दै गरिएका हरेकजसो क्रान्तिमा त्यहाँका विद्यार्थी तथा प्राध्यापकले भूमिका खेले, तर स्वयं विश्वविद्यालयमा लोकतन्त्रको आभास गराउने काम कहिल्यै भएन । सबै विश्वविद्यालय राजतन्त्रात्मक या बेलायती मोडल अनुरुप चल्दै आएका छन् । प्रधानमन्त्री र शिक्षामन्त्रीले कुल र सह–कुलपति बनेर उपकुलपतिको नियुक्ति गर्नु त्यसकै उदाहरण हो ।


अमेरिकाका विश्वविद्यालयहरूमा अध्यक्षको व्यवस्था छ । राजतन्त्रात्मकै भए पनि जापानमा त्यही व्यवस्था बमोजिम आवश्यकता र विभिन्न विषयगत विधालाई समेट्नेगरी उपाध्यक्षहरू व्यवस्था गरिएको छ । जापानी विश्वविद्यालयहरूमा अध्यक्ष तथा डिन र विभागीय प्रमुखमा उठ्न निश्चित योग्यता तय गरिएको हुन्छ । योग्यता पुरा गरेकाहरूले उम्मेदवारी दिएपछि अध्यापकहरूले मतदान गर्छन् ।


नेपालका हकमा यही व्यवस्था गर्न नसक्दा विश्वविद्यालयमा पदाधिकारी तथा कर्मचारीको नियुक्ति र अध्यापकको बढोत्तरीमा चरम राजनीतीकरण, मोलमोलाइ अनि लापरबाही हुँदा इमानदारमा निराशा छाउने गरेको छ । हचुवाका भरमा डिन नियुक्त गरिएको भन्दै डा. गोविन्द केसीले पटक–पटक अनशन बसेका छन् ।


दलका आधिकारिक सदस्यहरूलाई उपकुलपति, रजिष्ट्रार, रेक्टर, परीक्षा नियन्त्रक मानेर हिँड्नुपर्ने बाध्यताबीच प्रजातान्त्रिक या प्रगतिशीलका नाममा कर्मचारी तथा प्राध्यापकहरूले संगठन खोल्ने र विद्यार्थीले पढाइलाई थाती राख्दै उस्तै संगठनमार्फत राजनीतिक गतिविधि अघि बढाउँदा हाम्रो उच्चशिक्षाको कार्यान्वयन लथालिङ्ग र गुणस्तर टिठलाग्दो बन्न पुगेको छ ।


विश्वविद्यालय ज्ञानको मन्दिर हो । अनुसन्धानको केन्द्र हो । यिनलाई सोही अनुसार फक्रिन र फैलन दिनुपर्छ । यस विपरीत, राष्ट्रिय शान अनि अन्तर्राष्ट्रिय पहिचान कायम गर्दै आम मानिसको श्रद्धा र भरोसाको केन्द्रबिन्दु बनाउनुपर्ने विश्वविद्यालयहरू खास मान्छेलाई रोजगारी दिने राजनीतिक कारखानामा रूपान्तरण हुनु खेदजनक हो ।


राजतन्त्रात्मक धङधङीबाट मुक्त हुँदै तत्काल प्रधानमन्त्री र शिक्षामन्त्री कुल र सह–कुलपति बन्ने व्यवस्था हटाई पूर्णतया स्वायत्त संस्थाका रूपमा विकास गर्दै सबै खाले राजनीतिक छायाबाट नअलग्याएसम्म विश्वविद्यालयहरू गर्व गर्नलायक बन्ने छैनन् ।


उत्कृष्ट विश्वविद्यालयका लागि न्युनतम पूर्वसर्त भनेकै विद्यार्थी र शिक्षकमाथि लगानी, प्रयोगशाला, भौतिक संरचना, अनुसन्धानमा केन्द्रित पाठ्यक्रम, विद्यावारिधि गरेका र प्रतिस्पर्धाबाट छनोट गरिने प्राध्यापकहरूलाई मानिन्छ । यसले एकातिर प्रभावकारी अध्यापन हुनसक्छ भने अर्कातिर विद्यार्थी र शिक्षक मिलेर अनुसन्धानमा आधारित शोधपत्र तयार पार्न सक्छन् ।


विभिन्न विषयगत अनुसन्धानले विकासलाई थप टेवा दिनसक्छ । उपत्यका बाहिरका त्रिविका केही बहुमुखी आंगिक क्याम्पसलाई सरकारले स्वायत्त विश्वविद्यालयका रूपमा विकास गर्दै राष्ट्रिय आवश्यकता पूर्ति गर्ने दक्ष जनशक्ति निर्माणमा सहयोगी भूमिका खेल्नुपर्छ । राजनीतिक भागबन्डाबाट पदाधिकारी बाँड्ने र गुणस्तरीय शिक्षाको बाटोमा तिखा काँडा बनिरहने हो भने हामी यथास्थितिमा र्‍यांकिङमा धेरै अगाडि आए पनि त्यसले तात्त्विक अन्तर ल्याउने छैन ।

प्रकाशित : मंसिर ५, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?