१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लोकतान्त्रिक मन्दीको प्रभाव

गणतन्त्र आफैं एक क्रान्ति हो । यसले जन्म दिनेलाई नै निल्न सक्छ । यसलाई चलाउनेले होस् र बुद्धि पुर्‍याउनुपर्छ ।
लोकराज बराल

काठमाडौँ — के क्रान्तिले विकास ल्याउँछ ? यो प्रश्नको उत्तर सकारात्मक र नकारात्मक दुवै हुनसक्छ । केही अपवाद बाहेक हिंसात्मक क्रान्ति पार गरेकाभन्दा शान्तिपूर्ण परिवर्तनका माध्यमले सम्पन्न भएका देश धेरै छन् ।

लोकतान्त्रिक मन्दीको प्रभाव

परिवर्तन गर्ने परिस्थिति र माध्यम कुनै देशको परिवेश र पृष्ठभूमिले निर्धारण गर्ने कुरा हो । क्रान्तिपछि चीनको विकास स्थिति केही समयसम्म आशाजनक थिएन । तर देङ सियाओ पिङले अवलम्बन गरेको आधुनिकीकरणका सूत्र र नीतिले चीन आर्थिक र सैनिक रूपले धेरै अघि बढिरहेको छ । ऊ चाँडै आफूलाई प्रथम दर्जाको विश्वशक्ति बनाउने होडमा छ । यो अपवादमात्र हो ।


हिंसात्मक क्रान्तिको क्षणिक लाभ संरचनात्मक परिवर्तन हो, जुन सम्पूर्ण क्रान्ति नहुन सक्छ । यसलाई सम्पूर्ण क्रान्तिको दाँजोमा पुग्न अरू धेरै आवश्यक तत्त्व चाहिने रहेछ । परिवर्तनका लागि प्रतिबद्ध नेतृत्व बीच साझा समझदारी, संस्थागत विकासप्रति सबैको सामुहिक प्रतिबद्धता, देश सुहाउँदो नीति निर्माण र तिनको उचित कार्यान्वयन पूर्वसर्तका रूपमा आउँछन् । झन् उदार लोकतन्त्रका लागि गरिएको क्रान्ति या परिवर्तनले बढी त्याग र समझदारी अपेक्षा राख्छ । यसै सन्दर्भमा नेपालका २००७, २०४६ र २०६२/६३ सालका क्रान्तिलाई मूल्यांकन गर्न सकिन्छ ।

२००७ सालको क्रान्ति सत्ता परिवर्तनको बाहिरी रूप मात्र भयो । यसले राणाका ठाउँमा शाहतन्त्रलाई पुन:स्थापन गर्‍यो र सामन्तवादलाई नयाँ जामा पहिर्‍यायो ।


यसले न संंस्कार परिवर्तन गर्न मद्दत गर्‍यो, न त लोकतान्त्रिक अभ्यास अघि बढ्न सक्यो । यसले राजालाई शक्तिशाली बनाई क्रान्तिको उपलब्धिलाई उल्ट्याउने काममात्र गर्‍यो । २०१५ सालको राजा सार्वभौम भई दिएको संविधान र त्यसपछि २०१७ सालको शाही शक्ति हडप (कू) ले यो तथ्य पुष्टि हुन्छ । २००७ सालको क्रान्ति प्रतिगामीसिद्ध भएको भन्न पनि सकिन्छ । के २००७ सालको परिवर्तनलाई यिनै दृष्टिले मात्र व्याख्या गर्न मिल्छ त ?


कुनै परिवर्तनलाई राजनीतिक चस्माले निष्कर्ष निकाल्न सकिँदैन । म २००७ सालको क्रान्तिताका विराटनगरको एकमात्र हाइस्कुल हालको आदर्श विद्यालयमा ३ कक्षामा पढ्थेंँ । क्रान्तिको हल्ला हुन थालेपछि विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेरको नाम सुनिन थाल्यो । हवाईजहाजले राणाशासनविरुद्ध रातो पर्चा छरेपछि थाहा पाइयो, क्रान्तिको सन्देश । यसले ठूलो मनोवैज्ञानिक प्रभाव पार्‍यो, जनमानसमा । राणाशाही ढलेपछि नेपाली समाजमा नयाँ चेतनाको लहर फैलिन थाल्यो, समाज रूपान्तरणका लागि हावाले रुखका पात हल्लाएझैं । कमलप्रकाश मल्लले भनेझैं नेपाल मध्ययुगबाट तकनिकी युगको धिमा उज्यालोमा प्रवेश गर्‍यो ।


बन्द समाजको एकाएक ढोका खोलिंँदा नयाँ उन्माद र जोश देखिनु स्वाभाविकै थियो । राजनीतिक हक–अधिकारका नाममा केही गतिविधि अराजकजस्तो देखिए पनि नियन्त्रण बाहिर गएन । राजनीतिक संंस्कार प्रस्ट नहुँदा र पुरानो सामन्ती संस्कार बदल्न लामो अभ्यास र अभिमुखीकरण हुनुपर्ने भएकाले सुधार गर्न समय र नेतृत्वको प्रतिबद्धता चाहिन्छ, जुन क्रान्तिपछिको दशकमा देखिएन । यस विपरीत क्रान्तिपछि लोकतन्त्रको संस्थागत पूर्वाधार बनाउने प्रयास भएन । नेता र दल बीचको कलहले राजतन्त्र सक्रिय हुने मौका पायो, जसले अलिकति रहेको लोकतन्त्रका चिन्हलाई सदाका लागि मेटाउने प्रयास गर्‍यो ।


प्रत्येक काम (एक्सन) मा प्रतिरोध पनि निहित हुन्छन् भन्ने ज्ञान नहुँदा लोकतन्त्र जाग्ने प्रशस्त आधार बन्दै गए । त्यसैले २०१७ सालले लोकतन्त्रप्रति आस्था जगाउने मात्र काम गरेन, राजसंस्थाप्रतिको जनधारणा पनि परिवर्तन भयो । राजाहरूको आकांक्षा, क्षणिक उन्माद र दीर्घ सोचको अभावले यसको अन्त्य हुनगयो । गणतन्त्रको भावना २००७ सालको क्रान्तिले दिएको थियो । संविधानसभाको उल्लेख राजा त्रिभुवनकै मुखबाट गराइएको हो । लामो समयको संघर्ष र बलिदानबाट आज नेपाल एक गणतन्त्रात्मक राष्ट्र भएको छ । गणतन्त्रको भावना अनुसार राजनीतिक दलका नेता हिंँड्नसके/नसकेको हिसाब जनताले उचित समयमा लिनेछन् ।


२०४६ सालको परिवर्तनको महत्त्व २००७ सालको जस्तै छ । राजा महेन्द्रले संसदीय व्यवस्थाको विकल्पका रूपमा ल्याएको निर्दलीय पञ्चायती व्यवस्था जनताले अस्वीकार मात्र गरेनन्, राजालाई आफ्ना ठाउँमा बस्न ठेगानसमेत लगाए । परम्परा र धर्मका आधारमा आफ्नो शासकीय औचित्यका आडमा निरंकुश शासन चलाउने परिपाटीलाई जनताले अस्वीकार गरे र जनआधार सहितको शासन व्यवस्थाको पक्षमा उभिए । आज नेपाल भौतिक विकासका रूपमा अरू देशभन्दा पछि परेको देखिए पनि धेरै किसिमले अघि बढेको पक्षलाई सूक्ष्म विश्लेषण या चिन्तनले मात्र ठम्याउन सकिन्छ ।


२००७ सालपछि देखिएको बहुआयामिक प्रगति अचम्मलाग्दो छ । विभिन्न जिल्ला, गाउंँ प्राय:जसो सडकले जोडिएका र राजधानीबाट जहाँ पनि पुग्न सकिने भएको छ । सञ्चारका साधन पनि गाउँंघरमा पुगी भौतिक एकीकरण भएको छ । गाउँ जांंँदा त्यहांँका जनताको चेतना राजधानीका तथाकथित बुद्धिजीवी या राजनीतिज्ञका ज्ञानभन्दा कम पाइँदैन । चेतना बढ्दा अब लोकप्रिय नारा दिएर राजनीति गर्ने र भोट बटुल्नेहरूलाई अप्ठ्यारो पर्नेछ, जसरी आज दुई तिहाइ भनिने सरकारलाई परेको छ । जनताले तिनका आवश्यकता समाधान भए, नभएको आधारमा दल र नेताको मूल्यांकन गर्छन् ।


चेतनाले नै विकासका सबै पक्ष समेटेको हुन्छ । राजनीतिक नेता, प्रशासक र राज्यका अन्य निकायसित ठेकेदार, दलाल, डन बीचको सम्बन्धले विकासका परियोजना सार्थक नभएको या भ्रष्टाचार गरी असीमित सम्पत्ति कमाउनेलाई जनचेतनाले अर्थोक गर्न नसके पनि नङ्ग्याउने काम गर्न थालेको छ । सञ्चार माध्यमले यस्ता विकृतिको पर्दाफास गर्दा जनतालाई सधैं झुक्याउन सकिंँदैन भन्ने पाठ लोकतन्त्रले सिकाएको छ । केही नलागे जनता सडकमा उत्रिई सत्ता पविर्तन गर्नसमेत बांँकी राख्दैनन् भन्ने पनि हाम्रा अनुभव छन् । परिवर्तन जानी–नजानी अघि बढिरहेकाले चेतना र सरकार सञ्चालनमा सन्तुलन कायम हुन नसके देशमा राजनीतिक अस्थिरतामात्रै होइन, अन्य उथल–पुथल पनि भइरहन्छन् । यसको ज्वलन्त प्रमाण २०१७ साल र पछिका घटनाले प्रस्ट पारेका छन् । शक्तिमा पुग्नेहरूका लागि यी प्रवृत्ति अति सामान्य लाग्ने मनोविज्ञान छ ।


जसले गर्दा घरिघरि परिवर्तनको आवश्यकता पर्छ । आफ्ना अगाडि केही देख्न नसक्दा नेपालमा साधारण घटनाले पनि ठूलो रूप लिएका छन् । २०४६ फागुन ७ गते राजाबाट केही सुधारका संकेत आउँछन् कि भन्ने आसमा तुषारापात भएकाले घोषित जनआन्दोलन थाल्नुपरेको थियो । परिणाम निर्दलीय व्यवस्थाको पतन र राजाको शक्तिकेन्द्रमा प्वाल पार्ने काम भयो । यसले भावी राजनीतिमा ठूलो प्रभाव पारी जनतालाई अझ चेतनशील बनाउन बल मिल्यो । नेताहरू (विशेषगरी नेपाली कांग्रेस) को आपसी झगडाले प्राप्त उपलब्धि संस्थागत गरी प्रजातन्त्रलाई सुदृढ पार्ने काम नहुँदा अर्को परिवर्तनका लागि वातावरण बन्न थाल्यो । २०६२/६३ सालको आन्दोलनले नेपाललाई गणतन्त्रमा पुर्‍यायो । यसको पृष्ठभूमि माओवादी युद्ध र राजाको मुर्खतापूर्ण पाइलाले तयार पारेको हो ।


संस्कार सहितको गणतन्त्र लोकतन्त्रको उच्चतम उपलब्धि हो । तर गणतन्त्र आफैं एक क्रान्ति हो । यसले आफैलाई जन्मदिनेलाई निल्न पनि सक्छ । यो दुईधारे तरवार भएकाले चलाउनेले होश र बुद्धि दुवै पुर्‍याउन सक्नुपर्छ । यसको सही प्रयोग भनेको जनताले बनाएको संविधानको अक्षर र भावनामा चल्न सक्नु हो । लोकतन्त्रमा हुकुमीशैली हावी भए परम्परावादी अधिनायकवादी शासकको जे हविगत भएको थियो, त्यस्तै गति नयाँं शासकहरूको हुन्छ । आज त्यस्तै लक्षण नेपाली राजनीतिमा देखिन थालेको छ । सिद्धान्त र गन्तव्य यकिन नहंुंंँदा अब हुने परिवर्तनले देश र जनतालाई खाल्डामा हाल्ने काममात्र गर्न सक्छ । आज आफूलाई विकसित लोकतन्त्रका अगुवा भन्ने देशहरूमा समेत राजनीति साँघुरिन थालेकाले आन्तरिक र बाह्य समस्या बढ्न थालेको छ । यो विश्वव्यापी लोकतान्त्रिक मन्दीको प्रभाव हामीलाई पर्छ नै । त्यसैले साधारण तर स्वच्छ शासनतन्त्रमा बढी जोड दिई आजको अभ्यासलाई सार्थक पार्न सक्नुपर्छ । यसैमा विकास खोज्नु र देख्नुपर्छ ।


भौतिक विकास मन्दगतिमा स्वत: चलायमान छ । हिजोको अवस्था भोलि रहंँदैन, राजनीति र नक्कली व्यापारीकरण निकृष्ट रूपमा जोडिन थालेकाले सरकारको कार्यक्षमतामा ह्रास आई भौतिक विकासको गति मन्द भएको, प्रगति भने रोकिन नसक्ने तथ्य छंँदैछ । शिक्षा, स्वास्थ आदि क्षेत्रमा देखिएको बेथितिले दक्ष जनशक्तिको वृद्धिलाई नकारात्मक असर पारेको छ । त्यसैले क्रान्तिले विकासका अनेक आयाम थपे पनि यदि ती सही बाटामा लागेनन् भने चेतना र भौतिक विकासको सन्तुलन हुनसक्दैन । देश सधैं अस्थिरताको भुँवरीमा रुमलिरहन्छ । सशक्त नागरिक आवाज र दबाबले राजनीतिक दलका नेता, कर्मचारी र सम्बन्धित सबै पक्षलाई उत्तरदायी बनाउन सक्नुपर्छ । यसले मात्र स्थापित व्यवस्थाको सम्बद्र्धन हुनसक्छ ।

प्रकाशित : मंसिर ६, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?