३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बच्चालाई मन्दविष !

डा. अरूणा उप्रेती

काठमाडौँ — ‘मेरा छोराछोरीले खाना खानै मान्दैनन्, उनीहरूलाई चकलेट र आइसक्रिम मात्र भए पुग्छ । के गर्ने ?’ धेरै बाबुआमाले यस्तो गुनासो गरेको सुनिन्छ । यसमा समस्या केटाकेटीमा होइन, आमाबाबुको बानीमा हुन्छ ।

बाबुआमाले आफ्नो बानीबेहोरा सुधार नगरेसम्म केटाकेटीको खानासम्बन्धी बानीबेहोरा सुधार गर्न सकिँदैन । प्राय: बाबुआमा आफ्ना केटाकेटीले पौष्टिक खानेकुरा खाऊन्, स्वस्थ रहून् भन्ने चाहन्छन् तर बानी आफैं बिगारिदिएका हुन्छन् ।


प्राय: बालबालिका अरूले आफूलाई ध्यान दिऊन् भन्ने चाहन्छन् । यो चाहना उनीहरूले अनेक तरिकाले देखाउँछन् । बालबालिकाले खाना सम्बन्धमा देखाउने घुर्की पनि यही हो । गाउँघरका आमाबाबुलाई छोराछोरी पुलपुल्याउने फुर्सद हुँदैन । केटाकेटीले प्राय: घरमा जे पाक्छ, त्यही अरूसरह खाएका हुन्छन् ।


गाउँमा ३–४ वर्षका बालबालिकाले भान्छामा सँगै बसेर आफंै भात पनि खान्छन् । उनीहरूले आमाबाबुलाई ‘भात खान्नँ ‘केक’ खान्छु’ भन्दैनन् । सहरतिर भने प्राय: आमाले केटाकेटीलाई घरमा हुने पौष्टिक अन्न आलु वा पीठोबाट बनाइएका परिकार नभई बट्टामा भएका खानेकुुरा दिन्छन् ।


बट्टाका प्राय: महँगा खाना पनि चामल वा गहुँको पीठोबाटै बनाइएका हुन्छन् भन्ने आमाबाबुले थाहा पाउँदैनन् । यसमा चिनी मिसाएर गुलियो पारिएको हुन्छ ।


बालबालिकाले मन पराउने भएकाले यी खानेकुरा घरका भन्दा २० गुणासम्म बढी महँगा हुन्छन् तर पौष्टिक २० गुणा कम प्राप्त हुन्छ । यसले चिनी नहालेको खानेकुरामा रुचि कम हुँदै जान्छ । अनि एक–दुई वर्षको हुँदा उसको घरको खाना खाने बानी छुट्छ ।


बालबालिकाको यो प्रवृत्तिलाई हतोत्साही गर्नुको सट्टा अभिभावकले परिवारका सदस्य वा साथीहरूसँग ‘यसले घरको खाना खाँदैन, बजारबाटै किनेर ल्याउनुपर्छ’ भनेर गलत कुरामा बालबालिकालाई प्रोत्साहन गर्छन् । मेरो खानाको विषयमा बाबुआमा चिन्तित छन् भन्ने लागेर बालबालिकाले गर्व गर्छन् र त्यहीअनुसार फुर्कंदै जान्छन्, बानी बिगार्दै जान्छन् ।


‘यसले हरियो साग मनै पराउँदैन, दाल खाँदै खाँदैन, आलुचिप्स मात्र खान्छ,’ ‘मेरी ७ वर्षकी छोरी फलफूल खान्नँ भन्छे, चकलेट दियो भने खुसी हुन्छे,’ ‘मेरो छोराले जाउलो, खिचडी, रोटीलाई छ्या भन्छ, प्याकेटको चाउचाउ खाजामा नभई स्कुल जान्नँ भन्छ,’ ‘चिप्स र पिज्जा नभई मेरो बच्चा पढ्नै मान्दैन ।’ यस्ता कुरा पार्टी, भोज, समारोहमा महिलाको मुखबाट सुनिन्छ । यही कुरा बच्चाको अघि गरेपछि उसले यस्तै गर्न थाल्छ । यो बानी पछिसम्म रहन्छ । अस्वस्थकर खानामै बच्चा रमाउन थाल्छ ।


साना सानाबालबालिकादेखि लिएर किशोरकिशोरीले पनि सडक, बजार, स्कुल, क्याम्पस, पिकनिकमा विभिन्न थरीका चाउचाउ र चिप्स मजा लिँदै खाएको देखिन्छ । बालबालिकालाई खाजा घरबाट दिनुको सट्टा हातमा पैसा दिएपछि यो बानी झन् बढ्छ ।

मैले यस्ता बजारे खानेकुरालाई मन्दविष भन्ने गरकी छु । आमाबाबुले आफ्ना सन्तानलाई मन्दविष दिएको थाहै पाउँदैनन् ।


बालबालिकालाई घरको दालभात, तरकारी खाजा ख्वाउन सानैदेखि प्रेरित गर्नुपर्छ । उनीहरूलाई सुरुमै बाहिरको सट्टामा घरमा बनेका कुरा खाने बानी बसाउनुपर्छ । ७–८ महिनाको बच्चालाई लिटो, घरमा बनाइएको हलुवा, जाउलो, हरियो तरकारी, दालको झोल खुवाउनुपर्छ ।


शिशुहरूले खान गाह्रो मान्छन् तर बिस्तारै खाने बानी बस्छ । यसका लागि घरमा धैर्य भने हुनुपर्छ । बच्चाले खान मानेन भनेर गुलियो हालिदिने वा बजारबाट ल्याएका प्याकेटका खानेकुरा दिने गर्‍यो भने उनीहरूको स्वास्थ्य र बानी दुवै बिग्रन्छ ।


‘बजारका खानेकुरा नदिएर के गर्ने, अरू केही खाँदैन’ भन्ने बाबुआमाले के बिर्सनु हुँदैन भने

३०–४० वर्षअगाडि हाम्रो देशमा प्याकेटका खानेकुरा र बट्टाका महँगा गहुँ र चामलको पीठो नआउँदा घरमा बच्चालाई लिटो, जाउलो आदि बनाएर ख्वाउने गरिन्थ्यो । उनीहरू स्वस्थ पनि हुन्थे । पैसा पनि धेरै पर्दैनथ्यो । बच्चालाई बजारका महँगा खाना चाहिन्न । शिशुलाई विज्ञापनको भरमा नपरेर घरमै बनाएको खानेकुरा दिन जोड दिनुपर्छ । बजारका खानेकुरामा कुहिएको वस्तु हालेको छ भने पनि थाहा हुन्न ।


बालबालिकाले खानेकुरा खान समय लगाउँछन् भनेर जबरजस्ती कोच्याउने गरे उनीहरूलाई त्यही बानी बस्छ । कतिपय घरमा १२–१३ वर्षको हुँदासम्म आमा, दिदी, बज्यै वा घरमा राखेका सहायक व्यक्तिले खुवाएको देखिन्छ । यसले बच्चामा खाँदा अरूको भर पर्ने बानी बस्छ । स्वतन्त्र रूपले खाने बानी विकास हुन गाह्रो हुन्छ ।


सानैदेखि बच्चाले हरियो तरकारी थुक्ने, दाल देखे नाक खुम्च्याउने गरेका बेला धेरै आमाबाबु हाँस्ने गर्छन् । रमाइलो मान्छन् तर बालबालिकामा बानी बस्छ अनि ठूलो भएपछि मात्र आमाबाबु दिक्क मानेर भन्छन्, ‘मेरो बच्चाले हरियो खाँदैन ।’ घरमा भएका खानेकुरा खान दिने गर्दा खाना थुक्ने, नाक खुम्च्याउने बानीलाई बढावा दिनु हुँदैन । त्यसो गर्न हुँदैन भनेर सम्झाउनुपर्छ । सानैमा यस्ता बानीव्यहार रोके धेरै समस्या कम हुन्छ ।


बालबालिकालाई बजारका महँगा तर कम पोषण भएका खाना खाने बानी लाग्नबाट बचाउन सकिन्छ । उनीहरूलाई कुपोषण हुने समस्याबाट जोगाउन सकिन्छ ।


मेरा छोरीहरूलाई सानो छँदा ‘जे पाकेको छ, त्यही खानुपर्छ, खान मन लाग्दैन भने उठेर गए हुन्छ तर यो हरियो तरकारी र दाल खान्नँ, चाउचाउ र कुरमुरे खान्छु भन्न पाइँदैन’ भन्ने गरेकी थिएँ । उनीहरूको अनुहार अँध्यारो हुँदा पनि वास्ता गर्दिनथेँ ।


मेरा छोरीहरूले आमालाई ‘ब्ल्याकमेल’ गर्न सकिन्न भन्ने बुझे । मेरा दुवै छोरी स्वस्थ छन् । उनीहरू घरको खाना मात्रै खान्छन्, बाहिर खाजा खाँदा पनि चना, चिउरा, आलु, सुक्खा रोटीको माग गर्छन् । उनीहरूले आफैं भोजनको अनुशासन बनाएका छन् । म उनीहरूको खाने बानी देखेर खुसी हुन्छु । सानामा उनीहरूलाई बढी माया देखाएर चाउचाउ र कुरमुरे दिएको भए उनीहरू अहिले मिर्गाैला र मुटुको रोगी भइसक्थे होला ।


चाउचाउ, चिप्स, कुरमुरेजस्ता बजारे खानेकुरामा रहेको नुनले बालबालिकाको मिर्गाैलामा असर पर्छ । बच्चालाई फोस्रो माया देखाएर किन मिर्गाैला र मुटु बिगारिदिने ?

प्रकाशित : मंसिर ९, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?