२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

धर्म, राजनीति र वामपन्थ

वाम नेताहरूमा देखिएको धर्म–संस्कृतिप्रतिको मोह उनीहरूको अन्तस्करणको सुषुप्त आस्था हो भने हिजो किन तमाम नागरिकको त्यही विश्वासमाथि प्रहार गरिएको थियो ?
साधना प्रतीक्षा

काठमाडौँ — हालै माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलेश्वर मन्दिरमा पूजा गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । त्यसैबेला राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पूजामा सूर्यलाई अर्घ दिएको तस्बिरले पनि प्रशस्त चर्चा पायो ।

धर्म, राजनीति र वामपन्थ

दसैंमा राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा ‘बक्स’ भएको टीका प्रकरण झनै रोचक थियो । यो देश एउटा यस्तो डबली बनेको छ, जहाँ कति बेला कुन कलाकारले कस्तो नौटंकी प्रस्तुत गर्छ, त्यसको भेउ पाउन हामी जन–दर्शकलाई हम्मे परिरहेको छ । यस्तो कलाकारिताको होडबाजीमा केही समययता वामपन्थी नेताहरू खरा देखिएका छन् ।

धर्मनिरपेक्ष गणतान्त्रिक मुलुकको राष्ट्रप्रमुखले कहिले अर्दलीलाई जुत्ता बोकाउँदै पशुपतिनाथको मन्दिरमा पूजा गर्न जानु त कहिले जानकी मन्दिर र छठ पूजाजस्ता धार्मिक अनुष्ठानमा सहभागी हुनुलाई नेपालीहरूको आस्थाको रङ्गमञ्चमा मञ्चन गरिएको नाटकबाहेक केही भन्न सकिँदैन । यहाँ पूर्वराष्ट्रपतिका सोही प्रकारका गतिविधिलाई के भन्ने भनी प्रश्न उठाउन सकिन्छ ।

राष्ट्रप्रमुखका रूपमा उनी पनि आलोचनाभन्दा बाहिर छैनन् । उनी सोही सांस्कृतिक समुदायसँग आबद्ध हुनाले त्यसलाई उनको स्वस्फुर्त व्यक्तिगत आस्थाका रूपमा पनि स्वीकार गर्न सकिन्छ । तर वामपन्थी राजनीति गरेर राष्ट्रप्रमुख, सरकार प्रमुख तथा शीर्षनेताका रूपमा रहेका यी व्यक्तित्वहरूले प्रदर्शन गरिरहेको यस्तो आस्था स्वस्फुर्त नभएर जनआस्था माथिको उपहास मात्र हो !

गतसाता यसै पत्रिकामा प्रकाशित नेकपाका नेता घनश्याम भूसालको ‘कसरी बाँच्छ, कम्युनिष्ट पार्टी ?’ शीर्षकको लेख पढेपछि मलाई सम्झना भैरहेको छ–

छ्यालिस सालको विद्यार्थी आन्दोलन र त्यसपछिको परिवर्तित राजनीतिक परिवेशमा धर्मलाई अफिम भन्ने आफ्ना नेता कार्ल माक्र्सको अभिव्यक्तिको व्याख्या गर्दै वामपन्थी कार्यकर्ताहरूले गरेको गाउँ–गाउँमा स्थापित धार्मिक–सांस्कृतिक आस्थामाथि अतिक्रमण ।

वामपन्थी दलको सदस्यता लिएका गाउँले बु्रजुकहरूले पाञ्चायन देवता मिल्क्याएर पूजास्थानलाई ‘डाइनिङ टेबल’ बनाएको । आफ्नो आस्था त्याग्न नसक्नेहरूले अनेकौं आलोचना र मानसिक यातना पाएको । सम्झँदा अझै पनि आङ जिरिङ्ग हुन्छ, जनयुद्धका बेला उनै प्रचण्ड नेतृत्वको समूहले मठ–मन्दिर, धार्मिक अनुष्ठानदेखि काजकिरियास्थल सम्ममा गरेको ज्यादती ।

बिचरा गाउँलेहरू शङ्ख–घण्टा नबजाई लुकेर पूजा गर्थे । धर्मको अफिमी नसामा लठ्ठिएका आम नेपालीलाई ब्युँझाएर जनवादी गोरेटोमा हिँडाउन खोज्ने माओवादी नेता आज यसरी मठ–मन्दिर धाउँदै हिँडेको देख्दा मार्क्सको भनाइ सही लाग्दैछ, किनभने प्रचण्ड, ओली, भण्डारीजस्ता वाम नेताहरू स्वयम् धर्म–अफिमको नसामा लठ्ठिइरहेछन् । त्यसैले उनीहरूलाई आफ्नो गन्तव्य बोध छैन ।

वाम नेताहरूले हाल देखाएको धर्म–संस्कृतिप्रतिको मोह उनीहरूको अन्तस्करणमा सुषुप्त रहेको आस्था नै हो भने जवाफ मागिरहेछन् नेपालीहरू– किन तमाम नागरिकको त्यही आस्थामाथि प्रहार गरिएको थियो ? यदि यो आस्था नभएर जनआस्था भजाएर चुनावमा भोट पाउन गरिएको नाटक हो भने अब पटाक्षेप हुनुपर्छ, यसको ।

सचेत जनताले चिनिसकेका छन्, वामपन्थीको द्वैध–चरित्र । यही द्वैध–चरित्रका कारण आज हजारौं नेपालीको बलिदान खेर गैरहेको छ । आफूलाई सर्वहारा वर्गको प्रतिनिधि ठान्ने वामपन्थी जङ्गलबाट सिंहदरबार छिरेपछि आफूलाई साक्षात् ‘सिंह’ र जनतालाई ‘मुसो’ ठान्न थालेका छन् ।

हिजो साम्राज्यवादका विरुद्ध लड्ने उद्घोष गर्दै सत्ता र शक्तिमा आएकाले नेपालभित्र स्वाभाविकजस्तै बनिसकेको वैदेशिक हस्तक्षेप रोक्न नसके पनि विदेशी संस्कृतिको अतिक्रमणमा परेका हाम्रा मौलिक संस्कृति जोगाउन लागिपर्नु पर्ने । तर ‘राजसंस्कृति’ विरुद्ध ‘जनसंस्कृति’को नाराका साथ लडेका उनीहरू सरकारमा आएपछि विगतको राजसंस्थालाई माथ गर्नेगरी टीकाटालो तथा आफ्नै छोराछोरीलाई पदक–विभूषणले सुशोभित गर्न थाले ।

यो कुन वामपन्थी सिद्धान्त र आदर्शभित्र पर्छ ? जनवादी शिक्षाको सपना देखाउँदै स्कुले बालबालिकालाई हतियार बोकाएर स्थापित गणतन्त्रमा खै त त्यस्तो शिक्षा ? विपन्न वर्गका सम्पूर्ण बालबालिकाको शैक्षिक अधिकारको सुनिश्चितता खै ? वर्षैंदेखि ढुसी लागेको सैद्धान्तिक शिक्षालाई विस्थापित गरी व्यावहारिक शिक्षा लागु गरेको खै ? सामुदायिक शिक्षाको अवस्था दिनानुदिन खस्किरहेछ किन ? करोडौंको गाडी र आलिसान महलको महत्त्वाकांक्षा राख्नु, अनि अर्दली, रिसल्ला, छाते सहितको विलासी जीवन खोज्नु पुँजीवादी चरित्र होइन ? जबकि सम्पन्न राष्ट्रका प्रमुखहरू साइकल चढ्न थालेका छन् ।

माक्र्सले परिकल्पना गरेको वर्ग, राज्य र कानुनविहीन स्वस्फुर्त शोषणमुक्त समाज हो । उनले राज्यलाई बुर्जुवाहरूले श्रमिक वर्गमाथि शोषण गर्ने संयन्त्र भनी व्याख्या गरेको पाइन्छ । उनले कल्पना गरेको समाज समतामा आधारित थियो, तर माक्र्सवाद र कम्युनिजम सिद्धान्तको राजनीति गर्दै सत्तामा पुगेकाहरूले आज राज्यलाई वर्गविभाजकका रूपमा प्रयोग गरेको पाइन्छ ।

सत्ता र शक्तिको आडमा आफ्नो स्वार्थसिद्धिका लागि अपराधीसमेत लुकाउन खोजेको देखिन्छ । के यो द्वैध–चरित्र होइन ? त्यसैले जनमानसमा एउटा प्रश्न सल्बलाएको छ— के वामपन्थ सत्तामा नपुग्दासम्म जनतालाई आन्दोलित गर्न प्रयोग गर्ने हतियारमात्र हो ? आज वामपन्थीको क्रान्तिकारिता र सामाजिक रूपान्तरणको उद्घोष केवल नारामा मात्र सीमित छ । वामपन्थी र दक्षिणपन्थीका बीच फरकै देखिन छाडेको छ ।

विद्यार्थी छँदा वामपन्थीहरूले ‘रातो सलाम’को अभिवादनमा कसेको मुठ्ठी देख्दा यिनीहरूको शासन व्यवस्था कति कसिलो होला भन्ने जिज्ञासा लाग्थ्यो । अहिले लागिरहेछ, त्यो मुठ्ठी त केवल देखाउने मात्र रहेछ । विधि–व्यवहार साह्रै खुकुलो ।

वाम साथीहरूसँग हात मिलाउँदा उनीहरूका हत्केलामा एक प्रकारको कडापन महसुस गर्थें । आज तिनै हातहरू दक्षिणपन्थीका भन्दा पनि नरम भैरहेको अनुभव गरिरहेकी छु । राजनीतिलाई व्यक्तिगत सम्पन्नता र शक्ति प्राप्तिको माध्यमका रूपमा प्रयोग गर्दै सम्भ्रान्त वर्गमा स्थापित हुने अनि जनतालाई दास र आफूलाई मालिक ठान्ने प्रवृत्ति अहिले वामवृत्तमा देखिएको छ ।

बुर्जुवाहरूले नाफामुखी कार्यलाई मात्र महत्त्व दिन्छन् र राज्यलाई आफ्नो स्वार्थसिद्धिकै लागि प्रयोग गर्छन् भन्ने माक्र्सवादी सिद्धान्तको मर्यादा उल्लङ्घन नगर्ने हो भने दुई तिहाइ बहुमतको वामपन्थी सरकारले राज्यलाई कल्याणकारी राज्यमा रूपान्तरण गर्ने प्रयास गर्नुपर्ने ।

तर खै त ? राज्यका स्रोतसाधनको सामुहिक उपयोगका कार्यक्रम ? सामुदायिक लगानी अनि कृषिमा आधुनिकीकरण ? विकसित राष्ट्रमा गरिएको आधुनिक खेतीका नमुना फेसबुकमै हेरेर मख्ख परिरहेका छौं हामी । एकातिर वर्षौंदेखि सिस्नो उम्रेका बारी अनि ताला ठोकिएका झुप्राहरू जस्ताको त्यस्तै छन् ।

अर्कातिर दैनिक असंख्य युवा विदेशिएका छन् । खै त उनीहरूलाई स्वदेशमै राख्न सक्ने कार्यक्रम ? समाचारपत्रमा दिनहुँजसो खाडी र मलेसियामा कारुणिक अवस्थामा श्रम बेचिरहेका नेपालीका कथा–व्यथा छापिएका हुन्छन् । कल्याणकारी राज्यको परिकल्पना बोकेको सरकार मूकदर्शक मात्र होइन, रेमिटेन्समा मख्ख परिरहेहको छ ।

समृद्धिका सपना देखाएर थाक्दैनन् प्रधानमन्त्री, तर हामी थाकिसक्यौं, किनकि हामी समृद्धि चाहन्छौं, समृद्धिका सपना होइन । मुलुकलाई अन्धकारबाट मुक्त पार्ने एउटा कुलमानजस्तै, देशलाई भ्रष्टाचार र कमिसनको जालोबाट मुक्त पार्ने अनेकौं कुलमान जन्माउन सक्नुपर्छ, कल्याणकारी सरकारले । किनकि भ्रष्टाचार र कमिसनतन्त्र वामपन्थी आदर्शभित्र पर्दैनन् । आदर्शलाई व्यवहारमा उतारिनुपर्छ, नारा र भाषणमा मात्र होइन ।

मुलुक संघीय प्रणालीमा गैसकेको अवस्थामा केन्द्रमा देखिएको विशिष्टहरूको सुविधाको होडबाजी प्रादेशिक सरकारले पनि अनुशरण नगर्लान् भन्न सकिँदैन । जनताको पसिनाको कमाइ केवल विशिष्टहरूकै सुविधा र सुरक्षाकै लागिमात्र खर्चिनु संघीय गणतान्त्रिक मुलुकको विशेषता हो ? यही प्रश्नको ओझेलमा परिरहेछ, समृद्धि र अग्रगमन । पूर्ण बहुमतको वामपन्थी सरकारले ल्याएका जनमुखी विकासका कार्यक्रम औंलामा गन्न सकिने पनि नहोलान् । उपलब्धि शून्य छ ।

आफूलाई भौतिकवादी ठान्ने वामपन्थी नेताहरूले नेपाली जनतासँग विगतमा गरेका वाचा पूरा गर्न चाहेकै हो भने सर्वप्रथम व्यक्तिगत रूपमा उनीहरूले प्रस्तुत गरिरहेको द्वैध–चरित्रको अन्त्य गरिनुपर्छ । ‘म जनताको मालिक हुन होइन, सेवक हुन सत्तामा आएको हुँ’ भन्ने आदर्श मनन गरेर जनहितका कार्यक्रमहरू ल्याइनुपर्छ ।

पूर्ण बहुमतको यो सरकार जनताको भाग्य बदल्न जस्तोसुकै निर्णय गर्न सक्षम छ । शरीर–राजनीतिप्रति विरोध गरेर नथाक्ने नारीवादी वामनेतृहरू दिनदिनै महिला–बालिकाप्रति यौनहिंसा हुँदा त्यसको विरोध गर्ने दायित्व केवल अधिकारकर्मीको हो भनेझैं गरी मौन बस्ने र वामपन्थी नेताहरू विलासितामा रमाउँदै जनआस्था भजाउन मठमन्दिर धाउने हो भने सचेत नेपालीले वामपन्थी राजनीतिको यस्तो नाटक सदाका लागि अन्त्य नगरिदेलान् भन्न सकिँदैन ।

प्रकाशित : मंसिर ११, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?