कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुचीकारको नयाँ कथ्य

डेटलाइन तराई
सफाइ जस्तो अनिवार्य पेसासंँग जोडिएका डोम र मेहतरलाई मधेसका दलितहरूले समेत तल्लो जातिका रूपमा व्यवहार गर्छन् । 
चन्द्रकिशोर

काठमाडौँ — जनकपुर एउटा सांस्कृतिक सहर । प्रदेश २ को अस्थायी राजधानी । जब यहाँको जानकी मन्दिर प्राङ्गणमा मुख्यमन्त्री लालबाबु राउतले सरसफाइ अभियान थाल्छन्, तब नगरको रौनक नै फरक हुन्छ । सहरको हृदय क्षेत्रमा सरसफाइ गर्नेहरूलाई आदरकै दृष्टिले हेरिन्छ । राजविराज होस् वा वीरगन्ज ।

यस्ता अभियानका सहभागीलाई सबैले राम्रै मान्छन् । केही बेरको किन नहोस्, यस्ता अभियानले सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि राम्रै ठाउँ ओगट्छ । त्यहींनिर अर्को दृश्य छ, चर्को गर्मी होस् वा जाडो, धुलो होस् र कुहिरोलाई, ती सबै छल्दै झाडु लिएर सरसफाइमा खटिइरहने एउटा जमात नै छ ।


जो पुस्तौं/वर्षौंदेखि गरिरहेका छन्, यो काम । उनीहरूप्रति भने कसैको नजर जाँदैन । तिनको कामलाई प्राय:ले गम्भीरतापूर्वक लिँदैनन् । बाटोघाटोमा सरसफाइ गरिराख्दा जम्काभेट भयो भने पनि हेयकै दृष्टिले हेरिन्छ । तिनको मर्का बुझिदिने कोही देखिँदैन ।


स्थानीय तह, कुनै निजी वा सरकारी कार्यालयको मातहतमा रहेर होस् वा स्वतन्त्र रूपमा सरसफाइमा खटिनेहरू प्राय: मधेसको खास जातिका छन् । डोम र मेहतर । महिला र पुरुष दुवै । सडक, नाला, निजी वा सार्वजनिक घरका शौचालय/ ट्याङ्की सफा गर्ने यिनीहरू नै हुन्छन् । सफाइ जस्तो अनिवार्य पेसासंँग जोडिएका यिनीहरूलाई मधेसका दलितहरूले समेत तल्लो जातिका रूपमा व्यवहार गर्छन् । सामाजिक सम्मानबाट पुस्तौंदेखि वञ्चित छन्, उनीहरू । जातिगत उत्पीडन, लैङ्गिक शोषण र आर्थिक विषमताको दुष्चक्रमा फँसेका छन् ।


सरसफाइको काममा प्राय: जन्मना ‘दलित’ नियुक्ति गरिन्छ । अर्को शब्दमा, दलित समुदायका केही जाति यसका लागि तयार देखिन्छन् । सरकारी प्रतिष्ठानमा राम्रो तलब पाउने भएपछि कतिपय ठाउँमा गैरदलितले पनि यस्तो जागिर खाएका छन् । तर तीभित्र अरु नै काम । तलब ‘स्वीपर’कै नाममा बुझ्छन् । हालै वीरगन्ज महानगरपालिकाले सफाइ कर्मचारीलाई नयाँ दर्जा नामकरण गर्‍यो, ‘कुचीकार’ । पहिला च्यामे–पोडेको दर्जामा सम्बोधन गरिन्थ्यो । समग्र परिस्थिति उही छ, अझै सरसफाइ कर्मचारीका रूपमा कोही गैरदलित बहाल हुन स्वीकार गर्दैन ।


दुई थरी विमर्श सुरु भएको छ । प्रत्येक स्थानीय तहमा कुचीकार उल्लेख्य नियुक्ति गरिनुपर्छ । त्यसको स्वाभाविक दाबेदार दलित समुदायकै हुनुपर्छ । अर्कोतर्फ प्रतितर्क छ, दलित र अन्यको पनि– जो सरसफाइ मजदुर बन्न चाहन्छन्, तिनले काम पाउनुपर्छ । अर्को विषय छ, यो पेसा गर्नेको सुविधा, सम्मान र स्वीकारोक्ति उत्साहजनक छैन । उनीहरूको मनोबल कसरी बढाउने ? सेवामा आधुनिकीकरण कसरी ल्याउने ? सुरक्षित रूपमा सफाइमा लाग्न कस्तो पूर्वाधार उपलब्ध गराउने ?


श्रमलाई जातिसँंग कसरी नजोड्न भएन । यो नोकरीको अवसर देखाएर उनीहरूलाई दलितकै रूपमा राखिनु हो । कुनै सफाइ मजदुरलाई दलित बनाइराख्ने परम्परा यसकारणले चलाइएको हो कि सरसफाइ अनिवार्य काम हो । व्यवसाय व्यक्तिको स्वतन्त्रताको कुरा हो । यो उसको निजी छनोटमा भर पर्छ ।


प्लम्बर, काठ मिस्त्री, घर बनाउने कारिगर, फलामको कारोबार, सैलुन, लौन्ड्रीजस्ता कामहरूमा पारम्परिक जाति समूहभन्दा अरु पनि जोडिएका छन् । किनकि त्यहाँ आकर्षक आम्दानी र सामाजिक स्वीकार्यता छ । सडक पेटीमा ‘जुत्ताका डाक्टर’हरू पुस्तौंदेखि उही जातिका हुन्छन् । तर जब कतै छाला कारखाना खुल्छ वा यसको कारोबार सुरु हुन्छ, त्यसमा अन्य जातिले रुचि देखाउँछ । यसले देखाउँछ– सफाइ मजदुरी मधेसी समाजमा सामन्ती उत्पीडनको निसानी हो ।


मलमूत्र त्याग एउटा जैविक प्रक्रिया हो । यसमा वर्ग, वर्ण, जाति र लिङ्गको कुनै छेकवार प्रकृतिले गरेको हुँदैन । तर सभ्य भाषामा मलत्यागको दैनिक कर्मका लागि सोझै शब्द छैन । महिला त केही पहिलासम्म घरपरिवारमा समेत खुलेर शौच जानुपर्‍यो भन्दैन्थे । अनेकौं संकेत प्रयोग गर्थे । उर्दुमा ‘आब’को अर्थ पानी हुन्छ । त्यसैबाट पिसाब शब्द बन्यो, अर्थात ‘आब’लाई ‘पेस’ गर्नु । त्यसैगरी फारसीको शब्द आयो, ‘पाखाना’ जसको अर्थ ‘पैरको घर’ ।


दिसा–मैदान जानु पनि भनियो, जो खुलामा दिसा फेर्न जानुको अर्थमा छ । ‘डोलडाल’, ‘घुमै’, ‘पोखरदिस’, ‘मैदान कर’ जस्ता शब्दले पनि खुला ठाउँ, चौरतिर, पोखरी वा जलाशयको छेउछाउमा जानुको अर्थ बोकेको छ । तर यसबाट मलत्यागलाई संकेतका रूपमा बुझिन्छ । ‘लघुशंका’ र ‘दीर्घशंका’ पिसाब र दिसा गर्न जानु भनिएको हो भनेर अहिले कतिलाई थाहा छ ? बरु ‘पाँच र दस मिनेट’ अलि फराकिलो रूपमा बुझिन्छ । अचेल ‘कान्छो औंला’ देखाएर जनाउ गरिन्छ ।


खुला दिसामुक्तको अभियान गाउँ–गाउँमा चलेपछि ‘हगल’ शब्द सार्वजनिक प्रयोगमा आउन थालेको हो । विगतमा मलत्याग कर्मलाई घृणाको भावनासँंग जोडियो । कालान्तरमा यसको सरसफाइमा जुट्ने जातिलाई पनि सामाजिक रूपमा तिरस्कारमा राखियो । मलत्यागसँंग जोडिएका शब्दहरूले व्याकरण, शब्दकोशमा मात्र अर्थ बोक्दैनन्, यिनले मधेसी समाज भित्रको स्वच्छता र जातिप्रतिको पारम्परिक नजरिया पनि प्रस्तुत गर्छन् ।


हिन्दु र मुस्लिम समाजमा मलत्यागपछि गुदा पानीले पखालिन्छ । देब्रे हातले गरिनुलाई ‘शुद्ध’ मानिन्छ । धार्मिक रूपमा दाहिने हात अनुष्ठानका लागि उपयोगी मानियो । पारम्परिक रीतिरिवाज र सरसफाइसंँग जोडिएका यी सन्दर्भ कुन धार्मिक रुढीसँंग गाँसिएको र कुन व्यावहारिक स्वच्छतासंँग, छुट्याउन गार्‍हो छ । यसरी सरसफाइप्रतिको पारम्परिक सोच प्रस्टिन्छ । जुन अङ्गले सफाइ गरियो, त्यसैलाई निम्नकोटीमा राखियो ।


फोहोर सफा गर्नु कुनै जाति विशेषको मुद्दा होइन । नत कुनै पेसासँग जोडिएको सुविधा र सम्मानको सरोकार । यो एउटा राष्ट्रिय मुद्दा हो । यो मूलत: सरसफाइसँंग जोडिएको पारम्परिक मान्यताप्रतिको भञ्जन हो । यस पेसामा संलग्न जातिले यसैलाई आफ्नो नियति मान्नु भएन । यो उनीहरूको मानवीय गरिमाको विषय हो ।


दलित कुनै एक रूप समाज होइन । नत दलित आन्दोलनको कुनै निश्चित विचारधारा छ । यसका कैयौं रूप छन् । एउटा कुरा प्रस्ट छ, दलित आन्दोलनको अन्तर्य भनेको मानवीय गरिमा प्राप्त गर्ने र शोषणबाट मुक्ति पाउने चाहना हो । दलित वर्गले शोषणका अन्य संरचना झेल्दै अमानवीय छुवाछूतका सिकार हुँदै मुक्तिका लागि संघर्ष गरिराखेका छन् । यसले पुराना मूल्यलाई चुनौती दिएको छ । र आफ्ना नयाँ भाष्य निर्माण गर्दैछ ।


२०५६ सालमा सिरहा र सप्तरी हुँदै पूर्वाञ्चल क्षेत्रभरि सिनो बहिष्कार आन्दोलन चल्यो । आखिर सिनो नफालेर पनि त्यसमा संलग्न चमार जातिकाहरू बाँचेकै छन् । जीविका पालनका अन्य सम्मानित काम गरिराखेकै छन् ।


त्यसैगरी सरसफाइको काम अस्वीकार गर्दा के हुन्छ ? जसलाई आवश्यक हुन्छ, उसले गर्छ । अहिले पनि बहुसंख्यक दलितसँंग आफ्नै चर्पी छैन । अझ मधेसी दलित भूमिहीनताको विभेदमा छन्, यस्तो तर्क पनि विस्तारै उठ्दैछ । चमार जातिले सिनो नफाल्ने घोषणा गरेसंँगै गैरदलितले चमार जाति विरुद्ध नाकाबन्दी गर्ने लहर चल्यो ।


बरु गर्धन जाओस्, तर सिनो नफाल्ने र गैरदलितहरूले गरेको अमानवीय नाकाबन्दीको डटेर सामना गर्ने अठोट लिए, उनीहरूले । आन्दोलन बढाएर उनीहरूले चमार जातिले सिनो फाल्नैपर्ने सामाजिक दासता र बन्धनबाट आफूलाई मुक्त गराएका थिए । अर्को बुझाइ देखिन्छ, यो पेसामा फराकिलो अवसर आउँदैछ । यसप्रतिको दाबी नछाड्ने बरु पेसाको सम्मान र सुविधाको माग जोडदार तरिकाले उठाउने । यसै क्रममा कुचीकार संगठित हुँदैछन् । र आफूप्रतिका अमानवीय सोचका खिलाफमा भिड्दैछन् ।


भुइँ सतहमा जिज्ञासा आयो, के ‘स्वीपर’ कामका लागि गैरदलित तयार हुन्छन् ? गैरदलितलाई स्वीपरमा भर्ना गर्न स्थानीय र प्रदेश तहले केही विशेष रणनीति ल्याउँछ ? सफाइ कर्म एउटा अवसर हो । अन्य काममा जस्तै यसमा पनि केही तोकिएका जिम्मेवारी छन् । यसले जातिभेदको क्रम भत्काउन टेवा दिन सक्छ । अर्को प्रश्न पनि कम तेजिलो छैन ।


अहिलेकै स्थितिमा कोही ‘दलित’ सफाइकर्मी भएर उसको परिवार र जिन्दगीमा कुनै बदलाव आउन सक्छ ? यो प्रश्न दलित समाजभित्र जति गहिरिएर उठ्दैछ । सरकार र समाजप्रति पनि लक्षित छ । के सरकार र समाजले सफाइ कर्मलाई प्राथमिकता दियो ? यदि दियो भने यसमा संलग्न हुनेहरूले किन आर्थिक र सामाजिक रूपमा सुरक्षित र सम्मानित महसुस गरेनन् ?


जबसम्म समाजले सफाइलाई आफ्नो, आत्मीय र आनन्दको काम ठान्दैन, तबसम्म यो पेसामा संलग्न हुने जोकोहीले हेला पाइराख्छ । र समग्रमा सरसफाइ अभियान देखावटी कर्मकाण्ड मात्र भइरहन्छ ।


[email protected]

प्रकाशित : मंसिर १३, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?