कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव दूध बैंक

आधुनिक समाजमा मानव दूध बैंक हाम्रो समाजमा चलिआएको धाई आमा प्रचलनको उन्नत र व्यावसायिक रूप मान्न सकिन्छ ।
डा. दिनेश धरेल

काठमाडौँ — आमाको दूध शिशुका लागि अमृत समान हुन्छ । बच्चा र आमाको स्वास्थ्यमा स्तनपानले गर्ने फाइदाबारे सबैलाई थाहा भएकै विषय हो । स्तनपानको दर बढाउन सक्यो भनेमात्र पनि संसारभरि वर्षेनि ८ लाखभन्दा बढी बच्चाको ज्यान बचाउन सकिन्छ ।

३ खर्ब अमेरिकी डलर बराबरको आर्थिक लाभ प्राप्त हुन्छ । यो ल्यान्सेट जर्नलमा छापिएको विश्व स्वास्थ्य संगठनको अनुमानित तथ्यांक हो । सबै बच्चालाई जन्मेदेखि नै सुरु गरेर कम्तीमा ६ महिनासम्म आमाको दूधमात्र खुवाउन सक्यो भने शिशुले प्राप्त गर्ने स्वास्थ्यलाभले उनीहरूका लागि हुने खर्चमात्र नघटी उत्पादकत्व पनि बढ्ने हँुदा यो तथ्यांक अर्थपूर्ण छ ।


विडम्बना भन्नुपर्छ, स्तनपान सबै शिशुका लागि सम्भव भइरहेको छैन । सोही प्रतिवेदन अनुसार संसारभरि प्रत्येक ३ मध्ये १ जना शिशुले मात्र ६ महिनासम्म पूर्णतया स्तनपान गरेको हुन्छ । अझ महिना नपुगी जन्मेको वा जन्मदा कम तौल भएको अनि कुनै कारणले बिरामी परेको नवजात शिशुले जीवनको सुनौला सुरुवाती दिनहरूमा स्तनपान गर्न सक्दैनन् ।


यस्ता शिशुलाई केही आफ्नै आमाको दूध निचोरेर नाक वा मुखबाट राखेको पाइपबाट सिधै पेटमा पुग्नेगरी भए पनि दिनुपर्छ । उनीहरूका लागि आमाको दूध जीवन धान्ने एउटा महत्त्वपूर्ण उपचार हो । बाध्यतावश आमाको दूधको विकल्पमा साधारणतया जे दिइन्छ, त्यो उनीहरूका लागि सुरक्षित नहुन सक्छ । कहिलेकाहीं आमाको स्वास्थ्य वा अन्य कारणले शिशुले स्तनपान गर्न पाएको हुँदैन ।


आफ्नै आमाको दूधको दोस्रो राम्रो विकल्प भनेको अर्को महिलाको दूध हो । हाम्रो समाजमा चलिआएको धाइ आमाको प्रचलन गाई–भैंसीको दूध वा पाउडर दूधभन्दा तुलनात्मक रूपमा राम्रो विकल्प हो । आधुनिक समाजमा मानव दूध बैंक यसकै उन्नत र व्यावसायिक रूप मान्न सकिन्छ ।


मानव दूध बैंक भनेको नवजात शिशुको स्वास्थ्यको खास–खास आवश्यकता पुरा गर्न आफ्नो दूध दान गर्न चाहने स्तनपान गराइरहेका स्वस्थ महिलाहरू जम्मा गरेर दूध संकलन गर्न अनि परीक्षण, प्रशोधन, भण्डारण तथा वितरण गर्न स्थापित व्यावसायिक सेवा हो । ब्लड बैंकले जसरी रक्तदानबाट संकलित रगत सम्बन्धी सबै काम गर्छ, त्यस्तै दूध बैंकले मानव दूध सम्बन्धी सबै काम गर्छ । रक्तसञ्चार सेवाजस्तै यो पनि निश्चित निर्देशिका र सर्वमान्य मान्यता अनुसार सञ्चालन हुन्छ ।


मानव दूध बैंक तेस्रो सहस्राब्दीको नयाँ उपलब्धि हो । विश्व स्वास्थ्य संगठनले आफ्नो आमाको दूध नहुँदा वा पर्याप्त मात्रामा प्राप्त नहुन्जेल दान प्राप्त मानव दूधलाई जीवन बचाउने उपचार विकल्पको रूपमा प्रयोग गर्न सल्लाह दिएको छ ।


महिना नपुगी जन्मने बच्चाहरूलाई बचाउन सक्ने क्षमता बढ्दै जाँदा र उनीहरूको लागि मानव दूधको फाइदा पाउडर दूधसँंग अतुलनीय रहेको अकाट्य प्रमाण अध्ययनहरूले देखाउन थालेपछि अमेरिकामा सुरु भई २ दशकभित्रै यो अभ्यास संसारभरि फैलिसकेको छ । छिमेकी देश भारतमा समेत हालसम्म ५० भन्दा बढी मानव दूध बैंक सञ्चालनमा आइसकेका छन् । तीमध्ये आधाजति गत २ वर्षमा थपिएका हुन् ।


विश्व स्वास्थ्य संगठनले मानव दूध बैंक स्थापना गर्न विश्वब्यापी रूपमा आह्वान गरिसकेको छ । अल्प तथा मध्यम विकसित देशहरूमा शिशु मृत्युदर धेरै भएकाले मानव दूध बैंकले दिनसक्ने फाइदा यस्ता रास्ट्रहरूमा अझ बढी हुने कुरा बुझ्न गाह्रो छैन । शिशु मृत्युदर घटाउन उच्च प्राथमिकतासाथ लागिपरेको नेपाल यसको लागि तयार छ त ?


अन्य देशको अनुभव र सुझाव अनि हाम्रो आफ्नो वस्तुस्थिति अध्ययन गर्दा मानव दूध बैंक नेपालमा सम्भव छ । यसमा गरिने लगानी प्रभावकारी ठहरिन्छ । कतिपय देशमा सांस्कृतिक रूपमा अरुको दूधको स्वीकार्यता र बच्चामा सम्भावित संक्रमणको जोखिम मानव दूध बैंक स्थापनाको क्रममा बहसको विषय हुने गरेको छ । यी एकदम जायज सवाल हुन् ।


देशको सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्ष अनि समग्र जनस्वास्थ्यमा पर्ने असरका विविध आयाम पक्कै पनि गम्भीर छलफलको विषय बन्नुपर्छ । यसो भन्दै गर्दा मानव दूध बैंकको उपयोगिताबारे पर्याप्त जानकारी तथा प्रमाणित आधार सम्बन्धित सबै खाले निर्णयकर्ता तथा प्रभावित पक्षमा स्पष्ट रूपमा पुर्‍याउनु अनिवार्य हुन्छ ।


कुनै पनि नयाँ कुराको सुरुवात गर्न देशको स्वास्थ्य प्रणालीका आफ्नै प्रक्रिया हुन्छन् र यो रातारात पुरा हुने कुरा पनि हैन । मानव दूध बैंक नेपालमा चाहिन्छ भन्ने कुराको पैरवी गर्दै यसको सम्भाव्यता अध्ययन गर्न कम्तीमा बाल स्वास्थ्यमा कार्यरत नेपाल बाल चिकित्सक समाज लगायत पेसागत संस्थाहरू अगाडि आउनुपर्छ ।


मानव दूध बैंक स्थापनाको बहस र प्रयास स्तनपान प्रबद्र्धनका प्रयाससंँग एकीकृत गरेर लैजाँदामात्र सफल हुनसक्छ । वास्तवमा शिशुलाई पूर्णतया स्तनपान गराउने कुरामा निश्चित अवधिका लागि पुल वा विकल्प बनेर सहायता गर्नु नै मानव दूध बैंकको मुख्य लक्ष्य हुने भएकाले स्तनपानको प्रोत्साहनमा निरन्तर लागिरहनुको विकल्प छैन ।


मानिसको बच्चालाई जन्मिने बित्तिकै मानिसकै दूध खुवाउनुपर्छ भन्ने कुराको ज्ञान, धारणा र अभ्यास सेवाप्रदायक तथा सेवाग्राही सबैको अन्तर्य बन्नु सबैभन्दा महत्त्वपूर्ण सुरुवात हो । सुन्दा साधारण लागे पनि मान्छेको बच्चाले गाईको दूधबाट बनेको पाउडर दूध अस्पतालबाटै सुरु गर्नुपर्ने अवस्था विडम्बना नै मान्नुपर्छ ।


उपलब्धता तथा प्रशोधन खर्चको कारण मानव दूध बैंक पाउडर दूधको पूर्णतया विकल्प बन्न त सक्दैन । तर जीवनको सबैभन्दा कमजोर समयमा आमाको दूधबाट बञ्चित साना तथा बिरामी शिशुहरूलाई मानव दूधका धेरैजसो फाइदाबाट बञ्चित हुन नदिन र पाउडर दूधको बेफाइदाबाट बचाउन यो निकै राम्रो विकल्प हुनसक्छ ।


बाल विशेषज्ञ लेखक क्यानाडास्थित युनिभर्सिटी अफ क्यालगरी, कुमिङ स्कुल अफ मेडिसिन, अल्बर्टा हेल्थ सर्भिसेजका नियोनाटाल पेरिनाटाल मेडिसिनका फेलो हुन् ।

प्रकाशित : मंसिर १३, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?