१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

टुक्के राजमा बौद्धिक दरिद्रता

सत्ता फेरिए पनि शक्ति–सम्बन्ध नफेरिने अवस्था पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्रमा बौद्धिक कर्म र बुद्धिजीवीबारे नीति, नियत र व्यवहारमा देखिँदै आएको छ । 
राजेन्द्र महर्जन

काठमाडौँ — ‘आधुनिक बुद्धिवादीले लोकप्रसिद्ध दार्शनिकले जस्तै संसारलाई अनेक रूपबाट व्याख्यामात्र गरेर पुग्दैन, उनीहरूले समाजलाई स्थिर हुन होइन, परिवर्तित हुन सहयोग गर्नुपर्छ । नेपालमा आलोचनात्मक मूल्यांकन गर्ने कर्तव्य अपनाउन लालायित हुने बुद्धिवादीको सट्टा, उर्दी–पोसाक पहिरिने निम्नवर्गीय वर्ग छ, जो पारिश्रमिकको सट्टा विभिन्न स्केलको तलबकै लागि काम गर्छ  ।’

टुक्के राजमा बौद्धिक दरिद्रता

कार्ल मार्क्सकाे प्रसिद्ध भनाइलाई उद्धृत गर्दै नेपाली बुद्धिजीवीहरूको हविगतको चित्रण गर्ने विद्वान हुन्– कमलप्रकाश मल्ल । पेसाले भाषाविज्ञानका प्राध्यापक भए पनि लेखनकर्मका हिसाबले उनी सांस्कृतिक इतिहासकार र पहिचानको राजनीतिका जानकार प्रखर प्रतिपक्षी बौद्धिक हुन् ।


उनले नेपालको पुराना र नयाँ सत्ता–शक्ति–संस्थापन पक्षले स्थापना गरेका गलत परिभाषाको खण्डन गर्न एवं रैथाने ज्ञान र पहिचान स्थापित गर्न गम्भीर र जुझारु बौद्धिक कर्म गरेका थिए । सन्देह, प्रश्न र आलोचनासहितको बौद्धिक कर्मलाई निषेध गर्ने टुक्के र हुक्केहरूको हाम्रो जमानामा उनको मृत्युले सत्ता–शक्ति–संस्थापन पक्षलाई कहीं कतै अलिकति पनि नछुनु अनौठो होइन ।


यसबाट पनि उनका चासो, चिन्ता र चिन्तनसँगै कर्मको ऐनामा सत्ता र बुद्धिजीवीहरूको अन्तरसम्बन्ध तथा नेपालको बौद्धिक दारिद्रयको संसारलाई राम्ररी हेर्न सकिन्छ ।


मल्ल के. सुन्दरका अनुसार माक्र्सवादबाट प्रभावित भएर वामपन्थी विद्यार्थी संगठन : नेपाल विद्यार्थी फेडरेसनमा लागेर भाषण दिँदै हिँड्ने तथा कोठामा क्रान्तिकारी नेता भ्लादिमिर ई. लेनिन र विख्यात कवि भ्लादिमिर भी. मायाकोभ्स्कीको तस्बिर सजाउन रुचाउने व्यक्ति थिए, कमलप्रकाश मल्ल ।


जसले उत्पीडनकारी सामाजिक–सांस्कृतिक स्थिति र मनस्थितिमा परिवर्तनका लागि सत्तापक्षको जेलनेलदेखि संस्थापन पक्षबाट जातिवादीको अपमानसम्म भोगे, उनका लागि कुनै पनि खाले स्थिर सत्ता–शक्ति–संस्थापन पक्षका भाष्य र दासत्व स्वीकार्य हुने कुरै भएन । त्यसैले उच्च शिक्षाको अध्ययन–अध्यापनपछि सत्ता–शक्ति–संस्थापन पक्षलाई हाँक दिँदै, तिनका भाष्य र दासत्व स्वीकार्ने बुद्धिजीवीहरूलाई चुनौती दिँदै उनी सत्ताको उपासना र शक्तिको सराहना गर्ने बुद्धि–विवेक बेचुवा कर्मभन्दा भिन्नै बाटोमा लागे ।


वास्तवमा राजतन्त्रको उत्कर्षकालमा दरबारसँग नजिक रहे पनि उनी अपवादका सार्वजनिक बौद्धिकका रूपमा उदाए : सत्ता–शक्ति–संस्थापन पक्षकै कारण व्यापक रहेको ज्ञान–बुद्धिको खडेरी, बौद्धिक दारिद्रय तथा बुद्धिजीवीहरूका गरिबी र बन्धनको संसारलाई उजागर गर्दै ।


बौद्धिक दारिद्रय र बुद्धिजीवीको गरिबी

बागी बौद्धिक मल्लको बलियो ठम्याइ छ, खिइसकेका परम्परा लगायत वास्तविक संस्था, मूल्य, आचरण तथा भावभंगिमाको उग्र आलोचना गरी एक किसिमले समाज र संस्थापनको स्थायी विरोधी बन्नुनै बुद्धिवादी वर्गको प्राथमिक कर्तव्य हो । तर आर्थिक दरिद्र र बन्धनले गर्दा उनीहरू समाजको सेवा गर्न तथा ‘समाजको ऋण’ चुक्ता गर्न असफल छन् ।


महेशचन्द्र रेग्मी र ऋषिकेश शाहजस्ता अपवादका बौद्धिक बाहेक सिर्जनात्मक वा प्रभावशाली क्षेत्रमा कार्यरत प्राय:जसो प्रतिष्ठित व्यक्ति पूर्णकालीन रूपमा संस्थापनकै सेवामा लागेका छन्, कुनै न कुनै प्रकारले सरकारी स्रोतमा आर्थिक रूपमा पराश्रित छन् । नेपालमा बौद्धिक दारिद्रयको एउटै स्पष्ट तर मौलिक कारण हो– बुद्धिजीवीको दारिद्रय ।


सन्देह, प्रश्न र आलोचनासहितको बौद्धिक चिन्तन एवं कर्म आकाशमा फल्ने–फुल्ने होइन, त्यसका लागि आर्थिक आधार, राजनीतिक दृष्टिकोण र सांस्कृतिक वातावरण चाहिन्छ । आफ्ना सत्ता–शक्ति, आफ्ना नीति, नियम र नियत, आफ्ना कार्यक्रम र कार्यसंस्कृतिको आलोचना पनि सहन सक्ने तथा ती आलोचनाका आधारमा परिमार्जन गर्नसक्ने राज्य र गैरराज्यले मात्रै बौद्धिक चिन्तन र कर्मका लागि अनुकूल आधार निर्माण गर्ने हो ।


सन्देह, प्रश्न र आलोचनासँग हरदम त्रसित रहने शासकजी र साहुजीहरूले आफ्नै सत्ता–शक्तिको चिहान खन्न बौद्धिक चिन्तन र कर्मका लागि आर्थिक लगानी गर्ने सम्भावना कमै छ । मल्लका अनुसार, सच्चा स्वतन्त्र बुद्धिजीवी वर्गको अभ्युत्थानका निम्ति आर्थिक स्वतन्त्रता चाहिन्छ, जसबाट सामाजिक तथा आर्थिक कष्टको त्रास नराखी बुद्धिवादी वर्ग आफ्ना आदर्श एवं आस्था परिपालन गर्न सकुन् ।


उद्योग र अन्य विविध संस्थाको विकास संकुचित ढंगमा भएको कारण नेपालका १० मध्ये ८ बुद्धिवादी सरकारी वा अर्धसरकारी संस्थानमा काम गरी आफ्नो हातमुख जोर्छन् । यस आर्थिक बन्धनका कारणबाट बुद्धिवादीहरूका लागि आफ्नै आस्था महँगो विलास बन्न गएको छ ।


आलोचकबाट अ–आलोचकसम्म

मल्लले दरिद्र बुद्धिजीवीहरूको आस्था र बुद्धिको लिलामी गर्ने राजतन्त्रको जगजगी भएकै बेला लेखेका थिए, ‘सन् ५० को दशकमा संस्थापनको आलोचक बन्न नै जुन प्रकारले एक सम्मानपूर्ण कुरा सम्झिएको थियो, उस्तै प्रकारले सन् ६० को दशकमा संस्थापनप्रति स्पष्टतया अ–आलोचक बन्नु सम्मानपूर्ण हुनगएको छ ।


वास्तवमा एकताकाका माक्र्सवादी पण्डितहरू तथा वामपन्थी बुद्धिवादीहरूले समेत जनसमक्ष आफ्नो झुकाउको खण्डन गरी सरकारी नीतिप्रति आफ्नो विश्वास जताउन पुगे । सन् १९६० पछि नेपाली बुद्धिजीवी वर्गको एक स्पष्ट अंशका लेखनी खुला रूपमा सरकारप्रति अ–आलोचकमात्र बनेका होइनन्, बरु त्यस मध्येको ठूलो संख्याका व्यक्तिलाई व्यवस्थाको आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक तथा आध्यात्मिक पक्ष जनप्रिय तुल्याउने व्याख्याकारका रूपमा सेवामा समावेश गरियो ।’


८ दशकभन्दा लामो कालखण्डमा राजतन्त्रदेखि गणतन्त्रसम्म भोगेका मल्लले देखेको तितो सत्य हो, बुद्धि–विवेकको किनबेच र दुरुपयोग जारी छ, त्यस विरुद्ध वैकल्पिक ज्ञान उत्पादन कोसिस जारी त छ, तर साह्रै निम्छरो स्तरमा ।


त्यसैले उनले च्वसापासा, नेपालभाषा परिषद् र नेवा: देय् दबुसँगै अन्य संस्थामार्फत वैकल्पिक ज्ञान उत्पादन र पहिचानको राजनीतिमा हस्तक्षेपको प्रयास गरेका थिए । प्रत्यूष वन्तका अनुसार

धन भएका व्यक्ति र अभियन्ताहरूमा पनि यस्तो कर्ममा मन नभएको तथा महेशचन्द्र रेग्मीजस्ता स्वावलम्बी बौद्धिकहरू जन्माउने र टिकाउने आर्थिक आधार निर्माण गर्न नसकेकोमा उनी दु:खित र चिन्तित थिए ।


राजतन्त्रकालीन बीसौं शताब्दीको ६० को दशकमा निस्सासिने बौद्धिक वातावरणको प्रतिवाद गरेका मल्ल र मल्लजस्ता सार्वजनिक बौद्धिकका लागि राजनीतिक व्यवस्थामा परिवर्तनले पनि बौद्धिक क्रान्ति गर्न सकेन, नत बौद्धिक दरिद्रता र बुद्धिजीवीहरूको गरिबी एवं बन्धन नै तोड्न सक्यो । त्यसैले उनी जस्ताका बौद्धिक चासो, चिन्ता र चिन्तनसँगै कर्म एक्काइसौं शताब्दीको बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका शासकका लागि कुनै सरोकारको विषय भएन ।


‘अब नेपालमा मेरो के काम ?’

पञ्चायती व्यवस्थाको समाप्तिसँगै अनेक नामधारी बुद्धिजीवी संगठन त पार्टीपिच्छे खुले, तर ती संगठन राजनीतिक नियुक्तिका लागि भरेङमात्रै भए । महेन्द्रकालीन सत्ता र बुद्धिजीवी संगठनजस्तै भएकाले पार्टीतन्त्रबाट नियन्त्रित ती पेसेवर संगठन ज्ञान–बुद्धि उत्पादन बाहेक अरू सबै काम गर्ने भए ।


राजनीतिक र पार्टीगत सत्ताले बौद्धिक कर्मलाई निस्तेज पार्दा, बुद्धिजीवी समुदायलाई पंगु बनाउँदा पनि कहीं कतैबाट बौद्धिक बगावत नहुनु दु:खद पक्ष त हो, तर अनौठो होइन । ‘नेपाली समाजमा बुद्धिजीवी’ रचनामा पनि मल्लले बुद्धिजीवीहरूमा देखिएको आलोचनात्मक भूमिकामा निष्क्रियता, संस्थापनपक्षीय भाष्य र भावभंगिमा आत्मसात् गर्ने प्रवृत्तिसँगै पद–पदक–पदवी–पैसाको लालसाको आलोचना गरेको पक्ष विचारणीय छ ।


सत्ता फेरिए पनि शक्ति–सम्बन्ध नफेरिने अवस्था पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्रमा बौद्धिक कर्म र बुद्धिजीवीबारे नीति, नियत र व्यवहारमा देखिँदै आएको छ । बहुदलीय व्यवस्था पुन:स्थापनासँगै ज्ञानको उत्पादन र बुद्धिजीवी लगायत हरेक पक्षमा भएको दलीयकरण र दलतन्त्रलाई नै केन्द्रमा राखेर गरिएका कामप्रति मल्लको तीव्र असन्तुष्टि थियो ।


सुरेश किरणका अनुसार देशका नामुद बुद्धिजीवी र विद्वानहरूले समेत दलको पिछलग्गु नभइकन कतै ठाउँ नपाउने अवस्था सिर्जना गरिएकोमा उनको गुनासो थियो । व्यक्तिका क्षमता र दक्षताको कदर नगर्ने, नाता–सम्बन्ध, प्रभाव तथा चाकरीको क्षमतासँगै दलगत राजनीतिक झुकावका आधारमा स्थान दिने अराजनीतिक परम्पराबाट निराश भएपछि उनले भनेका थिए, ‘अब नेपालमा मेरो के काम ? यहाँ के गर्दै बसम् ?’ एक आँकलन अनुसार उनले मुखले नभने पनि आफ्नो क्षमता, दक्षता र विज्ञतालाई राष्ट्रले उपयोग नगरेकोले मल्लको मन फाटेको सत्य–तथ्य बुझ्न कठिन छैन ।


नेपाली राज्यले कसैसँग हात नफैलाउने स्वाभिमानी व्यक्तित्व र जुनसुकै सत्तासँग पनि जुझ्ने जुझारु बौद्धिक पहिचान भएका मल्लको सेवा लिन सकेन, सायद सेवा लिन चाहेन । मल्ल जस्ता अन्तर्राष्ट्रिय रूपमा विख्यात बौद्धिकको योगदान प्राप्त गर्न नखोज्ने नेपाली राज्य कस्ता खालका बौद्धिकता विरोधी भुइँफुट्टे राजनीतिबाजहरूबाट सञ्चालन हुँदै आएको छ, देखिएकै छ ।


नेपाली राज्यको बौद्धिक दिवालियापनबारे लेनिनको भाषा सम्झाउने मल्लको सटिक भनाइ छ : ‘यस परिस्थितिमा हाम्राबीच रसेल, सात्र्र, ग्राम्सी खोज्नु वा हर्बर्ट माक्र्युस्, नोम चोम्स्की आविष्कार गर्नु वा ग्यालब्रेथ, मार्शल मैकलुहान स्थापना गर्नु फलहीन प्रयास हुन जानेछ : हामीसँग त शोषणरहित अवस्थाको परम सुखनिम्ति दृढतापूर्वक उद्यमशील भएको नेपाली समाजका पांग्रामा विनित र आदरणीय दाँतीहरू मात्र छन् ।’


हामीले कमलप्रकाश मल्ललाई अमेरिकामा गुमाएका छौं । अब प्रश्न उठेको छ, के हामी अर्काे मल्लजस्ता दक्ष, योग्य बागी विद्वान जन्माउन सक्षम छौं ? कि हामी विकास, समृद्धि र समाजवादको गुलियो नाराका भाष्यकार र दलतन्त्रका सिद्धान्तकारहरूको मात्रै पुन:उत्पादन गर्दै बस्न सक्षम र योग्य छौं ?


twitter: @rmaharjan72

प्रकाशित : मंसिर १८, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?