ताल पाएर चाल नपाएपछि

सम्पादकीय

काठमाडौँ — चाल पाउने हो भने यो ताल संसारको एक आकर्षक चरा गन्तव्य हो । चरा हेर्न र फोटो खिच्न बर्सेनि पर्यटक र फोटोग्राफर ओइरिन्छन् । पानी चरा जाडो छल्न हिउँदयाममा यहाँ आउँछन् ।

ताल पाएर चाल नपाएपछि

साइबेरिया, रूस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तानदेखि आउने चरा प्रत्येक वर्ष बढ्दै छन् ।


एक सय ५७ हेक्टरमा फैलिएको कपिलवस्तुको जगदीशपुर तालमा गत वर्ष २२ हजार बढी चरा गणना गरिएको थियो । एक/दुई घण्टामै ४० भन्दा बढी थरी चरा देख्न पाइने यो तालमा १ सय ६७ प्रजातिका चरा देखिएका छन् । यस्तो ताल पाएर पनि स्थानीय समुदायले चाल पाउन सकेन ।


दुइटा वडा मिलेर आफैं अतिक्रमण गर्न थालेका छन्, डुंगा चलाउन र ढिस्को ठड्याई मूर्ति बनाउन ।

जगदीशपुर एउटा विशिष्ट ताल चरा गन्तव्य हो । जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि यहाँ अझै अनुकूल वातावरण छ । चराले जलक्रीडा गर्छन् । कतिपयले बच्चा पनि कोरल्छन् । तालभित्र लुक्ने, बस्ने गर्छन्, आहारा पाउँछन् ।


यो कृत्रिम रूपमा बनेको मुलुकको सबैभन्दा ठूलो ताल हो । पहिले त यो सिँचाइ प्रयोजनका लागि बनाइएको थियो । जैविक विविधता र चराको आहारविहारका लागि अनुकूल अवस्था बनेपछि यो पन्ध्र वर्षअघि विश्व सिमसार सूचीमा सूचीकृत भयो । लक्ष्मणघाटमा बाँध बनाएर वाणगंगा खोलाको पानी तालमा ल्याइन्छ । त्यहाँबाट दक्षिण सीमा २० किमिसम्म ६ हजार २ सय हेक्टरमा सिँचाइ गर्ने उद्देश्य छ जसको भर्खर मर्मत सुरु हुँदै छ ।


विश्व सूचीमा परेका नेपालका दस तालमध्ये यो फरक छ । अरू प्राकृतिक छन् । जस्तो– माईपोखरी, गोक्यो, गोसाइँकुण्ड, शे–फोक्सुन्डो, घोडाघोडी, बीसहजारी, रारा, पोखराका फेवा–रूपा–बेगनास । जगदीशपुर चराको स्वर्गका रूपमा चिनिनुको कारण मुलुकमै आगन्तुक चरालाई राम्रो आश्रय दिने भएर हो । यस्तो तालमा पनि चरा घट्न पुग्नु साँच्चै चिन्ताजनक हो ।


कपिलवस्तु नगरपालिका, वडा ९ र १० ले गत असोजदेखि ६ वटा डुंगा चलाउन थालेपछि चरा आधाउधी घटेको पाइएको छ । डुंगा सयर गर्न जानेले चरालाई जिस्काउने र समात्न खोज्ने गर्छन् ।

डुंगा चढ्नेहरू चराको पछिपछि विहार गर्छन् । चरा डुंगा देख्नासाथ परपर भाग्छन् ।


गत कात्तिकमा रामसार सूचीमा परेका क्षेत्रको अवस्थाबारे छलफल गर्न दुबईमा १७० देशका प्रतिनिधि भेला भएका थिए । रामसारसम्बन्धी महासन्धिका पक्ष मुलुकहरूको त्यस १३ औं सम्मेलनले सिमसारको स्वरूप बिगार्न नहुनेमा जोड दिएको थियो । सरकारले विदेशमा एउटा वाचा गर्छ, देशभित्रै भने त्यही व्यवहार गर्न सक्दैन ।


चरालाई उन्मुक्त वातावरण चाहिन्छ । मानवीय अतिक्रमण र संरचना निर्माणबाट चराको बासस्थान टुक्रिन्छ, फेरिन्छ । आगन्तुक र रैथाने चरालाई नराम्रो असर गर्छ । पारिस्थितिकीय प्रणालीमा ठेस पुग्छ । बालीनाली प्रभावित हुन्छ । वातावरण प्रदूषित बन्छ । तत्कालै नदेखिने र महसुस नहुने कामलाई पनि प्रभाव पार्दै जान्छ ।


सिमसार क्षेत्रमा प्रस्ताव स्वीकृत नगराई कुनै काम गर्न पाइँदैन । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सहित प्रस्तावमा बृहत् छलफल, अध्ययन गर्नुपर्ने हुन्छ । त्यसको वास्ता नगरी तालको बीचमै भौतिक संरचना ठड्याइएको छ । ताल व्यवस्थापन बहुसरोकार मञ्चले पर्यटकीय आकर्षण थप्न भन्दै बुद्धको मूर्ति राख्न थालेको छ । मूर्तिका लागि तालको मध्य भागमा ७० फिट गोलाइ माटोको ढिस्को गत जेठमा बनाइएको थियो । स्थानीयका अनुसार ढिस्कोलाई चारैतिरबाट १५ फिट उचाइ ढलान गरिएको छ । १० फिट उँचो ढिस्को उक्लिन दुईतिरबाट पक्की सिँढी बनाइएको छ ।


मूर्ति राखिने ढिस्कोसम्म डुंगाबाट आउजाउ गर्ने भएपछि तालको बीचमा विचरण गर्न आउने चरा पनि असुरक्षित हुनेछन् । प्राकृतिक सम्पदालाई यसरी नगदे सम्पत्तिका रूपमा भजाउन पहिले पनि प्रयास भएको थियो । डेढ दशकअघि वाणगंगा जल उपभोक्ता संस्थाले लगाएको माछा ठेक्का सर्वोच्च अदालतले बदर गरिदिनुपरेको थियो ।


अब यसलाई मुलुककै उत्कृष्ट चरा अवलोकन गन्तव्य रहन दिने कि नदिने ? स्थानीय सरकारले सम्पदाको सरोकारसहित आफ्नो दीर्घ हित केलाउनुपर्छ । बुद्धसम्बन्धी मौलिक तीर्थस्थल त्यहीँ वरपर छन् । भएको सिमसारबाट चरा धपाएर बुद्ध दर्शन हुँदैन ।


प्रकाशित : मंसिर १९, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?