अगहन आइल, जन मोटाइल

डेटलाइन तराई
मंसिरमा जग्गावालले सुनको सपना देख्थे, बनिबुतो गरेर खानेले पनि ढुक्कले दुई छाक खान सक्थे । धान कटाइ महोत्सवजस्तै हुन्थ्यो ।
चन्द्रकिशोर

काठमाडौँ — लोकगीत समाजको हृदयको उद्गार हुन्छ । यो तिनका हार्दिक भावनाहरूको साँचो प्रतीक हुन्छ । लोकगीत जनसमाजको वस्तु हो । त्यसमा जनताको हृदय संँगालिएको हुन्छ । यी गीतहरू अनुभवका आधारमा रचिएका हुन्छन् । यसभित्र त्यस क्षेत्रको संघर्ष, प्रेम, भूगोल र सिर्जनशीलतालाई आफूभित्र संँगालिएको हुन्छ ।

त्यसैले लोकगीतभित्र छिरेर सामाजिक इतिहासलाई खोज्न सकिन्छ । मधेसी समाजकै एउटा बारहमासा लोकगीतका यी पंक्ति हेरौं, ‘अगहन कुँअरी करत सिंगार, कपडा सिलावेली सोना के तार/पाठ पितामर पुलक समान, कनक सिस वैजयन्ती के माल’ । यसको आशय हो, मंसिर महिनामा कुनै नायिका आफूलाई सुनका गहनाहरूले सजाउँछिन् ।

Yamaha


लोकगीतमा एउटी नायिका मंसिर महिनामै सुनका गहनाले सजिएको सन्दर्भ किन उठ्छ होला ? आफू उत्तानो परेर पैतालामा सानो बच्चालाई बसाइ जब गाइन्थ्यो, ‘घुघुवा माना उपजे धाना, बच्चा के छेदा देव कान दुनु सोना’ । (धान फल्यो भने सुनको गहना हाल्दिन्छु ।) यसले के देखाउँछ भने धान यति फल्थ्यो कि त्यसबाट सुनको गहना हाल्न मिल्थ्यो ।

एउटा उखान छ, ‘अगहन आइल, जन मोटाइल’ । अगहन भनेको मंसिर महिना हो । ज्यालाबनी गरेर खानेहरू पनि अगहन महिनामा मोटाउँछन् । जग्गावाल गिरहतले त सुनको गहनाको सपना देख्थे । बनिबुतो गरेर खानेले पनि अगहनमा यति भित्र्याउँथे कि उनीहरू ढुक्कले दुई छाक खान सक्थे । यसैले पनि होला, धानरोपनी जस्तै ‘धान कटाइ’ पनि महोत्सवकै रूपमा हुन्थ्यो ।

धान काटिने बेला उब्जनी हुने चौरमा गुलजार हुन्थ्यो । कतै दुलदुल घोडाको लोकनाट्य देखाइँदै त कतै बाइस्कोपमार्फत घर बसी–बसी सारा संसार दर्शन गरिन्थ्यो । कतै देहाती परिकार टाउकामा राखेर बेच्नेहरू आली–आली भौंतारिन्थे । बच्चाहरूका लागि पनि रमाइलो, चाहे त्यो गिरहतका हुन वा कृषि मजदुरका । धान काटेर बोझा बनाई खलिहानमा ओसारिसकेपछि खेतमा छरपस्टिएर रहेका धानका बाला उनीहरू संकलन गर्थे र मनचित्ते परिकार र खेलौना किन्थे ।

अगहनीकै अभिन्न अंग थियो खलिहान, जहाँ दाइँ गर्न बीचमा मेह (दाइँ का खाँबो) गाडिएको हुन्थ्यो । खलिहानकै छेउछाउमा पानी नजमोस् भनेर ‘परालको टाल’ राखिन्थ्यो । यसलाई कुन्युँ, माच, टौवा पनि भनिन्छ । यो त्रिकोणीय, चतुष्कोणीय, वृत्ताकार, पिरामिडीय आदि तरिकाले राखिन्थ्यो । कृषि कर्मका प्रत्येक पक्षमा कला र सौन्दर्य थियो ।

यसको संख्या र आकार घट्दै जानुले खेती किसानीको स्तरप्रस्ट्याउँछ । पहिले छोरीको बिहेका लागि घर खोजी गरिँंदा खलिहान र कुन्युँका आधारमा बेहुलाको सामाजिक र आर्थिक हैसियत आँकलन गरिन्थ्यो । जसको बार्‍हैमास केही न केही उब्जनी भइराख्छ भने उसको खलिहान सधैं धपक्क बलिरहेको मानिन्थ्यो ।

कुन्युँ नहल्लियोस् नढलोस् भनेर सजाइन्थ्यो । गाईवस्तुले तानेर खाँदा पनि जोगियोस् । झरीले पराल नसडोस् वा हुरीले नहुत्याओस् । यो कलामा इलाकाभर नामी बलरा नगरपालिका–४ का रामबली सहनीले यो सीप बुबाबाट सिकेका थिए । रामबली भन्छन्, ‘कुन्युँ ठड्याउँदा चारवटै कुनामा समान रूपमा अग्ल्याउँदै लग्नुपर्छ । पातलो तह गरी पराल हाल्दै जाने र त्यसलाई बाँसको लठी र लात्तीले थिचिमिची पार्नुपथ्र्यो । परालका पत्रहरू बाक्लिएर बस्नाले कुन्युँलाई मजबुत बनाउँथ्यो ।’

कुन्युँ बनाइराख्दा अलिकति पनि चुक भयो भने त्यो ढल्थ्यो, गाईवस्तु थिचिन सक्थे वा मानिस किचिन सक्थे । यस्ता घटना भएका छन् । अहिले सहरियाहरू खेत खलिहानबाट टाढा छन्, तर अगहनीलाई सम्झिराखेका छन् । गुदगुदाउँदो परालमाथि लडिबुडी गर्नु बाल्यकालको रमाइलो थियो ।

अहिले कसैले भन्ला, परालको आकारले किसानको स्तरलाई मापन गर्न मिल्दैन कि ? यो प्रश्न सापेक्षिक रूपमा ठिक हो । अहिले पराल अन्य प्रयोजनमा पनि बिक्री/उपयोग हुनथालेको छ । पहिला किसानसँंग गाईवस्तु पनि हुन्थे, जसका लागि खाद्यान्न जोहो गरेर राखिराख्नुपथ्र्यो । किसानले उब्जनी कम हुनसक्ने वर्षका लागि पनि जोगाउँथे ।

कतिपय ठाउँमा बेहुली पक्षलाई अर्काको कुन्युँ देखाएर झुक्याइएका कथाहरू सुन्न पाइन्छ । जसको आफ्नो जग्गा छैन वा भए पनि पानी जम्ने छ भने पोखरीको डिलमा लहरै कुन्युँ ठड्याउँथे । कसैको दलान अगाडि कुन्युँ र भकारीको लहरै देखिँंदा ऊ प्रशस्त उब्जाउ जग्गावाल हो भनी मानिन्थ्यो । कसै–कसैको महिनौंसम्म दाइँ भइराख्थ्यो । दाइँका लागि एकाबिहानै काम सुरु भइहाल्थ्यो र त्यसैसँंग गुञ्जिन्थे लोकगीतका भाकाहरू । यी विवरण अहिले कतिपयलाई ‘फ्लास ब्याक’जस्तो लाग्ला ।

पिँंधमा रहेका किसानको अवस्था पछिल्ला दुई दशकमा तीव्रगतिले फेरिएको छ । मुलुक राजनीतिक संक्रमणमा रहेको बखत बहुसंख्यक जनताको जीविकाको प्रमुख आधार खेती गर्ने तरिका र त्यसप्रतिको सामाजिक दृष्टि पनि संक्रमणबाट गुज्रियो । राजनीतिक संक्रमणको खुब चर्चा गरियो, गरिँदैछ । तर खेती प्रणालीमा आएको संक्रमणबारे खासै बहस देखिँदैन ।

खेती न पूर्णतया पारम्परिक छ, नत आधुनिक हुनसकेको छ । प्रविधिका नाममा फगत ट्रयाक्टरको प्रयोग भएको छ । ट्रयाक्टरले बैल र हरवाहलाई विस्थापित गरे पनि खेतीमा मानवीय श्रम संलग्न छ नै । खेतीमा किसानको सोचाइ, बुझाइ र गराइमा समयसँंगै बदलाव आउँदै जानुपर्ने हो । परम्परा र आधुनिकता बीचमा दृष्टिपूर्ण तालमेल कसरी हुनुपर्ने हो, त्यो कुनै कोणबाट सार्थक हस्तक्षेप भइरहेको छैन ।

खेतीमा प्रविधीकरणको मतलव ‘ट्रयाक्टरीकरण’ पनि ठानिएको छ । खेतीको तौरतरिकालाई सहज र कम खर्चिलो बनाउन अन्य मेसिन प्रयोगमा ल्याउनुपर्नेमा केवल ट्रयाक्टरको प्रयोग बढी देखिएको छ । कृषि प्रविधिसंँग जोडिएका साना–साना मेसिनहरू छन्, जसले बिउ छर्नेदेखि दाइँ गर्नेसम्ममा सघाउ पुर्‍याउन सक्छन् । त्यसैगरी अधिक उत्पादनका निम्ति भइरहेको अराजक रसायनमुखी खेतीलाई विराम दिन सकिएको छैन । किसानमा जानकारी र सीप फिँजाउन जरुरी छ ।

हाम्रो समाजमा कृषि संस्कृतिकी आमा थिइन् । मेसिनीकरणको अत्यधिक मोहमा जनशक्ति कम प्रयोग हुँदै जाँदा एकातिर लाभका ठाउँहरू त देखिन्छन्, त्यहींनिर संस्कृतिका ऊर्जाशील परम्परा लुप्त हुँदै जाने जोखिम पनि थपिएको छ । अहिले कृषि संस्कृतिको जग हल्लिएको छ । कहाँ जान लागिएको हो, भेउ छैन । कतै खेतीकर्म अँध्यारो सुरुङको यात्रा त होइन ? खेती यो समाजका निम्ति फगत जीविकाका आधार मात्र थिएन । यहाँको प्राकृतिक परिवेशमा जीवनयापन गर्ने सुविचारित पद्धति पनि थियो ।

धान बेचेर सुनको गहना किन्ने कुरा अहिले दिवास्वप्न जस्तो लाग्छ । धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपियाँको चामल आयात हुँदै आएको छ । कुनै जमानामा निर्यातका लागि प्रसिद्धि कमाएको क्षेत्र आयातमाथि बाँच्न अभिशप्त छ । विगतका तथ्यहरूले के भन्छन् भने राष्ट्रिय निर्यातमा पैंसठी प्रतिशत कृषि क्षेत्रको योगदान थियो । नेपालको कुल निकासीमा चामलको मात्र देन चालिस प्रतिशत थियो ।

नेपालमा २०३१ सालमा धान–चामल निर्यात गर्न कम्पनी स्थापना गरिएको थियो । ती कम्पनीहरू तराईमै थिए । मृणमोय मजुमदारले डेढ दशकअघि आफ्नो शोधमा लेखेका थिए, ‘मधेसको आधारभूत आर्थिक अवसरलाई जोकोहीले पनि नराम्रो मान्नुपर्ने अवस्था छ । नेपालमा यस्तो विभेद किन भएको होला ? मधेसमा यस्तो चरम अविकसित अवस्था किन रहेको होला ? मधेसका मानिस किन यति बढी गरिब भएका होलान् ?’

फ्रेडरिक गेजले ‘रिजनालिजम एन्ड न्यासनल युनिटी इन नेपाल’ किताबमा सन् १९७५ तिरै तराईको आर्थिक महत्त्ववारे प्रकाश पारेका छन् । उनले लेखेका छन्, ‘सन् १९६० को दशकसम्ममा तराई नेपालको आर्थिक मेरुदण्ड भइसकेको थियो । नेपालका आर्थिक रूपले सक्रियमध्ये ९४ प्रतिशत मानिस जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् ।

नेपाल राष्ट्र बैंकले गरेको अनुमान अनुसार आर्थिक वर्ष १९६४/६५ मा ६५ प्रतिशत कुल गार्हस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त भएको थियो ।’ उनी अगाडि लेख्छन्, ‘तराईको सबैभन्दा महत्त्वपूर्ण उत्पादन धान हो । खाद्यान्न अभाव हुने नेपालका पहाडी भेगमा ठूलो परिमाणमा तराईबाट चामल लगिन्छ । तराईको धान भारतमा समेत ठूलो परिमाणमा निर्यात हुन्छ । १९६५ मा ३ लाख ४८ हजार मैट्रिक टन धान तराईबाट भारत निर्यात गरिएको अनुमान गरिन्छ । त्यस वर्ष नेपाल विश्वको पाँचौं ठूलो धान निर्यात गर्ने देश भएको थियो ।’

वर्तमान कहाँ छ ? ‘चामल कि धान’को भन्सार आयातकर बढी लगाउने रस्साकस्सीमा यतिखेर अल्झिएका छौं । यो अवधि कम चुनौतीपूर्ण छैन, जब देशको पेट भर्न बाहिरबाट अनाज मगाउनुपरेको छ । सरकारले संसदमा प्रस्तुतगरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रममा पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउनेलक्ष्य छ । संक्रमणमा रहेको खेतीको सवाल हल नगरेसम्म सुनौलो धान उब्जाएर सुनको बिहान उदाउने किसानी सपना सकार नभए जस्तै सरकारी प्रतिबद्धता पुरा नहुने छाँटकाँट देखिन्छ ।

datelineterai@gmail.com

प्रकाशित : मंसिर २०, २०७५ ०७:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

श्लेष्मान्तकमा फेरि कंक्रिट

कोषका सदस्य सचिवले सम्पदा अभियन्तालाई भने, ‘तपाईंहरू आफ्नो काम गर्नुस् । हामी हाम्रो काम गर्छौं, के बनाउन लागेको हो, बनाइसकेपछि जानकारी दिउँला’ 
दामोदर न्यौपाने

काठमाडौँ — सम्पदा संरक्षण अभियन्ताको तीव्र विरोधपछि रोकिएको पशुपति श्लेष्मान्तक क्षेत्रको कंक्रिटको पदमार्ग निर्माण ३ महिनापछि पुन: सुरु गरिएको छ ।

पशुपति श्लेष्मान्तकमा मापदण्डविपरीत कंक्रिटको संरचना बनाइँदै । तस्बिरहरू : दामोदर/कान्तिपुर

पशुपति क्षेत्र विकास कोषले मृगस्थली क्षेत्र घुम्न सजिलो होस् भनेर पदमार्ग निर्माणलाई फेरि निरन्रता दिएको हो ।२ करोड ९९ लाख रुपैयाँकोनिर्माणको ठेक्का धर्म एस निर्माण सेवालाई दिइएको छ ।

श्लेष्मान्तकमा कंक्रिट राख्ने र पानी कटाउन कुलो बनाउने नाममा फेरि कंक्रिट राख्न लागेको थाहा पाएर श्लेष्मान्तक पुगेका सम्पदा संरक्षण अभियन्तालाई कोषका सदस्य सचिव प्रदीप ढकालले ‘सकेको गर्नुस्’ भन्ने जवाफ दिएका थिए । ‘फेरि यहाँ के बनाउन लागेको ?’ सदस्य सचिव ढकालले अभियन्ताको यो प्रश्नको उत्तर दिन चाहेनन् । ‘तपाईंहरू आफ्नोकाम गर्नुस् । हामी हाम्रो काम गर्छाैं,’ ढकालले भने, ‘के बनाउन लागेको हो, बनाइसकेपछि जानकारी दिउँला ।’ यसअघि पुरातत्त्व विभागले समेत काम रोक्न निर्देशन दिएको थियो ।

सम्पदा संरक्षण अभियन्ताले सदस्य सचिव ढकालको भनाइलाई ‘जिम्मेवार व्यक्तिको दम्भपूर्ण र दादागिरीपूर्ण अभिव्यक्ति’ भनेका छन् । ‘सम्पदा जोगाउनुपर्ने निकायको दादागिरीले हाम्रा सम्पदा मासिने भए,’ सम्पदा बचाउन अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले भने, ‘राज्यका महत्त्वपूर्ण निकायमा बस्ने व्यक्तिको सम्पदाको मर्म बुझ्न नसक्दा बारम्बार हाम्रा सम्पदामाथि प्रहार भए ।’

कोषले पदमार्गकै छेउबाट फेरि श्लेष्मान्तकलाई भूक्षयबाट जोगाउने भन्दै कुलो बनाउन सुरु गरेको छ । कुलोमा पनि कंक्रिटै राख्ने योजना भएको कोषका एक उच्च अधिकारीले बताए । ‘यो पुरातात्त्विक क्षेत्र हो । पुरातात्त्विक क्षेत्रमा खन्न पुरातत्त्व विभागको अनुमति लिनुपर्छ,’ सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारी भन्छन्, ‘खोकनामा स्थानीयवासीले हाम्रो सभ्यता जोगाउँछौं, उत्खनन गरिदेऊ भन्दा पुरातत्त्वले मानेन । तर यहाँ खन्दा के हेरेर बसेको छ ?’ कोषका कुलो बनाउने कामको जिम्मा वाग्मती सभ्यता एकीकृत आयोजनाले लिएको छ ।

‘हामीले आयोजनालाई गुहारेर यो काम गर्न लगाएका हौं,’ कोषका एक उच्च अधिकारीले भने । दर्शनार्थी चिप्लिएर लड्ने समस्या भएकाले ‘वाक वे’ बनाएको कोषको दाबी छ । तर, अभियन्ताहरू वन सम्पदामा कंक्रिट प्रयोग गर्नु पुरातात्त्विक मापदण्डविपरीत रहेको बताउँछन् ।

पशुपति संरक्षित स्मारक क्षेत्रको संरक्षण एवं निर्माणसम्बन्धी मापदण्डमा खाली ठाउँ तथा चोक संरक्षण गर्ने जिम्मा स्थानीयवासीको हुने उल्लेख गरिए पनि कोषले आफूहरूसँग कुनै सल्लाह नलिएको पशुपतिका भण्डारी केदारमान भण्डारी बताउँछन् । ‘हामीसँग कोषले सल्लाहै लिँदैन । यहाँ पनि के बनाउन लागेको हो हामीलाई पत्तै छैन,’ उनी भन्छन्, ‘गुरुयोजना अन्तिम चरणमा पुगेको छ भनिएको छ । गुरुयोजना नै बनिनसके पनि धमाधम काम भइराखेका छन् ।’

प्राचीन स्मारक संरक्षण ऐन र पशुपति संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्डविपरीत भएको अभियन्ता अधिकारी बताउँछन् । ‘ऐन र मापदण्डले आधुनिक निर्माण सामग्री प्रयोग परिकल्पना नै गरेको छैन,’ उनी भन्छन्, ‘नयाँ संरचना बनाउँदा जंगल मासिने खतरा हुन्छ । यो जंगल आफैंमा सम्पदा हो । यसमा जथाभावी गर्नु भनेको सम्पदा मास्नु हो ।’

मृगस्थलीमा कंक्रिट राख्नु अदालतको आदेशविपरीत कार्य भएको अधिकारी बताउँछन् । सर्वाेच्च अदालतले २०७३ पुस ९ गते श्लेष्मान्तक क्षेत्रमा कंक्रिटको संरचना नबनाउन आदेश दिएको थियो । त्यहाँ शव गाड्न कंक्रिटको संरचना बनाइँदै आएको थियो । त्यसलेवातावरणमा असर पर्ने अदालतले उल्लेख गरेको थियो ।

अदालतको यो नजिरअनुसार श्लेष्मान्तकमा कंक्रिट राख्न नमिल्ने र जथाभावी खन्नसमेत नमिल्ने अधिकारी बताउँछन् । ‘शव गाड्दामात्रै कंक्रिट नराख भनेको होइन,’ अधिकारी भन्छन्, ‘यो जंगल क्षेत्रमा कतै पनि कंक्रिट नराख भनेको हो अदालतको आदेशले । यो आदेश कोषले पालना गर्नु पर्दैन ? यो अदालतको मानहानि हो ।’ वातावरणविद् यहाँ कंक्रिट राख्दा पानी सोस्ने र बिरुवा हुर्कने वातावरण बिग्रने बताउँछन् । ‘श्लेष्मान्तकको वनको पौराणिक महत्त्व बढी छ । यहाँ पुराना रुख छन् ।

थुप्रै जडिबुटी छन् । यो प्राचीन ठाउँ भएकाले उत्खनन गर्नुपर्ने धेरै विषय हुन सक्छन्,’ वन्यजन्तुविद् मुकेश चालिसे भन्छन्, ‘ती ठाउँमा ढलान गरिदिएपछि उत्खनन गर्नुपर्ने विषय छोपिने भए । ढलानले त्यहाँ भएका बाँदर, चराचुरुंगीलाई अप्राकृतिक रूपमा लैजाने भयो । मान्छेको आवतजावत धेरै हुँदा जनावरमा रोग सर्न सक्छ । वातावरण फोहोर हुन सक्छ ।’

प्रकाशित : मंसिर २०, २०७५ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT