कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अगहन आइल, जन मोटाइल

डेटलाइन तराई
मंसिरमा जग्गावालले सुनको सपना देख्थे, बनिबुतो गरेर खानेले पनि ढुक्कले दुई छाक खान सक्थे । धान कटाइ महोत्सवजस्तै हुन्थ्यो ।
चन्द्रकिशोर

काठमाडौँ — लोकगीत समाजको हृदयको उद्गार हुन्छ । यो तिनका हार्दिक भावनाहरूको साँचो प्रतीक हुन्छ । लोकगीत जनसमाजको वस्तु हो । त्यसमा जनताको हृदय संँगालिएको हुन्छ । यी गीतहरू अनुभवका आधारमा रचिएका हुन्छन् । यसभित्र त्यस क्षेत्रको संघर्ष, प्रेम, भूगोल र सिर्जनशीलतालाई आफूभित्र संँगालिएको हुन्छ ।

अगहन आइल, जन मोटाइल

त्यसैले लोकगीतभित्र छिरेर सामाजिक इतिहासलाई खोज्न सकिन्छ । मधेसी समाजकै एउटा बारहमासा लोकगीतका यी पंक्ति हेरौं, ‘अगहन कुँअरी करत सिंगार, कपडा सिलावेली सोना के तार/पाठ पितामर पुलक समान, कनक सिस वैजयन्ती के माल’ । यसको आशय हो, मंसिर महिनामा कुनै नायिका आफूलाई सुनका गहनाहरूले सजाउँछिन् ।


लोकगीतमा एउटी नायिका मंसिर महिनामै सुनका गहनाले सजिएको सन्दर्भ किन उठ्छ होला ? आफू उत्तानो परेर पैतालामा सानो बच्चालाई बसाइ जब गाइन्थ्यो, ‘घुघुवा माना उपजे धाना, बच्चा के छेदा देव कान दुनु सोना’ । (धान फल्यो भने सुनको गहना हाल्दिन्छु ।) यसले के देखाउँछ भने धान यति फल्थ्यो कि त्यसबाट सुनको गहना हाल्न मिल्थ्यो ।


एउटा उखान छ, ‘अगहन आइल, जन मोटाइल’ । अगहन भनेको मंसिर महिना हो । ज्यालाबनी गरेर खानेहरू पनि अगहन महिनामा मोटाउँछन् । जग्गावाल गिरहतले त सुनको गहनाको सपना देख्थे । बनिबुतो गरेर खानेले पनि अगहनमा यति भित्र्याउँथे कि उनीहरू ढुक्कले दुई छाक खान सक्थे । यसैले पनि होला, धानरोपनी जस्तै ‘धान कटाइ’ पनि महोत्सवकै रूपमा हुन्थ्यो ।


धान काटिने बेला उब्जनी हुने चौरमा गुलजार हुन्थ्यो । कतै दुलदुल घोडाको लोकनाट्य देखाइँदै त कतै बाइस्कोपमार्फत घर बसी–बसी सारा संसार दर्शन गरिन्थ्यो । कतै देहाती परिकार टाउकामा राखेर बेच्नेहरू आली–आली भौंतारिन्थे । बच्चाहरूका लागि पनि रमाइलो, चाहे त्यो गिरहतका हुन वा कृषि मजदुरका । धान काटेर बोझा बनाई खलिहानमा ओसारिसकेपछि खेतमा छरपस्टिएर रहेका धानका बाला उनीहरू संकलन गर्थे र मनचित्ते परिकार र खेलौना किन्थे ।


अगहनीकै अभिन्न अंग थियो खलिहान, जहाँ दाइँ गर्न बीचमा मेह (दाइँ का खाँबो) गाडिएको हुन्थ्यो । खलिहानकै छेउछाउमा पानी नजमोस् भनेर ‘परालको टाल’ राखिन्थ्यो । यसलाई कुन्युँ, माच, टौवा पनि भनिन्छ । यो त्रिकोणीय, चतुष्कोणीय, वृत्ताकार, पिरामिडीय आदि तरिकाले राखिन्थ्यो । कृषि कर्मका प्रत्येक पक्षमा कला र सौन्दर्य थियो ।


यसको संख्या र आकार घट्दै जानुले खेती किसानीको स्तर प्रस्ट्याउँछ । पहिले छोरीको बिहेका लागि घर खोजी गरिँंदा खलिहान र कुन्युँका आधारमा बेहुलाको सामाजिक र आर्थिक हैसियत आँकलन गरिन्थ्यो । जसको बार्‍हैमास केही न केही उब्जनी भइराख्छ भने उसको खलिहान सधैं धपक्क बलिरहेको मानिन्थ्यो ।


कुन्युँ नहल्लियोस् नढलोस् भनेर सजाइन्थ्यो । गाईवस्तुले तानेर खाँदा पनि जोगियोस् । झरीले पराल नसडोस् वा हुरीले नहुत्याओस् । यो कलामा इलाकाभर नामी बलरा नगरपालिका–४ का रामबली सहनीले यो सीप बुबाबाट सिकेका थिए । रामबली भन्छन्, ‘कुन्युँ ठड्याउँदा चारवटै कुनामा समान रूपमा अग्ल्याउँदै लग्नुपर्छ । पातलो तह गरी पराल हाल्दै जाने र त्यसलाई बाँसको लठी र लात्तीले थिचिमिची पार्नुपथ्र्यो । परालका पत्रहरू बाक्लिएर बस्नाले कुन्युँलाई मजबुत बनाउँथ्यो ।’


कुन्युँ बनाइराख्दा अलिकति पनि चुक भयो भने त्यो ढल्थ्यो, गाईवस्तु थिचिन सक्थे वा मानिस किचिन सक्थे । यस्ता घटना भएका छन् । अहिले सहरियाहरू खेत खलिहानबाट टाढा छन्, तर अगहनीलाई सम्झिराखेका छन् । गुदगुदाउँदो परालमाथि लडिबुडी गर्नु बाल्यकालको रमाइलो थियो ।


अहिले कसैले भन्ला, परालको आकारले किसानको स्तरलाई मापन गर्न मिल्दैन कि ? यो प्रश्न सापेक्षिक रूपमा ठिक हो । अहिले पराल अन्य प्रयोजनमा पनि बिक्री/उपयोग हुनथालेको छ । पहिला किसानसँंग गाईवस्तु पनि हुन्थे, जसका लागि खाद्यान्न जोहो गरेर राखिराख्नुपथ्र्यो । किसानले उब्जनी कम हुनसक्ने वर्षका लागि पनि जोगाउँथे ।


कतिपय ठाउँमा बेहुली पक्षलाई अर्काको कुन्युँ देखाएर झुक्याइएका कथाहरू सुन्न पाइन्छ । जसको आफ्नो जग्गा छैन वा भए पनि पानी जम्ने छ भने पोखरीको डिलमा लहरै कुन्युँ ठड्याउँथे । कसैको दलान अगाडि कुन्युँ र भकारीको लहरै देखिँंदा ऊ प्रशस्त उब्जाउ जग्गावाल हो भनी मानिन्थ्यो । कसै–कसैको महिनौंसम्म दाइँ भइराख्थ्यो । दाइँका लागि एकाबिहानै काम सुरु भइहाल्थ्यो र त्यसैसँंग गुञ्जिन्थे लोकगीतका भाकाहरू । यी विवरण अहिले कतिपयलाई ‘फ्लास ब्याक’जस्तो लाग्ला ।


पिँंधमा रहेका किसानको अवस्था पछिल्ला दुई दशकमा तीव्रगतिले फेरिएको छ । मुलुक राजनीतिक संक्रमणमा रहेको बखत बहुसंख्यक जनताको जीविकाको प्रमुख आधार खेती गर्ने तरिका र त्यसप्रतिको सामाजिक दृष्टि पनि संक्रमणबाट गुज्रियो । राजनीतिक संक्रमणको खुब चर्चा गरियो, गरिँदैछ । तर खेती प्रणालीमा आएको संक्रमणबारे खासै बहस देखिँदैन ।


खेती न पूर्णतया पारम्परिक छ, नत आधुनिक हुनसकेको छ । प्रविधिका नाममा फगत ट्रयाक्टरको प्रयोग भएको छ । ट्रयाक्टरले बैल र हरवाहलाई विस्थापित गरे पनि खेतीमा मानवीय श्रम संलग्न छ नै । खेतीमा किसानको सोचाइ, बुझाइ र गराइमा समयसँंगै बदलाव आउँदै जानुपर्ने हो । परम्परा र आधुनिकता बीचमा दृष्टिपूर्ण तालमेल कसरी हुनुपर्ने हो, त्यो कुनै कोणबाट सार्थक हस्तक्षेप भइरहेको छैन ।


खेतीमा प्रविधीकरणको मतलव ‘ट्रयाक्टरीकरण’ पनि ठानिएको छ । खेतीको तौरतरिकालाई सहज र कम खर्चिलो बनाउन अन्य मेसिन प्रयोगमा ल्याउनुपर्नेमा केवल ट्रयाक्टरको प्रयोग बढी देखिएको छ । कृषि प्रविधिसंँग जोडिएका साना–साना मेसिनहरू छन्, जसले बिउ छर्नेदेखि दाइँ गर्नेसम्ममा सघाउ पुर्‍याउन सक्छन् । त्यसैगरी अधिक उत्पादनका निम्ति भइरहेको अराजक रसायनमुखी खेतीलाई विराम दिन सकिएको छैन । किसानमा जानकारी र सीप फिँजाउन जरुरी छ ।


हाम्रो समाजमा कृषि संस्कृतिकी आमा थिइन् । मेसिनीकरणको अत्यधिक मोहमा जनशक्ति कम प्रयोग हुँदै जाँदा एकातिर लाभका ठाउँहरू त देखिन्छन्, त्यहींनिर संस्कृतिका ऊर्जाशील परम्परा लुप्त हुँदै जाने जोखिम पनि थपिएको छ । अहिले कृषि संस्कृतिको जग हल्लिएको छ । कहाँ जान लागिएको हो, भेउ छैन । कतै खेतीकर्म अँध्यारो सुरुङको यात्रा त होइन ? खेती यो समाजका निम्ति फगत जीविकाका आधार मात्र थिएन । यहाँको प्राकृतिक परिवेशमा जीवनयापन गर्ने सुविचारित पद्धति पनि थियो ।


धान बेचेर सुनको गहना किन्ने कुरा अहिले दिवास्वप्न जस्तो लाग्छ । धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपियाँको चामल आयात हुँदै आएको छ । कुनै जमानामा निर्यातका लागि प्रसिद्धि कमाएको क्षेत्र आयातमाथि बाँच्न अभिशप्त छ । विगतका तथ्यहरूले के भन्छन् भने राष्ट्रिय निर्यातमा पैंसठी प्रतिशत कृषि क्षेत्रको योगदान थियो । नेपालको कुल निकासीमा चामलको मात्र देन चालिस प्रतिशत थियो ।


नेपालमा २०३१ सालमा धान–चामल निर्यात गर्न कम्पनी स्थापना गरिएको थियो । ती कम्पनीहरू तराईमै थिए । मृणमोय मजुमदारले डेढ दशकअघि आफ्नो शोधमा लेखेका थिए, ‘मधेसको आधारभूत आर्थिक अवसरलाई जोकोहीले पनि नराम्रो मान्नुपर्ने अवस्था छ । नेपालमा यस्तो विभेद किन भएको होला ? मधेसमा यस्तो चरम अविकसित अवस्था किन रहेको होला ? मधेसका मानिस किन यति बढी गरिब भएका होलान् ?’


फ्रेडरिक गेजले ‘रिजनालिजम एन्ड न्यासनल युनिटी इन नेपाल’ किताबमा सन् १९७५ तिरै तराईको आर्थिक महत्त्ववारे प्रकाश पारेका छन् । उनले लेखेका छन्, ‘सन् १९६० को दशकसम्ममा तराई नेपालको आर्थिक मेरुदण्ड भइसकेको थियो । नेपालका आर्थिक रूपले सक्रियमध्ये ९४ प्रतिशत मानिस जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् ।


नेपाल राष्ट्र बैंकले गरेको अनुमान अनुसार आर्थिक वर्ष १९६४/६५ मा ६५ प्रतिशत कुल गार्हस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त भएको थियो ।’ उनी अगाडि लेख्छन्, ‘तराईको सबैभन्दा महत्त्वपूर्ण उत्पादन धान हो । खाद्यान्न अभाव हुने नेपालका पहाडी भेगमा ठूलो परिमाणमा तराईबाट चामल लगिन्छ । तराईको धान भारतमा समेत ठूलो परिमाणमा निर्यात हुन्छ । १९६५ मा ३ लाख ४८ हजार मैट्रिक टन धान तराईबाट भारत निर्यात गरिएको अनुमान गरिन्छ । त्यस वर्ष नेपाल विश्वको पाँचौं ठूलो धान निर्यात गर्ने देश भएको थियो ।’


वर्तमान कहाँ छ ? ‘चामल कि धान’को भन्सार आयातकर बढी लगाउने रस्साकस्सीमा यतिखेर अल्झिएका छौं । यो अवधि कम चुनौतीपूर्ण छैन, जब देशको पेट भर्न बाहिरबाट अनाज मगाउनुपरेको छ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रममा पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य छ । संक्रमणमा रहेको खेतीको सवाल हल नगरेसम्म सुनौलो धान उब्जाएर सुनको बिहान उदाउने किसानी सपना सकार नभए जस्तै सरकारी प्रतिबद्धता पुरा नहुने छाँटकाँट देखिन्छ ।


[email protected]

प्रकाशित : मंसिर २०, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?