१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ट्वीटरमा अल्पसंख्यकलाई डर

भारतमा दलित तथा जातीय, धार्मिक, आदिवासी र लैंगिक अल्पसंख्यकलाई सत्तारूढ दलका उग्र कार्यकर्ताले सताउने गरेका छन् ।

काठमाडौँ — नोभेम्बर १३ मा ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले नयाँ दिल्लीमा महिला पत्रकार तथा अधिकारकर्मीसँग भेट गरेर भारतमा अनलाइन सुरक्षाबारे कुराकानी गरे । धर्म तथा संस्कृतिका आधारमा अल्पसंख्यामा रहेका महिला पत्रकार तथा अधिकारकर्मीले डोर्सेको सामाजिक सञ्जालमा निकै हैरानी खेप्नुपर्छ ।

ट्वीटरमा अल्पसंख्यकलाई डर

डोर्से तथा ट्विटरका अन्य उच्च अधिकारीहरूसँगको छलफल उत्पीडनमा परेकाहरूको समस्या समाधान गर्न सहयोग गर्नु तथा भारतको समस्याको तहलाई बुझ्नु रहेको थियो ।


मेरी सहकर्मी संघापली अरुणा ‘प्रोजेक्ट मुक्ति’ नामक संस्था सञ्चालन गर्छिन् । उक्त संस्थाको काम सामाजिक सञ्जालबाट दलितहरूको न्यायका पक्षमा आवाज बुलन्द पार्नु हो । उनी पनि उक्त छलफलमा सहभागी थिइन् । ‘दलित’ शब्दको अर्थ ‘दबाइएको’ भन्ने हुन्छ, जसले हिंसा, उत्पीडन र आमनागरिक सरहको अधिकारबाट पनि वञ्चित जाति बुझाउँछ ।


डोर्सेलाई भेटेका बेला उनले असुरक्षाका कारण ट्विटरबाट आफूलाई अलग राखिसकेकी थिइन् । उनको ट्विटका कारण उनलाई विभिन्न प्रकारको धम्की आइसकेको थियो । जब उनले आफूमाथि भएको हिंसा र उत्पीडनबारे सुनाइन्, तब ट्विटरकी कानुन, नीति, विश्वास र सुरक्षा विभाग प्रमुख विजया गाड्डे सुँक्सुकाइन् । सत्तारुढ दलका ट्रोल सेनाले हरेक दिन दलित र अन्य भारतीय अल्पसंख्यकलाई ट्विटरमा सताइरहेका हुन्छन्, जसका कारण उनीहरूले कित ट्विटर चलाउनै छोड्छन्, नभए ट्रोल सेनाको आँखाको तारो भइरहन्छन् ।


प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भातीय जनता पार्टीले सन् २०१४ को आमनिर्वाचनमा व्यापक प्रयोग गरेपछि भारतमा ट्विटरलाई राजनीतिक डिस्कोर्सको माध्यमका रूपमा हेर्न थालिएको हो । मोदी सत्तासिन भएपछि उनका समर्थकले ट्विटरलाई सरकारले गरेका सकारात्मक काम प्रचार गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेका छन् । उनीहरूले तोडमोड गरिएका तस्बिर पनि प्रयोग गर्ने गरेका छन् ।


भारतमा केही समययता अल्पसंख्यक तथा दलितमाथि अत्याचार र धार्मिक तथा जातीय हिंसामा वृद्धि भएको देखिएको छ । त्यसमा प्राय: सबैले प्रधानमन्त्री मोदीका समर्थकलाई दोषी देखिरहेका छन् । उनीहरूमा आफ्नो दलले बहुमत पाएको उन्माद छ । त्यसैले ट्रोल सेना जातीय र धार्मिक अल्पसंख्यकमाथि सजिलै खनिन्छन् ।


विश्वले अमेरिकाको ट्रोल संस्कृति र गोराहरूको अधिपत्यलाई बुझिसकेको छ । भारतमा भने जातीय आधारमा अनलाइनमा गरिने ट्रोलको अध्ययन भइरहेको छ । यस प्रकारको छलफल हुँदा दलितका प्रतिनिधिहरूको सहभागिता जरुरी हुन्छ । उनीहरूले के भोगिरहेका छन् भन्ने थाहा पाउनैपर्छ । वास्तविक दुनियाँमा होस् वा अनलाइनमा, दलितहरू जातीय अत्याचारको भुंग्रोबाट मुक्ति चाहन्छन् ।


यसै सन्दर्भमा मैले एउटा पोस्टर डिजाइन गरेर अरुणालाई दिएकी थिएँ । उनले त्यो पोस्टर डोर्सेलाई दिइन् । पोस्टरमा एक महिलाले विरोध गरिरहेको देखाइएको छ र त्यसमा लेखिएका छन्– ध्वस्त पारौं । ब्राह्मणवाद । पितृसत्ता ।


ब्राह्मण जातीय हिसाबमा ‘सबैभन्दा माथिल्लो’ जातमा पर्छन् र लामो समयदेखि शक्ति उनीहरूकै अधीनमा छ । उनीहरूको संयुक्त आवाजले कुनै पनि सार्वजनिक छलफल र विचारलाई निर्देशित गर्छ । चाहे त्यो सामाजिक सञ्जालमा होस् या इतिहासमा । उनीहरूको पहुँच भारतको पुरानो संरचनाभन्दा पनि परसम्म फैलिएको छ ।


उक्त पोस्टर दलितको प्रतिरोध कला र उनीहरूप्रति ऐक्यबद्धताको नमुनामात्रै हो । जब नयाँदिल्लीको छलफल सकियो, डोर्सेले मैले बनाएको पोस्टर बोकेर सहभागीसँग तस्बिर खिचाए । जातीय र पितृसत्तात्मक सोचको अन्त्य हुनुपर्छ भन्ने मागको समर्थन ट्विटरले गरेको छ भन्ने प्रमाणको रूपमा त्यस तस्बिरलाई हेरियो ।


त्यसपछि ट्विटरमा भारतका जातीय इलिटहरू, त्यसमा पनि अधिकांश ब्राह्मणले कडा प्रतिक्रिया जनाए । डोर्से र उनको टिमले गालीगलौच सामना गर्नुपर्‍यो । उनलाई नश्लवादी तथा भारतीय सामाजिक स्थितिलाई खलल पुर्‍याउन चाहने व्यक्तिका रूपमा चित्रण गरियो । त्यसलाई २०१९ मा हुने आमनिर्वाचनसम्म पनि जोडियो ।


ब्राह्मणहरूले ‘बाइकट ट्विटर’लाई ट्रेन्डिङ गरिदिए ।


डोर्सेप्रति मेरो सहनुभूति छ । उनले दलित महिला भएर ट्विटर चलाउँदाकै जस्तो नमिठो स्वाद चाख्नुपर्‍यो । यस आक्रमणले भारतमा अनलाइन सुरक्षाको अवस्था अध्ययन गर्न आएको उनको टोलीलाई समस्याको गहिराइ पनि अवगत गराइदियो ।


भारतमा लगभग ८० लाख ट्विटर प्रयोगकर्ता छन् र ट्विटरका लागि यो सबैभन्दा छिटो बढिरहेको बजार पनि हो । हरेक दिन बढिरहेको ट्विटर प्रयोगकर्तामा दलित तथा धार्मिक, सांस्कृतिक र लैंगिक अल्पसंख्यक पनि पर्छन् । भारतमा दलितको मात्रै संख्या २६ करोड हाराहारी छ । उनीहरूका लागि ट्विटर आफ्नो कुरा निसंकोच राख्न सकिने माध्यम हो । यहाँ भनिएका कुरा मुख्य मिडियाले पनि सुन्छन् ।


भारतको जातीय संरचना र शक्ति ट्विटरमा पनि देखिन्छ । जसका कारण अल्पसंख्यकहरू उक्त सञ्जालबाट टाढै बस्न बाध्य हुन्छन् ।


ट्विटरका प्रतिनिधिहरूले पनि त्यस प्रकारको उत्पीडन भोगे । ब्राह्मणहरूले ट्विटरलाई बाइकट गर्न आह्वान गरेपछि ट्विटरकी कानुन, नीति, विश्वास र सुरक्षा विभाग प्रमुख विजया गाड्डेले तस्बिरको विषयलाई लिएर माफी मागिन् । उनले ट्विटर निष्पक्ष मञ्च भएकाले भविष्यमा यस प्रकारको कार्य गर्दा आफूहरूले ध्यान दिने बताइन् । ट्विटरले क्षमायाचना गर्नुले समस्या कुन तहमा छ भन्ने स्पष्ट देखियो । ट्विटर घुँडा टेकेर आफू निष्पक्ष र बहसका लागि खुला मञ्च रहेको बताउन बाध्य भयो ।


ट्विटरमा जातलाई केन्द्रमा राखेर गरिने दुव्र्यवहार र हिंसालाई देखेर पनि ट्विटरले नदेखे जस्तो गर्नु दुर्भाग्य हो । उक्त मञ्चको जिम्मेवारी भने खुला बहसलाई बढावा दिनुमात्र नभई आफ्नो विचार राख्ने स्वतन्त्रतालाई पनि सुरक्षा दिनु हो । चरणबद्ध रूपमा गरिने आक्रमणले उत्पीडनमा रहेकाहरूलाई चुप लागेर बस्न बाध्य बनाउँदै लगेको छ भने ट्विटरलाई अत्याचार गर्ने अर्को अस्त्र बनाउँदैछ ।


ट्विटरकै प्रमखु कार्यकारीले भोगेको अत्याचार वा हिंसालाई उदाहरणका रूपमा लिएर उनीहरूको समूहले त्यसलाई गम्भीरतापूर्वक मनन गर्न आवश्यक छ । ट्विटरले भारतमा मात्रै नभई विश्वभर रहेका अल्पसंख्यकको आवाजलाई सुरक्षा प्रदान गर्न कदम चाल्नैपर्छ ।


ट्विटरले जातीय हिंसा वा घृणायुक्त अभिव्यक्तिलाई तुरुन्तै रिपोर्ट गर्न मिल्ने संयन्त्र विकास गर्नुपर्छ । उसले छुट्टै एउटा समिति बनाएर ट्विटरमा मानव अधिकार कुण्ठित पार्ने कार्यको समीक्षा गर्नु जरुरी छ । भारतको ट्रोल पनि समीक्षा गर्दै त्यसले कस्तो सूचना प्रवाह गरिरहेको छ भनेर ध्यान दिनुपर्छ ।


डोर्से र उनका सहकर्मीले सरकार, नागरिक समाज र सबै अल्पसंख्यक समूहका प्रतिनिधिसँग छलफल गरी एउटा नीति तयार गर्नुपर्छ । यस प्रकारको छलफलबाट विभिन्न प्रकारका समस्या र तिनका समाधानका उपाय पहिल्याउन सकिन्छ । तर ट्विटरले आफूलाई पिछडिएको वर्गहरूले पनि आवाज उठाउने स्थानका रूपमा विकास गर्न चाहन्छ या चाहँदैन, त्यसमा भने स्पष्ट हुनुपर्छ ।


लेखक एक दलित–अमेरिकी कलाकार र अभियन्ता हुन् । उनी इक्वालिटी ल्याब्सकी संस्थापक पनि हुन् ।

(न्युयोर्क टाइम्सबाट अनुदित ।)

प्रकाशित : मंसिर २०, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?