१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडक सुरक्षाका सहयात्री

प्रत्येक एक सय किलोमिटरको दूरीमा आधारभूत ट्रमा सेवा दिन सके थुप्रैको ज्यान जोगिन सक्छ ।

काठमाडौँ — सडक भूगोलको दूरी छोट्याउने र विश्वलाई नजिक ल्याउने माध्यम हो । तर त्यही सडकमा हुने दुर्घटना आधुनिक सभ्यताको सबैभन्दा कुरूप पक्ष बनेको छ । सारा विश्व यस समस्याबाट आक्रान्त छ । दुर्घटनाका समाचार मिडियामा आइरहन्छन्, छाइरहन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार सडक दुर्घटनामा परी वर्षमा १३ लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ ।

घातक सडक दुर्घटनामध्ये ९० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकमा हुन्छन्, जहाँ विश्वको कुल सवारी साधनमध्ये मुस्किलले आधाजति होलान् । अर्थात आधाजति सवारी साधनले ९० प्रतिशत दुर्घटना हुन्छ भने बाँकी आधाले केवल १० प्रतिशत ।


दुर्घटनामा मृत्यु हुनेमध्ये आधाजति मोटरसाइकल वा साइकलयात्रु तथा पैदलयात्री हुन्छन् । काठमाडौंमै पनि पछिल्ला ५ वर्षमा ४ सयभन्दा बढी साइकल र पैदलयात्रीले दुर्घटनाबाट ज्यान गुमाएका छन् ।


विश्वमा सडक दुर्घटनाबाट हुने मृत्युमध्ये एक चौथाइभन्दा बढी हिस्सा दक्षिणपूर्वी एसियाली मुलुकले ओगट्छन् । यस क्षेत्रमा मृत्यु हुनेमा आधाभन्दा बढी मोटरसाइकल यात्री हुने गर्छन्, त्यसपछि आउँछन्, साइकलयात्री र पैदलयात्री । यी तीनवटै समूहलाई जोखिमयुक्त सडक प्रयोगकर्ता (भल्नरेबल रोड युजर्स) मानिन्छ । उनीहरू जुनसुकै बेला दुर्घटनाको सिकार बन्न सक्छन् ।


नेपालमा सडक विस्तार, सवारी संख्यामा वृद्धिसँगै सवारी दुर्घटना भयावह बन्दै गएको छ । वर्षेनि दुई हजार पाँच सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् । पूर्ण वैज्ञानिक र इन्जिनियरिङ कोणबाट उत्कृष्ट सडक बन्न सकिरहेका छैनन् । सवारी साधन कति, कस्ता, कुन मापदण्डका चाहिने हो भनेर पूर्वानुमान र अध्ययन छैन । दुर्घटना न्युनीकरणका लागि ल्याइएका कानुन समयानुकूल परिमार्जन र लागु गर्न सकिएका छैनन् । सडक प्रयोगकर्ता सचेत देखिँदैनन् ।


विश्वमा हरेक दिन विद्यालय जाने उमेरका ५ सय भन्दा बढी बालबालिका घरबाट निस्किन्छन् तर फर्किदैनन् । कारण बाटोमा हिँड्दा वा सडक पार गर्दा वा सवारी दुर्घटनामा परेर मृत्युवरण गरिसकेका हुन्छन् । १५–२९ वर्ष उमेर समूहका युवाको अवस्था पनि उस्तै छ । अधिकांश मोटरसाईकल दुर्घटना यही उमेर समूहको हुन्छ । १५–२९ वर्ष उमेर समूहको मृत्युको प्रमुख कारण सडक दुर्घटना भएको छ ।


सडक दुघटनामा लाखौं घाइते हुन्छन् । घाइते भएर बाँचेकाहरूको अवस्था दर्दनाक र भयानक छ । सडक दुर्घटनाकै कारण जीवनयापनका अनेक क्षेत्रमा प्रभाव पर्छ । उत्पादनशील उमेर समूहको सक्रिय जनशक्ति रोजगारी र उत्पादकत्व बढाउनसमेत अक्षम बन्न पुग्छ । पैसा, पूर्वाधार, प्रविधि वा अन्य सम्पत्ति गुमाउनु फरक कुरा हो । तर सक्रिय जनसंख्या गुमाउनुभन्दा दु:खद र दर्दनाक कुरा अर्को हुन सक्दैन ।


सडक दुर्घटनाका यिनै नकारात्मक बहुआयाम विश्लेषण र पहिचान गर्दै संयुक्त राष्ट्र संघले सन् २०११–२०२० लाई ‘सडक सुरक्षाकार्य दशक’ घोषणा गरेको छ । नेपालले कार्ययोजना बनाई सन् २०२० मा दस वर्ष अघिको तुलनामा दुर्घटनाबाट हुने मृत्युलाई आधा पार्ने लक्ष्य राखेको छ । तर अवस्था खस्कँदो छ ।


सडक सुरक्षाकार्य दशकका पाँच खम्बा सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक र आवागमन, सुरक्षित सवारी साधन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछिको उद्धार हुन् । यी सबै खम्बालाई मजबुत र व्यवस्थित बनाउने चुनौती नेपाललाई छ ।


सडक सुरक्षाको प्रवृत्ति बहुआयामिक हुन्छ । नेपालमै पनि यातायात, स्वास्थ्य, सडक, ट्राफिक, कानुन, विद्यालय, दातृ निकाय, मिडिया अनेक संघ–संस्था सडक सुरक्षा व्यवस्थालाई मजबुत बनाउने सहयात्री हुन् । सडक दुर्घटना न्युनीकरण यी सबै पक्षको चाहना हो, जसलाई निकायगत रूपमा सबैले आ–

आफ्नोतर्फबाट नतिजामूलक भई समन्वय गर्नु जरुरी छ ।


जोखिमपूर्ण ढंगले सडक प्रयोग गर्नेलाई सुरक्षित पार्ने दिशामा काम गर्नुपर्छ, जसका लागि पहिलो कुरा हो, जनचेतना । त्यसपछि सडकको अवस्था सुधार र पूर्वाधारमा लगानी हुनुपर्छ । राम्रो अवस्थाका सवारी साधनको प्रयोगले पनि दुर्घटना न्युनीकरण गर्ला । सिट बेल्टमा कडाइ, हेल्मेटको अनिवार्यता, ‘मापसे’ नियन्त्रणलाई प्रभावकारी बनाउने र लाइसेन्स दिने प्रक्रियालाई अझै वैज्ञानिक बनाउने जस्ता कानुनी पाटाहरू पनि बिर्सिनु हुँदैन ।


दुर्घटनापछि बेलैमा उद्धारले कैयौं मानिसको ज्यान जोगाउन सक्छ । राजमार्ग र ठूला सहरमा आवश्यक संख्यामा ट्रमा सेन्टर स्थापना जरुरी छ । राजमार्गमा सडक दुर्घटनापछि तत्काल सामान्य उपचार नपाउँदा मर्नेको संख्या पनि धेरै छ । प्रत्येक एक सय किलोमिटरको दूरीमा आधारभूत ट्रमा सेवा दिनसके थुप्रैको ज्यान जोगिन सक्छ ।


सडक दुर्घटना कुनै निकायको एकल जिम्मेवारी हुन सक्दैन । सबै निकायमा छरिएर काम गर्दा अपेक्षित नतिजा निस्किँदैन । नेपालमै पनि सडक सुरक्षाको क्षेत्रमा यातायात, सडक, ट्राफिक प्रहरीजस्ता दसौं निकायले काम गरिरहेका छन् । हामीकहाँ तदर्थ समिति गठन गरेर काम गर्ने अभ्यास छ ।


श्रीलंका, बंगलादेश, मलेसियामा जस्तो शक्तिशाली, स्रोतसाधन सम्पन्न राष्ट्रिय सडक सुरक्षा परिषद गठन गरेर नतिजामूलक ढंगले लाग्नु विवेकपूर्ण हुनेछ । विभिन्न अध्ययन प्रतिवेदन र नीति तथा कार्ययोजनाहरूको संकेत पनि यही हो ।


लेखक नेपाल सरकारका उपसचिव हुन् ।

प्रकाशित : मंसिर २०, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?