२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सानालाई सास्ती ठूलालाई स्वस्ति

सम्पादकीय

काठमाडौँ — ०७३ मंसिरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्न लाइनमा बसेका बेला होराइजन बोर्डिङ स्कुल, सुर्खेतकी कक्षा ९ की छात्रा समीक्षा आचार्य बेहोस भइन् । बचाउन सकिएन, उनको 
निधन भयो । 

सानालाई सास्ती ठूलालाई स्वस्ति

त्यस दुर्घटनाबाट कसैले कुनै शिक्षा लिएन । न जनसेवीले न शिक्षासेवीले ।

०७४ वैशाखमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको स्वागतार्थ गोरखाको अमरज्योति जनता माविमा बालबालिकालाई लामबद्ध गरेको तस्बिर भाइरल बन्यो । धेरैले सामाजिक सञ्जालमा आक्रोश पोखे । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) ले देशभरका स्कुललाई अतिथिको स्वागतमा छात्रछात्रा लाइनमा राख्ने, माला, खादा लगाउने र फूलगुच्छा दिन लगाउने कार्यमा रोक लगायो ।


फेरि पनि कसैले कुनै शिक्षा लिएन ।

०७५ मंसिरमा फेरि अहिले खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको स्वागतमा पोखरामा त्यस्तै हर्कत देखियो । १२ औं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन), कास्कीले खेलकुद महोत्सव उद्घाटनमा छात्राहरूलाई खाली खुट्टा उभ्यायो । मन्त्री डेढ घण्टा ढिलो पुग्दा मार्चपासका लागि विद्यार्थी चौरमा उभिरहे ।

जाडोयाममा पातलो लुगा लगाएर नाङ्गै खुट्टा मन्त्रीको स्वागतमा बालबालिकालाई उभ्याउनु बालअधिकार हनन गर्नु हो । यसले बालबालिकालाई मानसिक असर गर्छ । शिक्षालाई शक्तिसित जोड्छ । जब शिक्षा वा ज्ञान आर्जनलाई शक्तिको तुजुकसित जोड्ने काम गरिन्छ तब त्यसले विनयशीलता हराउँछ ।


‘ठूलो’ पदधारीको शक्तिको हाउभाउ देखेर साना बालबालिकाले त्यस्तै गर्नुपर्ने रहेछ भनेर सिक्छन् । उनीहरू पनि आफूलाई सक्षम, क्षमाशील, विनयशीलभन्दा हैकमवादी बनाउन उद्यत हुन सक्छन् । बालबालिकामा शक्तिशाली बन्ने मानसिक सोच विकास गराउँछ ।

पहिलो दोषी एनप्याब्सन हो ।

यससँग आबद्ध शिक्षकहरूले स्कुलमा बालबालिकालाई आदर्श सिकाउँछन् । तिनैले बालबालिकालाई जाडोयाममा खाली खुट्टा मन्त्रीको स्वागतार्थ लामबद्ध गराउँछन् । अभिभावकलाई चुनौती थपिएको छ, आफ्ना बालबालिकालाई अविवेकीहरूका स्कुलमा पढ्न पठाउने कि नपठाउने ? यस्ता शिक्षकहरूको संस्थाले हाम्रो समाजलाई कता लैजाला ? के तिनले आदर्श, कर्तव्य, अधिकार, नैतिकता, क्षमा, विनयजस्ता गुण सम्पन्न कर्णधार सिर्जना गर्लान् ?

विद्यालय शान्तिक्षेत्र अभियान भन्न थालेको धेरै भयो । स्कुले विद्यार्थीलाई राजनीतिक उद्देश्यका लागि आमरूपमा परिचालन गर्न रोकिएको छैन । यसले हाम्रा विद्यालय राजनीतिक दल, सरकार, शिक्षक संघ/संगठन, व्यापारी सबैका लागि क्रीडास्थल बन्ने गरेका छन् ।

नेताले सिकाउने र शिक्षकले सिकाउने फरक हुन्छ । नेताले आफू र आफ्नो पार्टी राम्रो भनी सिकाउँछन् । शिक्षकले के राम्रो, के नराम्रो ? कसरी जिउने ? मुलुकमा कसरी टिक्ने ? त्यसबाट अलि अघि बढ्न अन्तकासित कसरी प्रतिस्पर्धा गर्ने ? बारे सिकाउँछन् ।

हामीकहाँ नेता र शिक्षक छुट्टिँदैनन् । विद्यालय पार्टीका जनपरिचालन केन्द्रजस्ता छन् । शिक्षक असली पार्टी कार्यकर्ता । तिनको एउटै जात हो । दुवैको रूप एकै, फरक नाममात्र भनेजस्तै छ । कोही कांग्रेस, कोही कम्युनिस्ट छन्, शिक्षकचाहिँ अपवाद भनेजस्तो छ । एनप्याब्सनले मन्त्रीको स्वस्ती गराउँदा विद्यार्थीले सास्ती पाए ।

दोस्रो दोषी मन्त्री आफैं हुन् । उनले विवेक पुर्‍याउन सकेनन् ।

सार्वजनिक पदाधिकारीहरू जनताका सेवक हुन्, मालिक होइनन् । सेवक भन्ने आत्मसात् गर्न नसक्दा मालिक बन्ने आत्मवरण गर्न पुग्छन् । यसबाट यस्तै हविगत हुन पुग्छ । अनुशासन, मर्यादा, विनयशीलता, शिक्षा, ज्ञानको हेक्का हुँदैन । जसले जे कार्यक्रम राखेर जहाँ निम्त्याए पनि दगुर्नु र बिहानदेखि बेलुकासम्म दस थरी भाषण गर्नु । औपचारिकतामा समय खेर फाल्नु ।

देश बदल्ने सोच भएका नेताहरूले पहिले आफूलाई बदल्ने अठोट गर्न सक्नुपर्छ । जसरी बालबालिकालाई शिक्षा दिन्छु भन्नेहरूले पहिले आफैं असल संस्कार देखाउनुपर्छ ।

प्रकाशित : मंसिर २०, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?