कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नभेटिएका दुर्लभ सम्पदा

विश्वकै लागि नयाँ भनिएका वनस्पतिका रैथाने प्रजातिबारे थप अनुसन्धान गरिएन । ती अहिले छन् कि विनाश भइसके, जानकारी पाइँदैन ।
कमल मादेन

काठमाडौँ — अरुण र वरुण उपत्यकामा दुर्लभ वनस्पति उल्लेख संख्यामा छन् । अरूण नदीकै नामबाट एक वनस्पति ‘इम्पाटियन्स अरूनेन्सिस’ नामकरण भएको छ । कृष्टोफर ग्रे–विल्सनले उक्त वनस्पति सेप्टेम्बर ९, १९८१ मा अरूण उपत्यकाको माथिल्लो कश्वा खोलाबाट संकलन गरेर सन् १९८९ मा विश्वका निम्ति नयाँ हो भन्ने खुलासा गरेका हुन् ।

नभेटिएका दुर्लभ सम्पदा

झार वर्गमा पर्ने इम्पाटियन्स अरूनेन्सिस करिब ७० सेन्टिमिटर उचाइसम्म हुने बताइएको छ । यो वनस्पति अरूण उपत्यका बाहेक अन्यत्र कतै पाइएको विवरण छैन । इम्पाटियन्स अरूनेन्सिसको नमुना रोयल बोटानिक गार्डेन्स क्यु लन्डनमा संग्रहित छ ।


‘स्वेर्टिया वरुणेन्सिस’ वरुण उपत्यकामा मात्र पाइने अर्को रैथाने वनस्पति हो । यो चिराइतोसँग मिल्दोजुल्दो हुन्छ । स्वीस वनस्पतिविज्ञ फिलिप चासोटले वरुण नदीको नामबाट यसको नामकरण गरेका हुन् । यसको नमुना संखुवासभाको नुमबाट टाशी गाउँ हुँदै वरुण उपत्यका जाने बाटोको शिप्टोन पासनेर ४२०० मिटर उचाइबाट संकलन गरिएको थियो । त्यसको नमुना स्वीजरल्यान्डस्थित एनईयु संग्रहालयमा छ । यही ठाउँबाट सन् १९८८ मा संकलन गरिएको ‘पोटेन्टिल्ला मकालुऐन्सिस’ पनि नेपालको रैथाने प्रजाति हो ।


अरूण उपत्यकाको टाशी गाउँबाट संकलित एक वनस्पति समरबहादुर मल्लको नाममा ‘इम्पाटियन्स मल्लई’ नामकरण भएको छ । मल्ल वनस्पति विभागको पूर्व महानिर्देशक हुन् । वरुण उपत्यकाबाट एक अर्को रैथाने ‘सोल्म्स–लौबाकिया नेपालेन्सिस’ सन् १९५४ मा संकलन गरिएको थियो ।


यसैगरी ‘क्यारेक्स हिमालइका’ नामक रैथाने प्रजाति अरूण उपत्यकाको कसुवा खोलामा सन् १९५६ मा पाइएको थियो । कसुवा खोलाबाटै सन् १९७५ मा संकलन गरिएको ‘जेन्टियना चटरी’ पनि नेपालको रैथाने वनस्पति हो । अरूण उपत्यकाको नुमभन्दा उत्तरको योङले भन्ने ठाउँबाट सन् १९७४ मा घाँस वर्गको ‘बोन्डा इमेरेइ’ संकलन भएको छ । यो प्रजाति पनि अन्यत्र पाइएको छैन । वरुण खोलाबाट सन् १९५६ संकलन भएको ‘स्यालिक्स स्टेन्टोनिया’ अर्को रैथाने प्रजाति हो ।


अपर्याप्त जानकारी

माथि उल्लिखित नेपालका रैथाने प्रजातिहरूबारे अत्यन्त थोरै जानकारी छ । ती प्रजाति विश्वकै लागि नयाँ हुन् भनेर प्रकाशन गरिंँदा लेखिएका विवरण बाहेक अरू थपिएको छैन ।


तिनीहरूलाई अर्कोपटक संकलन गरिएको पनि छैन । ती प्रजाति अहिले त्यहाँ छन् कि विनाश भैसके, जानकारी पाइन्न । तिनीहरूका तस्बिरसमेत नहुनाले कसैले फेलापारे चिन्न कठिन छ ।


उल्लिखित रैथाने वनस्पतिका नमुना वनस्पति विभाग अन्तर्गत रहेको ‘नेसनल हर्बारियम तथा वनस्पति प्रयोगशाला’ गोदावरी र त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागको संग्रहालयमा पनि छैनन् । नमुना हेर्न जापान र बेलायत पुग्नुपर्छ ।


नेपालको रैथाने वनस्पतिबारे जानकारी तीर्थबहादुर श्रेष्ठ र आरएम जोशीको एक पुस्तक सन् १९९६ मा प्रकाशन भएको थियो । त्यसपछि वरिष्ठ वनस्पतिविद केशवराज राजभण्डारीका पुस्तक तथा लेख प्रकाशित छन् ।


नेपालमा पाइने फूल फुल्ने रैथाने वनस्पति प्रजातिमध्ये करिब १० प्रतिशत मुस्ताङ जिल्लामा छन् । मनाङ, म्याग्दीमा पनि उल्लेख संख्यामा रैथाने वनस्पति पाइन्छन् । अरूण, बरुण उपत्यका तथा नजिकका तोप्केगोला, बन्दुके, जलजले हिमालमा पनि थुप्रै रैथाने पाइएका छन् ।


रिचार्ड केटलमेन लिखित ‘हाइड्रोलोजी एन्ड डिभलपमेन्ट अफ द अरूण रिभर, नेपाल’ (सन् १९९०) शीर्षकको लेख अनुसार तिब्बतमा ४०५० मिटर उचाइ भएर बग्ने अरूण नदी नेपालमा भने २१७५ मिटर भू–सतह उचाइबाट प्रवेश गर्छ । भौगोलिक रूपमा अरूण नदी साँघुरी घाँटीजस्तो स्वरूपबाट नेपाल प्रवेश भएको छ । अरूण, बरुण उपत्यकामा उत्पत्ति भएका वनस्पति चारैतिरको भौगोलिक बन्धनबाटै अन्यत्र फैलन नसकेको हुनसक्छ ।


अनुसन्धानमा उदासीनता

नेपालको फूल फुल्ने वनस्पतिको ६–७ प्रतिशत बाहेक अन्य सबै विदेशीले पत्ता लगाएका हुन् । यहाँका वनस्पति खोज अनुसन्धानमा बेलायत तथा जापानका वनस्पतिविज्ञहरूले बढी काम गरेका छन् ।


यद्यपि नेपाल सरकारको एक विभागले विशेषत: सन् १९६० पछि वनस्पति खोज अनुसन्धान सुरु गरेको पाइन्छ । डिपार्टमेन्ट अफ मेडिसिनल प्लान्टका समरबहादुर मल्ल र समनबहादुर राजभण्डारीले काठमाडौं उपत्यकाबाट पहिलोपटक सन् १९६२ मा ३ सय २८ वटा वनस्पतिका नमुना संकलन गरेका थिए । त्यस अघि दुई नेपाली लालध्वज सुनुवार र खडानन्द शर्माबाट सन् १९३० ताका वनस्पतिका नमुना संकलन गरिएको भए पनि ती नमुना बेलायतका लागि थिए ।


वनस्पति अध्ययन, अनुसन्धान अपुरो छ । वनस्पति खोज अनुसन्धान गर्ने वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागले हो । पञ्चायत कालमा यो विभाग सशक्त थियो ।


यस विभाग अन्तर्गत रहेको गोदावरीस्थित बोटानिकल गार्डेनमा राजपरिवारका सदस्यहरू गइरहन्थे । विदेशी राष्ट्राध्यक्ष तथा राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा त्यहाँ बिरुवा रोपाउने चलन थियो ।


पञ्चायती व्यवस्था अन्त्यपछि वनस्पति विभाग उपेक्षितजस्तो भयो । वन मन्त्रालयमा अन्य विभाग मजबुत भए । वनस्पति विभागमा सबैजसो वनस्पति शास्त्र अर्थात बोटानी विषय पढ्नेहरू काम गर्छन् । हाकिम भने वनविज्ञान पढेका हुने भएपछि यसको अवस्था अझ चौपट भयो । वनको हरेक विभागमा क्रमश: वनविज्ञान पढ्नेहरू वर्चस्व बढ्यो ।


वनविज्ञान पढ्नेले वनस्पति पहिचान गर्ने विद्या अर्थात ट्याक्सोनोमीको शास्त्रीय कुरा पढ्दैनन् । यसकारण वनस्पति खोज अनुसन्धान कार्यप्रति उनीहरू बेखबर हुनु स्वाभाविक हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा समेत वनविज्ञान पढ्नेहरूकै वर्चस्व छ ।


हास्यास्पद विवरण

वन मन्त्रालयका दस्तावेजहरूमा केही हास्यास्पद कुरा छन् । वन नियमावली, २०५१ मा नेपालमा लौठ सल्लोको ‘ट्याक्सस वाकटा’ प्रजाति पाइन्छ भन्ने लेखिएको थियो, जबकि यो युरोपियन प्रजाति हो । मैले नेपालमा ‘ट्याक्सस् वाकटा’ पाइन्न भनेर केहीपटक लेखेपछि उक्त ऐनको पाँचौं संशोधन २०७२ मा बल्ल सुधारियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा नेपालको संरक्षित स्तनधारी जन्तुको सूचीमा नेपालमै नपाइने चिरु भन्ने जनावरको नाम राखिएको छ ।


ब्राइन हड्सनले चिरुको नमुना सन् १८२५ मा काठमाडौंबाट कोलकाता पठाएका थिए । क्लार्क एबेलले नमुना अध्ययन गरेर । जनावर विश्वको निम्ति नयाँ मानेर ‘एन्टिलोप हड्सोनी’ नामकरण गरे । हड्सनले पछि त्यसको नाम सन् १८३४ मा ‘प्यान्थोलोप्स हड्सोनी’ राखे । चाल्र्स एलेनलिखित ‘द प्रिजनर अफ काठमाडौं : ब्राइन हड्सन इन नेपाल (१८२०–४३)’ शीर्षक पुस्तकमा तिब्बतका सातौं अवतारी ताशी लामाले गुम्बामा हुर्किएको चिरु नेपालका महाराजालाई उपहार पठाएको उल्लेख छ । क्लार्क एबेलले चिरु नेपालबाट प्राप्त गरेकाले नेपालमा पाइन्छ भन्ने लेखेको हुनुपर्छ ।


सोही ऐन अनुसार सानो जातको बँदेल अर्थात वामपुड्के बँदेल पनि नेपालको संरक्षित जन्तु हो । त्यो बँदेल नेपालबाट लोप भएको ४ दशकभन्दा बढी भयो । अहिले भारतमा मात्र पाइन्छ ।


अन्त्यमा, वन ऐन नेपालका जन्तु तथा वनस्पतिविदहरूबाट परामर्श लिएर बनाइनुपर्छ । सबैले आ–आफ्नो योग्यता र दायित्व अनुसार काम गर्ने हो भने गलत विवरण कानुनमा पर्दैन ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?