मिटु आन्दोलनको सन्देश

पीडितले आफूमाथि भएका घटना कुनै पनि बेला सार्वजनिक गर्न सक्छन् भन्ने कुराले महिलामाथि हुने यौन दुर्व्यवहार न्यूनीकरण हुने आशा गर्न सकिन्छ ।
नारायणी देवकोटा

काठमाडौँ — जीवनको कुनै कालखण्डमा भोगेको यौन दुर्व्यवहारका साथै आर्थिक, शारीरिक र मानसिक शोषणको विषयमा महिला बोल्न थालेका छन् । केही महिलाले अलि चर्को र केहीले खुसुर–खुसुर भए पनि कुरा गर्न थालेका छन् । कसैले नामै किटेर त कसैले नाम नतोकिकन, तर बुझिनेगरी भन्न थालेका छन् । 

मिटु आन्दोलनका विषयमा कुरा हुँदा धेरैले ‘मन मिलेसम्म प्रेम, मन नमिले बलात्कार’, ‘आफ्नो घरका पुरुष नमुछिँदासम्मको आन्दोलन’, ‘पुरुष विरोधी आन्दोलन’, ‘विदेशी आन्दोलनको नक्कल’, ‘सहरिया मध्यम वर्गका महिलाको मुद्दा’ जस्ता टिप्पणी गर्ने गरेका छन् । यो लेख मिटु र नेपालमा यौन हिंसाको बहस, प्रभावितको सामाजिक न्याय र आन्दोलनले भविष्यमा पार्ने प्रभावमा केन्द्रित छ ।

Yamaha

मिटु बहस
नेपालमा मिटुको बहस भर्खरै प्रवेश गरेको भए पनि यौन हिंसाको विषयमा बहस, पैरवी र काम भने भर्खरै सुरु भएको होइन । द्वन्द्वका घटनामा केन्द्रित भएर गरिएका अध्ययन, अनुसन्धान र काम गर्ने मानिसले १० वर्षे जनयुद्धका समयमा भएका बलात्कारका घटनालाई सम्बोधन गर्नुपर्ने विषयमा दबाब दिइरहेका थिए ।

बलात्कार र यौनजन्य हिंसा घटना दर्तालाई कुनै समय–सीमा राखिनुहुन्न भनेर नेपाली महिलाले आवाज उठाउन थालेको एक दशक भइसकेको छ । सिमान्तकृत समुदायका महिलामाथि कथित माथिल्लो जात र वर्गका पुरुषले गरेका यौन उत्पीडनका विषयमा लेख्न (आख्यान, गैरआख्यान), फिल्म निर्माण गर्न वा बहसका विषय बनाउन थालेको पनि धेरै भइसकेको छ ।
आन्दोलन किन बलियो ?
मिटु आन्दोलनले अहिले किन सशक्त रूप लिँदैछ वा महिलाले किन वर्षौं अगाडि भएका यौन दुव्र्यवहार र उत्पीडनका विषयमा बोल्दैछन् भन्ने कुराको खास सामाजिक ऐतिहासिकता छ । यति बेला धेरै हदसम्म नेपालको संविधान, कानुन महिलामैत्री छ, समाजमा महिला र महिलाको यौनिकतालाई हेर्ने नजरिया परिवर्तन हुँदै गएको छ ।

सार्वजनिक र सामाजिक सञ्चार माध्यमको पहुँच सबैमा पर्दै गएको छ । महिलाहरू आर्थिक रूपले सशक्त हुँदै गएका छन् । पुरुष (बा, दाइभाइ वा श्रीमान) प्रतिको परनिर्भरता हट्दै जाँदा महिलामा समाजले जेसुकै भने पनि ‘म यो मुद्दामा लड्न सक्छु’ भन्ने आत्मविश्वास बढ्दै गएको छ ।

महिलाहरू आफूमाथि भएको यौन उत्पीडनका घटना, ती घटनाले उब्जाएका समस्या, मानसिकतामा पर्नगएको आघात र पुरुषलाई हेर्ने महिलाको आफ्नै नजरियाको विषय कुरा गर्न थालेका छन् । महिलामाथि भएका दुव्र्यवहारका कुरा सुन्न र साथ दिएर आवाज उठाउन समाजको एउटा पंक्ति तयार भएको छ ।

जसले भनेपछि आउने समस्या, घटना सार्वजनिक भएपछि आउने लाञ्छनाको डरले कसैलाई भन्न नसकेर वर्षौंदेखि मनमा गडेका कुराको विषयमा बहस सुरु भएको छ । साथै पुरुषको व्यवहारलाई हेर्ने महिलाको नजरको व्याख्या सुरु भएको छ ।
मिटु र सामाजिक न्याय
मिटुको बहस र चार महिना अगाडि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि भएका प्रयासका बाबजुद पनि दोषी पक्राउ नपरेको, ललितपुरको गोदाम चौरको घटनामा न्यायालयले दोषीलाई उन्मुक्ति दिएको र बलात्कारपछि ज्यान गुमाएकी रमिला नेपालीका अभिभावक २१ महिनादेखि न्यायका लागि भौंतारिइरहेको घटना कहिले एकसाथ र कहिले फरक–फरक रूपमा बहसका विषय भएका छन् ।

बलात्कार भएको, बलात्कारपछि हत्या भएको घटनामा कारबाही नहुने समाजमा वर्षौं अगाडि भएका यौन हिंसाको विषयमा बोल्दैमा न्याय पाउन सकिन्छ कि सकिन्न भन्ने प्रश्नसमेत उठेको छ ।

जुनसुकै घटनामा पनि न्यायको परिभाषा जटिल विषय हो । हाम्रो समाजमा घटनाका दोषीलाई कारबाही नै न्याय हो भन्ने कानुनी परिभाषा छ । मिटु आन्दोलनले उठाउन खोजेको विषय त्यतिमात्रै होइन । पहिलो कुरा त आफूले भोगेको दुव्र्यवहार, उत्पीडनको विषयमा बोल्नु हो ।

भर्खरै त्रिवि समाजशास्त्रका दुई छात्राले आफूलाई प्राध्यापकले गरेको यौन दुव्र्यवहारका विषयमा लेखे । ती दुई छात्राले पीडकको नाम उल्लेख नगरी आफूले भोगेको हिंसालाई सार्वजनिक गरेपछि त्रिवि र प्राज्ञिक क्षेत्रमा बहस चर्किन थालेको छ । कसैले ‘बाहिर–बाहिर समानताका गफ दिने, लैंगिकताको विषयमा पढाइ हुने डिपार्टमेन्टभित्रै यस्तो रहेछ’ भनेर हियाउने, नाम नतोकी विषयलाई उठाउँदा सबैप्रति शंका उत्पन्न भएकोसम्म प्रतिक्रिया सार्वजनिक भएका छन् ।

ती दुई छात्राले आफूले सम्मान गरेको, आफूलाई प्राज्ञिक कार्यमा सहयोग गरिरहेको प्राध्यापकले समेत यौन दुव्र्यवहार गर्‍यो भनेर भन्न नपाउने ?

पीडकको नाम भन्नु या नभन्नु, उजुरी गर्नु या नगर्नु, आफूले भोगेका पीडालाई सार्वजनिक गर्नु वा नगर्नु त्यो प्रभावितमा निहित कुरा हो । जुन दुव्र्यवहार र उत्पीडनको घनत्वले निर्धारण गर्छ । कुन हदसम्म जाँदा प्रभावितको मनमा शान्ति मिल्छ र उसलाई समाजमा सहज हुन्छ, त्यसले सामाजिक न्यायलाई निर्धारण गर्छ ।

पुरुषको विरोध कि हिंसाको ?
सामाजिक सञ्जालमा मिटुको विषयमा बहस चल्दै गर्दा कसैले ‘घरको मान्छे नपर्दासम्मका लागि हो यो आन्दोलन’ भन्ने तरिकाले उडाउने गरेका छन् ।

त्यसको जवाफमा घरकै मानिसलाई पनि यसो भन्लान्, उसो भन्लान् भन्ने आरोप कुनै एक सन्दर्भको कुरा ल्याएर उछालिने गरिएको पनि छ । मुख्य कुरा के हो भने यो आन्दोलन साँच्चिकै राम्ररी उठ्यो भने आफ्नै घरका मानिसको विषयमा महिलाले बोल्नेछन् ।

बलात्कारका घटनाले घर भित्रको पुरुषको नजर पनि त्यति धेरै पवित्र भएको देखाउँदैन । आफ्नै दाइ, काका, मामा, बा र नजिकका नातेदारबाट बलात्कार र यौन उत्पीडनमा परेका घटनाका प्रशस्त सार्वजनिक भएका छन् ।

कुनै बलात्कारको घटना महिलाले उठाउने वा पुरुष विरुद्ध उठाउने विषय होइन । चाहे बलात्कार विरुद्धको आन्दोलन होस्, चाहे मिटु आन्दोलन वा कुनै आन्दोलनको नाम थाहा नभएर पनि आफ्नो मुद्दामा लडिरहेको कुरा होस्, यो हिंसा र उत्पीडनको विरोध हो ।

भविष्यको चिन्ता
यो आन्दोलनले समाजलाई कता लैजान्छ भन्ने प्रश्न उठ्न थालेको छ । यसरी प्रश्न उठाउने त्यही समुदायका मानिस बढी छन्, जसले बलात्कारीको लिंग छेदन वा फाँसीका कुरा पनि बेला–बेला गर्दै आएका छन् ।

तर यो आन्दोलनले प्रमाण सहितका दोषीलाई कारबाहीको तहमा गए पनि धेरै हदसम्म आफूले भोगेका पीडा आदान–प्रदान गर्ने र भित्र–भित्र ‘हि टु’ भनेर अर्को मानिसलाई सचेत गराउनेमा बढी केन्द्रित हुने देखिन्छ । दबाब बढ्दै जाँदा सुनुवाइ हुनेगरी कार्यक्षेत्रमा हुने दुव्र्यवहारका विषयमा राज्यले उचित पहल पनि थाल्न सक्छ ।

सबैभन्दा मुख्य कुरा कसैलाई दबाब, प्रभाव र कुनै पनि शक्तिको आडमा गरिने यौन हिंसाका घटना सधैं दबेर बस्दैनन् । पीडितले आफूमाथि भएका घटना कुनै पनि बेला सार्वजनिक गर्न सक्छन् भन्ने कुराले महिलामाथि हुने यौन दुव्र्यवहार न्यूनीकरण हुने आशा गर्न सकिन्छ ।

यौन दुव्र्यवहारमा पर्नुको दोष महिलाको होइन र यो लुकाएर, मनभित्र पकाएर बस्ने कुरा होइन भन्ने कुरा स्थापित हुँदै जाँदा महिलाको यौनिकतालाई सर्वेसर्वा बनाउने र त्यसैका आडमा दबाउने काम कम हुँदै जान्छ ।

अन्त्यमा, विगतमा भएका यौन हिंसाका विषयमा महिला बोल्न थाल्नुको खास ऐतिहासिकता छ । यो हिंसा विरोधी अभियान हो र यसले हिंसा गर्ने जोकोहीलाई प्रभावित सधैं चुपचाप रहँदैन भन्ने सन्देश दिन्छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नभेटिएका दुर्लभ सम्पदा

विश्वकै लागि नयाँ भनिएका वनस्पतिका रैथाने प्रजातिबारे थप अनुसन्धान गरिएन । ती अहिले छन् कि विनाश भइसके, जानकारी पाइँदैन ।
कमल मादेन

काठमाडौँ — अरुण र वरुण उपत्यकामा दुर्लभ वनस्पति उल्लेख संख्यामा छन् । अरूण नदीकै नामबाट एक वनस्पति ‘इम्पाटियन्स अरूनेन्सिस’ नामकरण भएको छ । कृष्टोफर ग्रे–विल्सनले उक्त वनस्पति सेप्टेम्बर ९, १९८१ मा अरूण उपत्यकाको माथिल्लो कश्वा खोलाबाट संकलन गरेर सन् १९८९ मा विश्वका निम्ति नयाँ हो भन्ने खुलासा गरेका हुन् ।

झार वर्गमा पर्ने इम्पाटियन्स अरूनेन्सिस करिब ७० सेन्टिमिटर उचाइसम्म हुने बताइएको छ । यो वनस्पति अरूण उपत्यका बाहेक अन्यत्रकतै पाइएको विवरण छैन । इम्पाटियन्स अरूनेन्सिसको नमुना रोयल बोटानिक गार्डेन्स क्यु लन्डनमा संग्रहित छ ।

‘स्वेर्टिया वरुणेन्सिस’ वरुण उपत्यकामा मात्र पाइने अर्को रैथाने वनस्पति हो । यो चिराइतोसँग मिल्दोजुल्दो हुन्छ । स्वीस वनस्पतिविज्ञ फिलिप चासोटले वरुण नदीको नामबाट यसको नामकरण गरेका हुन् । यसको नमुना संखुवासभाको नुमबाट टाशी गाउँ हुँदै वरुण उपत्यका जाने बाटोको शिप्टोन पासनेर ४२०० मिटर उचाइबाट संकलन गरिएको थियो । त्यसको नमुना स्वीजरल्यान्डस्थित एनईयु संग्रहालयमा छ । यही ठाउँबाट सन् १९८८ मा संकलन गरिएको ‘पोटेन्टिल्ला मकालुऐन्सिस’ पनि नेपालको रैथाने प्रजाति हो ।

अरूण उपत्यकाको टाशी गाउँबाट संकलित एक वनस्पति समरबहादुर मल्लको नाममा ‘इम्पाटियन्स मल्लई’ नामकरण भएको छ । मल्ल वनस्पति विभागको पूर्व महानिर्देशक हुन् । वरुण उपत्यकाबाट एक अर्को रैथाने ‘सोल्म्स–लौबाकिया नेपालेन्सिस’ सन् १९५४ मा संकलन गरिएको थियो ।

यसैगरी ‘क्यारेक्स हिमालइका’ नामक रैथाने प्रजाति अरूण उपत्यकाको कसुवा खोलामा सन् १९५६ मा पाइएको थियो । कसुवा खोलाबाटै सन् १९७५ मा संकलन गरिएको ‘जेन्टियना चटरी’ पनि नेपालको रैथाने वनस्पति हो । अरूण उपत्यकाको नुमभन्दा उत्तरको योङले भन्ने ठाउँबाट सन् १९७४ मा घाँस वर्गको ‘बोन्डा इमेरेइ’ संकलन भएको छ । यो प्रजाति पनि अन्यत्र पाइएको छैन । वरुण खोलाबाट सन् १९५६ संकलन भएको ‘स्यालिक्स स्टेन्टोनिया’ अर्को रैथाने प्रजाति हो ।

अपर्याप्त जानकारी
माथि उल्लिखित नेपालका रैथाने प्रजातिहरूबारे अत्यन्त थोरै जानकारी छ । ती प्रजाति विश्वकै लागि नयाँ हुन् भनेर प्रकाशन गरिंँदा लेखिएका विवरण बाहेक अरू थपिएको छैन ।

तिनीहरूलाई अर्कोपटक संकलन गरिएको पनि छैन । ती प्रजाति अहिले त्यहाँ छन् कि विनाश भैसके, जानकारी पाइन्न । तिनीहरूका तस्बिरसमेत नहुनाले कसैले फेलापारे चिन्न कठिन छ ।

उल्लिखित रैथाने वनस्पतिका नमुना वनस्पति विभाग अन्तर्गत रहेको ‘नेसनल हर्बारियम तथा वनस्पति प्रयोगशाला’ गोदावरी र त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागको संग्रहालयमा पनि छैनन् । नमुना हेर्न जापान र बेलायत पुग्नुपर्छ ।

नेपालको रैथाने वनस्पतिबारे जानकारी तीर्थबहादुर श्रेष्ठ र आरएम जोशीको एक पुस्तक सन् १९९६ मा प्रकाशन भएको थियो । त्यसपछि वरिष्ठ वनस्पतिविद केशवराज राजभण्डारीका पुस्तक तथा लेख प्रकाशित छन् ।

नेपालमा पाइने फूल फुल्ने रैथाने वनस्पति प्रजातिमध्ये करिब १० प्रतिशत मुस्ताङ जिल्लामा छन् । मनाङ, म्याग्दीमा पनि उल्लेख संख्यामा रैथाने वनस्पति पाइन्छन् । अरूण, बरुण उपत्यका तथा नजिकका तोप्केगोला, बन्दुके, जलजले हिमालमा पनि थुप्रै रैथाने पाइएका छन् ।

रिचार्ड केटलमेन लिखित ‘हाइड्रोलोजी एन्ड डिभलपमेन्ट अफ द अरूण रिभर, नेपाल’(सन् १९९०) शीर्षकको लेख अनुसार तिब्बतमा ४०५० मिटर उचाइ भएर बग्ने अरूण नदी नेपालमा भने २१७५ मिटर भू–सतह उचाइबाट प्रवेश गर्छ । भौगोलिक रूपमा अरूण नदी साँघुरी घाँटीजस्तो स्वरूपबाट नेपाल प्रवेश भएको छ । अरूण,बरुण उपत्यकामा उत्पत्ति भएका वनस्पति चारैतिरको भौगोलिक बन्धनबाटै अन्यत्र फैलन नसकेको हुनसक्छ ।

अनुसन्धानमा उदासीनता
नेपालको फूल फुल्ने वनस्पतिको ६–७ प्रतिशत बाहेक अन्य सबै विदेशीले पत्ता लगाएका हुन् । यहाँका वनस्पति खोज अनुसन्धानमा बेलायत तथा जापानका वनस्पतिविज्ञहरूले बढी काम गरेका छन् ।

यद्यपि नेपाल सरकारको एक विभागले विशेषत: सन् १९६० पछि वनस्पति खोज अनुसन्धान सुरु गरेको पाइन्छ । डिपार्टमेन्ट अफ मेडिसिनल प्लान्टका समरबहादुर मल्ल र समनबहादुर राजभण्डारीले काठमाडौं उपत्यकाबाट पहिलोपटक सन् १९६२ मा ३ सय २८ वटा वनस्पतिका नमुना संकलन गरेका थिए । त्यस अघि दुई नेपाली लालध्वज सुनुवार र खडानन्द शर्माबाट सन् १९३० ताका वनस्पतिका नमुना संकलन गरिएको भए पनि ती नमुना बेलायतका लागि थिए ।

वनस्पति अध्ययन, अनुसन्धान अपुरो छ । वनस्पति खोज अनुसन्धान गर्ने वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागले हो । पञ्चायत कालमा यो विभाग सशक्त थियो ।

यस विभाग अन्तर्गत रहेको गोदावरीस्थित बोटानिकल गार्डेनमा राजपरिवारका सदस्यहरू गइरहन्थे । विदेशी राष्ट्राध्यक्ष तथा राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा त्यहाँ बिरुवा रोपाउने चलन थियो ।

पञ्चायती व्यवस्था अन्त्यपछि वनस्पति विभाग उपेक्षितजस्तो भयो । वन मन्त्रालयमा अन्य विभाग मजबुत भए । वनस्पति विभागमा सबैजसो वनस्पति शास्त्र अर्थात बोटानी विषय पढ्नेहरू काम गर्छन् । हाकिम भने वनविज्ञान पढेका हुने भएपछि यसको अवस्था अझ चौपट भयो । वनको हरेक विभागमा क्रमश: वनविज्ञान पढ्नेहरू वर्चस्व बढ्यो ।

वनविज्ञान पढ्नेले वनस्पति पहिचान गर्ने विद्या अर्थातट्याक्सोनोमीको शास्त्रीय कुरा पढ्दैनन् । यसकारण वनस्पति खोज अनुसन्धान कार्यप्रति उनीहरू बेखबर हुनु स्वाभाविक हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा समेत वनविज्ञान पढ्नेहरूकै वर्चस्व छ ।

हास्यास्पद विवरण
वन मन्त्रालयका दस्तावेजहरूमा केही हास्यास्पद कुरा छन् । वन नियमावली, २०५१ मा नेपालमा लौठ सल्लोको ‘ट्याक्सस वाकटा’ प्रजाति पाइन्छ भन्ने लेखिएको थियो, जबकि यो युरोपियन प्रजाति हो । मैले नेपालमा ‘ट्याक्सस् वाकटा’ पाइन्न भनेर केहीपटक लेखेपछि उक्त ऐनको पाँचौं संशोधन २०७२ मा बल्ल सुधारियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा नेपालको संरक्षित स्तनधारी जन्तुको सूचीमा नेपालमै नपाइने चिरु भन्ने जनावरको नाम राखिएको छ ।

ब्राइन हड्सनले चिरुको नमुना सन् १८२५ मा काठमाडौंबाट कोलकाता पठाएका थिए । क्लार्क एबेलले नमुना अध्ययन गरेर । जनावर विश्वको निम्ति नयाँ मानेर ‘एन्टिलोप हड्सोनी’ नामकरण गरे । हड्सनले पछि त्यसको नाम सन् १८३४ मा ‘प्यान्थोलोप्स हड्सोनी’ राखे । चाल्र्स एलेनलिखित ‘द प्रिजनर अफ काठमाडौं : ब्राइन हड्सनइन नेपाल (१८२०–४३)’ शीर्षक पुस्तकमा तिब्बतका सातौं अवतारी ताशी लामाले गुम्बामा हुर्किएको चिरु नेपालका महाराजालाई उपहार पठाएको उल्लेख छ । क्लार्क एबेलले चिरु नेपालबाट प्राप्त गरेकाले नेपालमा पाइन्छ भन्ने लेखेको हुनुपर्छ ।

सोही ऐन अनुसार सानो जातको बँदेल अर्थात वामपुड्के बँदेल पनि नेपालको संरक्षित जन्तु हो । त्यो बँदेल नेपालबाट लोप भएको ४ दशकभन्दा बढी भयो । अहिले भारतमा मात्र पाइन्छ ।

अन्त्यमा, वन ऐन नेपालका जन्तुतथा वनस्पतिविदहरूबाट परामर्श लिएर बनाइनुपर्छ । सबैले आ–आफ्नो योग्यता र दायित्व अनुसार काम गर्ने हो भने गलत विवरण कानुनमा पर्दैन ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT