१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अर्ध–आशावाद र नील वर्ण शृङ्गाल

समाजवादकाे खाेल अाेढेकाे दलाल पुँजीवादी नील वर्ण शृङ्गाललाई नार्सिसस्‌काे जस्ताे अकाल मृत्युबाट कसरी जाेगाउन सकिन्छ ?
नारायण ढकाल

काठमाडौँ — नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भूसालको ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’ (कान्तिपुर, ४ मंसिर २०७५) लेखले वाम राजनीतिक वृत्तमा ठूलै तरङ्ग ल्यायो । एक वर्षयता एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन, चुनावमा पाएको अपार दिग्विजय, सत्तारोहण तथा अद्भुत एकीकरणजस्ता घटनाले नेपाली राजनीतिलाई चमत्कृत बनाएका थिए ।

अर्ध–आशावाद र नील वर्ण शृङ्गाल

ती घटनाले नेपाली राजनीतिमा क्यान्सरजस्तै भइसकेका अस्थिरता, असमानता, विभेद, संरचनागत अविकास, भष्टाचार र कुशासनलाई समाप्त गर्ने आशा सञ्चार गरेका थिए तर सत्तारोहणको केही समयपछि सरकारका दैनिक क्रियाकलापमा बढ्दै गएका अनुत्तरदायी व्यवहार, मूल्यहीनता र दिशाहीनताले चुनावमा आर्जन गरेको जनमतप्रति विश्वासघातको सङ्केत दिन थाल्यो ।


आजसम्म आइपुग्दा दुईतिहाइ शक्तिले बनेको सरकार र त्यसको मार्गनिर्देशक नेकपाप्रति जनभरोसा भङ्ग भएको छ । यिनै परिस्थितिको परावर्तनमा भूसालले सोधेको ‘नेकपा युनानी मिथकको पात्र नार्सिसस्झैं मर्छ या फिनिक्स चराझैं अग्निकुण्डमा जलेर पनि फेरि जन्मिन्छ’ भन्ने प्रश्न राजनीतिक रूपमा निकै उत्तेजक र साहित्यिक दृष्टिमा पनि उत्तिकै रूपकीय बनेको हो ।


नेता भूसालको यो प्रश्नले सत्ताको शोभायात्रामा निमग्न अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, उत्तिकै उचाइ एवं कर्मकर्तुतका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँहरूका निजी भक्तलाई कति छोयो, म भन्न सक्दिनँ तर गुटगत बहिष्करण र साँढेमिचाइमा परेका बाँकी नेकपाका नेता तथा कार्यकर्तालाई भने अल्प समयका लागि भए पनि मानसिक राहत मिलेको देखियो ।


यो तथ्य सामाजिक सञ्जालमा बग्रेल्ती छरिएका कार्यकर्ताका प्रतिक्रियाले दर्साएका छन् । भूसालको यो लेखबारे मेरो प्रतिक्रिया र विश्लेषण केही भिन्न छ । विशेष गरी नेकपाको भविष्यबारे उहाँ यहाँ अर्ध–आशावादी देखिनुभएको छ । अर्थात आधा निराशा र आधा आशा । उहाँले भन्नुभएको छ– नेकपाले बाटो बिराउँदै छ, सच्चियो भने फिनिक्स बन्छ, नसच्चिए नार्सिसस् ।


मैले उहाँको यही कथनलाई अर्ध–आशावाद भनेको हुँ ।


मैले घनश्याम भूसालको वैचारिक ऊर्जालाई २०४६–४७ सालतिर ठम्याएको हुँ । त्यसबेला उहाँ विद्यार्थी आन्दोलनका नाम चलेका नेता हुनुहुन्थ्यो । म दृष्टि साप्ताहिकको सम्पादक थिएँ । एक दिन उहाँ एउटा लेख लिएर आउनुभयो । लेखको शीर्षक थियो– अदालतमा उभिएको समाजवाद ।


शीर्षकझैं लेखको विषयवस्तु पनि समाजवाद र सर्वहारा वर्गका नाममा इतिहासका वस्तुनिष्ठ नियममाथि भइरहेका खेलबाड र माक्र्सवादका नाममा जडसूत्रीय मतान्धहरू प्रवद्र्धन गरिरहेका कम्युनिस्ट पार्टीको विरोधमा थियो । राजनीतिक दर्शनशास्त्रको खोलमा लिसोझैं टाँसिएर आएका जडसूत्रलाई नाङ्गो बनाउने खालको थियो ।


मैले त्यो लेखको मूल्यवत्ता देखेर दृष्टिमा स्थान दिएँ । लेख छापिएपछि उहाँ छक्क पर्नुभएछ । किनकि त्यस बखत दृष्टि साप्ताहिक तत्कालीन नेकपा (माले) को पोलिटब्युरोको अधीनमा थियो र त्यो पोलिटब्युरोको बहुमतमा अजीर्ण जडसूत्रवादीको प्रभुत्व थियो ।


त्यसको छ वर्षपछि २०५३ सालमा चिट्ठा परेर म संसद्मा पुगेका बेला उहाँ पनि रूपन्देहीबाट निर्वाचित भएर संसद्मा आउनुभयो । त्यसपछि हाम्रो राजनीतिक वैचारिक सहयात्रा सुरु भयो । हामी नेकपा एमालेको वैचारिक विचलनको विरोधमा, वामदेव गौतमको नेतृत्वमा भएको मालेको पुनर्गठन र पतनमा, हरि रोकाको अध्यक्षतामा गठित तेस्रो धारको उत्थान र पतनमा र घुमिफिरी फेरि एमालेको प्रवाहमा मिसिन पुगेका चरित्रनायक बन्यौं ।


सैद्धान्तिक तथा व्यावहारिक सुझबुझमा भूसाल मभन्दा अब्बल हुनुहुन्छ तर भूसालमा एउटा निकै ठूलो कमजोरी छ– कुनै जमिन नभएको आशावाद रहिरहनु । करिब सात वर्षअघिको कुरा हो, म एमालेबाट टाढा भागिसकेको मानिसलाई उहाँले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित मदन भण्डारीको जन्मजयन्ती कार्यक्रममा वक्ता बनाउनुभयो ।


उहाँले त्यो कार्यक्रममा जनताको बहुदलीय जनवादलाई (जबज) अझ परिस्कृत गर्दै एमालेलाई देशको संकटका हरेक प्रश्नमा जवाफदेही बनाउनुपर्ने बताउनुभएको थियो । म एमालेभित्रका समस्याको मूल कारण भनेकै बहुदलीय जनवाद हो भन्ने निष्कर्षमा पुगिसकेको थिएँ । जबज यस्तो पुल बनिसकेको थियो, त्यसले समाजवादी स्वर्गतिरको बैतरणी तर्न होइन, दलाल पुँजीवादी नरकतिरको राजमार्गमा पस्न अनुकूलता सिर्जना गरेको थियो ।


खास अन्तरवस्तुमा त्यो बेलाइतले लामो समयदेखि अभ्यास गरिरहेको वेस्टमिन्स्ट्रर मोडेलभन्दा फरक थिएन । मैले मञ्चबाटै उहाँलाई भनेको थिएँ, ‘तपाईंको यो आशावादमा माक्र्सवादसम्मत जमिन छैन ।’

उहाँको आशावादले मलाई बेलाबेला तान्ने गरेको छ ।


उहाँले एमालेको आठौं महाधिवेशनमा पार्टी निर्माण र देशको अवस्थाको विषयमा महत्त्वपूर्ण प्रस्ताव ल्याउनुभयो । त्यो विचारलाई उहाँले नवाैं महाधिवेशनमा अझ परिमार्जित गरेर नेपाली समाजको चरित्रबारे विगत ६५ वर्षदेखि भ्रममा रहेको विषयलाई नयाँ मोड दिनुभयो । उहाँको यो कामले राजनीतिप्रति मरिसकेको मेरो मन फेरि बौरियो र म नवौं महाधिवेशनमा सहभागी हुन चुनावमा होमिएँ र प्रतिनिधिमा विजयी भएँ ।


नवौं महाधिवेशनमा भूसालले अघि सारेको राजनीतिक प्रस्ताव परिमार्जनसहित सर्वसम्मत पारित भयो । केन्द्रीय कमिटीको बहुमतसहित अध्यक्षमा कमरेड खड्गप्रसाद ओली विजयी हुनुभयो । महाअधिवेशनपछि त्यो विचारलाई कसैले स्वामित्व लिएन । कामरेड ओलीलाई आफ्नो अध्यक्ष पद र निजी कोटरीको विजयबाहेक विचारको केही अर्थ थिएन ।


बेलाबेला उहाँ हाकाहाकी भन्नुहुन्छ, ‘म आइडियोलजिकल कम्युनिस्ट होइन, पोलिटिकल कम्युनिस्ट मात्र हुँ ।’ उहाँको व्यवहारले उहाँ समाजवादी नभएर खाँट्टी पुँजीवादी प्रजातन्त्रवादी (दलाल पुँजीवादलाई भरथेग गर्ने) भएको देखाउँछ ।


अब यस्तो विचार बोकेका व्यक्ति अध्यक्ष बनेपछि र उहाँको भक्तिका निम्ति बनेको गुट नै पार्टीको मूल प्रवाह बनेपछि महाधिवेशनले पारित गरेका विचारहरू अनाथ हुनु स्वाभाविक हो । आफ्नै महाधिवेशनले पारित गरेका विचार बेवारिस हुने पार्टीको ढाँचामा उभिएका भूसालको आशावादलाई यसैकारण मैले जमिन नभएको भन्ने गरेको छु ।


नवाैं महाधिवेशन लगत्तै घनश्यामजीको विचारको झन्डामा नेतृत्व गरेर महाधिवेशनमा अध्यक्ष पदमा उठ्नुभएका वरिष्ठ नेता माधवकुमार नेपालले बानेश्वरको अर्याल होटलमा ‘माधव नेपाल विचार समूह’ का काठमाडौं कार्यक्षेत्र भएका कार्यकर्ताको भेला गर्नुभएको थियो । भेलामा म पनि गएको थिएँ । त्यहाँ महाधिवेशनमा पराजयको समीक्षासँगै आफ्नो विचार समूहलाई कसरी बलियो बनाउन सकिन्छ भनेर कार्यकर्तासँग सुझाव मागिएको थियो ।


मैले केही प्रश्न राखेको थिएँ, ‘माधव नेपाल विचार समूह भनेको के हो ? यो विचार समूहले राष्ट्रिय राजनीतिलाई कसरी हेर्छ ? संविधान निर्माणको विषयलाई कसरी हेर्छ ? पार्टी निर्माणको प्रश्नलाई कसरी लिन्छ ? अध्यक्ष ओलीभन्दा यो समूह केके कुरामा भिन्न छ ?


यी प्रश्नको उचित उत्तर लिएर जनता र कार्यकर्तामाझ जान सकियो भने मात्र यसले साँचो अर्थमा विचार समूहको आकार लेला, नत्र अध्यक्ष ओलीको व्यवहारको प्रतिक्रियामा अर्को प्राविधिक समूह बनाएर बिग्रिरहेको पार्टीलाई ठीक ठाउँमा ल्याउन सकिँदैन । संविधान निर्माणकै सन्दर्भमा कुरा गर्ने हो भने म बाहुनको छोरो हुँ, अब बन्ने संविधानमा म बसेको क्षेत्रलाई नेपाल मण्डल वा नेवा–तामसालिङ प्रदेश राखे पनि खुसीसाथ मान्न तयार छु ।’


नेता नेपालले मेरा धैरै प्रश्नको जवाफ दिनुभएन, एउटा प्रश्नको भने कडा उत्तर दिँदै भन्नुभयो, ‘जातीय राज्य म ज्यान गए मान्न तयार छैन । जातिवादीहरूले मेरो घरमा तीन तीनचोटि ढुंगा हानिसके ।’


उहाँको रुखो उत्तरले म हच्किएँ । मेरा कुरामा अरुचि भएको ठानेर मैले बहस गरिनँ । खासमा म जातिवादी राज्यको पक्षमा थिइनँ । राज्य पुन:संरचना हाम्रो राष्ट्रिय विशेषताका आधारमा हुनुपर्छ भन्ने मान्यतामा थिएँ । त्यसपछि म उहाँको समूहका त्यस्ता भेलामा गएको छैन ।


बरु मैले सामान्य मानिसले झैं उहाँकै निर्वाचन क्षेत्रको बासिन्दाको हैसियतमा गएको निर्वाचनमा उहाँका पक्षमा काम गरेँ । यो त्यही आशावाद चुलिएको समय थियो जुनबेला किनारीकृत भएका धेरै वामपन्थी कार्यकर्ता वामशक्तिले राम्रो बाटो लिन्छ कि भन्ने आशाको त्यान्द्रोले तानिएर निर्वाचन अभियानमा वाम उम्मेदवारलाई जिताउन सक्रिय भएका थिए ।


नेकपा बन्नुभन्दा अगाडिको एमालेको आम हालत यस्तै थियो । नेता माधवकुमार मात्र होइन, त्यहाँका अरू नेता पनि विचारमा भन्दा प्राविधिक रूपमा पार्टीलाई चलाउने विषयमा मात्र पोख्त थिए । उनीहरू कुनै पनि मूल्यमा अध्यक्ष ओलीभन्दा अलग थिएनन् । झलनाथ खनाल, वामदेव गौतम वा ईश्वर पोखरेल आदिले पार्टीलाई सिद्धान्त, विचारधारा र कार्यक्रमका आधारमा चलाउन खोजेका भए अहिले उहाँहरूले पार्टीभित्र मडारिइरहेको दलाल पुँजीवादी आतंकको कहर झेल्नुपर्ने थिएन ।


नेकपा बन्नुअघिको माओवादी केन्द्रको धेरै कुरा गर्नै पर्दैन । अध्यक्ष प्रचण्ड र उहाँको मण्डलीलाई ‘जनयुद्ध’को घनचक्कर चलाएर सत्ताको भर्‍याङ चढ्नु थियो, त्यसमा उहाँहरू पूर्ण सफल हुनुभयो । विचार र राजनीति कामरेड प्रचण्डका निम्ति हात्तीको देखाउने दाँत मात्र थिए ।


धेरै राजनीतिक विश्लेषक प्रचण्डको शान्ति प्रक्रियातर्फको प्रत्यागमन नेपाली इतिहासको महान् घटना हो र यसको सफलता उनको नायकत्वबिना सम्भव थिएन भनेर बखान गर्छन् । खासमा ‘जनयुद्ध’ आफ्नो प्रस्थानबिन्दुदेखि नै गलत प्रहसन थियो । यसमा जडसूत्रवादी वाम बुद्धिजीवीहरू सहमत हुँदैनन् ।


उनीहरूको पाठ्यसामग्रीमा कि क्रान्तिकारी युद्धवाद छ कि शान्तिवादी संशोधनवाद । क्रान्तिमा त्योभन्दा अर्को बाटो पनि हुन सक्छ भन्नेमा उनीहरूको शास्त्र सहमत हुँदैन । युद्धको विरोधमा उभिनेलाई उनीहरू प्रतिक्रियावादी भनेर सजिलैसित दुत्कार्छन् र तर्क, अन्वेषण तथा इतिहासको पुन:मूल्याङ्कन गर्ने जोखिमबाट भाग्छन् ।


जे जस्तो भए पनि यस्ता बुद्धिजीवीहरूले जनयुद्धको ढकोसलामा जति नै रक्षाकवच बने पनि अध्यक्ष प्रचण्डले गएको तेइस वर्षमा विचारका नाममा जति काँचुली फेर्नुभयो, सायद त्यति एक हजार सर्पको जीवन जोड्दा बन्ने काँचुली फेराइभन्दा पनि बढ्ता हुन्छ । पहिलेको एमालेमा जस्तै माओवादी केन्द्र पनि गुटनिरपेक्ष संस्था थिएन तर अध्यक्ष ओलीका अगाडि एमालेका अरू गुट जसरी वैचारिक शस्त्रहीन फौज थिए, त्यसरी नै प्रचण्डका अगाडि माओवादी केन्द्रका अरू गुट थिए ।


यसरी सिद्धान्त, विचार र कार्यक्रमलाई तिलाञ्जली दिएर नेता र कार्यकर्ताको व्यवस्थापनमा मात्र सीमित भएको विषयलाई एकीकरण भनेर बनेको नेकपा पञ्चतन्त्रको कथामा वर्णित नील वर्ण शृङ्गालजस्तो हुनु बिल्कुलै स्वाभाविक छ ।


एउटा स्याल खानेकुरा खोज्दै जंगलबाट सहर पस्यो । स्याललाई देखेर कुकुरहरू भुक्दै लखेट्न थाले । ज्यान जोगाउन ऊ एउटा घरभित्र पस्यो । त्यो घर कपडा रंगाउने छिपाको थियो । लुक्ने ठाउँ खोज्दा उसले एउटा घ्याम्पो देख्यो र ऊ त्यसमा छिर्‍यो । त्यो घ्याम्पो नीर रंगले भरिएको उसले देखेन । ऊ नीरमा चोबलियो । ऊ हतासिएर बाहिर निस्क्यो । बाहिर निस्कँदा शरीर पुरै नीलो भएको थियो ।


उसको बदलिएको रूप देखेर कुकुरहरू अलमलमा परे । त्यो मौका छोपेर ऊ जंगलतिर भाग्यो । उसलाई देखेर जंगलका अरू जनावर छक्क परे । उनीहरूले यस्तो जीवलाई यसअघि देखेका थिएनन् । स्यालले सोझा जनावरहरूको मनोदशा बुझेर आफूलाई ईश्वरले यो जंगलमा राज्य गर्न पठाएको भन्यो ।


जनावरहरूले पत्याए र उसलाई राजा माने । उसले मन्त्रीमा सिंह, नोकरमा हात्ती र सेनापतिमा बाघलाई नियुक्त गर्‍यो । दिन बित्दै गए । एक दिन उसको दरबारको नजिकबाट एक हुल स्यालको बथान कराउँदै जंगलतिर गयो । अरू स्याल कराउँदा उसले आफू राजा भएको बिस्र्यो र ऊ पनि करायो । यसपछि जनावरहरूले उसको सक्कली रूप चिने ।


अब तपाईं नै भन्नोस् घनश्यामजी, समाजवादको खोल ओढेको दलाल पुँजीवादी नील वर्ण शृङ्गाललाई नार्सिसस्को जस्तो अकाल मृत्युबाट कसरी जोगाउन सकिन्छ ? अनि तपाईंको अर्ध–आशावादमा मार्क्सवादको साइनो कसरी जोडिन्छ ?

प्रकाशित : मंसिर २३, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?