हातमा कीटाणुको खात

सबैभन्दा चलायमान अंग हातले कीटाणुलाई आश्रय मात्र दिँदैन, अरू भाग र अरूका शरीरतिर विस्तार पनि गरिदिन्छ ।
रामचन्द्र अधिकारी

काठमाडौँ — हात धुनका गाह्राले वा धुने वातावरण नभईकन खानुपर्ने स्थिति आए भनिन्छ— आफ्ना हात जगन्नाथ । आशय हो, हात आफ्नै हुन्, सफा र पवित्र छन् । वैज्ञानिक हिसाबले भने यो स्वीकार्य छैन । बरु वैज्ञानिक उखान बनाउन सकिन्छ— आफ्ना हात : कीटाणुका खात । 

हाम्रो शरीरका तीनवटा सबैभन्दा फाहोरी अंगमध्येको एक हो, हात । हातमा करोडौं हानिकारक ब्याक्टेरियालगायतका कीटाणु हुन्छन् । सोचौँ, हात आफ्नै जिउको कताकता घुम्छ ? यसले केके समाउँछ, छुन्छ ? सबै ठाउँबाट रोगका कारक कीटाणु हातमा सरी आउँछन् ।


ढोकाको हेन्डल, पैसा, मोबाइल सेट, गाडीका हेन्डल, कम्प्युटरको किबोर्ड अनि आफ्नै शरीरका अंगहरू मात्र छोइएको हो भने मात्रै पनि १० करोडवटा ब्याक्टेरिया हातको प्रतिवर्ग इन्च क्षेत्रफलमा रहन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सर्वसाधारण मानिसको हातका टुप्पामा ब्याक्टेरियाका करिब ४६ लाखवटा टुकडी प्रतिवर्गसेन्टिमिटरमा पाइने गरेको छ ।


चर्पीमा दिसा गरेर मलद्वार सफा गरी फर्केको मानिसका हातमा २० करोड ब्याक्टेरिया प्रतिइन्च टाँसिएर आउँछन् । मानिसको हातमा बस्ने वा हातबाट सर्ने कीटाणुहरूले डिसेन्ट्री, हैजा, टाइफाइड, हेपाटाइटिस ए, सार्स, इन्फ्लुएन्जा, कन्जक्टिभाइटिसलगायत अनेक रोग लगाउँछन् । साइटोमेगालो भनिने हानिकारक भाइरस र क्यान्सर लगाउने इपिस्टेन बार भाइरसको बासस्थान पनि हातै हो ।


ओसिला हात कीटाणुका लागि अनुकूल हुन्छन् । ओसिलामा सुक्खाको भन्दा एक हजार गुणा बढी ब्याक्टेरिया हुने गरेको अध्ययनहरूले देखाएका छन् । हातमा टाँसिएका ब्याक्टेरिया तीनदेखि ४८ घण्टासम्म बाँच्छन् । त्यसबीचमा प्रजनन गरिसकेका हुन्छन् । एउटा टुकडीमा सातै घण्टामा सन्तान बढेर २० लाख ९७ हजार पुग्छन् ।


स्वास्थ्यका क्षेत्रमा काम गर्ने विविध संस्थाहरूको अनुसन्धानले भनेको छ— हातमा सात जातिका १५० प्रजाति ब्याक्टेरिया, छ जातिका फन्जाई, दुई जातिका यिस्ट प्रायश: स्थायी बासिन्दाका रूपमा रहन्छन् । कुनै कामका लागि मुख, नाक, आँखा वा जनेन्द्रियमा हात पुर्‍याएको खण्डमा ती उतै पनि विस्तार हुन्छन् र उताका पनि हातमा टाँसिएर आउँछन् ।


अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले एक प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ— ८० प्रतिशत संक्रमण फोहोरी हातका कारण हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक साल ३५ लाख बालबालिका झाडापखालालगायत श्वासप्रश्वाससम्बन्धी संक्रमणबाट मर्ने गरेका छन् । यस्ता संक्रमण हातकै माध्यमबाट हुने उसले भनेको छ । अविकसित देशका २० प्रतिशत बालबालिका हातबाट हुने संक्रमणबाट पीडित हुने गरेको तथ्यांक छ ।


हातमा बस्ने अनि पैसा (नोट), मोबाइल फोन, क्रेडिट कार्डलगायतका हातहातै चल्ने सामग्रीमार्फत फैलिएर कीटाणुले अरूलाई पनि असर गर्ने समस्या प्रशस्त छ । बेलायतको मेट्रो नामक संस्थाको अध्ययन प्रतिवेदन भन्छ, १० प्रतिशत क्रेडिट कार्ड र १६ प्रतिशत मोबाइल फोनमा दिसाको अंश र दिसामै पाइने सूक्ष्म हानिकारक जीव पाइए । सन् २००२ मा छापिएको साउथन मेडिकल विज्ञान पत्रिकाका अनुसार चलिरहेका ९४ प्रतिशत पैसामा दिसाको अंश पाइन्छ ।


यी दृष्टान्तबाट भन्न सकिन्छ, हाम्रा हातजत्तिकै मोबाइल, पैसा, क्रेडिट कार्डलगायतका हाते सामग्री पनि फोहोर छन् । धेरैका हात परिरहने अफिसमा कम्प्युुटरको किबोर्ड, दराज र ढोकाका हेन्डल कीटाणुका खानी हुन् । बीबीसीले सन् २००४ को एउटा लेखमा लेखेको छ— निकै व्यवस्थित र सफा मानिएको अफिसका सामग्रीमा प्रतिवर्ग इन्चमा २० हजार ९६१ वटा कीटाणु हुन्छन् । हातबाटै सबै खालका हेपाटाइटिसका भाइरस, धेरै किसिमका जुका र जुम्राका लिखासमेत सर्न सक्छन् ।


ग्लोबल हाइजिन काउन्सिल भन्ने संस्थाले गरेको एक सर्वेक्षणका अनुसार ५३ प्रतिशत मानिस दिसा गरेपछि हात धुन्छन् तर पिसाबपछि हात धुनेको संख्या साह्रै न्यून छ । सादा पानीले मात्र हात धुँदा खास प्रभाव पर्दैन, साबुन वा अन्य अन्य एन्टिब्याक्टेरियल रसायनमिश्रित वस्तु (एन्टिसेप्टिक) ले धुनुपर्छ । फेरि कति बेरसम्म मिच्ने र कसरी पूरा हात सफा हुने गरी धुने भन्ने कुराको पनि हेक्का राख्नुपर्छ ।


साधारणतया आँखाले देखिने गरिको फोहोर नटाँसिएको हात २० सेकेन्डसम्म मिचेर मात्र पखाल्नुपर्ने सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् । फोहोरी हात र हातमा कीटाणु अनि तिनीहरूबाट हुने संक्रमणबाट सर्वसाधारण मात्र होइन, भीआईपीहरूसमेत पीडित छन् । हात मिलाएर अभिवादन गर्नेहरूले हातका फोहोर र रोगजन्य कीटाणु साटासाट गरिरहेका हुन्छन् ।


मानिसको शरीरका मुख्य फोहोरी अंगहरू मुख, हात, मलद्वार, नाक, छाला आदि हुन् । सबैभन्दा चलायमान अंग हात भएकाले यसले कीटाणुलाई आश्रय मात्र दिदैन अरू भागमा र अरूका शरीरतिर विस्तार पनि गरिदिन्छ । हात मात्र सफा राख्ने हो भने यस्ता संक्रमणमा २० प्रतिशतले गिरावट ल्याउन सकिन्छ । सफा मोबाइल र सफा पैसा कसरी बनाउने भन्ने ठूलो चुनौतीको विषय हो ।


तथापि सावधानी भने अपनाउन सकिन्छ । जस्तै– बच्चालाई मोबाइल र पैसा खेलाउन वा टोक्न नदिने, पैसा गन्ने व्यवसायी र कर्मचारी बाहेककाहरूले पैसा चलाएपछि हात धुने, हात मिलाएर अभिवादन व्यक्त गर्नुको विकल्प रोज्ने, अफिसमा हात पुछ्न एन्टिमाइक्रोब्स कागजको प्रयोग गर्ने उपाय अपनाउन सकिन्छ ।

लेखक त्रिवि स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?