कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

न्याय हराएको देश

सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिने छैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर ।
साधना प्रतीक्षा

काठमाडौँ — विद्यालयको अतिरिक्त क्रियाकलापमा मेरी छोरीले एउटा चित्र बनाएर ल्याई । मलाई लाग्यो, सधैंझैं यसपालि पनि फूल, प्राकृतिक दृश्य, हिमाल यस्तै केही होला । जब उसको चित्रमा नजर लगाएँ, झस्कें । चित्र त्यही अबोध बाला निर्मला पन्तको थियो जसमाथि भएको अत्याचारविरुद्ध चार महिनादेखि आम नागरिकले आवाज उठाइरहेका छन् ।

न्याय हराएको देश

उनै तेह्रवर्षे निर्मलालाई मेरी तेह्रवर्षे छोरीले सिसाकलमद्वारा सेतो कागजमा उतारेर देखाउँदा म अर्थात् एउटी आमालाई मन थाम्नै गाह्रो भयो । निर्मला र निर्मलाजस्ता असंख्य छोरीहरू यौनहिंसाको सिकार भएर मारिइँदा ती आमाहरूको कलेजो कति छिया–छिया भयो होला ? यही प्रश्नसँगै म पुन: दुख्न थालें ।


मजस्तै असंख्य आमा यसरी नै दुखिरहेका होलान्, निर्मला र निर्मलाहरूले न्याय नपाएको राज्यभित्र ।

यौनहिंसापीडित बालिकालाई न्याय र दोषीलाई सजायको माग राख्दै उनको तस्बिर भाइरल भइरहेछ, अर्कातिर विदेशी पाहुनालाई सुसन्देश नजाने भन्दै सरकारले उक्त तस्बिर उक्काउने अभियान चलायो । किन सरकारको टाउको दुखाइ बन्यो अन्यायमा परेकी ती निर्दोष बालिकाको तस्बिर ? एउटी अबोध बालिकालाई न्याय दिन नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्ने ? जनमानसमा अहिले यही र यस्तै प्रश्न सल्बलाइरहेका छन् ।


पशुपतिनाथका सयौं छोरीमाथि यौनहिंसा र ततपश्चात् हत्या भइरहेको, अपराधीहरू उन्मुक्त भएर हिंडिरहेको अवस्थामा न्याय माग्दै आवाज बुलन्द पारिरहँदा सरकारले भने त्यसलाई दबाउँदै ‘इशुकी एक्ली छोरी’ को भव्य स्वागत गर्‍यो । देशभित्र महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध सडकमा अनशन भइरहेका बेला हाम्रा प्रधानमन्त्री भने विदेशी धार्मिक संस्थाले पाँचतारे होटलमा गरेको कार्यक्रममा त्रिदिवसीय अतिथि बने ।


संघीय गणतान्त्रिक संविधानले सुनिश्चित गरेको धर्म निरपेक्षताको धज्जी उडाउँदै भएको उनको यस्तो सहभागिता तथा आशीर्वाद ग्रहण उपयुक्त थियो वा थिएन, सम्बन्धित विज्ञमाझ बहसको विषय हो । तर, प्रश्न उठिरहेछ गाई, गंगा र गायत्रीले पनि पवित्र पार्न नसकेर लैंगिक हिंसा र बलात्कारले दिनानुदिन आक्रान्त हाम्रो समाज इसाई ‘पवित्र माता’ ले अभिषेक गरेको ‘पवित्र जल’ ले शुद्धीकरण होला र ?


‘होली वाइन महोत्सव’ मा नेपाली जोडीले आपसमा जुठो मदिराको चुस्की लिइरहेको बेला गाउँगाउँका आमा समूहहरू भने मदिराले सामाजिक विकृति र महिला हिंसा बढाएको भन्दै आफ्नो गाउँलाई मदिरा निषेधित गर्न लागिपरेका थिए ।


सहर–बजारका महिलाहरू व्यभिचारीहरूको यौनप्यासको सिकार भएर मारिएका बालिका तथा किशोरीलाई न्यायको माग राख्दै सडकमा सुतिरहेका थिए । सत्ता र शक्तिको आडमा सम्पन्न र प्रतिष्ठित बनेका कथित पहुँचवालाहरू मदिराले लठ्ठिएर आसुरी उन्मादमा आई अबोध बालिकाहरूको सिकार गरिरहेका बेला मदिराले आचमन गर्ने संस्कृति भित्र्याइनुले सुखद भविष्यको संकेत गरेको छैन । हाम्रा छोरीहरूलाई सुरक्षित भविष्य चाहिएको छ, बाइबलको आशीर्वाद होइन ।


हरेक वर्ष लैंगिक हिंसाविरुद्ध अभियान चलिरहँदा म सोच्ने गर्छु यो नै अन्तिम अभियान होस् । समाजबाट हिंसा अन्त्य हुने हो भने अभियान चाहिँदैन । हामीकहाँ लैंगिक हिंसा घट्नुको सट्टा दिनानुदिन बढ्दै गएको देखिन्छ । सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि सवै क्षेत्रमा महिला, किशोरी तथा बालिका शारीरिक तथा मानसिक हिंसा खेप्न बाध्य बनिरहेका छन् ।


युगौँदेखि समाजमा स्थापित पुरुषसत्तात्मक मानसिकताले महिलालाई वस्तुका रूपमा हेर्ने गर्छ । यसले नारीको उपयोगिता पुरुषको कामावेग मेटाउने साधनका रूपमा सीमित पार्न खोज्छ । पुँजीवादी संस्कृतिभित्रको पुरुषसत्ताले सौन्दर्य प्रतियोगिताको बजार थापेर नारीको प्रकृतिप्रदत्त सौन्दर्यलाई कामुकताको यन्त्रले परीक्षण गर्ने गर्छ ।


तिनै उपभोक्तावादी पुरुषहरूको वाहवाहीमा मख्ख पर्दै हामी ‘राम्रा’ महिलाहरू अनेक भावभंगिमामा आफ्नो यौवनित सौन्दर्य पस्किने गर्छौँ । विगतमा सौन्दर्यको यस्तो बजारीकरणप्रति विमति राख्ने वामपन्थी खेमाका बौद्धिक तथा राजनीतिक महिलाहरूको खबरदारी देख्दा केही आशा लागेको थियो तर अहिले उनीहरूको मौनता देख्दा विस्मात लागिरहेको छ ।


पुँजीवादी संस्कृतिलाई गाली गरेर नथाक्ने कमरेडहरू नै अहिले सौन्दर्य प्रतियोगिताका सर्वाधिक प्रचारक बने । करणी र कथनीबीचको यस्तो विपर्यास सायद हामी नेपालीको दुर्भाग्य हो । अर्कातिर महिला तथा बालिकामाथि हुने यौनजन्य तथा अन्य हिंसाका घटनाप्रति सरकार तथा राज्यको सुरक्षा संयन्त्रको उदासीनताका कारण दण्डहीनताले प्रश्रय पाउने गर्छ ।


समाजमा दूधे नानीदेखि वृद्ध आमाहरूसमेत यौनहिंसाका सिकार भइरहेका र अपराधीहरू खुलेआम हिँडिरहेका छन् । महिला हिंसाविरुद्ध कानुनी उपचार भए पनि सत्ता र शक्तिको आडमा लुक्ने अपराधीहरू पुलिस–प्रशासनको नजरमै पर्दैनन् । यस्ता अपराधी पत्ता लगाएर तिनलाई हदैसम्मको सजाय गर्न राज्यका संयन्त्र लागि नपरेसम्म सरकारले जति नै आदर्शका कुरा गरे पनि विश्वसनीय हुँदैन ।


निर्मलाजस्ता नेपाली चेलीहरूले न्याय नपाएसम्म एक मात्र होइन, अनेक ‘पवित्र माता’ हरूले विश्वशान्तिको सन्देश दिँदै जतिसुकै आशीर्वाद दिए पनि हिंसाविरुद्धको अभियान र आक्रोश शान्त हुन सक्दैन ।


अचेल म जताततै हिंसा मात्र देख्ने गर्छु । श्रम बजार, कार्यालय, विद्यालय, विश्वविद्यालय आदि सबैतिर स्थापित पुरुषश्रेष्ठताको मानसिकताका कारण महिलाहरूले मानसिक हिंसा खेपिरहेका देखिन्छन् । यस्ता घटनालाई महिलाको चरित्रसँग जोडेर बदनाम गराउने परम्पराका कारण पीडितहरू खुलेर बोल्न सक्दैनन् ।


कार्यक्षेत्रमा महिलालाई योग्यताभन्दा यौनिकताका आधारमा हेर्ने, सम्बन्धित पुरुषको चाहनाअनुरूप बन्न नचाहने महिलाको कार्यसम्पादन प्रक्रियालाई असहज बनाएर अक्षम साबित गराउने, वृत्तिविकासमा बाधा पुर्‍याउनेजस्ता घृणित कार्यहरूसमेत हुने गर्छन् । यसप्रकारको मानसिक प्रताडनाविरुद्ध कानुनी उपचारका लागि प्रमाण हुँदैन । त्यसैले यो झनै घातक हुने गर्छ । हालै मी–टु अभियान मार्फत पीडित महिलाले आफूमाथि भएको हिंसा र उत्पीडनबारे बोलेका छन् ।


हाम्रो सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता पुरुषनिर्मित भएको हुनाले पुरुष तथा पुरुष मानसिकता बोकेका महिलाबाटै पनि यसबारेमा अलोचना भएको देखियो । मी–टुमार्फत महिलाले देखाएको साहस प्रशंसनीय छ । यो महिलाहरूबाट हिंसाविरुद्ध गरिएको प्रतिकारको द्योतक हो । प्रतिष्ठाको आवरणमा लुकेर अपराध गर्नेहरूका लागि यो चुनौती पनि हो । हामी महिलाहरूले सहनशीला–सुशीलाका आदर्शहरू भत्काउँदै यसरी नै विद्रोह गर्नुपर्छ ताकि भविष्यमा महिलाप्रति गलत मनसाय राख्नेहरू प्रतिष्ठित बन्ने संस्कार अन्त्य होस् ।


अचेल म प्रत्येक चेलीका अनुहारमा निर्मला मात्र देख्न थालेकी छु । घरकी छोरी, कक्षाका छात्राहरू, बाटोमा हिँडेका बालिका–किशोरी सबैमा ‘सरकार भेटियो न्याय भेटिएन’ अंकित उही निर्मलाको छवि देख्छु अनि कतै म बहुलाएकी त होइन भन्दै आफूलाई जाँच्न थाल्छु । कक्षामा नाटककार समको ‘स्वास्नीमान्छे’ नाटक पढाउने क्रममा उनको काल्पनिक प्रमिलापुरी नारी राज्यप्रति गर्व गर्छु ।


नारीलाई केवल भोग्याका रूपमा हेर्ने हिंस्रक मुचुकुन्नको शल्यक्रियाद्वारा भाव परिवर्तन गरी सज्जन बनाउन सफल चिकित्सक कादम्बिनीको सफलतामा गदगद हुँदै पुकार्न थाल्छु ‘कादम्बिनी, मेरो देशलाई तिम्रो आवश्यकता छ । बालादेखि वृद्धासम्मका महिलालाई केवल भोग्या देख्ने हजारौं मुचुकुन्नहरू छन् यहाँ । आऊ, यी सबैको भाव परिवर्तन गरेर भद्र देवनन्दन बनाइदेऊ । आऊ, तिम्री ऋषिका ऋतालाई पनि साथ लिएर ।’


सरकार तथा प्रहरी–प्रशासनको उदासीनताका कारण निर्मलाले न्याय पाउने आशा क्षीण हुँदै गए पनि उनको न्यायका लागि बुलन्द यो आवाज अझै बुलन्द हुँदै जानेछ । यो आवाज ती हिंस्रक नरपशुहरूप्रति खबरदारीको हँुकार हो जसले गर्दा भविष्यमा अबोध बालिकाप्रति गिद्धेनजर लगाउनुअघि उनीहरू एकचोटि पक्कै झस्किनेछन् ।


पुरातन मूल्यमान्यताले जति नै आलोचना गरे पनि मी–टुका अनुयायीहरू आफूमाथि भएका हिंसाविरुद्ध खुलेर बोल्नेछन् । सहनशीलताले नै दण्डहीनतालाई बढाइरहेको हुन्छ । सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिनेछैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर । यो लडाइँ एक्ली निर्मलाका लागि होइन, यौनहिंसापीडित असंख्य नेपाली चेलीहरूको न्यायका लागि हो ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?