कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

शृंगारको अनुहार

सम्पादकीय

काठमाडौँ — विश्वव्यापी अध्ययनहरूअनुसार एक महिलाले आफ्नो जीवनकालमा झन्डै २ किलो लिपस्टिक खपत गर्छिन् । जानकारहरूका अनुमानमा नेपाली महिलाहरू हैसियतअनुसार महिनाको दुई–चार सयदेखि २०–३० हजारसम्म सौन्दर्य सामग्रीमा खर्च गर्छन् । 

शृंगारको अनुहार

धेरथोर पुरुषहरू पनि यस्ता सामग्री प्रयोग गर्छन् ।


दैनिक जीवनमा प्रयोग हुने सौन्दर्य सामग्री नै सुरक्षित छैनन् भन्ने विभागीय प्रतिवेदन हामीलाई झकझक्याउने खालको छ । गुणस्तर तथा नापतौल विभागले गरेको परीक्षणबाट त्यस्ता सामग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक पाइएको छ ।


स्वदेशी तथा विदेशी ६६ ब्रान्डका सौन्दर्य सामग्रीमा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको परीक्षण प्रतिवेदन बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड मान्दा लिपस्टिक र स्किन क्रिममा ज्यादै केमिकल छ । यसले प्रजनन क्षमता घटाउनेदेखि शरीरको भित्री अंगमा असर गर्छ । क्यान्सरसम्म हुन सक्छ ।


बजारमा गुणस्तरहीन सामग्री रोक्ने अभ्यास छैन । गुणस्तर कायम गर्ने, हस्तक्षेप गर्ने र नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर विभागको हो । आपूर्तिलाई मूल्य तथा गुणस्तरसम्बन्धी अनुगमन र कारबाही गर्ने अधिकार छ । यिनले यस्ता सामग्रीको अनुगमन गर्ने गरेका छैनन् ।


गलत नियतका व्यवसायीलाई मुनाफामाथि मुनाफा । नक्कली तथा गुणस्तरहीन वस्तुकै मूल्य मनपरी छ । उपभोक्ता गुणस्तरबारे सचेत छैनन् । साथीभाइले जे प्रयोग गर्छन्, पसलले जे भिडाउँछन्, त्यही किन्छन् । बिक्रीमा राखिएका कति सामग्रीमा न ब्रान्ड प्रस्ट हुन्छ न त्यसको कम्पोजिसन । झन् चाया, कालोपोतो, डन्डीफोर तुरुन्त हट्छ भन्दै खुला सडकमा खुल्लै औषधि पनि बिक्री गरिएको पाइन्छ । नाम चलेका ब्रान्डमा त गुणस्तरको शंका छ भने त्यस्ता सामग्रीको हालत के होला ?


सौन्दर्य सामग्रीको प्रयोगलाई हामी खेलाँची ठानिरहेका छौं । उपभोक्ताले पनि, नियमनकारी निकाय तथा सरकारले पनि । विधिव्यवस्था भएका मुलुकमा यस्ता सामग्री सितिमिति बिक्री हुँदैनन् । मानव स्वास्थ्यलाई खेलबाड गरेको पाइएमा दण्ड दिलाइन्छ ।


केही महिनाअघि संयुक्त राज्य अमेरिकाको मिजोरीस्थित एक अदालतले प्रसिद्ध फार्मास्युटिकल कम्पनी जोनसन एन्ड जोनसनलाई आफ्ना उत्पादनमार्फत मानव स्वास्थ्यमा खेलबाड गरेको भन्दै ४.६९ अर्ब डलर क्षतिपूर्ति तथा जरिवाना सुनाएको थियो । ५ करोड ५० लाख डलर पीडित परिवारलाई क्षतिपूर्ति । अरू दण्ड जरिवाना । कम्पनीको टाल्क बेबी पाउडरले पाठेघरमा क्यान्सर गराएको भन्दै २२ महिलाले मुद्दा दायर गरेका थिए ।


हानिकारक रसायनयुक्त सौन्दर्य सामग्रीका कारण छाला पोल्ने, बिमिरा आउने, सुन्निने, रौं पलाउने, रङ परिवर्तन हुने गर्छ । यसले मिर्गाैला, फोक्सो, मस्तिष्क, मुटुजस्ता शरीरका भित्री अंगलाई पनि असर गर्छ । बच्चाको वृद्धिदरमा पनि प्रभाव पार्छ । सुन्दर बन्न सौन्दर्य साधन प्रयोग गर्ने, अनुहार अझ बिग्रिए के गर्ने ? व्यक्तिमा मनोवैज्ञानिक असर गर्छ ।


रसायनयुक्त सामग्री छ्यापछ्याप्ती पाइनुमा गुणस्तर विभागकै पनि दोष छ । ऊ भर्खर जागेको देखिँदै छ । नेपाली बजारमा नियमन छैन । कति सामग्रीको खोल एउटा भित्र अर्कै पनि भेटिएका छन् । एकै थरी सामग्रीमा पनि मूल्य आकाशजमिनको फरक हुन्छ ।


विभागले आक्कलझुक्कल जाँचेर पुग्दैन । सरकारसँग समाधानका उपाय पनि हुनुपर्छ । यति संवेदनशील विषयलाई ऐन ल्याएरै व्यवस्थित गर्न सकिन्छ । आवश्यक परे विभागको परीक्षण पुन: पुष्टि पनि गर्नुपर्छ । विभागले सौन्दर्य सामग्रीको गुणस्तरसम्बन्धी मापदण्ड बनाएर अनुगमन र कारबाही कडा गर्न आवश्यक पहल गर्नुपर्छ । विशेषज्ञता तयार गर्ने, मापदण्ड निर्धारण गर्ने, स्वदेशी उत्पादनमा स्तर कायम गर्न लगाउने योजना गर्नुपर्छ । आयातीतको स्तर भन्सारमै जाँचको व्यवस्था गराउनुपर्छ ।


सरकारले भने नियमन निकायलाई नै न्यून प्राथमिकता दिने गर्छ । यो विभागमै कर्मचारी अभाव छ । दरबन्दी नै जम्मा ८९ जनाको छ, जसमा १४ जना केमिस्टसहित ४० जना मात्रै अधिकृतस्तरका छन् । आजको दिनमा यही क्षमताले पनि बजार निगरानी गर्न सकिन्छ, बाँकी दरबन्दीका लागि पहल गर्नुपर्छ ।


बजार खुला छ, जहाँ जसले जे ल्याएर जहिले बेचिदिए पनि हुन्छ भन्ठानु नेपाली उपभोक्तामाथि विषालु ठगवृत्ति हो । बजार छाडा रहिरह्यो भने नेपाली उदार अर्थतन्त्रको कमलो अनुहार कुरूप हुनेछ ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?