कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

प्रोस्टेट क्यान्सर छ कि ?

प्राेस्टेट क्यान्सरकाे प्राकृतिक विकास १०–१५ वर्ष लगाएर हुन्छ । त्याे बेलासम्म ८० प्रतिशतभन्दा बढी पुरुषाकाे अरु राेगबाटै मृत्यु हुन्छ ।
डा. अर्जुनदेव भट्ट

काठमाडौँ — नेपालमा प्रोस्टेट क्यान्सरबाट पीडित पुरुषको संख्या बढ्दै गएको छ । दीर्घायु, स्वास्थ्यप्रति बढेको जनचेतना, विशेषज्ञ चिकित्सकको वृद्धि र ‘पीएसए रक्त परीक्षण’ र आधुनिक उपकरणको उपलब्धताले रोग समयमै निदान हुन सक्ने भएकाले बिरामी संख्या बढेको हो ।

प्रोस्टेट क्यान्सर छ कि ?

प्रोस्टेट क्यान्सर ग्रन्थि बाहिर फैलिन सुरु भइसकेको भए पूर्ण उपचार हुँदैन । रोगबाट उत्पन्न हुन सक्ने पीडा र अरू जटिल परिस्थितिसँग सामना गर्न भने उपचारले सघाउँछ ।

प्रोस्टेट ग्रन्थि विकास

प्रोस्टेट ग्रन्थिले भ्रूण अवस्थाको १० सातादेखि सुरु भएर १२ सातामा प्रारम्भिक रूप लिने गर्छ । २० वर्षको उमेरमा यसको तौल १० देखि २० ग्राम हुन्छ । यो ४० वर्षसम्म प्राय: यही स्तरमै कायम रहन्छ । प्रोस्टेट विकास नभएको पुरुषले सन्तान उत्पादन गर्न सक्दैन । मूत्र नलीको सुरुको भाग चारैतिरबाट बेरेर प्रोस्टेट ग्रन्थि मूत्रथैलीको तल रहेको हुन्छ ।

प्रोस्टेट क्यान्सरको सुरुआत सबै भागमा उत्तिकै हुँदैन । सीमावर्ती भाग सबैभन्दा ठूलो हुन्छ । समुच्चा प्रोस्टेट ग्रन्थिको ७० प्रतिशत ग्रन्थि तन्तु यही भागमा हुन्छ । ७० प्रतिशत क्यान्सरको सुरुआत यहीँ हुन्छ । यो भाग मलद्वारबाट नजिक र प्रोस्टेटको बोक्रासँग जोडिएको हुन्छ । त्यहाँ देखा पर्ने क्यान्सरका गिर्खा चिकित्सकले औंलाले जाचेर पत्ता लगाउन सक्छन् ।

परिवर्तन भाग प्रमुखत: प्रोस्टेट हाइपरप्लेजियाको केन्द्रविन्दु हो । यहाँ १० देखि २० प्रतिशतसम्म ग्रन्थि तन्तु हुन्छ । पुरुष करिब ४० वर्ष नाघेपछि यो भाग बढ्ने क्रम सुरु हुन्छ । यस क्रममा मूत्रनली तथा मूत्रथैलीभित्र घुस्ने र प्रोस्टेटका अरू भागलाई थिचेर धकेल्ने गर्छ । यो भागको वृद्धि सबै ठाउँमा एक नास हुँदैन ।

मध्यवर्ती भाग वीर्य स्खलन नली वरिपरि हुन्छ । यहाँ २५ प्रतिशतसम्म ग्रन्थि तन्तु हुन्छ । यो भागमा प्रोस्टेट क्यान्सर २.५ प्रतिशत विकास हुन्छ । तर, यो भागको क्यान्सर बढी आक्रामक र बीजीय थैलीमा छिटो फैलने हुन्छ । ग्रन्थिको अग्रक्षेत्र तन्तुहीन हुन्छ । यो क्षेत्र समुच्चा प्रोस्टेटको ५ प्रतिशत जति हुन्छ ।

क्यान्सरको लक्षण

‘यो प्रोस्टेट क्यान्सरको मात्र लक्षण हो’ भन्न मिल्ने कुनै विशिष्ट लक्षण छैन । खासगरेर सुरुमा प्रोस्टेट क्यान्सर लक्षणहीन रोग हुन्छ । प्रोस्टेट क्यान्सरको प्राकृतिक विकास १०–१५ वर्ष लगाएर हुने गर्छ । थुप्रै बिरामी यो रोगको आश्रयदाताको भूमिकामा हुँदाहुँदै पनि चाल नपाएर शरीरमा भएका अरू रोगको कारण मृत्यु वरण गर्छन् ।

प्राय: ६० को दशकपछि प्रोस्टेट क्यान्सर बढी देखिन्छ । त्यो उमेरमा थुप्रै पुरुष मधुमेह, उच्च रक्तचाप, मृगौला तथा कलेजो रोग, दम तथा फोक्सो रोग, आमाशय तथा आन्द्राको रोग आदिबाट पीडित हुने सम्भावना धेरै हुन्छ ।

प्रोस्टेट क्यान्सर वृद्धि भएर ठूलो भएपछि पनि प्रोस्टेट ग्रन्थिमै सीमित छ भने त्यसले उत्पत्तिका दृष्टिले अनिश्चित मूत्र अवरोधको लक्षण मात्र देखाउँछ । जस्तो : पिसाब फेर्न गएपछि तुरुन्त नहुने र कुर्नुपर्ने, पिसाबको धारा लुलो तथा मसिनो हुने, पिसाब फेरिसकेपछि अन्तमा थोपाथोपा चुहिने, पिसाब निख्रेको पूरा आनन्द नआउने, राति पिसाब फेर्न उठिराख्नुपर्ने, पिसाब पोल्ने, यौन इच्छामा कमी आउने इत्यादि ।

प्रोस्टेट क्यान्सर ग्रन्थिबाट बाहिर फैलिएको भए कुन अंगको कार्यमा बाधा पुगेको छ, त्यसबाट रोगको लक्षण थाहा हुन्छ । प्रोस्टेट क्यान्सर मूत्रबाहिनी नलीमा फैलिए मृगौला फुलेर त्यसको कार्यमा ह्रास आउन सक्छ । अस्थिपञ्जरमा प्रोस्टेट क्यान्सर फैलिँदा हड्डी दु:ख्ने, कमजोर भएर थोरै चोटपटकबाट भाँचिने गर्छ ।

लिम्फसम्बन्धी ग्रन्थि र अस्थिपञ्जर प्रोस्टेट क्यान्सर फैलिने प्रमुख ठाउँ हुन् । मूत्रबाहिनी नली, मूत्रथैली, कलेजो, फोक्सो, मस्तिष्क इत्यादि ठाउँमा रोग छरिन सक्छ । प्रोस्टेट क्यान्सरको उच्चतम विकासको अवस्थामा हड्डीको चरम पीडा, रक्तअल्पता, मृगौलाको अक्षमता, अरुचि, कुपोषण, कम्मरमुनिको पक्षाघात, दिसामा समस्याजस्ता लक्षण देखिन सक्छन् ।

रोग निदान

मूत्र लक्षणबाट पीडित खासगरेर ५० नाघेका पुरुषमा प्रोस्टेट क्यान्सर छ कि छैन भनेर विभिन्न जाँच गर्नुपर्छ । पुरुषको वंशमा प्रोस्टेट क्यान्सर कसैमा भए विशेष तवरले जाँचपडताल गर्नुपर्छ । सामान्य रक्त परीक्षण, पेटको यूएसजी, पीएसए रक्त परीक्षण इत्यादि गर्नुपर्छ ।

चिकित्सकले मलद्वारबाट प्रोस्टेटको परीक्षण गरेर सारोपन, गिर्खा भए/नभएको थाहा पाउछन् । करङतिघ्रा र कम्मरको हड्डी दुखेका, थोरै चोटपटक लाग्दा पनि हड्डी भाँचिएका बिरामी, अल्परक्त भएका र खानामा अरुचि भएर दुब्लाउँदै गएका पुरुषलाई चनाखो भएर सबै जाँच गराउनुपर्छ । वीर्यमा रक्तस्राव देखा परेका, यौन इच्छामा कमी भएका र लामो समयदेखि चिल्लो खाना धेरै प्रयोग गर्ने (खासगरेर निरन्तर धेरै मात्रामा घिउ खाने), मधुमेह भएका र मोटो पुरुषहरूको विशेष जाँच गर्नुपर्छ ।

औंला जाँच र पीएसए रक्त परीक्षणमा क्यान्सरको शंका उत्पन्न भए सिटीस्क्यान, एमआरआई र प्रोस्टेट ग्रन्थिको परीक्षणजस्ता जाँच गर्नुपर्छ । ग्रन्थिको तन्तु जाँचमा क्यान्सर यकिन नभएसम्म क्यान्सर छ भन्न मिल्दैन । तन्तु जाँचकै आधारमा क्यान्सरको घातकता निक्र्योल हुन्छ । त्यसैले प्रोस्टेट क्यान्सर निदान गर्दा ‘ग्रन्थि तन्तु जाँच’ लाई केन्द्रविन्दुमा राख्नुपर्छ ।

उपचार सिद्धान्त

क्यान्सर ग्रन्थिभित्रै सीमित छ कि ग्रन्थिबाट बाहिर फैलिएको छ, यकिन गर्नैपर्छ । बिरामीको उमेर, अरू जीर्ण रोगको असर, पीएसएको नतिजा, मूत्र अवरोधको स्थिति र सुझाइएको उपचारप्रति बिरामीको धारणा र गहन परामर्शमा ध्यान दिनुपर्छ ।

बिरामीले आफूमा देखिएको प्रोस्टेट क्यान्सरको विकासबारे प्रस्ट दूरदृष्टि राख्न सक्नुपर्छ । गरिने उपचारपछि वा कुनै कारणले त्यो नगर्ने हो भने प्रोस्टेट क्यान्सरको विस्तारबाट शरीरले बेहोर्नु कठिनाइबारे मोटामोटी जानकारी राखेर मात्र निर्णय लिनु उपयुक्त हुन्छ ।

प्रोस्टेट क्यान्सरका रोगीलाई अनावश्यक उपचारको बोझ नपरोस् तर भविष्यमा यो रोगकै कारणबाट पीडा तथा सास्ती पाएर मृत्यु हुन सक्ने अवस्था नआओस् भनेर चिकित्सक र बिरामी पक्षबीच परामर्श हुनुपर्छ । सामान्यतया प्रोस्टेट ग्रन्थिभित्र सीमित क्यान्सर भएका र आमूल शल्यक्रिया वा विकिरण उपचार धान्न सक्ने स्वास्थ्य अवस्थाका बिरामी मात्र रोग निर्मूल पार्ने उपचार स्विकार्नयोग्य मानिन्छन् ।

अस्थिपञ्जर वा शरीरको कुनै पनि अरू अंगमा प्रोस्टेट क्यान्सर फैलिएको छ भने उपचार लघुकारी भूमिकाको हुन्छ । त्यस्तो उपचार शल्यक्रिया, हर्मोन, विकिरण, रसायनजस्ता तरिकाको सम्मिश्रण हुन्छ । यी सबै उपचार अपनाउँदा अपनाउँदै पनि केही समयपछि क्यान्सर कोशिकाहरू क्यान्सर प्रतिकूल अवस्था सामना गर्दै उग्ररूप लिएर फैलिन सक्छन् । त्यस्तो अवस्थामा उपचार सशक्त पार्नुपर्ने हुन सक्छ ।

लेखक वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन् ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?