कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

तनाव तोड्न बिदा

सबैतिर कार्यघण्टा घटाएर कार्यक्षमता बढाउने बहस चलिरहेकाे छ, हामी भने उल्टाे बाटाे हिँडिरहेका छाैं ।
डा. अजय रिसाल

काठमाडौँ — तर्क जेसुकै गरिए पनि अन्यत्रको तुलनामा हाम्रो देशमा सार्वजनिक बिदा कमै छ । तलबी बिदाको अवधारणा नेपालको सबै क्षेत्रमा आइसकेकै छैन । बैंक अनि केही वित्तीय संस्थामा भने १२–१४ दिन ‘फोर्स्ड लिभ’ को चलन छ, जसले केही मात्रामा भए पनि कर्मचारीको तनाव व्यवस्थापन गर्न सहयोग पुर्‍याएको छ । 

हाम्रो देशमा सातामा शनिबार एक दिन मात्र गर्दा वर्षभरिमा ५२ दिन बिदा पाइन्छ । पश्चिमी मुलुकहरूमा साताको दुई दिन (प्राय: देशमा शनिबार र आइतबार) गरी वर्षमा १०४ दिन बिदा हुन्छ ।

नेपालमा सन् २०१८ मा राष्ट्रिय बिदा/पर्व बिदा आदि गरेर १३ दिन सार्वजनिक बिदा रहेछ । कर्मचारीका लागि यो एकदमै कम बिदा हो । वित्तीय संस्थाहरूको १५ दिनको तलबी बिदा जोड्दा बिदा २८ दिनको हुन्छ । यीमध्ये पनि कति दिन त शनिबारै परेर बिदा खेर गएको मान्छन् कर्मचारी ।

१०–१५ दिनको सार्वजनिक बिदा पाउने मुलुकमा ३ सातादेखि १ महिनासम्मको अतिरिक्त तलबी बिदा दिने गरिएको देखिन्छ । फ्रान्समा ३० दिनको तलबी बिदा हुन्छ । जमैकामा ३ साताको बिदा थप भएको पाइन्छ । सार्वजनिक बिदाको मामिलामा टर्की, अस्ट्रेलिया, बेलायत, जर्मनी, दक्षिण अफ्रिकाजस्ता देश पनि उदार देखिन्छन् ।

दुई दिनको सप्ताहान्त बिदाले तिनको बिदा संख्यामा झनै बढोत्तरी हुन्छ । पश्चिमी मुलुकहरूमा ‘क्रिसमस’ देखि ‘न्यू इयर’ सम्म मस्त बिदा मनाउने गरिन्छ । युरोपेली देशहरूको इस्टर, हलोवेन आदि बिदाको हिसाबै छैन । हामीकहाँ भएको दसैं बिदा पनि कटौती गरिएको छ ।

व्यक्तिहरूको काम गर्ने क्षमता काम गर्ने समय–घण्टाले निर्धारण गर्छ । अन्तर्राष्ट्रिय श्रम संगठनले पहिले दैनिक ८ घण्टाको दरले साताभरिमा ४८ घण्टा मात्र काम गर्ने मापदण्ड निर्धारण गरेको थियो । अहिले दैनिक ८ घण्टामा नबढाई साताको ४० घण्टाको अवधारणा ल्याएको छ । सबैतिर कार्यघण्टा घटाएर कार्यक्षमता बढाउने बहस चलिरहेछ, हामी भने उल्टो बाटो हिंडिरहेका छौं ।

पहिले संयुक्त राज्य अमेरिकामा ‘बिदाले मान्छेलाई अल्छी बनाउँछ, कार्यक्षमतामा ह्रास आउँछ,’ भनी कर्मचारीहरूमा पाइने बिदा लिन पनि हिच्किचाउने प्रवृत्ति थियो । अचेल विभिन्न अध्ययनले बिदाको सकारात्मक परिणाम प्रकाशमा ल्याइरहेका छन् । बिदा लिनेहरूको संख्या पनि बढ्दै गइरहेको छ ।

क्यानाडामा सन् २००९ मा गरिएको अनुसन्धानअनुसार सार्वजनिक बिदा कार्यस्थलमा रहने तनाव न्यूनीकरण गर्न सहयोगी रहन्छ, त्यसले कार्यक्षमतामा बढोत्तरी गर्छ । एक बेलायती अध्ययनले आराम, नयाँ अनुभव प्राप्ति एवं ज्ञानको दायरा फराकिलो बनाउन बिदाले सहायता गर्ने देखाएको थियो । व्यक्तित्व विकास अनि पारिवारिक एवं सामाजिक सम्बन्धमा ताजापन दिलाउन पनि बिदा महत्त्वपूर्ण छ ।

परिवारका सदस्यहरूले एकै साथ बिदा लिंदा हुने सकारात्मक परिणाम अवर्णनीय हुन्छ ।

कार्यस्थलको दीर्घकालीन तनावले व्यक्तिको रोग प्रतिरोध क्षमतामा ह्रास ल्याउँछ । निद्रामा गडबडी गराउँछ । पाचन प्रक्रियामा अवरोध पुर्‍याउँछ । बढी थकान र अत्यासले काम गर्ने जाँगरमा कमी ल्याउने गर्छ ।

ज्यादा श्रम पर्ने, ज्यादा खटिनुपर्ने अनि तुरुन्तै निर्णय गर्नुपर्ने क्षेत्रमा काम गर्नुपर्नेहरूलाई तनावको मात्रा बढेर एन्जाइटी, डिप्रेसनजस्ता मनोरोग लाग्ने सम्भावना बढी हुन्छ । यस्तो तनाव–चक्रलाई तोड्न सार्वजनिक बिदाले मात्र सहायता गर्छ भन्ने अध्ययन–अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

पर्याप्त बिदा पाएका कर्मचारी मानसिक एवं शारीरिक रूपमा स्वस्थ, अझ बढी सक्षम, कामप्रति झनै बफादार अनि सकारात्मक मनस्थितिमा रहन्छन् । हामीकहाँ ट्राफिक व्यवस्था अस्तव्यस्त छ, सार्वजनिक सडक प्रदूषणयुक्त छ, सार्वजनिक स्थानमा पर्याप्त सरसफाइ गर्न सकिएको छैन ।

यस्तो ठाउँमा सार्वजनिक बिदा अपरिहार्य हुन्छ भन्ने प्रत्येक वर्ष दसैंमा हामीले गरेको अनुभवले बताउँछ । तलबी बिदाको प्रावधान सबै क्षेत्रमा लागू गर्ने हो भने सपरिवार देशका विभिन्न भाग घुम्ने प्रवृत्ति विकास हुन्छ । यसले देशकै आन्तरिक पर्यटनमा टेवा पुग्छ ।

धार्मिक तीर्थयात्रा, पारिवारिक पुनर्मिलन, अन्तर्घुलन, सामाजिकता, हार्दिकता, सौहार्दताजस्ता मनोसामाजिक सकारात्मकतामा अभिवृद्धि हुन्छ । हाम्रो मुलुकमा सार्वजनिक बिदाको अवधारणामा परिवर्तन गर्नेतिर छलफल र बहस चलाउने बेला भइसकेको छ ।

लेखक मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?