कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बाचाल सत्ता, मौन जनता

अाेलीहरुकाे दैनिकी समृद्धिकाे टुक्काबाट सुरु हुन्छ र जनताकाे जिन्दगी सत्ताले थाेपरेका अनेकन सकसहरुले निकालेकाे सुस्केराबाट
यादव देवकोटा

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले हालै भनेका थिए, ‘अब जता फर्कियो उतै सरकार भेटिन्छ ।’ जता फर्कियो उतै सरकार भेट्ने कसले हो ? ओलीको कथनविपरीत नेपाली समाजले भोगेको यथार्थको संकथन फरक छ । जनताले सरकारलाई कहिले न्याय माग्दा गोली हानिरहेको, कहिले न्याय मागेको पर्चा च्यातिरहेको अवस्थामा भेट्नुपरेको छ ।

बाचाल सत्ता, मौन जनता

सत्ता भेटिएको छ, राष्ट्रपतिलाई हेलिप्याड विस्तार गर्ने निर्णय गरिरहेको अवस्थामा । हुँदाहुँदा धर्मनिरपेक्ष देशको सरकारलाई विवादित ख्रिस्तानीहरूको आशीर्वाद समारोहको आयोजक बनेको र स्वयं प्रधानमन्त्री ओलीलाई त्यसबापत ख्रिस्तानी संस्था युनिफिकेसन चर्चको करोड रुपैयाँको बक्सिस थापिरहँदा भेट्नुपरेको छ ।

मार्क्सवादको बर्को ओढेर जनतासँग वामपन्थी मत मागेकाहरूले ख्रिस्तानीहरूबीचमै बद्नाम र विवादित ‘शान्तिको आवरण ओढेको’ अन्तर्राष्ट्रिय धार्मिक गैरसरकारी संस्थासँग सामेल भएर कार्यक्रम गरिरहेको भेटिनु कम रोचक छैन । माक्र्सवादको यो बिघ्न मजाक संसारका नवउदारवादीहरूले समेत उडाएको सुनिएको छैन ।

त्यस मामिलामा रेकर्ड कायम गरिरहेको हालतमा ‘वाम’ सरकार भेटिएको छ । सौन्दर्य प्रतियोगितामा सामेल युवतीलाई भोट माग्ने र बलात्कृत किशोरीलाई न्याय माग्न टाँसिएका पोस्टर च्यात्दै गर्दा भेटिएको सरकार सम्भवत: संसारकै नमुना ‘वामपन्थी’ सरकार हुन सक्छ ।


ओली सरकारको उपस्थिति उनका बफादारहरूको घेरा नाघेर आफ्नै पार्टीको स्थायी समितिसम्म पनि पुग्न सकेको रहेनछ भन्ने घनश्याम भुसालले सत्ताधारीहरूको स्वार्थ सबथोक हो भन्ने स्थापित गरिने र सत्ताधारीहरू आफ्नो रूप हेरी–हेरी आफैं हुन्छु दंग भनेर सकिने बाटोतिर लाग्ने नार्सिसस्को नेपाली संस्करण हुने भय कान्तिपुरबाट व्यक्त गरेबाटै जानिन्छ ।

मिथकीय पात्रका रूपमा उल्लिखित फिनिक्स चरालाई झन्डै पाँच सयदेखि चौध सय वर्षको उमेर पुगेपछि नयाँ पुस्ताको फिनिक्स चरोले डोहोर्‍याउँदै इजिप्टको सूर्यको मन्दिर (टेम्पल अफ द सन) मा लैजान्छ, त्यहीँ जलेर फिनिक्स नयाँ जन्ममा प्रवेश गर्छ र सप्तरंग भरेर पँखेटामा उडान लगाउँछ । यसले के देखाउँछ भने उमेर निख्रियो भन्ने ज्ञात भइसकेपछि पनि बूढो फिनिक्स आफैं आगोको लप्का निकालिरहेको सूर्यको नजिक पुग्दैन, आफैंलाई जलाएर पुनर्जन्म लिन ।

उसलाई अरूले घेरा हालेर लानुपर्छ ज्वाला निक्लिरहेको सौर्यभट्टीमा । तर, आजको हाम्रो पुस्ता उपादेयता निख्रिएका नेताहरूलाई तिम्रो पालो सकियो भन्दा सत्ताको डन्डाले डामिएपछि मौनताको पट्टी बाँधेर बूढाहरू आफैं जलेपछि पालो आउला भनेर आफ्नै बुढ्यौलीको दैलो कुरेर फिनिक्स कथा अरूलाई सुनाइबस्न विवश छन् ।

कथाअनुसार तीन पटकसम्म पृथ्वीको महाप्रलय बेहोरेको फिनिक्स चराले संसारको सारा गुह्य रहस्य जानेको मानिन्छ । उसले यति उचाइसम्म उडान फैलाउँछ कि कसैले देख्न सक्दैन, जमिनमा ऊ भुलेर पनि ओर्लंदैन । जनतासम्म कहिल्यै सरकार नपुर्‍याउने र आफ्ना बफादारहरूको गिरोहबाट सधैं छेकिएर बस्ने सरकार र फिनिक्सको मिथकीय दुर्लभता भने उस्तै छ जनताका लागि ।

सधैंभर अस्थिरता र भद्रगोलको भुमरीमा मानिसलाई भ्रमित बनाएर, आफ्नो स्वार्थको रोटी सेकाएको मानिसलाई मन्दिर थापेर, मानिसका जीवनका अप्ठयारा र सुस्केराहरूलाई टुक्का बनाएर जीवनको गुजारा चम्काएकाहरू न फिनिक्स बन्न सक्छन् न तिनको पछि आफ्नै पालो हो भनेर कुरिबसेकाहरूले नेपाली समाजको दु:खको काया निकालेर तैबिसेक सजिलो समाजमा लैजान सक्छन् ।

घनश्याम भुसालहरूको भगीरथ प्रयत्न कथम् महावीर जाग्ला र डबल नेकपालाई पनि भविष्यमा वर्तमानको नेपाली कांग्रेस बनाइदेला र आफ्नो पालै नआउला भन्ने छटपटी मात्रै हो । दायाँ–बायाँ गर्नै पर्दैन, डबल नेकपाले गर्छ भनेर महावीरलाई भुलाउने चलाखी मात्रै हो । होइन भने, अभिभावक फिनिक्सलाई सन्तान फिनिक्सले आगोको लप्कामा डढाउन घेरा हाल्दै लगेको पटकथा पनि याद हुनैपर्ने हो उनीहरूलाई ।


सरकार जनताको जीवनबाट लापत्ता छ । खासमा न सरकार ओली प्रधानमन्त्रीमा सवार भएपछि एकाएक लापत्ता भएको हो, न उनले गरिखाने झुत्रेझाम्रे भुइँमानिसको बुकुरामा सरकारको उपस्थिति पुर्‍याउनेछन् भनेर गरिएको अपेक्षा धुलिसात भएकैले गुनासोको ग्राफ अग्लिएको हो । उसै पनि ओलीहरूको दैनिकी समृद्धिको टुक्काबाट सुरु हुन्छ र जनताको जिन्दगी सत्ताले थोपरेका अनेकन सकसहरूले निकालेको सुस्केराबाट ।

शासकहरूको रजाइँको भूगोल बढाउनलाई बहादुरी देखाउन रगतखेलोमा नागरिक चोबलिँदा उनीहरूको सुखको आयतन बढाउनका लागि तैबिसेक भए पनि जागरुक पार्ने शासक नेपालीले बेर्होनै पाएनन् । बरु नयाँ संसार बनाउने भनेर हजारौं सीधासोझा मानिसलाई रगतको खेलोमा हिँडाउने त्यस्ता मानिसलाई नेपाली समाजले नायक थापेर कष्टको यात्रा नाप्यो ।

जसको हैसियत आफैंले बाजा ठोकेर भित्र्याएकी युवतीलाई बुहारी नमान्ने तर कमसेकम न्यूनतम सामाजिक मर्यादा र मौजुद कानुनविपरीत बहुविवाहमा आएकीलाई बुहारी मान्नेमा देखियो । तिनै मानिसलाई नेपाली समाजको एउटा हिस्सा हामीले लामो समय न्याय, समानता र परिवर्तनको नायक थापेको सम्झँदा उदेक लाग्छ ।

थपमा, नयाँ नेपाल बनाउने गुड्डी हाँक्ने तिनै कथित नायकहरूका पछुवाको हैसियत दरबार हत्याकाण्डमा मारिएकी रानी ऐश्वर्यले सामाजिक कार्यका लागि जोडिदिएको भवनलाई आवास बनाउनेभन्दा माथि रहेनछ । यो जानेपछि हामी नेपाली समयले झापड हानेपछि मात्रै चेत खुल्ने नियतिका भागीदार रहेछौं भनेर पनि कोही तिल्मिलाएको नदेखिनु उदेकै लाग्ने दृश्य हो ।


सर्वसाधारण नेपालीले बलात्कृत भएकी आफ्नी अबोध छोरीका लागि न्याय माग्दामाग्दै मानसिक सन्तुलन गुमाउनुपर्ने अवस्था बेर्हादा बल्ल सरकार भेट्छ । सत्ताधारी र तिनका बफादारहरू बतुराइरहेका भेटिन्छन्— खुरुक्क घरमा नबसेर धर्ना, जुलुस, प्रदर्शनीले दिनदिनै घाउ चहराएपछि बहुलाउँदैन त ?


हरेक दिन नागरिक सार्वजनिक सवारीमा मानिसबाट बदलिएर फगत पन्ध्र रुपैयाँको मालमा रूपान्तरण हुन्छन् र असन बजारको सडकमा नबिकेर फ्याँकिएको बेवारिसे गुन्द्रुकको हैसियतमा सरकारको अनुहार हेर्न खोज्छन् । सरकार आफ्ना बफादारमार्फत नजिकैको पोलमा ठडिएर नागरिकलाई आफ्नो कामको फेहरिस्त बेचिरहेको भेटिन्छ— सिन्डिकेट अन्त्य, सार्वजनिक यातायातमा नयाँ युगको आरम्भ । सत्ताले जे बेच्यो तिनका भक्तमण्डली भएर, दलीय दासताको ग्राहक बनेर खुरुखुरु किनिदिएपछि सत्ताले प्याजलाई नरिवल भनेर किन नबेचोस् ।

न्याय माग्न जाँदा गोली खाएकाहरू देखेर पनि ती हाम्रा को हुन् र भनेर हामी मौन । मन्त्रीजीले दसैंअघि मेलम्चीको पानी काठमाडौंका घरघरमा दिन्छु भनेर पत्रकार सम्मेलनमा भनेकामा पुस लाग्दा पनि हैन अर्को दसैंमा पनि नआउने छाँट देखिँदा हामी मौन । ३३ किलो सुनको तस्कर यसले उसलाई, उसले उसलाई देखाएर सत्ताधारीबाटै गायब पारिँदा हामी मौन ।

धूलाले सात वर्षसम्म फोक्सो भरिँदा पनि सत्ताका बफादारहरूले बाटो बनाउँदा धूलो नउडे अत्तर उड्छ भनेर कटाक्ष गर्दा हामी मौन । धारामा सरकार पानीको सट्टा हावाको सिट्ठी बनेर उपस्थित हुन्छ, हामी मौन । फोहोर उठ्दैन मौन । मालपोतमा सत्ता र तिनका कर्पदार नागरिकलाई करभन्दा बढी घुस माग्छन्, मौन । बजार भाउ बढाएर ढाड भाँच्ने गरी सत्ता र तिनका बफादारहरूको सेटिङले कोर्रा हान्छ, मौन ।

सत्ताधारीले चाहेको मौनता कमसेकम न्याय माग्दामाग्दै मानसिक सन्तुलन गुमाएको नागरिकले बिथोलेको त जानिन्छ तर नेपाली समाजले सत्ताधारीले चाहेको मौनतामा काँध थापेको देख्नु पनि कुनै रहस्मय लाग्दैन । शताब्दीऔंदेखि शासकहरूले चाबुकले हानेर दाउन सक्ने नागरिक नेपालबाहेक अन्यन्त्र होला कहाँ ?

दासताको हीनचेत भएको खच्चड या घोडालाई एउटा चाबुक काफी भएपछि मानिसले गर्ने नै घोडसवार हो । भारी बोकाउने नै खच्चडलाई हो । नत्र सिंह मानिसलाई सवार गराएर गिडगिडाउँदै उकालीओराली गरिरहेको हुनेथियो । या खच्चडले झैं भारी बोकेर ढाडको छाला खुइल्याइरहेको हुने थियो बाघ ।

नेपाली आत्माचेत जुन दिनमा घोडा, खच्चडको चेतना त्यागेर सिंहको आत्माचेतमा फर्किन्छ, उसमाथि शताब्दीऔं लामो दासता, सवारको चाबुक बर्साउने सत्ताचरित्रका नवअवतारहरूलाई पल्टाउने मात्रै हैन, तिनलाई लघार्दै चिर्थोन थालेको दृश्य अनौठो हुने छैन ।

नेपाली समाजको स्वाभिमानको त्यो रूपान्तरण कुनै अमूक पात्र र तिनका मण्डलीलाई सत्तायात्रा गराउने र तिनका सन्तानहरूलाई मेयर या सत्ताबजारको दलाल बनाउन आफूलाई आगोको लप्कामा होम्ने बफादार सिपाहीको रोमाञ्चकारी भूलबाट उठेकै हुनुपर्नेछ ।

त्यसपछि अगुल्टोसँग डराएकाहरूलाई पनि बुझाउन सकिनेछ, यो समाज टुकुचा किनारमा फलाकिएका चियागफका तुफानहरूले हैन, महावीर अगुल्टो बोक्न बाध्य भएपछि हो बदलिने । त्यस्तो अगुल्टो जसले नागरिक चेतनामाथि सत्ताको भोजन खाएर जाइलाग्ने अरिंगालको गोलो खसाउने सामर्थ्य राख्छ ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?