कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एउटै पारा एउटै पोसाक

सम्पादकीय

काठमाडौँ — हिजो जे लगाएको थियो, आज त्यही । भोलि पनि उही कमिज, उही पाइन्ट । सादा र सामान्य । 
समानता देखाउन एउटै पोसाक जरुरी पर्ने ठानियो । 

एउटै पारा एउटै पोसाक

बेलायतमा केटाकेटीलाई अनुशासन सिकाउन सार्वजनिक विद्यालयमा एकै प्रकारको पोसाक लगाउने व्यवस्था गरियो । अहिले त्यो इतिहास भइसक्यो । देशको कानुनले केही भन्दैन, विद्यालय आफ्नो निर्णय गर्न स्वतन्त्र छन् ।

ब्रिटिस स्कुल हेरौं, पोसाक छैन ।

लिंकन स्कुल हेरौं, पोसाक छैन । किनभने अमेरिकाका सार्वजनिक विद्यालयमा पोसाक छैन । विद्यालयहरू अभिभावक र शिक्षकसहित परामर्शमा पहिरन संहिता तय गर्छन् ।

संसारको सर्वोत्कृष्ट विद्यालय शिक्षा मापनमा पर्दै आएको फिनल्यान्डमा कति हाइसञ्चो छ भने विद्यालय भर्ना हुन प्रतिस्पर्धा हुँदैन, पोसाक छैन, परीक्षा छैन, महसुल छैन । मुख्य जोड शिक्षक–शिक्षिकाको गुणस्तरमा दिइएको छ ।

जर्मनीमा पोसाक छैन । फ्रान्सले पनि प्राय: सबैमा सन् १९६८ देखि हटायो ।

विद्यालयमा पोसाकको अवधारणा सैनिकीकरणसित जोडिन्छ । पोसाकमार्फत एकै प्रकारको सामूहिक भावना विद्यार्थीमा विकास गर्न चाहनेहरूले त्यही गरे । देशपिच्छे फरक अभ्यास छ ।

काठमाडौंमा केही दशकअघि पद्मकन्या कलेजले गेरु रङको साडी, ब्लाउज अनिवार्य गर्‍यो । पछि रत्नराज्य लक्ष्मी कलेजका छात्राका लागि पनि ढाकाको किनारासहितको सेतो साडी, ब्लाउज तोकियो । फेसन प्रतिस्पर्धा रोक्न र समान देखाउन त्यसो गरिएको हुनुपर्छ ।

सार्वजनिक विद्यालयमा पोसाक नराम्रो होइन । विद्यालयपिच्छे फरक पोसाक हुन सक्छ । अहिले काठमाडौं महानगरपालिका र प्रदेश–५ ले सार्वजनिक र संस्थागत विद्यालयहरूबीच एकरूपता कायम गर्न एउटै पोसाकको व्यवस्था गर्न लागेका छन् । फरक–फरक पोसाकका कारण शिक्षामा व्यापारीकरण बढेको र कमिसनको जालो फैलिएको तिनको ठहर देखिन्छ ।

शिक्षाविद्हरूको मान्यता फरक छ । विद्यालयमा पोसाक होइन, पढाइमा एकरूपता हुनुपर्नेमा उनीहरू जोड दिन्छन् । एउटै विद्यालयमा एकै थरी पोसाक स्वाभाविक भए पनि सबैमा एउटै पोसाक उचित नहुने तिनको तर्क छ ।

पोसाकको जमाना सकियो । विगतमा कलेजमा पनि पोसाक थियो । अहिले हट्यो । यो कसैले हटाएको होइन, जमानाले नै हटाएको हो । असान्दर्भिक विषयको मिति टर्दै जान्छ । समयले नै अतीतको गर्तमा बिलाइदिन्छ ।

पोसाक व्यक्तिको छनोटको विषय हो । बच्चाबच्चीको रुचिको विषय हो । खासमा पोसाकले बालबालिकाको व्यक्तित्व र अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउँछ, समान रूपले सैन्य स्वभाव बन्न प्रेरित गर्ने जोखिम हुन्छ ।

रंगीबिरंगी पोसाक लगाएर विद्यार्थी आउँदा कक्षाकोठा फूलबारीजस्तै हुन्छ । केटाकेटी फरक–फरक फूल हुन् । तिनका सुगन्ध पनि फरक–फरक हुन्छन् । एकै प्रकारको सुगन्धको आशा गर्नु गलत हो ।

विद्यार्थीलाई एउटै प्रश्नको उत्तर एउटै तरिकाले दिन लगाएजस्तै हो, एकै प्रकारको पोसाक नीति । यसले समाजको विविधतालाई समेत मार्छ ।

एकै प्रकारको पोसाकले कक्षाकोठाको सिकाइ वातावरणलाई दिक्दारिलो बनाउँछ । हरेक बच्चा आफैंमा फरक हुन्छ । हरेकको सोचाइ, गराइ र सिकाइ तरिका फरक हुन्छ । हरेक बच्चा हरेक प्रकारले फरक छ भने तिनलाई किन एउटै बनाउन खोज्ने ?

कक्षाकोठा समाजको प्रतिविम्ब हो । धनी–गरिब, विभिन्न पेसामा आबद्ध परिवारबाट कक्षाकोठामा केटाकेटी आएका हुन्छन् । त्यो विविधताको प्रतिविम्ब कक्षामा देखिनु राम्रो हो । त्यसलाई एउटै बनाउन खोज्नु बहुल समाजको चरित्र नबुझ्नु हो ।

पढाइ स्तरबारे सोच्नु र घोत्लिनुको साटो पोसाकलाई प्राथमिकता दिन खोज्नेहरूको कुनै व्यापारिक स्वार्थ अनुमान गर्न सकिन्छ । यो कर्पोरेट मानसिकताको उपज हुन सक्छ । यसमा अरबौंको व्यापार छ । अभिभावकलाई बोझ, व्यापारीलाई मोज भनेझैं हुन्छ ।

संविधानमा विविधतालाई सम्मान गर्ने भनिएको छ । समाज बहुल चरित्रको छ । एउटै भाषा, एउटै भेषमा बदल्ने चेष्टा कसरी आयो ? नेपाली समाजको विविधतालाई बचाउन पनि विद्यालयमा पोसाकको प्रबन्ध गर्नु न्यायोचित हुँदैन । पोसाकको व्यवस्था अभिभावकलाई बोझिलो हुन्छ ।

पालिका र प्रदेश सरकारहरूले बुझ्नुपर्छ, पढाइसित पोसाकको कुनै सम्बन्ध हुँदैन ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?