कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शोकमा लैंगिक विभेद

स्वास्नीले लोग्नेको किरिया बस्नैपर्छ, श्रीमतीको मृत्युमा लोग्नेले भने किन नपर्ने ?
डा. अरुणा उप्रेती

काठमाडौँ — दुई वर्षअघि मेरी साथीकी ७० वर्षीया आमाको मृत्यु हुँदा सान्त्वना दिन गएकी थिएँ । साथीका ७५ वर्षीय बुबा दु:ख मानेर बसिरहेका थिए । जाडोका बेला भएकाले उनलाई चिसो नलागोस् भनेर कम्बल ओढाइएको थियो । उनी खाटमा बस्थे ।

सान्त्वना दिन आउनेहरू उनीसँगै बस्थे । उनी चिया, दूध बारम्बार पिउँथे, सान्त्वना दिन आएका मानिससँग श्रीमतीबारे कुरा गर्थे । उनलाई समय समयमा दाल, रोटी, फलफूल, भान्साबाट आउँथ्यो ।


किरिया बसेका छोराहरूले भने आफैं पकाएर खान्थे, ग्यास चुलोमा । छोराहरू ठूलो गद्दा

बिछ्याएर भुइँमा थिए । चिसो लाग्छ भनेर वृद्ध भने खाटमै सुतेका थिए । उनीहरूले तेस्रो दिनदेखि सिधेनुन खान थालेका थिए । ‘स्वास्थ्यमा खराबी आयो भने झन् असर पर्छ । मृत्यु हुने मानिसलाई सम्मानसँग सम्झने हो, बिरामी त हुनुभएन,’ उनीहरू भन्थे ।


काठमाडौं बाहिरको एक गाउँमा अर्की एक साथीका ८० वर्षीय बुबाको मृत्यु भयो । म समवेदना दिन गएँ । पतिको मृत्युपछि ७५ वर्षीया पत्नीले भुइँमा ओछ्यान लगाएर सुत्नुपरेको रहेछ । जाडोमा एउटा धोतीमा ओढ्ने मात्र ओढेर । ‘सिलाएको लुगा लगाउन नहुने भएकाले अन्य तातो लुगा लगाउन मिलेन,’ मेरी साथीले असन्तुष्टि सुनाइन्, ‘आमालाई घुँडा दुख्ने समस्या छ, चिसोले उहाँलाई खत्तमै पार्ने भो । त्यसमाथि धारामा गएर प्रत्येक दिन कपाल र जिउ पानीले पखाल्नुपर्ने रे । आमाले आफैं भात पकाउनुपर्ने रे । नुन खान नहुने । भाँडा आफैं माझ्नुपर्ने रे । म त दिक्क भएँ ।’


साथीले आँखाभरि आँसु पारेर भनिन्, ‘किरियामा बसेका बेला मोबाइलमा फोन गर्न हुने रे, टीभी हेर्न हुने रे । मेरी वृद्ध आमालाई कसैले मद्दत गर्न नहुने रे । भुइँमै सुत्नु पर्ने रे । खुट्टा र जिउ दुखे पनि सुत्नु पर्ने रे । यसरी पनि कतै धर्म हुन्छ र ?’


मैले ३५ वर्षअघिको घटना सम्झिएँ । मेरा बुबाको मृत्युपछि मेरी आमा एक वर्षसम्म भुइँमा सुत्नुभयो, घरबाट बाहिर निस्कनुभएन । मेरा अर्का साथीका बुबालाई पनि सम्झें । उनी पत्नीशोकमा डुबेका थिए तर उनले भुइँमा सुत्नुपरेको थिएन, आफंैले पकाएर खानु र भाँडा माझ्नुपरेको थिएन । किनभने स्वास्नीले लोग्नेको किरिया बस्नैपर्ने नियम छ, लोग्नेले भने श्रीमतीको किरिया बस्नै पर्दैन । किन धर्मले शोकमा पनि विभेद गरेको होला ! शारीरिक कष्ट महिलाले मात्रै सहनुपर्ने किन ?


मेरी साथी भन्दै थिइन्, ‘म मेरा छोराछोरीलाई मेरो मृत्युपछि कसैले पनि यसरी किरिया बस्नुपर्दैन भन्छु ।’ हुन पनि किरियामा बस्दा बिरामी भएकी उनकी आमा निमोनिया भएर ६ महिनामा बितिहालिन् । ‘मेरी आमाले चिसोमा बस्नु नपरेको भए, चिसो पानीले नुहाउनु नपरेको भए, आफंैले भात पकाउनु नपरेको भए उनको यति चाँडै मृत्यु हुँदैनथ्यो । अझ केही समय बाँच्ने, तीर्थव्रत गर्ने आमाको इच्छा पूरा गर्न सकिनँ,’ साथी भन्थिन् ।


हामीले यस्तो गलत संस्कार र विभेदको खुलेर विरोध गर्न किन सकेनौं ? धार्मिक ग्रन्थमा लेखिएको कुरालाई समयसापेक्ष परिवर्तन गर्नुपर्छ भन्ने हामी स्वीकार गर्न सक्दैनौं । धार्मिक गुरुजीहरू आफू भने समयसापेक्ष परिवर्तन भइसकेका छन् । उनीहरू श्राद्ध, पास्नी, विवाह आदि धार्मिक संस्कार कम्प्युटरबाट गरिदिन्छन् ।


अमेरिकामा जन्मेका शिशुको न्वारन र पास्नी नेपालबाट भिडियो अन गरेपछि हुन्छ । कतिले दसैंमा त्यसरी नै टीका लगाउँछन् होला । पुराणमा बसेका बेला फोन आए पण्डितजी मन्त्र बीचमा रोकेर कुरा गर्छन् । फोनमा कुरा सकेपछि फेरि मन्त्र पढ्न सुरु गर्छन् । यो धर्मविरुद्ध काम हुँदैन । पतिका नाममा महिलाले अति दु:ख पाएर किरिया बस्नुपर्ने संस्कार बदलौं भन्दा किन धर्मविरुद्ध हुने ?


धर्मले सबै मानिसको आत्मा एकै हो भन्छ । पुरुष मर्दा उसको आत्माले शान्ति पाओस् भनेर महिलाले दु:खपूर्वक किरिया बस्नैपर्ने हो भने त्यत्तिकै महिलाको आत्माले शान्ति पाओस् भनेर पुरुषले किन उनका लागि किरिया बस्नु नपर्ने ?


महाभारतकी द्रौपदी, रामायणकी सीता, धार्मिक ग्रन्थकी सती सबैले पतिका लागि दु:ख पाउनैपर्ने अवस्था किन अन्त हुन नसकेको हो ? महिलाले पतिको मृत्युपछि पनि शारीरिक, मानसिक यातना पाएको धर्मगुरुले किन चाहेका हुन् ? के धर्मले दु:खमा पनि महिला र पुरुषको आत्मामा विभेद छ भनेर लेखेको छ ? हामीले प्रश्न गर्ने बेला आएको छ । मानवको सजिलो र सुखका लागि बोल्नु धर्मविरोधी हुनु होइन ।

प्रकाशित : मंसिर २७, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?