१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कालिजको नियतिमा कांग्रेस

वडादेखि केन्द्रसम्म नेताका सन्तति । जताततै पारिवारिक नेतृत्व स्थापित हुँदैछ । केही दशकमा कांग्रेसमा नेता सन्तानबाहेक अन्यलाई आरक्षण गर्नुपर्ने अवस्था आउन सक्छ ।
ध्रुव सिंखडा

काठमाडौँ — गाउँमा छँदा सिकारीहरूले कालिजबारे भनेको सुनेको थिएँ, ‘कालिज चराले बेजोडको तीन वेग हान्छ । तेस्रो वेगपछि ऊ फतक्कै गल्छ र पखेटा फट्फटाउँदै लुकेर प्राण बचाउने प्रयास गर्छ । त्यसपछि कस्तो वेग हान्छ त्यसैले उसको भावी जीवन आंकलन गर्छ ।’ कांग्रेस अहिले यस्तै नियति व्यहोर्दै छ । कांग्रेस सत्तामा छैन । प्रतिपक्षमा हुँदा पनि कहाँ छ ? अत्तोपत्तो छैन ।

कालिजको नियतिमा कांग्रेस

गिरिजाप्रसाद कोइरालाले धेरै गल्ती गरे पनि कांग्रेसको प्राण बचाएर मरे । ०६३ सालको जनआन्दोलन हाँके । नारायणहिटीबाट राजा ज्ञानेन्द्रलाई बिदाइ गरे । त्यो क्षण उनले राजतन्त्र र धर्मराज्यलाई काँध थापेको भए ज्ञानेन्द्रसँगै कांग्रेस इतिहास बनिसक्थ्यो । ज्ञानेन्द्र रानीवन पसे । राजतन्त्र र धर्मराज्यको वकालत गर्ने कांग्रेस बुद्धनगरतिरको हिन्दुवादी कांग्रेस कार्यालयमा सीमित हुन्थ्यो । १० वर्षअघिसम्म कांग्रेसले काँध थापेको राजतन्त्र आज छैन, कांग्रेस छ । वेग छैन । वेग क्षिण भएको कालिजजस्तै ।


कांग्रेसको तीन वेग

कांग्रेसले बेजोडको तीन वेग हानिसकेको छ । एकै पुस्ताका तीन फरक नेताले कांग्रेसलाई तीन पटक वेगवान् बनाए । ०७ सालको कांग्रेसको पहिलो वेग बेजोडकै थियो । हुकुमी शासनविरुद्ध नेपाली क्रान्तिको ‘लङ रेन्ज’ को मार थियो । क्याप्टेन थिए–बीपी कोइराला ।

‘गिरिजाप्रसादले कम्युनिष्टसित मिलेर राजतन्त्र फाले’ भन्ने कांग्रेसहरूले हेक्का राख्नुपर्ने के हो भने कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले २०४६ सालमै कांग्रेसलाई वाममाेर्चासित मिलेर गणतन्त्रमा प्रविष्ट गराइसकेका थिए । भट्टराई पार्टी सभापति र सिंह जनआन्दोलनका नायक थिए । सिंहको नेतृत्वमा लोकतन्त्र, समानता र खुला समाजका लागि कांग्रेसले दोस्रो वेग हान्यो ।

दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले संवैधानिक मर्यादा उल्लंघन गरी शासन गर्न थाले । बूढा गिरिजाले त्यसो नगर्न भन्दा उल्टै थुन्ने तानाबाना गरेको चाल पाएपछि सशस्त्र विद्रोह गरिरहेका माओवादीसित मिलेर आन्दोलन चर्काए । जनआन्दोलन दुईको अगुवाइ गरे । २०६५ जेठ १५ गते संविधानसभा पहिलो बैठकको रोष्ट्रमबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे । यो कांग्रेसको तेस्रो वेग थियो । अहिले कांग्रेसको वेग बसेको छ ।


सामूहिक नेतृत्व !

कांग्रेस महासमतिको मुखैमा छ । विधान संशोधनको सरगर्मी चढेको छ । एकथरी कांग्रेस सामूहिक नेतृत्व आवश्यक ठान्छन् । वामपन्थी पार्टीजस्तो ‘मिलिटेन्ट पार्टी’ बनाउन चाहन्छन् । अर्काथरी शक्तिशाली सभापति आवश्यक देख्छन् । विगतमा जस्तै सभापतिको निर्णायक भूमिकाको वकालत गर्छन् । रस्साकस्सी छ । हुनुपर्ने के हो त ?

कांग्रेस बीपी कोइरालाको अपीलबाट जन्मेको पार्टी हो । बीपीको अपील नै कांग्रेसको भ्रूण थियो । अँध्यारो कोठामा एक्लै जन्मेको थिएन त्यो भ्रूण । सार्वजनिक अपीलसहित धेरैबीच जन्मेको थियो । कांग्रेस भन्नु नै ‘मास’ हो । दृष्टिकोणसहितको नेतृत्वले हाँक्ने मध्यमार्गी धार हो ।

गुट, उपगुट र भित्रियाहरूको झुन्ड होइन । तन्नमदेखि अमिरसम्मको भावना हो कांग्रेस । त्यसलाई मुखरित गर्ने मध्यम हो नेतृत्व । कांग्रेस नेतृत्व संख्याको जोडघटाउभन्दा पनि आमनागरिकको चाहनाको चेहरा हो । १९४६ अक्टोबर २ मा बीपीले पटनाबाट प्रकाशित हुने सर्च लाइटमा पार्टी गठनको आवश्यकताबारे अपील गरेपछि नवजवानहरू भेटघाट र छलफलमा जुटेका थिए ।

कांग्रेसको परम्परा र शैलीले ‘मास बेस’ नेताकै खोजी गर्छ । सभापतिलाई लोकतन्त्रको मियो ठान्छ । सामूहिक नेतृत्वको कांग्रेस पार्टी परम्पराले चिन्दैन । ‘मिलिटेन्ट पार्टी’ बनाउने कि ‘मास बेस’ ?

त्यसैअनुसारको पार्टी संरचना निर्माणबारे बहस भइरहेछ । ‘मिलिटेन्ट’ बन्दा कांग्रेस खुम्चन्छ । जुन अहिले भइरहेछ । ‘मास बेस’ पार्टीलाई ‘मास बेस’ नेता नै चाहिन्छ ।

पार्टी सभापतिमा धेरै अधिकार दिँदा तानाशाही हुनसक्ने चिन्ता सामूहिक नेतृत्व पक्षधर कांग्रेसको बुझाइ छ । लोकतान्त्रिक पार्टीका सभापति तानाशाही हुन खोजे आफैं सिद्धिन्छन् ।

सभापतिको भूमिका कमजोर बनाएर सामूहिक नेतृत्वमा जानु कांग्रेसको पहिचान मेटाउनु हो । सामूहिक नेतृत्व थप कलह र झगडाको बीउ हो । सामूहिक नेतृत्वमा गएको भोलिपल्ट पार्टीमा वैधानिक बहुध्रुव जन्मिन्छ । अहिलेभन्दा दोब्बर, तेब्बर गुट पैदा हुन्छन् । गुटका सबै नेता सभापतिझैं प्रस्तुत हुन थाल्छन् ।

धेरै वर्ष सत्ता र पार्टी राजनीति गरेर थाकेका, पाकेका र जनताको नजरबाट टाढिँदै गएकाहरूको प्रयास हो– सामूहिक नेतृत्वको माग । जो ‘मास’ मा कमजोर छन् तिनको फेरि नेता बन्ने चालबाजीको चौतारी बन्छ सामूहिक नेतृत्व प्रणाली ।


को बूढो, को तन्नेरी ?

कांग्रेसमा क्रान्तिकारी पुस्ता सकिएको छ । पछुवा पुस्ता सत्तामा पुग्ने होडबाजीमा छ । बूढो कि तन्नेरी ? रोगी कि निरोगी ? धाराप्रवाह बोल्न सक्ने कि नसक्ने ? कस्तो नेतृत्व चाहिन्छ ? छान्ने जिम्मा सीमित कार्यकर्तालाई होइन लाखौं समर्थक, शुभेच्छुकलाई दिनुपर्छ । जसले ‘मास’ लाई नेतृत्व दिन सक्छ उही नेता बन्छ ।

अन्य सर्त र सम्झौता बकबास हुन् । नेतृत्वका लागि उमेर हद तोक्ने होइन लोकप्रियताका आधारमा निर्वाचित हुने पद्धति आवश्यक छ । कोही सदस्य सक्रिय छ र ‘मास’ ले नेता मान्छ भने उसलाई उमेर पुग्यो भनी पार्टी जीवनबाट बिदाइ गर्नेहरूले आफूलाई कसरी लोकतन्त्रवादी भन्ने ?

कांग्रेसले पटक–पटक महानिर्वाचन जित्छ । सरकार बनाउँछ । पार्टी र सरकारबीच झगडा भई सरकार पतन हुन्छ । २०५१ र ०५६ सालमा यही नियति बेहोर्नुपर्‍यो । पार्टी प्रमुख जो हुन्छ उसैले निर्वाचन हाँक्ने र जिते सरकार चलाउने, हारे पार्टी प्रमुखबाट राजीनामा गरेर अरूलाई मार्गप्रशस्त गर्नु वेश हुन्छ । यस्तो विधिले सरकार–पार्टीबीच किचलो र पार्टीमा उमेर र नेतृत्वको झगडालाई समाप्त गरिदिन्छ । पार्टी पेवा बन्दैन, सबैको बन्छ । होइन भने निकट भविष्यमा कांग्रेस ‘परिवार दल’ मा खुम्चने अर्को खतरा छ ।


‘परिवार दल’

वडादेखि केन्द्रसम्म नेताका सन्तति । जताततै पारिवारिक नेतृत्व स्थापित हुँदैछ । केही दशकमा कांग्रेसमा नेताका सन्तानबाहेक अन्यलाई आरक्षण गर्नुपर्ने अवस्था आउन सक्छ । अहिलेझैं नेता/कार्यकर्ताले पार्टी पदाधिकारी चुन्ने हो भने कांग्रेस ‘परिवार दल’ कै रूपमा सीमित हुनेछ ।

‘मास पार्टी’ हुने छैन । ‘मास’ चरित्र बचाउन र ‘परिवार दल’ को चंगुलबाट फुत्काउन कांग्रेसले पार्टी निर्वाचन पद्धति बदल्नु उपयुक्त हुन्छ । हरेक वर्ष निश्चित समय तोकेर सबै नेपालीलाई कांग्रेसको सक्रिय सदस्य बन्न अपील गर्न सक्छ । जसरी बीपी कोइरालाले कांग्रेस जन्माउन मास अपील गरेका थिए ।

के पार्टी नेताका सन्ततिले राजनीति नै गर्न नपाउने त ? त्यस्तो पनि हुनु हुँदैन । तिनको वैयक्तिक स्वतन्त्रता हनन हुनुहुन्न । कांग्रेसले कसैलाई पनि राजनीति गर्नबाट रोक्नु अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नु हुन्छ । मासले रुचाए नेताकै सन्तान पनि नेतृत्वमा पुग्न सक्छन् ।

त्यस्तो नेतृत्वलाई परिवारवादमा सीमित गर्नु पर्दैन । कसैकसैले भन्छन्– पार्टी भनेकै विचार मिल्नेहरूको परिवार हो । त्यो बृहत् रूपमा हो । नेताकै सन्ततिले पार्टी नेतृत्व घेराबन्दी गर्ने अहिलेको जस्तो अवस्थाका लागि होइन ।

मासरूपमा सदस्यता बाँडेर नेतृत्व चयन गर्न हुन्न भन्नेहरू तर्क गर्छन्– यसले पार्टीमा भद्रगोल र भाँडभैलो सिर्जना गर्छ । पार्टीका त्यागीहरू पाखा लाग्छन् । पार्टी ठेकेदारहरूले कब्जा गर्छन् । के अहिले कांग्रेस ठेकेदारहरूको कब्जामा छैन ? के अहिले बलदेव शर्मा मजगैंयाँहरूजस्ता पार्टीमा टिक्न सकेका छन् र ? गणेश प्रवृत्तिका कार्यकर्ताले भन्दा ‘मास’ ले विवेक पुर्‍याउनेछन् ।

कांग्रेसले चिनियाँ कम्युनिष्ट पार्टीको सिको गर्न सुहाउँदैन । नेपाल कम्युनिष्ट पार्टीको नक्कल गर्दै सामूहिक नेतृत्व र कार्यकर्ताले चल्ने (क्याडर बेस) पार्टी पद्धति अपनाउनु पनि हितकर छैन । ‘मास’ मै फर्केर गुमेको छवि फर्काउन सक्छ ।

केही मूलभूत विषयमा कांग्रेस स्पष्ट हुनु जरुरी छ ? धर्म, समाजवाद, वर्ग अर्थात् समाजबारे स्पष्ट भएर मासमा जाँदा कांग्रेसको आकर्षण बढ्छ ।

१. धर्म : धर्मराज्यको चक्करमा फस्नु हुन्न । महामन्त्री शशांक कोइराला हिन्दुराज्य स्थापनाको अभियानमा छन् । उनको यो अभियानले कांग्रेसलाई कमजोर बनाउँछ ।

२. समाजवाद : संविधानमा समाजवादउन्मुख राज्य उल्लेख गर्न कांग्रेस कसरी सहमत भयो ? कस्तो हो उसको समाजवाद ? अहिलेजस्तै बाह्य मुलुकसित मागेर जसले सक्छ उसले उपभोग गर्ने समाजवाद कि ? उत्पादनसहित समतामूलक वितरण प्रणालीमा आधारित समाजवाद ?

निमेषभरमा विश्व गतिविधि चियाउने पुस्तालाई आवश्यक समाजवादबारे कांग्रेसको दृष्टिकोण के ? सूचना प्रविधि र जैविक प्रविधिको विकाससित कसरी जोडिन्छ कांग्रेसको समाजवाद ? समाजवादलाई न त आदर्शवादको खोल ओढाएर ढाक्न सकिन्छ न राष्ट्रवादको परिधिमा सीमित गर्न । यो व्यापक र अन्तरनिर्भर छ ।

३. संघीयता : अहिले कांग्रेसमा वर्गचेत हराएको छ । समुदायको आवाज मधुरो छ । राष्ट्रवाद मौन छ । मधेस मुद्दामा अल्मलिएको छ । कांग्रेस र मधेसको मिलनविन्दु मध्यमार्ग हुनसक्छ । मासबाट अनुमोदित नेतृत्वले कांग्रेसलाई मात्र होइन मुलुकलाई नै जोड्न सक्छ ।


[email protected]

प्रकाशित : मंसिर २७, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?