विवाह मेलामा राजनीतिक छाया
काठमाडौँ — जनक र जानकीको नगरी जनकपुरमा यतिखेर उत्सवको बेला छ । राम र सीता विवाहको सम्झनामा मनाइने ‘विवाह पञ्चमी’ मेला लागेको छ । जनकपुर इतिहास र परम्पराभन्दा पुरानो हो । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वले यो सहर अद्वितीय छ । संस्कृतिको अभिन्न हिस्सा हो, सीताराम कथा ।
महिलाले रचेका संस्कार गीतहरू शताब्दीयौंदेखि लोककण्ठमा सजिएका छन् र विभिन्न अनुष्ठानमा गुञ्जिने गर्छन् । यसले जनमानसमा अमिट छाप छाडेको छ । रामचरित मानसमा जनकपुरको वर्णन गर्दै भनिएको छ, ‘बनै न बरनत नगर निकाई ।’ यतिखेर जनकपुर यसैगरी सजिएको छ ।
परम्परा र प्रेरणा
ज्यूँदो इतिहासले जिज्ञासा जगाउँछ, प्रेरणा दिन्छ । इतिहास–परम्परा आफंैमा ज्यूँदो रहदैन, त्यसलाई जिवित राख्नै पर्छ ।
आफ्नो अतीतलाई ज्यूँदो राख्न चाहने समाजले यो दायित्वको निर्वाह गरिराखेको हुन्छ । उसले अतीतलाई सम्झिन्छ, तिनलाई जोड्छ र एउटा सुरक्षित आगतको खोजी गर्छ । यही मनोविज्ञानमा टिकेर जनकपुरले विवाह पञ्चमीलाई उत्सवको रूपमा बर्सेनि आत्मवरण गर्छ ।
सीताराम विवाहको सन्दर्भमा जनकपुरसँगै भारतको अयोध्या जोडिन्छ । आधुनिक जनकपुरमा विवाह पञ्चमी मेला लाग्ने क्रम सुरु भएदेखि नै अयोध्याका साधुसन्त कुनै न कुनै रूपमा आउने गरेका हुन् । अयोध्यामा जनकपुरका कुटी–मठहरूको समेत विशेष सम्बन्ध छ । जनकपुरबाट नजिकै रहेको भारतीय भूमि सीतामढीलाई सीताको जन्म भएको ठाउँ मानिन्छ । त्यहाँ पनि विवाह पञ्चमी मेला लाग्छ ।
बढ्दो उदारवादसँगै फैलिँदो धार्मिक भव्यताले प्राय: सबै मेला, उत्सव, पर्वको स्वरूप फेरिँदै गएको छ । जनकपुरको पहिचानका रूपमा रहेको विवाह पञ्चमी मेलाको ढङ्गढाँचा निकै बदलिएको छ । सांस्कृतिक अनुष्ठानहरूको वैभव चुलिएको छ । यस पटकको मेला बहुचर्चित बनेको छ । यसको चर्चा नेपालभित्र जति छ, त्यत्तिकै भारतमा पनि छ । त्यसको कारण भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी जन्तीको अगुवाइ गर्दै आइपुग्नु हो ।
जनकपुरवासीको ठूलो हिस्साले योगीको भ्रमणलाई सहरको भविष्यसँग जोडेर हेर्छ । प्रदेश २ सरकारले योगीको स्वागतको मौका छोपी सांस्कृतिक अनुष्ठानलाई स्वामित्व दिएको छ । परम्परादेखि रामजानकी मन्दिर र राम मन्दिरको समन्वयमा गरिने कार्यक्रममा प्रदेश सरकार गाँसिन पुगेको हो । यसले धार्मिक सामञ्जस्य र सद्भावको सन्देश दिएको धेरैको ठम्याइ छ ।
अर्कोतर्फ, प्रदेश सरकारले कस्तो मूल्य र मान्यता आत्मसात गरेको छ र त्यसले आउने दिनमा के कस्तो पक्षलाई प्रभावित र विकसित गर्छ भन्ने विषयमा विवेचना गर्न थालिएको छ । विवाह पञ्चमीका दिन प्रादेशिक बिदा दिनु ठीकै हो तर भारतीय समकक्षीको स्वागतको निहुँमा प्रदेश सरकारको परिसरमा ‘भण्डारा’ आयोजना गरिनु कति विवेकसंगत हुन्छ र यसले कस्तो लोकतान्त्रिक परम्परालाई उठान गर्छ, भोलि यस्तै अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिँदा बहुसंख्यक वर्गले यसलाई कुन रूपमा लिने भन्नेजस्ता टिप्पणी पनि सुरु भएका छन् ।
प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले विवाह पञ्चमी मेला व्यवस्थापनमा विशेष चासो देखाएका थिए तर यो आफैंमा अपुग देखियो । जसरी मेलाबारे बहुप्रचार भयो र सहभागिता देखियो त्यसअनुसार तीर्थालुहरूका निम्ति बन्दोबस्ती हुन सकेन ।
आउँदा वर्षहरूमा विवाह पञ्चमी महोत्सवमा वैभव थपिँदै जाने हो भने आउने यात्रीहरूका निम्ति सुविधाको अस्थायी प्रबन्ध गरिनुपर्छ । ठूलो संख्यामा पर्यटक भित्रिने यो विशेष अवसरमा संघीय सरकारले समन्वय र सहकार्य देखाउनुपर्छ ।
जन्तीको बहुआयाम
जन्ती पहिला पनि आइरहन्थे । भारतमा हिन्दुत्वले राजनीतिक उभार लिन थालेपछि भने जन्तीलाई संगठित स्वरूप दिने र यस सांस्कृतिक अनुष्ठानलाई राजनीतिक प्रतिच्छाया दिने सुनियोजित यत्न हुँदै आएको छ । योगीको नेतृत्वमा त्यही श्रृङ्खलाको उत्कर्ष रूप देखिएको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सुरुमा केही प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरे पनि अयोध्याबाट आउने जन्तीलाई सीमा नाकामै गएर स्वागत गर्न आफ्ना जिल्लाका कार्यकर्तालाई अह्राए । राष्ट्रिय जनता पार्टीको शीर्ष नेतृत्व तह स्वागतमै देखियो ।
जनकपुरमा एकथरीले विवाह पञ्चमीमार्फत अयोध्या र जनकपुरको सम्बन्ध पुनर्भाषित हुन खोज्दैछ र त्यसैको आलोकमा जनकपुरको रमझम सन्निहित हुनेछ भन्ने सोच राख्छन् । अर्काथरीले जे जुन तरिकाले आयोजना भइराखेको छ त्यसले हिन्दुत्व मनोविज्ञानलाई उत्साहित गरेको बताउँछन् ।
उता भारतीय राजनीतिमा राम मन्दिरको मुद्दा प्रकट भएदेखि नै राम कथासँग जोडिएका ठाउँहरू खोज्ने र जातीय अस्मितासँग त्यसलाई जोड्ने उपक्रम हुँदै आएको छ । त्यही बेलादेखि ‘जनकपुर’ उनीहरूका लागि साध्य र साधन भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आउने पटक–पटकको चाहना र अन्तत्वोगत्वा जनकपुर भएर नेपाल यात्राको सुरुवात र यतिखेर उनकै दल भारतीय जनता पार्टीका मुख्यमन्त्री योगीको जनकपुर भ्रमणको कूटनीतिक एवं राजनीतिक सन्देश लुकेको छैन ।
भारतका पाँच प्रदेशहरूको विधानसभा चुनाव सत्तारुढ भाजपाका लागि प्रतिकूल रहेका बेला योगी आएका छन् । संघीय सत्ता दिल्लीका लागि आउँदो वर्ष हुने चुनावको ‘सेमिफाइनल’ का रूपमा रहेको यो चुनावमा भाजपा कमजोर हुनुलाई कतिपयले मोदीको लोकप्रियता खस्किँदै गएको प्रमाणका रूपमा लिएका छन् । योगीले बरियातीका रूपमा आएर उत्तर भारतमा आफ्नो दलप्रति आकर्षण थप्ने एउटा मौकाका रूपमा लिएको बुझिन्छ ।
जनकपुर यात्राले मोदी र योगीलाई कत्तिको राजनीतिक लाभ मिल्छ, त्यसका लागि केही समय कुर्नैपर्छ तर यो भ्रमण नेपाल र भारतबीच वैवाहिक सम्बन्धमा ह्रास आउँदै गएका बेला भएको छ । सीता–राम विवाहलाई यी दुई मुलुकबीच ‘रोटी–बेटी’ सम्बन्धको आदि कथा मानिन्छ । वैवाहिक सम्बन्धमा के कस्तो कारणले कमी हुँदै आएको छ भन्ने बारेमा दुईटै पक्षबाट गम्भीर मन्थन हुन जरुरी छ ।
वैवाहिक सम्बन्ध र खुला सीमाले नै यी दुई मुलुकबीचको सम्बन्धमा भावनात्मक लगाव दिएको छ । गतिशील सीमाको अवधारणा भारतीय प्रधानमन्त्री मोदीले राखे तर उनीद्वारा वाचा गरिएका कतिपय काम अधुरै छन् । सहज आवागमन र जनस्तरको सहज संवादको अवसर फराकिलो नबनाइकन सीता–राम विवाह गाथाप्रतिको सच्चा आदराञ्जली हुँदैन ।
विमर्श उत्सव
नेपालका विभिन्न संस्कृतिमा राम कथाको अस्तित्वको लामो परम्परा छ । भारतमा समाजवादी नेता राममनोहर लोहियाले ‘रामायण मेला’ को अवधारणा ल्याएका थिए । नेपालमा पनि डेढ दशकअघि चिन्तक प्रदीप गिरी, लेखक कमलमणि दीक्षितहरूले रामायण मेलाको सोच ल्याउनुभएको थियो ।
उहाँहरूले यसलाई नेपालका विभिन्न भाषामा रहेका राम कथाहरूको आपसमा अन्तरक्रिया गराउने, लोकसंस्कृतिमा रहेका राम कथाको खोजीनीति गर्ने र राम कथालाई अहिलेको समय र समाजसँग जोडेर हेर्ने महोत्सवका रूपमा लिनुभएको थियो ।
परम्पराको स्मृति आफैंमा तागत दिने पक्ष हो । वर्तमानका समस्या र सरोकारसँग जोड्दा परम्पराले पोषणको काम गर्छ । हरेक संस्कृति धर्म, भाषा र जातीयता, रहनसहन, खानपिन आदि जीवनका यावत् पक्षसँग सम्बद्ध रहन्छ । रामायण मेला राम कथाको विशेषता र विविधताउपर केन्द्रित रहने बताइए पनि त्यो अनुष्ठानले निरन्तरता पाउन सकेन ।
जनकपुरलाई विमर्शको नगरी भनिन्छ भने यतिखेर उसले रामायण मेलाको आयोजना गरेर विवाह पञ्चमीलाई ‘विमर्शको मेला’ का रूपमा रूपान्तरित गर्न सक्छ । सीताराम कथालाई अनेक कोणबाट हेर्न, बुझ्न र जोडिन उत्प्रेरित गर्न सक्छ । आधुनिक समाजले आफूभित्र एकता र सामञ्जस्यको सूत्र खोजी गर्न परम्परालाई गतिशील उत्सका रूपमा आत्मसात गर्न सक्नुपर्छ ।
विवाहलाई पवित्र संस्कार मानिएको छ । यो संस्कार पैसा र सम्पत्तिको आसपास मात्र भौंतारिरहन्छ भने यसले कस्तो परिवेशको निर्माण गर्छ ? यस क्षेत्रमा विवाहको समयमा महिलाले सामान्यतया एउटा गीत समवेत स्वरमा गाउँछन्– सीता सयानी भई सकी अर्थात् बिहे गर्न लायक भइसकिन् । राजा जनकको चिन्ता छ कि लायक योग्य बेहुला पाइएन भने कतै सिङ्गो जीवन सीताले कुमारी रहनुपर्ने हो कि ! गीतको पंक्ति छ, ‘सीता के सकल देखी/झखथिन जनक राजा/आब सीता रहली कुमारी गे माई ।’
अहिलेका सीताहरूको बिहे दाइजोको कारण अभिभावकका निम्ति कम चिन्ताको विषय छैन । दाइजोका नाममा बेहुला पक्षबाट बेहुली पक्षको दोहन गरिन्छ । आधुनिक सीताले आफ्नो अनुकूलको वर स्वयंवर गर्नका लागि अनेक छेकबार व्यहोर्नुपर्छ । यस्ता परिस्थितिलाई निमिट्यान्न नपारेसम्म जनकपुरले विवाह पञ्चमीलाई उत्सवभन्दा आडम्बरकै रूप दिइरहेको मानिन्छ ।