कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

न्यायका नाममा नाटक

प्रहरी संगठनभित्र राजनीतिको ग्रहण लागेपछि अपराध अनुसन्धानमा नाटक मात्र मञ्चन हुन्छ ।
रामेश्वरी पन्त

काठमाडौँ — प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे चार महिनासम्म पनि बलात्कारी र हत्यारा फेला पार्न सकेको छैन । अनुसन्धानका नाममा पटकपटक समिति गठन गर्नेदेखि जोकसैलाई बलात्कारी र हत्यारा हो भन्दै समात्ने, थुन्ने र यातना दिने अनि फेरि ‘निर्दोष रहेको भन्दै’ छाडिदिने जस्ता कार्यले निरन्तरता पाइरहेको छ । 

केही दिनअघि मात्र निर्मलाको बलात्कार र हत्या गरेको आशंकामा कञ्चनपुरकै दुई युवकलाई प्रहरीले पक्राउ गर्‍यो । अपराधी हुन् भनेजस्तो गरी उनीहरूलाई काठमाडौं ल्याइयो र दोषी पत्ता लागे भनेर हल्ला चलाइयो । सरकार र सत्ता पक्षकै केहीले भने, ‘अब छिट्टै सार्वजनिक गर्छौं ।’ तर ती दुई युवक निर्मलाको बलात्कारपछि हत्या भएको दिन कुखुरा चोरेको अभियोगमा प्रहरी हिरासतमा रहेको खुल्यो । त्यसअघि पनि प्रहरीले अर्का एक निर्दोषलाई अपराधी साबित गर्न खोजेको थियो ।


निर्मला हराएपछि खोजिदिन भन्दै उनकी आमा दुर्गादेवीले हारगुहार गर्दा प्रहरीले देखाएको उदासीनता र निर्मलाको शव सुरक्षित राखेर अनुसन्धान गर्नुपर्नेमा प्रहरीबाटै यौनांग र सुरुवाल धोइदिनुले यो घटनामा कुनै रहस्य छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यो घटना रहस्यमय नभइदिएको भए र लागू पदार्थको दुव्र्यसनमा लागेका सामान्य युवाले बलात्कार गरी हत्या गरेको भए प्रहरीले प्रमाण नष्ट किन गर्नुपर्थ्याे ?


बलात्कारपछि हत्या गरिएकी निर्मलाको शव घोप्टो पारेर पानीमा फालिएको थियो । घोप्टो पार्दा योनीबाट निस्कने स्वाबसँगै बलात्कारीको वीर्य पनि पानीमा बगेर नष्ट हुन्छ भन्ने ज्ञान बलात्कारीलाई भएकैले त्यसरी फालिएको हुनुपर्छ । शव जलाउन निर्मलाका बाबुको नक्कली हस्ताक्षर गर्नु प्रहरीको असावधानी मात्र हो भनेर कसैले विश्वास गर्न सक्ने अवस्था छैन ।


जनदबाबपछि प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलगायत केहीलाई निलम्बन तथा बर्खास्त गरियो तर पटक पटक गठन गरिएका समितिले ‘बलात्कारका प्रमाण किन र कसलाई जोगाउन नष्ट गरियो’ भनी उनीहरूलाई प्रश्न गरेको सुनिएको छैन । प्रहरीबाट लापरबाही भएकै होइन भने एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई किन बर्खास्त गरियो ?


अनुसन्धान तिनैबाट किन सुरु हुँदैन ? निर्मला घटनामा नेपाल प्रहरी लाचार किन ? प्रहरी प्रमुख मात्र होइन, सरकारका मन्त्रीहरूले पनि प्रमाण नष्ट भइसकेको हुनाले अनुसन्धानमा समस्या भयो भन्दै भाषणबाजी गर्न सुहाउँछ ?


निर्मला घटनाको अनुसन्धान समितिबाट ‘शक्तिशालीबाट दबाब आएको’ र ‘ज्यानको खतरा भएको’ भन्दै राजीनामा दिएका वीरेन्द्र केसी के गर्दै छन् ? को हो त्यो दबाब दिने शक्तिशाली ? प्रहरी संगठनभित्रकै केहीले गुनासो गरेको सुनिन्छ, ‘अपराध नियन्त्रण र शान्ति स्थापनामा ख्याति कमाएको प्रहरी संगठन आज एउटा घटनाले बदनाम भइरहेको छ, आम नागरिकले यो कलंकको दाग हरेक प्रहरीको बर्दीमा देख्न थालेका छन् । हामी सबैले लज्जाबोध गर्नुपर्ने अवस्था आएको छ ।’


प्रहरी संगठनभित्र राजनीतिको ग्रहण झन् खग्रास हुँदै गइरहेको छ । संगठनभित्र रहँदा बोल्न नसक्नेहरूले सेवा निवृत्त भएपछि विभिन्न माध्यमबाट यो कुरा बाहिर ल्याउने गरेका छन् । प्रहरी संगठनभित्र राजनीतिको ग्रहण लागेपछि अपराध अनुसन्धानमा नाटक मात्र मञ्चन हुन्छ । वास्तविक अपराधीका ठाउँमा डमी खडा गर्ने प्रयत्न हुन्छ । जनताका आँखामा छारो हाल्न निर्दोषलाई बलिको बोको बनाउने प्रयास गर्नु अर्को ठूलो अपराध हो ।


न्याय माग गरेर अनशनमा बसेका निर्मलाका बाबुले धैर्य गुमाए । उनको मानसिक सन्तुलन बिग्रियो । निर्मलाकी आमाका आँखाका डिलमा सुकेका आँसुले पनि यसरी नै धैर्य गुमायो भने तिनका छोरीहरूको अवस्था कस्तो बन्ला ? निर्मलाका बुबाआमाको पीडाको कल्पना गर्दा मात्र पनि हाम्रो मुटु छियाछिया हुन्छ ।


पीडा भोग्नेको मुटु झन् कस्तो भएको होला ? कसरी थामिएको होला ? कामना गर्छु, दुर्गादेवीको धैर्य नटुटोस् । निर्मलाको न्याय दिलाउन आम नेपाली नागरिकको साथ र आवाज निरन्तर रहिरहनेछ ।

निर्मला घटनासँग सरोकार रहेका भनिएका बम दिदीबहिनीलाई केरकार गर्दा तिनको ‘भविष्य’ को चिन्ता गर्ने प्रधानमन्त्रीलाई एउटी बालिकाको बलात्कारपछि भएको हत्याले पिरोल्न सकेको छैन ।


आशा र भरोसाका साथ नागरिकले मत दिएपछि प्रधानमन्त्री बनेका केपी ओलीको काम ‘ओठे जवाफ दिनु’ मात्र भएको छ । अबोध बालिकाबाट यौनप्यास मेटाएर तिनको जीवनलीला समाप्त पार्ने अपराधीलाई बचाउन प्रमाण नष्ट गर्ने गराउनेलाई जेलमा कोचेर सत्य तथ्य ओकल्न लगाउने आदेश दिन उनी किन सक्दैनन् ?


सरकार प्रमुख कुनै एउटा दल विशेषको मात्र नभएर आम नागरिकको अभिभावक हो । निर्मला हत्याकाण्डको अपराधीलाई कानुनको कठघराभित्र हुल्न प्रधानमन्त्री ओलीले ढिलो नगरून् । पञ्चायती शासन व्यवस्थामा नमिता सुनिता हत्याका अपराधी जोगाउन पूरै राज्यशक्ति लागेको थियो, गणतन्त्रमा पनि पञ्चायतको प्रेत देखिनु दूर्भाग्य हो ।

प्रकाशित : मंसिर २८, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?