कस्मेटिक बजारमा नियमन 

नेपाली बजारमा नक्कली कस्मेटिक्सको समस्या छ । बाहिर ब्रान्डेड खोल, भित्र अर्कै ।
अम्बिका गैह्रे, मनीष कर्ण

काठमाडौँ — भनिन्छ, मानिसको सुन्दरता उसको व्यवहार र आवेगमा हुन्छ, आवरणमा होइन । तर हामी आफ्नो आवरणको सुन्दरतालाई प्राथमिकता दिइरहेका हुन्छौं । सौन्दर्य सामग्री (कस्मेटिक्स) ले आवरण सजाउँदा एकातिर पैसा खर्च भइरहेको हुन्छ, अर्कोतिर स्वास्थ्यमा समेत असर पर्छ । 

औद्योगिक विकाससँगै माग र आपूर्तिमा आएको विविधताले मानिसको शरीरको रूप र आकार परिवर्तन गर्ने प्रविधिसमेत भित्रिएका छन् । सँगै, कस्मेटिक्सबाट मानिसको स्वास्थ्यमा परेको असरबारे मुद्दा विश्वभर उठिरहेका छन् ।

कस्मेटिक्समा शरीरलाई हानि गर्नेखालका भारी धातुजस्तै– लिड, मर्करी, आर्सेनिक, क्याडमियम, क्रोमियम, कोबाल्ट, निकेल भेटिनु विश्वव्यापी चासोको विषय बनेको छ । नेपाली कस्मेटिक्स बजारमा पनि केही यस्ता धातु भारी परिमाणमा भेटिएको तथ्य सार्वजनिक भएको छ ।

भारी धातु छालामा लामो समयसम्म रहिरहन्छ । यसले छालालाई मात्र असर गर्दैन, छालाबाट रगतले सोसेर यो भित्री शरीरसम्म फैलन्छ । लिड (सिसा) ले मस्तिष्क र स्नायु प्रणालीमा हानि गर्छ । यसले मानिसको व्यवहारमा असामान्य अवस्था निम्त्याउँछ । सिकाइ र सुनाइ मन्द बनाउँछ । गर्भवती र ६ वर्ष उमेरभन्दा सानो बच्चामा शरीरले लिड सोस्न सक्ने क्षमता बढी हुन्छ ।

मर्करी (पारो) ले स्नायु अथवा नसाको काममा प्रभाव पार्छ । कलेजो, मिर्गाैला र पिसाब नलीमा समस्या ल्याउँछ । मर्करी बढी मात्रामा छाला गोरो पार्ने क्रिममा हुन्छ । यसको प्रयोगले छालामा दाग आउने, रङ परिवर्तन हुने समस्या ल्याउँछ ।

क्याडमियमले मुटुरोग, कलेजोको रोग, हाड क्षय, उच्च रक्तचापजस्ता समस्या ल्याउँछ । संयुज्यता (प्लस ६) भएको क्रोमियमलाई ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ ले क्यान्सर गराउने तत्त्वका रूपमा राखेको छ । यसले छालामा एलर्जी गराउँछ, छाला रोग लाग्न सक्छ । आर्सेनिकले छालामा पाप्रा आउँछ, दाग बस्छ । यसले छालामा रक्तसञ्चारमा समस्या ल्याउनुका साथै फोक्सो, मिर्गाैला र कलेजोको क्यान्सर गराउन सक्छ ।

भारतमा पहिले आयात गरिएका कस्मेटिक दर्ता गर्नुपर्ने प्रावधान थिएन । २०१३ पछि सबै आयातीत कस्मेटिक्सले अनिवार्य दर्ता गराउनुपर्छ । घरेलु उत्पादन दर्ता गर्नु पर्दैन तर कस्मेटिक्सलाई विभिन्न श्रेणीमा विभाजन गरेर उत्पादनअगाडि इजाजत लिनुपर्छ । इजाजत लिनुअघि उपकरण र प्रक्रियाको अनुसन्धान गरिन्छ । एकपटक लिएको इजाजत ५ वर्ष मान्य हुन्छ ।

श्रीलंकामा सुपरीवेक्षणमा सजिलो होस् भनी कस्मेटिक्सलाई नियन्त्रित र साधारण गरी दुई भागमा विभाजन गरिएको छ । नियन्त्रितलाई हानिकारक हुन सक्ने भनी कडा निगरानी गरिन्छ । सबै उत्पादित, आयातीत कस्मेटिक दर्ता हुनुपर्छ ।

कस्मेटिक्सका सम्बन्धमा नेपालमा नियमनकारी निकाय, उपभोक्ता र आयात तथा उत्पादनकर्ता सबैमा अन्योल देखिन्छ । केही ठोस प्रयास नभए उपभोक्ता थप मारमा पर्नेछन् ।

नेपालमा कस्मेटिक्स सामान आयात भारी मात्रामा छ । नेपाली उत्पादनले पनि राम्रो बजार ओगटेको छ । ठूलो समस्या नक्कली कस्मेटिक्सको छ । बाहिर ब्रान्डेड खोल तर भित्र अर्कै । सामान सक्कली, नक्कली छुट्याउने आधार के, नेपालमा उत्पादन हुने गुणस्तरको मापदण्ड के, नेपाल सरकारसँग परीक्षण सुविधा के जस्ता सवाल गम्भीर छन् ।

कस्मेटिक्सको नियमनमा स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वातावरण मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभाग, भन्सार विभाग, उपभोक्ता अधिकार विभाग र वाणिज्य तथा आपूर्ति विभागको सहकार्य जरुरी छ । राष्ट्रिय गुणस्तर निर्धारण गर्ने काम नेपाल गुणस्तर तथा नापतौल विभागको हो । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा यसमा प्रमुख नियमनकारी निकाय स्वास्थ्य मन्त्रालय देखिन्छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर निर्धारणका लागि समिति र उपसमिति गठन गरेको छ । नेपाल गुणस्तर निर्धारणपश्चात् सबै सम्बन्धित नियामक निकायले त्यसलाई आफ्नो नियममा ढालेर लागू गर्न सके फलदायी हुनेछ । अपुग नियमहरू सम्बन्धित निकायले तर्जुमा र लागू गर्न सक्छन् । उपभोक्तालाई आफूले प्रयोग गरेका सामग्री परीक्षण गरी ढुक्क हुन पाउने गरी प्रविधि, जनशक्ति र प्रयोगशाला उपलब्ध गराउनु नेपाल सरकारको दायित्व हो ।

बाहिर उस्तै र उत्रै देखिने सामान कुन कस्तो छुट्याउन र त्यसमा लेखेको भाषा बुझ्न सक्ने उपभोक्ता कम छन् तर के प्रयोग गर्दै छु भन्ने जानकारी उपभोक्ताले राख्नैपर्छ । कुनै सामान सय रुपैयाँ सस्तो पर्‍यो भने किन भनी मनन गर्नु जरुरी छ । विशेषज्ञबाट सल्लाह पनि लिन सकिन्छ । सरकारले नीति बनाएर कस्मेटिक्सलगायत विषयमा विद्यार्थी र अन्य प्राज्ञिक समुदायले अध्ययनअनुसन्धान गर्ने संस्कृति विकास गर्नुपर्छ ।

अन्य मुलुकमा कस्मेटिक्सको गुणस्तर र सुरक्षामा उत्पादक र आयातकर्तालाई बढी जिम्मेवार बनाएको देखिन्छ । नेपालमा कथम्कदाचित न्यून गुणस्तरका सामान भेटिँदा उत्पादक वा आयातकर्ताले टालटुल पारेर पुरानै प्रवृत्तिमा फर्कने शैली छ । उत्पादक वा आयातकर्ता आफैँ उपभोक्ताको स्वास्थ्य सुरक्षामा जिम्मेवार नभए उनीहरूकै व्यापारको भविष्य खत्तम हुन सक्छ ।

लेखकद्वय नेपाल गुणस्तर तथा नापतौल विभागमा कार्यरत छन् ।

प्रकाशित : पुस १, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

मनाङमा हेर्दाहेर्दै जम्छ पानी

कान्तिपुर संवाददाता

लमजुङ — मनाङ चामेकी मेलिना गुरुङ मर्स्याङ्दी किनारमा होटल सञ्चालन गर्छिन् । उनी बिहान उठ्दा मस्र्याङ्दीछेउ पानी जमिरहेको हुन्छ । धारामा पानी आउँदैन । बाहिर थापेर राखिएको पानी बरफ बनिसक्छ ।

‍उनका अनुसार जब घाम डुब्दै जान्छ, हेर्दाहेर्दै भाँडामा राखिएका तथा बाटाका पानी बरफ भएर जम्छ । दिउँसो धारामा पानी आइरहेको हुन्छ । भोलिपल्ट बिहान उठेर त्यही धारामा पानी थाप्दा आउँदैन ।

कारण, अत्यधिक चिसो । ‘दिउँसो अलि ठिकै हुन्छ । साँझ परेपछि बेस्सरी चिसो हुन्छ । बाहिर निस्कन सकिँदैन । जमेको पानी दिउँसो १/२ बजेतिर पग्लिन्छ । त्यतिबेलासम्म घाम डुबिसकेको हुन्छ,’ उनले भनिन् । चिसोले धारा, बाटोघाटो तथा स–साना पोखरीका पानी जमेको उनले बताइन् ।

मेलिनालाई जस्तै समस्या अहिले मनाङवासीलाई छ । माथिल्लो मनाङका मुखिया गोतामेका अनुसार मनाङी भेष लगाएर बाक्लो लुगा लगाए पनि चिसोले कठ्यांग्रिने गरेको छ । हिउँ पर्ने गरेको छ । ‘हामी हिँडिरहेका छौं । तर हिउँ र चिसोमा बानी नपरेकालाई साह्रै गाह्रो छ,’ उनले भने ।

मनाङ ङिस्याङ गाउँपालिकाकी उपाध्यक्ष मेङखु गुरुङका अनुसार साँझ र बिहान बाहिर निस्कनै मुस्किल हुने गरी चिसो बढेको छ । हिउँ पर्नुका साथै चिसोका कारण मोबाइल सेवा र इन्टरनेटमा समस्या आएको उनले बताइन् । ‘मोबाइल र इन्टरनेटको टावर माथि डाँडामा छ । हिउँ र चिसोले सोलारले काम नगरेको हुन सक्छ । यताउता सम्पर्क गर्न नै गाह्रो भएको छ,’ उनले भनिन् ।

स्थानीयका अनुसार मनाङको गाउँबस्ती चिसिन लागेको करिब ३ साता हुन लाग्यो । यहाँका बासिन्दा दैनिक चिसो र हिमपातसँग जुधिरहेका छन् । हिमपात कहिले बस्तीसम्मै आइपुग्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङका अनुसार माथिल्लो मनाङमा रातको समय माइनस १३ डिग्री सेन्टिग्रेटसम्म तापक्रम झरेको बताए ।

बिहान माइनस ७/८ डिग्री सेन्टिग्रेट देखिने उनले बताए । ‘चिसो बढेको छ । हामीले चिसो र यहाँको मौसमबारे पर्यटकलाई जानकारी गराएका छौं । पर्यटक पनि कम आएका छन् । आएकामध्ये आफ्नो देशमा हिउँ र चिसोसँग खेलेकाहरू छन् । चिसो सहन नसक्नेहरू फर्किने गरेका छन्,’ उनले भने ।

प्रकाशित : पुस १, २०७५ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्