कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कृषि ज्ञानकेन्द्र किन ?

राज्य पुन:संरचनाका क्रममा टुटेको प्राविधिक शृंखलालाई कृषि ज्ञान केन्द्रहरूले जोड्छन् । 

काठमाडौँ — प्रादेशिक सरकारअन्तर्गत ५१ वटा कृषि विज्ञान केन्द्र र ४३ वटा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएका छन् । ज्ञान केन्द्रमा कृषि तथा पशुसेवाका विज्ञको प्राविधिक टिम छ । यो फार्म/केन्द्र/स्टेसनमा रहेर अनुसन्धानात्मक कार्यका र कृषि प्रसारसेवा प्रवाह गर्ने एकाइ हो । 

भारतमा १९७४ मा कृषि विज्ञान केन्द्र सुरु भएको थियो । त्यहाँ केन्द्रहरू अनुसन्धान र प्रसार कार्यमा केन्द्रित देखिन्छन् । हाम्रा ज्ञान केन्द्रको जिम्मेवारी कृषि प्रसार कार्यमा केन्द्रित छ । यसले जैविक विविधता पहिचान तथा संरक्षणका काम पनि गर्छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालय र पशुसेवा कार्यालयको स्रोतसाधन उपयोग गर्न ज्ञानकेन्द्र स्थापित भएका हुन् ।


जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालयमार्फत सञ्चालन हुने कृषि प्रसारका कार्यक्रम अहिले स्थानीय तहको एकाइबाट हुन्छ । स्थानीय तहको संरचनामा कृषि विकास शाखाको व्यवस्था गरिएन । कृषि तथा पशुसेवाका कार्यक्रम आर्थिक विकास शाखामार्फत सञ्चालन गर्न थालिएको छ ।


ज्ञान केन्द्रहरूको प्रमुख जिम्मेवारी जिल्ला तथा कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहलाई प्राविधिक तथा नीति निर्माण, कार्ययोजना तयारीमा सहयोग पुर्‍याउने हो । सहरी क्षेत्रका महानगरहरूको प्राथमिकता औद्योगिक तथा सेवामूलक व्यवसायमा केन्द्रित भए पनि सबैजसो स्थानीय तहको पहिलो प्राथमिकता कृषि विकास हो ।


स्थानीय तहसँग स्पष्ट कृषि विकासका खाका हुन जरुरी छ । स्थानीय समस्यामा आधारित ससाना अध्ययन परीक्षण, प्रयोगशाला सेवा, चिकित्सा सेवा, तालिम, विशेषज्ञ सेवाको काम ज्ञान केन्द्रले गर्छन् । प्रदेश तथा संघीय सरकारमार्फत सञ्चालन हुने कृषि विकासका कार्यक्रम सञ्चालनमा समन्वय, बीउबिजन तथा पशु नश्लको स्रोतकेन्द्रको विकास तथा व्यवस्थापनदेखि प्रदेश सरकार, अनुसन्धानका निकाय, गैरसरकारी संस्थासँगको समन्वय लगायत कार्यमा सम्पर्क विन्दुका रूपमा काम गर्ने जिम्मेवारी पनि यी केन्द्रको हो ।


ज्ञान केन्द्रले स्थानीय तहको आधारभूत कार्ययोजना ध्यान दिनुपर्छ । कृषि क्षेत्रको आवधिक योजना तयारीमा स्थानीय तहका पदाधिकारी, उपलब्ध सरोकारवाला र बाह्य सेवा प्रदायकको समेत सहभागिता आवश्यक हुन्छ ।


आवधिक योजनामा स्रोतसाधनको लेखाजोखा, बाली, पशुबस्तुको प्राथमिकीकरण, पकेट क्षेत्र निर्धारण, उत्पादनमा संलग्न हुन सक्ने घर र जनसंख्या, श्रमशक्तिको उपलब्धता, सिञ्चित तथा असिञ्चित क्षेत्र वर्गीकरण, उपलब्ध स्रोतसाधन र सम्भावित बजारको लेखाजोखा, छिमेकी स्थानीय तह तथा प्रदेश सरकारसँग गर्नुपर्ने समन्वयात्मक कार्ययोजनाको खाका तयार गर्नुपर्छ ।


ज्ञान केन्द्रहरूमा प्रस्तावित टिम प्राविधिक रूपले सम्पन्न देखिन्छन् । केन्द्रले स्थानीय तहको आवधिक योजनाका आधारमा वार्षिक योजना तयारीदेखि बालीबस्तुको प्राथमिकीकरण, तालिम तथा अन्य प्राविधिक क्रियाकलापमा सहयोग गर्न सक्छ ।


कृषि उत्पादन प्रशोधन तथा बजारीकरणमा समन्वय र प्राथमिकताका आधारमा स्रोत व्यवस्थापन गर्न प्रदेशलगायत निकायसँग संवाद, समन्वय कार्यमा ज्ञान केन्द्रले सहयोग जुटाउन सक्छ । केन्द्रीय आयोजनाबाट सञ्चालित कार्यक्रमको निरन्तरता, दिगोपना र सम्बन्धित स्थानीय तहले लिने अपनत्वलाई सहजीकरणमा केन्द्रहरूले पहल गर्न सक्छन् ।


व्यावसायिक कृषिमा सबैलाई समेट्न बीउ, बिरुवा, नश्ल वितरणमुखी क्रियाकलापलाई न्यूनीकरण गरी पकेट क्षेत्र निर्धारण गरेर स्थानीय हावापानीको सम्भाव्यता, बजारीकरणका सम्भावना हेरी बृहत् उत्पादनमा आधारित खेती प्रणालीमा जोड दिन आवश्यक छ ।


पुरै पालिका एउटा बाली विशेषको व्यावसायिक पकेट हुन सक्छ । भौगोलिक विविधता तथा सूक्ष्म जलवायुका कारण वडा वा गाउँ एउटा बाली विशेषको पकेट क्षेत्र हुन सक्छ । स्थानीय तहले यस्ता पकेटको पूर्वाधार विकास तथा समन्वयमा ध्यान दिनुपर्छ ।


स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमको अनुगमन तथा मूल्यांकन स्थानीय तहका पदाधिकारीबाट हुनुपर्छ । अनुगमनमा प्राविधिक ज्ञान तथा अन्य सहयोग ज्ञान केन्द्रबाट लिनुपर्छ ।


लेखक किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका कार्यक्रम प्रबन्धक हुन् ।

प्रकाशित : पुस १, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?