कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसी महिलाको मुद्दामा अपनत्व 

मधेस र मधेसी महिलाको अधिकारबारे वकालत गर्दा कार्यक्रममा कटाक्ष भोग्दै र सहँदै आएकी छु ।
रीता साह

काठमाडौँ — महिला हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा एउटा कार्यक्रममा बोल्न म गएकी थिएँ । कार्यक्रममा मधेसी, दलित, मुस्लिम, आदिवासी जनजाति तथा यौनिक अल्पसंख्यकलगायतका महिलाको विषयमा छलफल भयो । मैले मधेसी समुदायमा भएका कुरीति र त्यसलाई न्यूनीकरण गर्ने उपायबारे कुरा राखेँ ।

मधेसी महिलाको मुद्दामा अपनत्व 

प्रश्नोत्तरका क्रममा एक जना अधिकारकर्मी अतिथिलाई एक जना मधेसी युवतीले सोधिन्, ‘सन् २००० मा दक्षिण एसियामा महिलाको मानव अधिकारको अवस्थाबारे प्रतिवेदन प्रकाशित भएको थियो । अठार वर्षपछि यस क्षेत्रका महिलाको मानवअधिकारको अवस्थामा के परिवर्तन देख्नुहुन्छ ?’


ती अतिथिले ‘मधेसमा त पुरुषहरूले नै महिलामाथि हिंसा गर्छन्, जेठाजुलाई देखेर बुहारीले टाउको छोप्छिन्, एक जना डाक्टरले ४० लाख दहेज लिएर बिहे गर्छन्, होइन रीता ?’ भन्दै उनले मलाई औंल्याइन् । जबकि ती युवतीले सोधेको प्रश्न मधेसी महिलासँग सम्बन्धित थिएन ।


एक वर्षअघि युवाका विषयमा छलफल गर्न एक कार्यक्रम भएको थियो । कार्यक्रमको अन्तमा एक युवकले आरक्षणको प्रावधानबारे एक जना मानव अधिकारकर्मीसँग सोधे । उनको जवाफ थियो, ‘आरक्षण नेपालमा चाहिँदैन । यसको उपलब्धि मधेसको जमिनदार झा र यादवहरूले मात्र लिने गर्छन् । आरक्षणको दुरुपयोग हुँदै छ । हामी यसको पक्षमा छैनौँ ।’


उनको उत्तर सुनेर कार्यक्रममा ताली बज्यो । संविधानमा भएको व्यवस्थाबारे मधेसी समुदायमाथि दोष थोपारेर युवाको मानसपटलमा नकारात्मक सन्देश जाँदै गर्दा मैले आफूलाई रोक्न सकिनँ । तत्कालै आयोजकसँग समय मागेर बोलेँ ।


मैले महिला आरिक्षित सिटमा खसआर्य महिला, आदिवासी जनजातिको सिट पहाडका जनजाति, दलितको सिटमा पहाडी दलित र मधेसीको सिटमा अधिकांश मधेसी पुरुषको वर्चस्व रहेको तथ्य प्रस्तुत गरेँ । लोकसेवा आयोगको परीक्षा प्रणालीमा रहेको त्रुटिबारे पनि बोलेँ । मेरो जवाफपछि हलमा फेरि ताली बज्यो । तर, त्यसपछि ती मानव अधिकारकर्मी मसँग बोलेनन् ।


संविधान जारी हुनुअघि एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मधेसी, जनजाति, दलित, मुस्लिम समुदायका महिलाका मुद्दा के–के छन् भनेबारे गोष्ठी गरेको थियो । गोष्ठीमा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिदेखि नेपालका अधिकारकर्मी र राजनीतिज्ञको बाक्लो उपस्थिति थियो । मैले नागरिकतामा रहेको विभेद, समानुपातिक निर्वाचन प्रणालीमा रहेको त्रुटि, राजनीतिमा मधेसी महिलाको सहभागितालगायतका विषयमा बोलेकी थिएँ ।


मेरो प्रस्तुतिलगत्तै एक जना महिला वकिलले आयोजकसँग विशेष समय मागेर तत्काल टिप्पणी गरिन्, ‘एक जना विदेशी महिला बिहे गरेर आउनेबित्तिकै राष्ट्रपति बन्न पाउने र यही जन्मेका छोरीले विदेशी पुरुष बिहे गर्दा नागरिकता लिन पनि कुर्नुपर्ने ? यस्तो हुन हामी दिंदैनौ ।’ उनले आक्रामक शैलीमा मधेसी महिलाको नागरिकता पाउने अधिकारमाथि प्रश्न तेर्साइन् । जबकि कार्यक्रमको उद्देश्य थियो, सबै समुदायका महिलाका मुद्दालाई अपनत्व ग्रहण गरी संगठित भएर अवाज उठाउनु ।


मैले आफैंलाई प्रश्न गरेँ, काठमाडौंका अधिकारकर्मीहरूले मधेसी महिलाका मुद्दामा अपनत्व ग्रहण गर्दै छन् कि नकार्दै छन् ? मधेसी महिलाका मुद्दालाई नकार्नु थियो भने यस्ता कार्यक्रम किन गर्नुपरेको हो ?

यी प्रतिनिधि घटना हुन् । मधेस र मधेसी महिलाको अधिकारबारे वकालत गर्दा कार्यक्रममा दिनदिनै कटाक्ष भोग्दै र सहदै आएकी छु ।


कहिलेकाहीं यस्ता घटनाको विरुद्धमा बोल्छु भने कहिले चुप लागेर बस्छु । अनि सोच्छु, मधेसी महिलाबारे काठमाडौंमा बसेका महिला अधिकारकर्मीहरूको बुझाइ यस्तै हो ? यसरी नै बुझेका हुन् भने यस्तो मनोविज्ञान कसरी विकास भयो होला ? यसलाई यो रूपमा फैलाउन कुन तत्त्वले कसरी भूमिका खेलेको छ ? यो लेखको उद्देश्य कुनै व्यक्तिबारे टिप्पणी गर्नु होइन, प्रवृत्तिमा सुधारको अपेक्षा हो ।


नेपालमा लामो समयदेखि विचार निर्माण, नीति निर्माण र निर्णय प्रक्रियामा एक खालका मानिस र खास मनोविज्ञानको वर्चस्व रह्यो । त्यसमा काठमाडौंकेन्द्रित बुद्धिजीवी, पत्रकार र मिडिया जगत्का साथै राजनीतिज्ञ, सरकारी तथा गैरसरकारी क्षेत्रका मानिसको भूमिका रह्यो । त्यस समूहले सधैंभरि मधेसको टुटुल्को अर्थात् नराम्रो पक्ष मात्रै देखिरह्यो ।


मधेसी समाज र मधेसी महिलाबारे नकारात्मक कुरा मात्र गरिरह्यो । तिनीहरूले अहिलेसम्म मधेसलाई उही मनोविज्ञानले चित्रण गर्छन् । जबकि मधेसी समाजमा धेरै परिर्वतन भइसकेको छ । मधेसी महिलाको लवाइखवाइ मात्रै होइन, चेतनाको स्तरमा पनि सुधार आएको छ । तर, काठमाडौंको नजरिया पुरानै छ ।


मधेसी महिलाका सबाल आउँदै तिनीहरू पीडित, बिचरा, उद्धार गर्नुपर्ने, आफ्नै समुदायबाट प्रताडित रहेको भन्ने बुझ्छन् । मधेसमा दाइजो प्रथा छ, त्यहाँ महिला हिंसा हुन्छन् । यो सत्य हो । तर, के महिला हिंसा मधेसमा मात्रै हुन्छ ? दाइजो समस्या मधेसमा मात्रै छ ? यस्ता हिंसाका दोषी त्यहाको पुरुष हुन् भने अन्य ठाउँमा हुने हिंसाका दोषी को हुन् ? महिला हिंसा देशैभरि हुन्छ तर ठाउँअनुसार यसको प्रकृति र प्रवृत्ति फरक छ भन्ने काठमाडौंका महिला अधिकारकर्मी र मिडियाले बुझ्न जरुरी छ ।


मधेसमा दाइजो, बोक्सीलगायतका कुरीति छन्, पश्चिम पहाडमा छाउपडी छ । कतिपय जिल्लामा चेलीबेटी बेचबिखनको समस्या छन् । ठाउँअनुसारका संस्कृति र संस्कार छन् । कुनै समुदायगत कुरीतिलाई त्यही समुदाय र त्यस समुदायका पुरुषहरूलाई दोष लगाएर पन्छिन मिल्दैन ।


यस्ता समुदायगत कुरीतिबारे अध्ययन विश्लेषण गरेर त्यसको जरा पत्ता लगाउनुपर्छ । मनमा रहेको पुरानो धारणा बदलौं । खुला मनले बहस गरौं । अनि मात्र महिला आन्दोलनमा अपनत्व कायम हुन सक्छ ।

प्रकाशित : पुस २, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?