धर्म र मार्क्सवादको साइनो

वैचारिक र सैद्धान्तिक कक्षामा मन्त्र वा ऋचाजस्तै पाठ गरिने ‘द्वन्द्वात्मक भौतिकवाद’ को बेवास्ता र पुरातन धर्म–संस्कृतिको निरन्तर वास्तासँग शक्ति–सम्बन्धको साइनो गाँसिएको छ ।

काठमाडौँ — अबदेखि यहाँले चढ्ने हेलिकप्टर वा हवाईजहाज उडेन भने पशुपतिनाथ वा कुनै मठमन्दिर र शक्तिपीठमा पूजा गर्नुस् वा भाकल गर्नुस्, ती उड्न थाल्छन् ! तपाईंको परिवार वा पार्टीको स्वास्थ्य खराब छ भने कुनै गलेश्वरधाम वा लिंगेश्वर महादेव वा भस्मेश्वर देवताको पूजाअर्चना गर्नुस् वा स्तुति गाउनुस्, सबै समस्या समाधान हुन्छन् !

धर्म र मार्क्सवादको साइनो

जनतालाई सुखी र खुसी बनाउनु छ, देशलाई विकसित, समृद्ध र समाजवादी बनाउनु छ, नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा सुविख्यात गर्नु छ भने कुनै पुरोहित, पादरी, लामा बोलाउनुस् र स्वस्तिशान्ति गराउनुस्, सोमरसदेखि होली वाइन खानुस् र लाखौँको पुरस्कारसहित मालामाल पनि भइन्छ !

यस्तै आध्यात्मिक सन्देश मन्त्रीदेखि प्रधानमन्त्रीले मात्रै होइन, एकसे एक पूर्व प्रधानमन्त्रीदेखि भावी प्रधानमन्त्रीले विचार र व्यवहारबाट पनि दिनदिनै प्रवाह गरिरहेका छन् । उनीहरूका धार्मिक आचरणले नेपालको राज्य पशुपतिनाथको कृपाले वा भगवान् भरोसे चलिरहेको तथ्य सिद्ध गर्दै छन् ।


र, निकट भविष्यमा हाम्रा महान् मन्त्री, प्रधानमन्त्री र नेताहरूले अब देवीदेवतालाई भाकल गरेरै विकास र समृद्धिको महान् गन्तव्यमा पुगिन्छ भन्दै धार्मिक प्राणीहरूलाई रंगीन सपना देखाए भने पनि छक्क पर्ने अवस्था छैन । आफूलाई मार्क्सवादी भनी टोपल्नेहरूले ‘सनातनी र गैरसनातनी भगवान् र परमेश्वरहरूको पूजाआजा गर्दै दुई तिहाइको सरकाररूपी प्लेन पनि समाजवादी स्वर्गतिर उड्नु नै आजको माक्र्सवादी मार्ग हो’ भन्दै सैद्धान्तीकरण गरे भने कोही बेहोस हुने स्थिति छैन ।


नेपाली राज्य र त्यसको राजनीतिक ठेक्का लिइरहेका नेताहरूले धर्म, पन्थ, आस्थाको मामिलामा जे पनि गर्ने छुट पाएका रहेछन् भन्ने निष्कर्ष निकालियो भने टिठ लाग्दैन अब । नेपाली राज्यका केन्द्र र प्रदेशका सरकारले दुई वटा धार्मिक आयोजनाको आतिथ्य प्रदान गरेको लगत्तै थममाया थापाजस्ता मन्त्रीहरू पूजाआजा र भाकलबाटै हेलिकप्टर उडाउँदै हिँडेका छन् अचेल ।


गलेश्वरधामको पूजादेखि धान्याञ्चल यज्ञको उद्घाटनमा मग्न सिद्धान्तकार अध्यक्षहरूको प्रचण्ड मार्गनिर्देशनमा चल्ने पार्टीका नेता र सरकारका मन्त्रीहरूले धार्मिक आस्था प्रकट गर्नु वा भाग्यवादी व्यवहार देखाउनु अमाक्र्सवादी हुँदैन होला आजको युगमा ।


भाग्यवाद र मार्क्सवादी शब्दावली

आफ्ना आध्यात्मिक विचार र भाग्यवादी–कर्मकाण्डी व्यवहारलाई उचित ठहर्‍याउन हाम्रा सरकारी कम्युनिस्ट नेताहरूसँग माक्र्सवादी शब्दावली अभाव छैन । आम जनतासँग माछाजस्तै घुलमिल हुन वा धर्मप्राण जनताबीच राज्यसत्ता चलाउन यस्ता हर्कत गर्नुपर्ने उनीहरूका (कु) तर्क गैरमाक्र्सवादी मत पनि लाग्न सक्छ ।


अर्काे कोणबाट हेर्दा नेपाली राज्य चलाइरहेका पुराना मार्क्सवादी लेनिनवादी र माओवादी केन्द्रका नेताहरूले नै माक्र्सवादलाई सही अर्थमा बुझेको र प्रयोग गरेको भान पनि हुन्छ । धेरैजसो माक्र्सवादीले कण्ठस्थ पार्दै आएको र सरकारी माक्र्सवादीहरूले प्रयोग गर्दै आएको धर्मसम्बन्धी कार्ल माक्र्सको सर्वाधिक उद्धृत सुक्ति हो– ‘धर्म जनताको अफिम हो ।’


अनेक धार्मिक आयोजनमा सहभागी भएर, धार्मिक प्रवचन दिएर नेपालका सत्तासीन माक्र्सवादीहरूले धार्मिक अफिम खाएर लट्ठिएका जनतालाई थप लठ्याउन अनेक कर्मकाण्ड गर्दै हिँडेको हुन सक्छ । यस कर्मकाण्डलाई ‘नेपालको विशिष्ट परिस्थितिमा माक्र्सवादको सिर्जनात्मक प्रयोग’ का रूपमा परिभाषित गर्दै नेपाली मार्क्सवादी ज्ञानभण्डारलाई समृद्ध बनाउने सक्ने सम्भावना प्रबल हुँदै छ ।


पण्डित्याइँको शैलीमा अनेक कुराको परिभाषित गर्ने र ज्ञान भण्डारण गर्ने अधिकार सनातन धर्म–संस्कृतिले दिएको र वर्ण–जातले पाएको सुविधापूर्ण एकाधिकार नै हो । डबल नेकपाको नेतृत्वमा जमेर बसेको एक वर्ण, एक जात र एक लिंगको प्रभुत्वले वर्णीय–जातीय एकाधिकारसँगै कर्मकाण्डको निरन्तरतालाई सुगम बनाएको छ ।


वर्ण र जातका धार्मिक–सांस्कृतिक जन्मचिन्ह तथा त्यसको निरन्तर अभ्यासका साथसाथै लोकतान्त्रिक र माक्र्सवादी पनि हुने विशेष सहुलियतले द्वन्द्वात्मक भौतिकवादलाई पनि एक ऋचा वा सुक्तिमा सीमित गरिदिन्छ ।


धर्मको परिवर्तित व्याख्या

धर्मलाई अफिम ठान्ने वाक्य लेख्नुअघि द्वन्द्वात्मक भौतिकवादका प्रणेता कार्ल माक्र्सले खासमा भनेका थिए, ‘धार्मिक पीडा एकैपटक वास्तविक पीडाको पनि अभिव्यक्ति तथा वास्तविक पीडाविरुद्ध विरोध प्रदर्शन पनि हो । धर्म उत्पीडित प्राणीको चित्कार (आह) हो । एउटा हृदयहीन संसारको हृदय हो, त्यसरी नै जसरी कुनै आत्मविहीन स्थितिको त्यो आत्मा हो । त्यो जनताको अफिम हो ।’


माक्र्सले धर्मलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेर्दै त्यसको ऐतिहासिक महत्त्व दर्साएका थिए । उनले केही धर्मले शासक वर्गविरुद्ध विद्रोहमा वैचारिक अस्त्रको भूमिका खेलेको तथ्य अनावृत्त गरेका थिए । त्यस्तै, शासकवर्गका हातमा परेपछिको धर्मको दोधारे भूमिका विश्लेषण गर्दै उनले जनमानसमा त्यसको प्रभावबारे चिरफार गरेका थिए तर, एक वर्ण–जातका नेपालका सत्तासीन मार्क्सवादीहरूका हातमा परेपछि मार्क्सको सूत्र–वाक्यलाई सडकमा हुँदा धर्मविरुद्ध र सत्तामा हुँदा धर्मको पक्षमा उपयोग गरिएको छ ।


धर्म र अनेक धार्मिक सम्प्रदाय, मत, पन्थसँग माक्र्सवादको के साइनो छ, माक्र्सवादीहरूले अभ्यास गर्नुपर्ने द्वन्द्वात्मक भौतिकवाद र नास्तिकतासँग धार्मिक आस्था–विश्वास र आस्तिकताको नातापाता र साइनो कहाँ कसरी गाँसिएको छ, सरकारी माक्र्सवादी वृत्तबाट कुनै व्याख्या–विश्लेषण आएको थाहा छैन । सरकारी माक्र्सवादी वृत्तको बेहाल कतिसम्म छ भने त्यस वृत्तमा प्रश्न उठाउने प्रक्रिया र परिस्थिति मात्रै होइन, फरक मत राख्ने साहसिक मनस्थितिको पनि खडेरी देखिन्छ ।


पहिले वैचारिक र सैद्धान्तिक क्लासमा मन्त्र वा ऋचाजस्तै पाठ गरिने ‘द्वन्द्वात्मक भौतिकवाद’को बेवास्ता र पुरातन धर्म–संस्कृति–मूल्यमान्यताको निरन्तर वास्तासँग शक्ति–सम्बन्धको साइनो गाँसिएको देखिन्छ । एक जमानाका माक्र्सवादीहरूले जति–जति मात्रामा पुरानो राज्यको सत्ता–शक्तिसँग सम्बन्ध र संसर्ग बढाए, त्यति–त्यति मात्रामा उनीहरूको वर्ग उत्थान र परिवर्तन भएको देखिन्छ ।


त्यससँगै उनीहरूका जन्म, जात, वर्ण र लिंगसँगै टासिएर आएका पुरातन धर्म–संस्कृति–मूल्यमान्यता अनेक रूपरंगमा उजागर भएको पनि पाइन्छ । बहुधार्मिक देशमाथि ‘हिन्दु अधिराज्य’ थोपर्ने राजतन्त्रविरुद्ध झापा विद्रोहदेखि माओवादी जनयुद्ध गर्ने माक्र्सवादी–लेनिनवादी र माओवादी पार्टी एवं तिनका नेताहरूका सांस्कृतिक नीति र नियत राजतन्त्रले अभ्यास गरेका धर्म–संस्कृति–मूल्यमान्यताभन्दा कहाँ कति भिन्न छन्, खुट्याउनै मुस्किल छ ।


मार्क्सवाद र ‘असिल् हिन्दुस्थाना’

इतिहास साक्षी छ, राजा–महाराजा होऊन् या नेता, नेपालका अधिकांश शासकले ‘असिल् हिन्दुस्थाना’ निर्माण गरेका छन्, कसैले दिव्य उपदेश दिएर, कसैले मुलुकी ऐन बनाएर, कसैले संविधानमा हिन्दु अधिराज्य लेखेर त कसैले सनानत धर्म संस्कृतिको रक्षा र संरक्षण गर्ने घोषणा गरेर ।


पुरानो सत्तासँग संसर्गमा आउन थालेदेखि राज्यमा सत्तासीन हुन थालेसम्म नेपाली सरकारी माक्र्सवादीहरूले पनि मूलत: ‘असिल् हिन्दुस्थाना’कै मूल्यमान्यता र सिद्धान्तलाई निरन्तरता दिँदै आएका छन् । उनीहरूका बोलीवचन र चिन्तन–मननसँगै आचार व्यवहारमा धार्मिकता, आस्तिकता, सनातनता र वर्णव्यवस्था, जातप्रथासँगै पित्तृसत्ता अभिव्यक्त हुँदै आएका छन्, जुन न्याय र समताको पृष्ठपोषक माक्र्सवादभन्दा सर्वथा विपरीत विचार र व्यवहार हुन् ।


चाहे हिन्दु होस् या इसाई, जुनसुकै धर्मको पक्षपोषणले, धार्मिक आयोजनमा राज्य र नेताहरूको संलग्नताले माक्र्सवादलाई मात्रै होइन, त्यससँग जोडिएको वामपन्थलाई पनि इतिहासको टुकुचामा बगाउने निश्चित छ । लोकतान्त्रिक नजरीयाबाट मात्रै हेर्दा पनि कोरियाली इसाई पन्थसँग केन्द्रीय राज्यको संलग्नता र राज्य सञ्चालकसँगै विभिन्न पार्टीका नेताहरूको हिमचिम आलोचनाको विषय हो ।


त्यसको अर्थ प्रदेश नं २ को सरकार र केही कथित लोकतान्त्रिक नेताहरूले हिन्दु धर्मका पीठाधीश र हिन्दुत्ववादी मुख्यमन्त्रीलाई गरेको आतिथ्य आलोचनाभन्दा माथिका विषय होइनन् । त्यस्तै, यस्ता संलग्नतालाई इसाई बहुल क्षेत्रमा विकास भएको माक्र्सवाद र इसाई धर्मबीच नरम सम्बन्ध कायम रहेको भन्दै तथ्यहीन आलोचना गर्नेहरूले बुझ्नु जरुरी छ, कुनै पनि धर्मसँग माक्र्सवादको गोरू बेचेको साइनो छैन । माधव नेपाल वा केपी ओली वा कुनै सरकारी कम्युनिस्ट नेताको संलग्नता नै इसाई धर्म र माक्र्सवादबीच साइनो गाँस्ने कडी होइन ।


कोरियाली इसाई समूहको सम्मेलनका नाममा नेपाली राज्यको संलग्नता जति हदसम्म आलोचनायोग्य छ, त्यति हदसम्म भत्सर्नायोग्य छ ‘स्व’ र ‘पराया’का नाममा गरिने विभेद । स्वदेशी संस्कृति, पूर्वी परम्परा वा सनातन धर्मका नाममा एक धर्मको पक्षपोषण ।


यसको अर्थ कुनै पनि धर्म, पन्थ र सम्प्रदायका नाममा गरिने धार्मिक राजनीति र अन्य धर्म–द्वेषी मानसिकतासँगै प्रचारबाजी लोकतान्त्रिक हुन सक्दैन, चाहे ज्ञानेन्द्र शाह वा कमल थापाले गरून् या शशांक कोइराला । यस्तो धार्मिक राजनीति र अन्य धर्म–द्वेषी मानसिकतासँगै प्रचारबाजी कत्तिको हानिकारक छ, हिन्दुत्ववादी मोदी नेतृत्वको छिमेकी देश भारतभन्दा ठूलो उदाहरण अर्काे के होला ?


भारतमा होस् या नेपालमा, समावेशी लोकतन्त्र र धार्मिक राजनीतिबीच विपरीत सम्बन्ध छ । नेपाली राज्य, राज्य सञ्चालक र कुनै पनि दल वा नेताले गरेका धार्मिक कर्मकाण्डलाई कसै गरी पनि लोकतान्त्रिक ठहर्‍याउन सकिँदैन । ती संवैधानिक भने हुन सक्छन् । संवैधानिक हुँदैमा लोकतान्त्रिक हुन्छ भन्ने ग्यारेन्टी छैन । हो, संविधानका अक्षर र निर्माताहरूका आशयअनुसार यस्ता कर्मकाण्ड संवैधानिक ठहरिन सक्छन् ।


सत्ताधारी मार्क्सवादीदेखि प्रतिपक्षमा रहेको ‘लोकतान्त्रिक’ नेताहरूले नै सनातन धर्म संस्कृतिको रक्षा र संरक्षण गर्ने ‘धर्म निरपेक्ष’ संविधान बनाएका हुन्, जुन अन्तरविरोधले भरिएको परिभाषा हो । लामो समयसम्म नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलन यस्तै अन्तरविरोधले ग्रस्त हुने पक्कापक्की छ । किनभने यहाँ पनि वामपन्थ र लोकतन्त्रसँग प्रेम गर्ने तर सनातन वा गैरसनातन धर्म, संस्कृति, मूल्यमान्यतासँग बिहे गर्ने चलन प्रभावशाली छ ।


twitter: @rmaharjan72

प्रकाशित : पुस ३, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?