कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कांग्रेसभित्र मधेस

डेटलाइन तराई
कांग्रेस मधेसको सवालमा परम्परा र परिवर्तनको अन्तरद्वन्द्वमा फसेको छ । पार्टीभित्र हुनेखाने र गरिखाने कार्यकर्ताबीचको खाडलले भुइँ सतहसम्म शीर्ष पंक्तिको दृष्टि पुग्न सकेको छैन ।
चन्द्रकिशोर

काठमाडौँ — सबैभन्दा पुरानो र ऐतिहासिक पार्टीको दाबी नेपाली कांग्रेससंँग छ । संघर्ष र सत्ता दुइटैमा लामो समय रहेको विगत छ । संघ वा प्रदेश कतै सरकारमा नहुँदा पनि कांग्रेसप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो छ । नेपालभित्र पनि वामपन्थीको उदार तप्काले अझै विश्वास राख्छ, ‘जतिसुकै कमजोरी भए पनि कांग्रेस लोकतन्त्रका नाममा लड्ने पार्टी हो ।’

कांग्रेसभित्र मधेस

कतिपय विश्लेषकले लोकतान्त्रिक आचरणको विवाद स्थायी चरित्रका रूपमा रहे पनि लोकतन्त्रको प्रश्नमा यो पार्टी अडिग रहेको व्याख्या गर्छन् । यो दल न सत्ता नत प्रतिपक्षको भूमिकामा स्पन्दित हुन्छ, बरु संघर्षका बेला स्वस्फुर्त माथिदेखि तलसम्म आफै तरंगित हुन्छ । देशमा लोकतन्त्रमाथि प्रहार हुनथाल्यो भने कांग्रेस फेरि जुर्मुराउँछ भन्ने आस राखिन्छ ।


मधेसी मानस र कांग्रेस

महासमिति बैठकका लागि मस्यौदा समितिमार्फत पेस भएको राजनीतिक प्रस्तावको जगमा टिकेर कांग्रेसले फेरि मधेसतिर कसरी आफ्नो आधार बनाउने उपक्रम गर्छ भनेर व्याख्या–विश्लेषण गर्न सकिन्छ । कांग्रेसका स्थानीयदेखि संघीयसम्मका नेताहरू मधेस कांग्रेसका लागि शक्तिको मुख्य केन्द्र रहेको उपमा दिन पछाडि पर्दैनन् ।


तथ्यका रूपमा नेपाली कांग्रेसभित्र मधेसी मूलका नेता र कार्यकर्ताको विशाल संख्यात्मक उपस्थितिलाई प्रस्तुत गर्छन् । मधेससँंग लामो साहचर्यका बाबजुद कांग्रेस नेतृत्वकै सरकार रहेका बेला तीनवटै मधेस आन्दोलन भए । मधेस आन्दोलनको आँधी–बेहरीमा पटक–पटक कांग्रेसकै संगठन परेको छ र यो हल्लिएको छ । कांग्रेस सिद्धान्त र संगठन दुइटै तहमा मक्किएको हुनाले पनि होला, मधेसको आँधी–बेहरीले कांग्रेसलाई बढी क्षति पुर्‍यायो ।


राजनीतिक प्रस्तावमा लेखिएको छ, ‘संविधानका अक्षर–अक्षरमा नेपाली कांग्रेसको सात दशक लामो तपस्या प्रतिविम्बित भएको छ ।’ त्यसो हो भने मधेस आन्दोलन र कांग्रेस दुई ध्रुवमा उभिएको देखिन्छ । एउटा प्रतिस्पर्धी राजनीतिक शक्तिका रूपमा मधेसी दलहरूप्रति आलोचनात्मक दृष्टि हुनु स्वाभाविक हो । तर मधेसका मूलभूत मुद्दाप्रति कांग्रेस वैचारिक द्वन्द्वको भुमरीमा भेटिन्छ ।


विरोधाभाषको संगम कांग्रेस भएको छ । एकातिर संविधानका एक–एक अक्षरप्रति स्वामित्व ग्रहण गर्ने अर्कोतर्फ दोस्रो संशोधनका लागि प्रयत्न गर्ने दल यही हो । निर्वाचन पश्चात संविधान संशोधनको राजनीतिलाई राष्ट्रिय विमर्शको विषय बनाउनुपर्ने र त्यसका लागि नेपालका विभिन्न भूगोलमा जनमत तयार गर्ने अभिभारा कांग्रेसमाथि छ, त्यसलाई उसले बिर्सिए जस्तो लाग्छ । पछिल्लो निर्वाचनमा मधेसमा अपेक्षाकृत मत पाउन नसक्दाको आलो घाउ कांग्रेसले बिर्सेको छैन जस्तो लाग्छ ।


लामो राजनीतिक जीवनपश्चात पनि अझै ‘जातिपाति मान्दैनौं, छुवाछूत जान्दैनौं, संँगै बसौं संँगै खाऔं’ जस्ता दलित लक्षित नारा दिनुले मात्र समतामूलक समाज निर्माण हुन सक्दैन भन्ने बुझाइको चुक अहिले पनि कांग्रेसभित्र भेटिन्छ । संस्थागत निर्णयद्वारा संगठनात्मक ढाँचामा समतामूलक प्रतिनिधित्वको अवसर उपलब्ध नगराइएसम्म यो तप्काभित्र राजनीतिक नेतृत्व विकास हुँदैन ।


२००७ सालतिर जुन एजेन्डा र कार्यक्रम दलित केन्द्रित हुनुपथ्र्याे, त्योभन्दा अगाडि यो दल बढ्न नचाहेको देखिन्छ । दलितभित्र पनि मधेसी दलितको समावेशीकरण र सशक्तीकरणको मुद्दाप्रति कसैको विवाद र विमति नहुनुपर्ने हो । दलमार्फत हुनसक्ने सामाजिक–राजनीतिक आन्दोलन विसर्जित भएको छैन भनेर देखाउने बेला हो यो ।


बीपी उत्तरगाथा

महासमितिको आधारभूत उद्देश्य दललाई मजबुत पार्ने हो । दललाई कसरी बलियो बनाउने अहिलेको प्राथमिक मुद्दा हो, कांग्रेसका लागि । दलले पारित गर्ने राजनीतिक, आर्थिक र सामाजिक प्रस्तावले धेरै हदसम्म राजनीतिक–आर्थिक समस्यालाई जोड दिन्छन् ।


त्यहाँ प्रस्तुत हुने राजनीतिक प्रतिवेदनले दलको आन्तरिक जीवनलाई बलियो पार्नुका साथै त्यससँंग सम्बन्धित विषयमा परेको असरबाट राजनीतिक, आर्थिक, सामाजिक समस्यालाई समाधानको बाटोमा लैजानुपर्छ । यो दलको स्थापना विचारधाराभन्दा पनि ‘मिसन’बाट अभिप्रेरित भएर भएको हो । सुरुमा राणाशासन अन्त्य गर्ने एकसूत्रीय मिसन बोकेको यो दलले त्यसपछि मुुलुकलाई हाँक्ने नीति र कार्यक्रम दिनु बाध्यता थियो ।


२०१२ मा वीरगन्ज महाधिवेशनबाट कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई निर्देशक सिद्धान्तका रूपमा अंगिकार गर्‍यो । बीपी कोइराला नेतृत्वको २०१६ को डेढ वर्षको सरकारले समाजवादी बाटो पछ्याउने कोसिस गर्‍यो । त्यसयता उनका अनुयायीले बीपीको नाम जप्न छाडेनन्, उता उनले प्रतिपादन गरेको कार्यक्रमलाई वास्ता गरेनन् ।


बीपीको नाम लिनु कांग्रेसीजनका लागि यस अर्थमा अपरिहार्य हुँदै रह्यो कि त्यसले पार्टीलाई सत्तामा जान एकढिक्का बनाइराख्ने फेविकलको काम गर्दै रह्यो । अदना कांग्रेसीको बुझाइमा समेत के देखिन्छ कि बीपीको नाम नलिए सत्तासुख कठिन छ । तर अहिले उब्जिएका सवाल र सरोकारले ‘बीपी उत्तरगाथा’को माग राख्छन् ।


कांग्रेस मधेसको सवालमा परम्परा र परिवर्तनको अन्तरद्वन्द्वमा फँसेको छ । मधेसको मौलिक सवाल बुझ्नै नचाहेजस्तो देखिन्छ । दलभित्र हुनेखाने र गरिखाने कार्यकर्ता बीचको खाडलले भुइँ सतहसम्म शीर्ष पंक्तिको दृष्टि पुग्नसकेकै छैन । यस्तो स्थितिमा फुनगी र भुइयाँ बीचको ध्रुवीकरणले सबभन्दा उत्साहित कांग्रेस भित्रका यथास्थितिवादीहरू भएका छन् ।


कांग्रेसको इतिहासमा रामनारायण मिश्र, रामेश्वर प्रसाद सिंह, महेन्द्रनारायण निधि, राधाकृष्ण थारु, भागवत यादव, रमाकान्त झा, शेख इद्रिसका नाम लिइने गरिन्छ । दुर्गानन्द झा, अरविन्द ठाकुर, शिवचन्द्र मिश्र लगायतकाको गौरवशाली नामको लामो सूची छ । यतिखेर कांग्रेसभित्र तुर्सा हेमरमको कदकाको सन्थाल पंक्तिबाट छन् ? राधाकृष्ण थारुजस्ता ओज भएका त्यो समुदायबाट को छन् ? दु:खा सहनी र कपिलेश्वर श्रीवास्तवको कारागार कथासंँग अहिलेका कतिको कांग्रेसी परिचित छन् ?


२०४६ सालपछि स्वाभाविक रूपमा कांग्रेसभित्र भिड जुट्दै गयो । तर त्योभन्दा अघिका ती खास कांग्रेसीहरू जसले मधेसका जिल्लामा ‘विउ’को काम गरेका थिए, तिनको खोजीनिती सत्तामुखी कांग्रेसले कतिको गर्‍यो ? नेपाली कांग्रेसलाई अहिले पनि ‘पर्सनालिटिबेस्ड’ पार्टी मानिन्छ ।


यस्तोमा राम्रोपनको जश नेताले पाउने अनि कमजोरी र चुकको अपजश दलले लिइरहनुपर्ने परिस्थिति रहेसम्म मधेसलाई कांग्रेसले जोड्न सक्दैन । संविधान घोषणाका बेला कांग्रेसकै तर्फबाट प्रथम राष्ट्राध्यक्षका हैसियतमा पुगेका रामवरण यादवले मधेसको आकांक्षाप्रति ध्यानाकर्षण गराउँदा कांग्रेसी नेतृत्वले नै संविधानसभाभित्र चोटिलो प्रहार गर्‍यो, त्यसले कांग्रेसको मधेसप्रतिको निष्ठा डगमगिएको देखियो । कांग्रेसले परिवर्तित मधेसी समाजको व्याख्या गरेर त्यसलाई चाहिने नारा र कार्यक्रम दिनुपर्ने हाँकलाई स्वीकार गर्न ढिलो हुँदै गएको छ ।


कांग्रेसको नयाँ रुख

कांग्रेसभित्रको मधेस नीति कसले निर्माण गर्छ ? मधेससंँग संवाद गर्ने कांग्रेसी नेतृत्व को हुन् ? कांग्रेसको सांगठनिक संरचनामा मधेसको मुहार झल्किन्छ कि झल्किँदैन ? दलीय संगठनात्मक ढाँचामा समतामूलक प्रतिनिधित्व कसरी सुनिश्चित गर्ने ? समावेशीकरणको मुद्दाले नेपाली समाज थप विभाजित नहोस् भनी कांग्रेसभित्र के विमर्श हुँदैछ ?


न्यायोचित समावेशीकरण र सार्थक संघीयताको लडाइँलाई दलभित्र कसरी फैलाइँदैछ ? निर्वाचन पश्चात सीमित र संकुचित लोकतन्त्रको अभ्यासबाट उकुस–मुकुस मधेसीजनलाई कसरी प्रस्फुटनको अवसर दिने ? लवेदा–सुरुवाललाई राष्ट्रियता मान्ने र मधेस झर्दा कुर्ता लगाउने चालढालबाट मधेस कसरी विश्वस्त हुन्छ ? माझीको जालबाट उम्कन सक्ने माछा पानीमा डुबेर कहिल्यै मर्दैन ।


कांग्रेसको रुख फेरि मधेसमा झाँगिन सक्छ । त्यसको एउटै पूर्वसर्त हो, कांग्रेसले मधेसलाई बुझ्न पहिला आफैभित्र संवाद गर्नुपर्‍यो । कांग्रेसमा जुर्मुराहटको खाँचो छ । टुप्पोमा देखिएका पुराना हाँगाबिँगालाई निफनेपछि मात्र नयाँ पालुवा पलाउन सक्छन् र रुखले फेरि फराकिलो छहारी दिन सक्छ ।


कांग्रेसले मधेसको मानसलाई आफ्नो धडकन बनाउनसकेको छैन । यसका लागि तीनवटा चुनौती छन् । पहिलो, बासी एजेन्डालाई लोकतन्त्रको आवरणमा जतिसुकै पस्किन खोजे पनि मधेसमा त्यसले उत्साह जगाउँदैन । विगतको कथा वाचन गरेर वा मधेससँंग उठबसको साइनो सुनाएर मधेस पग्लिँदैन । दोस्रो, मधेसलाई मूलधारमा ल्याउन गिरिजाप्रसाद कोइरालाले ल्याएको एजेन्डा टुहुरो हुन दिनु हुँदैन ।


कोइरालाले मधेससंँग गरेको सम्झौतालाई कांग्रेसले पुँजीको रूपमा स्थापित गर्न जरुरी छ । तेस्रो, संगठनभित्र एकले अर्कालाई तृणतहदेखि समाप्त पार्ने, चुनावमा हराउन खुला रूपमा लागिपरेकाहरू संरक्षित हुने वा कार्यकर्ताको बिचौलियाको छवि रहिरहेसम्म कांग्रेसलाई अप्ठेरो हुने पक्का छ । कांग्रेसले घरका छत र छानामा चढेर आफूहरूले विगतमा के–के गरेँ भनेर जतिसुकै भने पनि दलको अनुहार समुदाय विशेषमा धमिलो भइरहेको अवस्थामा सम्बन्ध कठ्यांग्रिएरै रहन्छ ।


मुलुक इतिहासकै सर्वाधिक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिँदैछ । बाहिरी रूपमा हेर्दा शक्तिशाली निर्वाचित सरकार छ, बहुतहको निर्वाचन भएर संविधान कार्यान्वयनको चरणमा छ । तर मिहिन तरिकाले हेर्‍यो भने मुलुक ठूलो द्वन्द्वको प्रतीक्षामा छ । राजनीतिक र सामाजिक स्थायित्वको सूत्र ठम्याउने र त्यसलाई मुलुकको मूल स्वर बनाउने काममा पार्टीभित्र वैचारिक अन्योल र अलमल रहिरहेसम्म कांग्रेसका लागि मधेस चुनौती भइरहन्छ ।


अहिलेकै बैठकहरू काठमाडाैंमै गर्नुको तुक के छ ? संघर्षका कालखण्डमा तराईका विभिन्न ठाउँमा पार्टी भेला भएका थिए । हरेक चुनौती एउटा अवसर हो । बुद्धि पुर्‍याएर चुनौती व्यवस्थापन गर्न सक्यो भने बन्द झ्याल र ढोकाहरू खुल्न सक्छन् । नेपाली कांग्रेसभित्र मधेसको स्पेस तन्काएपछि मात्र मधेसमा कांग्रेसको स्पेस तंग्रिन सक्छ । नत्र चुनौती वा संकटले अर्को संकट निम्त्याउँछ ।


[email protected]

प्रकाशित : पुस ५, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?