कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पशुपालनमा एन्टिबायोटिक दुरुपयोग

एन्टिबायोटिक औषधि दुरुपयोगले जीवाणुमा प्रतिरोधी क्षमता बढाउँछ ।

काठमाडौँ — एन्टिबायोटिक औषधि मानिस एवं पशुमा जीवाणु संक्रमणको उपचारमा प्रयोग गरिन्छ । यो औषधीले कीटाणु (जीवाणु) द्वारा हुने संक्रमणमा जादुयी काम गर्छ र जीवाणुलाई नष्ट गर्छ । तर एन्टिबायोटिकको अत्यधिक अनियन्त्रित तथा अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई ठूलो खत्रा बन्छ ।

एन्टिबायोटिक औषधि दुरुपयोगका कारण धेरैजसो जीवाणु प्रतिरोध गर्न सक्षम भएका छन् । त्यसैले कैयौंपटक संक्रमण उपचार निष्प्रभावी हुने गरेको छ । प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगको कारण बनिरहेका छन् ।


अध्ययन अुनसार अमेरिकाजस्तो मुलुकमा हरेक साल कम्तीमा बीस लाख मानिस एन्टिबायोटिक प्रतिरोध जीवाणुबाट संक्रमित हुने गर्छन् । तीमध्ये २३ हजारको मृत्यु हुने गरेको छ । विकासशील देशमा स्थिति योभन्दा भयावह हुनसक्छ ।


पशुमा एन्टिबायोटिक

मानिस तथा पशुमा जीवाणु संक्रमणको उपचार तथा रोकथामका लागि विभिन्न प्रकारका एन्टिबायोटिक औषधिको उपयोग संसारभरि ठूलो मात्रामा गरिन्छ । प्राय:जसो औषधि मानिस तथा पशु दुवैमा उपयोग हुन्छ ।


केही औषधि भने मानिसमा मात्र प्रयोग गरिन्छ । केही औषधि धेरै महँगा हुन्छन् । कुनै औषधि केवल पशुको रोग रोकथाम तथा तिनीहरूको शारीरिक विकास बढाउन प्रयोग गरिन्छ । पशु चिकित्सकहरूले संक्रमण गर्ने कीटाणुको प्रकार एवं विशेषता, औषधिको जीवाणुमारक क्षमता, औषधि प्रयोग गर्ने विधिको सुगमता, पशुको औषधिप्रति सहनशक्ति, औषधिको दुष्प्रभाव आदि ख्याल गरेर औषधि सिफारिस गर्छन् । चिकित्सकको सल्लाह अनुसार औषधि दानापानी अथवा इन्जेक्सनद्वारा दिइन्छ ।


बढ्दो जनसंख्याको कारण पशुजनित खाद्यपदार्थको माग लगातार बढ्दो छ । धेरै उत्पादनका लागि पशुलाई रोगबाट बचाउन आवश्यक हुन्छ । यसका लागि एन्टिबायोटिक औषधि उपयोग आवश्यक हुन्छ । मानिसमा हुने रोगहरूका जीवाणु नष्ट गर्न नयाँ–नयाँ औषधि आविष्कार हुन्छ ।


जीवाणुले पनि आफ्नो बचाउको उपाय खोज्छ । एन्टिबायोटिक औषधिहरूको अनुचित एवं अन्धाधुन्द प्रयोगले तिनको यो क्षमता तेजले बढ्छ । सामान्य औषधिले नष्ट गर्न मुस्किल हुन्छ ।


पशु चिकित्साकर्मी एवं पशुपालकले एन्टिबायोटिकको उपयोगमा गम्भीर हुनुपर्छ । उपचार गर्ने बेला या उपचारपछि औषधि पशुको दूध, फुल, मासुजन्य उत्पादनमा यो आउन सक्छ, जुन जनस्वास्थ्यका लागि हानिकारक हुनसक्छ । एन्टिबायोटिक प्रतिरोधी क्षमता भएका जीवाणुले क्षमता अर्को जीवाणुमा प्रसार गर्न सक्छ । त्यही कारण कैयौं रोगमा पहिले सजिलै हुने उपचार अहिले कठिन बनेको छ ।


सावधानी

एन्टिबायोटिक औषधि प्रयोग गर्दा चिकित्सकको सल्लाह लिनुपर्छ । औषधिको उपयोगमा लापरबाही भए मृत्युको कारक बन्न सक्छ ।


एन्टिबायोटिक औषधिको अनुचित प्रयोग जस्तो अधिक वा कम मात्रा अनियन्त्रित उपयोग, नक्कली वा कमसल गुणस्तरको औषधिको उपयोगले ज्यान लिने रोगको उत्पत्ति एवं विकास गराउन सक्छ । यसैले एन्टिबायोटिक नै सबै खाले रोगको सर्वकालिक समाधान हैन भन्नेमा विचार पुर्‍याउनुपर्छ ।


लेखक वरिष्ठ पशुचिकित्सक हुन् ।

प्रकाशित : पुस ६, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?