कसरी बाँच्छन् दलहरू ? 

पुराना पार्टीहरु कुवाजस्ता भए । पानी बासी छ । भ्यागुताकाे राज छ । सानाे क्षितिज छ । गतिहीन पार्टीलाई बचाएर के पाइन्छ ?
केशव दाहाल

काठमाडौँ — केही अगाडि कान्तिपुरमा कम्युनिस्ट नेता घनश्याम भुसालको लामो लेख छापियो । शीर्षक थियो, ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’ त्यो महत्त्वपूर्ण प्रश्न थियो । नेपालका कम्युनिस्टहरूमा जेजस्ता वैचारिक तथा राजनीतिक संकट, गुट, स्वार्थ र टकराव देखिँदै छन्, त्यसले स्वभावत: यस्ता प्रश्न पुन:उत्थान हुन्छ । 

हाम्रा कम्युनिस्टहरू हेर्दा लाग्छ, सबैभन्दा धेरै गफाडी, ढोंगी र संकीर्ण बन्नु कम्युनिस्ट हुनु हो । अरूलाई मान्छे नगन्नु र सम्पूर्ण ज्ञानको स्रोत आफूमा निहित देख्नु कम्युनिस्ट हुनु हो । बाहिर हुँदै नभएको भद्रता प्रदर्शन गर्नु र भित्रभित्र सबैभन्दा छुद्र हुनु कम्युनिस्ट हुनु हो ।

पटक्कै सिर्जनात्मक नहुनु तर आफूलाई सबैभन्दा वैज्ञानिक र प्रगतिशील देख्नु कम्युनिस्ट हुनु हो । कुरा सर्वहाराको गर्नु र आफ्ना प्रिय ‘युवराजधिराज’ हरूलाई मलमलको गद्दी आरोहण गराउनु कम्युनिस्ट हुनु हो । कार्यकर्ताको पसिनामा नुहाउनु र आसपासेलाई पोस्नु कम्युनिस्ट हुनु हो । यस्तो उल्काको घमन्ड र बनावटी अहंकार बोकेर कसरी बाँच्लान् कम्युनिस्टहरू ? म कमरेड भुसालको प्रश्नमा ऐक्यबद्धता जनाउँछु ।

संकट कम्युनिस्टहरूमा मात्र छैन । कुनै उम्दा कांग्रेसी युवा नेताले प्रश्न गरे क्या राम्रो हुन्थ्यो । जस्तो– कमरेड भुसालले झैं उसले पनि सोधोस्, कसरी बाँच्छन् कांग्रेसहरू ? संकटमा त कांग्रेसहरू पनि छन् । कुनै कांग्रेसीले आफ्नै शीर्ष नेतालाई औंलो उठाएर सोधोस्, प्रिय नेताज्यू, नेपालमा कांग्रेस हुनु भनेको के हो ? जस्तो– मान्छेहरू भन्छन्, नेपालमा कांग्रेस हुनु भनेको गतिशील नहुनु हो ।

जीवनमा मात्र एक पटक बीपीका नाममा कविता लेख्नु हो । नेताको दौराको फेर समाउनु हो । जवाफदेही नहुनुु हो । तलकालाई शासन गर्नु र माथिकाबाट शासित हुनु हो । बेला कुबेला जय नेपाल भन्दै राज्यसत्ता दोहनको योजना बनाउनु हो । तर घनश्याम भुसालजस्तो हक्की नेता कांग्रेसमा देखिएनन् । सायद आफैंभित्रका खराबी नदेख्नु र यथास्थितिमा रमाउनु खाँटी कांग्रेस हुनु हो ।

कम्युनिस्ट र कांग्रेसलाई हामीले देख्दै र भोग्दै आएका छौं, ७० वर्षदेखि । म कम्युनिस्ट पार्टीहरू कसरी बाँच्छन् भन्ने मात्र सोचिरहेको छैन । मेरो प्रश्न कांग्रेससँग पनि जोडिन्छ । यी दुवै मुद्दालाई जोड्दा अर्को प्रश्न बन्छ । जस्तो कि कसरी बाँच्छन् पार्टीहरू ? मूलत: ती पार्टीहरू कसरी बाँच्लान् जो भविष्यको आवाज सुन्दैनन्, सपना देख्दैनन्, भविष्यको भाषा बोल्दैनन् । हिजोका कथ्यहरूले मात्र भविष्यलाई आह्वान गर्ने शक्ति कसरी राख्छन् ? नयाँ युगको पछिल्लो झन्कारलाई पटक्कै नसुन्ने पुराना पार्टीहरू कसरी बाँच्लान् ? कांग्रेस र कम्युनिस्टहरू कसरी बाँच्छन् ? यस्तै प्रश्नमाथि विमर्श गरौं ।

गजबको संयोग जुरेको छ । कांग्रेस महासमिति बैठक चलिरहेको छ । यता कम्युनिस्टहरूको स्थायी समिति । दुवै बैठकबाट निष्कर्ष के आयो ? बैठकले नेपाली राजनीतिका पछिल्लो संकटहरूलाई कसरी समीक्षा गर्‍यो ? नयाँ आशाहरू कसरी प्रस्तुत भए ? दुवै बैठकमा आआफ्नो गुट, सत्ता, शक्ति र स्वार्थको महासंग्राम भयो । पुराना नेताहरूको गनगन, पूर्वाग्रह र नयाँसँगको तीव्र अन्तरविरोध देखापर्‍यो ।

विचारमा बहस भएन । राजनीतिक मुद्दामा टेबल ठोकाठोक भएन । पार्टी जीवनमा सिर्जनशीलता देखापरेन । संगठन र कार्यकर्ता एजेन्डामा परेनन् । भुइँका मान्छेको कुरा भएन । भयो त उही पार्टीसत्तामाथि वर्चस्वको षड्यन्त्र । दाहिनेतिर देउवाले जगत हँसाए । देब्रेतिर ओली महोदयलेउटपट्याङ कुरा गरेर टालटुल पारे ।

पार्टीहरू गतिशील हुनुपर्छ । उसका प्रत्येक निर्णय त्यो युगको गति र आवश्यकतासँग एकाकार हुँदै अगाडि बढ्नुपर्छ । पछिल्लो समय र त्यसका संकटलाई समाधान गर्न पार्टीहरू सचेत, सिर्जनात्मक र गतिशील हुनुपर्छ । जस्तो– सरकार गतिशील देखिएको छैन । विकास बजेट खर्च हुन सकेको छैन ।

भुइँमान्छेका दैनिक संकट जटिल बन्दै छन् । भ्रष्टाचार तीव्र छ । संघीयताका चुनौती देखिँदै छन् । राष्ट्रिय पुँजी विकास गर्ने बृहत्तर योजना चाहिएको छ । रोजगारी सिर्जना मुख्य आवश्यकता हो । सामाजिक सुरक्षा र लोककल्याणका योजनालाई प्रभावकारी बनाउनु छ । सहरी जिवनलाई सभ्य र सुसंस्कृत गर्नु छ । भूराजनीतिक जटिलता मिलाउनु छ । अनेक विषय छन् । तर यस्ता विषयमा कुनै बैठकमा चर्चा भएन । विषयलाई टालटुल र छोपछाप पारियो ।

हाम्रा दलहरू पुराना भए । जिम्लिए । तिरमिराए । उनीहरूसँग पछिल्लो आवश्यकता र मुद्दालाई देख्ने क्षमता सकियो । हाम्रा पुराना दलहरूसँग फेरिएको समाज र त्यसका सपनाबीच एकाकार हुने क्षमता सकियो । लाग्छ, उनीहरूले समाजसँगै चालमा चाल मिलाएर हिँड्ने सामथ्र्य गुमाए ।

अत: सबै कुरा सन्दर्भहीन भयो । बैठक सन्दर्भहिन भयो । नेताहरू सन्दर्भहीन भए । सरकार त्यस्तै भयो । विपक्षी दल सन्दर्भहीन भयो । उनीहरूले भनेको लोकतन्त्रले परिणाम दिएन । राष्ट्रपति राजाजस्तो देखिन थाले । मन्त्री छोटेराजा बने । सांसदहरू पञ्चजस्ता लाग्न थाले । उनीहरूको सुशासनले काम गर्न छाड्यो । उनीहरूको कर्मचारी प्रशासनले काम गर्नछाड्यो । उनीहरूका योजना सन्दर्भहीन हुँदै गए । सबै कुरा सन्दर्भहीन भएपछि प्रश्न स्वाभाविक हुन्छ, कसरी बाँच्छन् दलहरू ?

कांग्रेसहरू कम्युनिस्टहरूको युग सकिएको कुरा गर्छन् । कम्युनिस्टहरूलाई लाग्छ, कांग्रेसको युग सकियो । वस्तुत: यी दुवैको युग सकिएको छ । युग सकिनु सरकार बनाउनु वा नबनाउनु होइन । चुनाव जित्नु वा हार्नु होइन । बरु सन्दर्भ सकिनु र परिणामविहीन हुनु हो । हाम्रा पुराना पार्टीहरूको जन्मकुण्डली फरक छ । कांग्रेस र कम्युनिस्टका रूपमा उनीहरूको परिचय फरक छ ।

उनीहरूका भगवान् फरक छन् । विचार र सिद्धान्तका पोथीहरू फरक छन् । उनीहरू विभिन्न रङ र वादमा आफूलाई फरक देखाउन चाहन्छन् तर कांग्रेस र कम्युनिस्टहरूको राजनीतिक उमेर फरक छैन । नेतृत्वको पृष्ठभूमि फरक छैन । उनीहरूको वर्गआधार फरक छैन । मनोविज्ञान फरक छैन । शासकीय शैली फरक छैन । उत्तरदायित्वको प्रश्नमा उनीहरू समान छन् ।

प्रधानमन्त्रीको नाम बिर्सिने हो भने हाम्रा प्रत्येक सरकारहरू उस्तै थिए । हिजोसम्म कम्युनिस्टहरूलाई जनजीविकाका सवालमा अलिक संवेदनशील मानिन्थ्यो । कांग्रेस हिजोसम्म लोकतन्त्रको पर्याय ठानिन्थ्यो । आज न कम्युनिस्टहरू जनजीविकामा उदार देखिए न लोकतन्त्रमा कांग्रेस मात्र प्रतिबद्ध छ ।

सिद्धान्तमा के लेखियो भन्ने कुराले नेपाली राजनीतिलाई खासै फरक नपर्ने भयो । यस्तो किन छ ? वस्तुत: कांग्रेस र कम्युनिस्टहरू एउटैखाले पार्टीहरू हुन् । पुराना, गतिहीन, यथास्थितिवादी, ढोंगी । यथा अवस्थामा पुराना दलहरूले नेपाली राजनीतिमा पुर्‍याउने योगदान सकियो । अब राजनीतिक दर्शन, विचार, शैली र संस्कृतिमा उनीहरूबाट कुनै योगदान हुँदैन ।

संगठनात्मक जीवनमा यी दलहरू उस्तैउस्तै हुन् । दुवै कुवाजस्ता । भनाइ छ, ‘दलहरू कुवाजस्तो हैन, नदीजस्तो हुनुपर्छ ।’ कुवामा पानी बासी हुन्छ । कुवामा भ्यागुताको राज हुन्छ । कुवा संकुचित हुन्छ । कुवासँग सानो क्षितिज हुन्छ । नदीमा जीवन हुन्छ । गति हुन्छ । सदैव चलायमान हुन्छ । सदैव अगाडि बढिरहन्छ । विशाल आकाश र अनन्त सम्भावना नदीका मौलिकता हुन् ।

दलहरूमा विचार, नेता र नेतृत्व निर्माणका लागि नदीको उदाहरण रमाइलो तर गम्भीर शिक्षा हो । ताजापन नदीको मौलिकता हो । विशालता यसको मूल चरित्र हो । निरन्तर अगाडि बढिरहनु यसको स्वभाव हो । यसले मात्र राजनीतिलाई जीवन दिन्छ । कुवाजस्तो गतिहीन पार्टीलाई बचाएर के पाइन्छ ?

एउटा चिनियाँ लोककथा छ । कथामा सिधा, इमानदार र शक्तिहीन भेडो छ । एक दिन उसले भगवान्सँग प्रार्थना गर्छ, ‘प्रभु, हामी किन यति धेरै कमजोर ? हामी ज्ञानी, सिधा र सरल पनि हुनुपर्ने अनि हामी नै शक्तिहीन पनि ? त्यो बाघ हेर्नुहोस् त, ऊ कति जण्ड, हिंस्रक र बहादुर छ । त्यसले निर्धा प्राणीहरूलाई असाध्यै दु:ख दिन्छ ।’ परमेश्वरलाई दया लाग्यो । उनले भेडालाई शक्तिशाली बनाइदिए । उसले अग्लो र लाम्चो शरीर, ठूलो मुख, धारिला दाँत अनि अगाडि फर्किएका लामा र तीखा सिङ पायो ।

भेडो खुब खुसी भयो । ऊ वनमा स्वतन्त्र र निर्भय विचरण गर्न थाल्यो । ऊ घमन्डले भरियो तर नयाँ ढाँचाको मुख, सिङ र दाँतले उसलाई घाँस चर्न दिएन । ऊ भोकले हैरान भयो । त्यहीबेला भेडाको छेउमा नाच्दै, खेल्दै र रमाउँदै एउटा सानो खरायो आइपुग्यो ।

भेडाले गम्यो आफ्नो भोक शान्त गर्न खरायो खाइहेर्दा के होला ? उसले सजिलै खरायो समात्यो र खायो । उसलाई घाँसभन्दा मासु धेरै मीठो लाग्यो । त्यसपछि उसले कहिल्यै घाँस खाएन । भेडो भेडेबाघमा फेरियो । जंगलमा भेडेबाघको अलग साम्राज्य खडा भयो । निर्धा खरायाहरू प्रत्येक दिन सिकार बन्दै गए । प्रस्तुत कथा हाम्रा कम्युनिस्ट नेताहरूमा उसरी नै लागू हुन्छ, जसरी कांग्रेसमा ।

प्रश्न यही हो । पुरानालाई किन बचाउने ? भुसाल कमरेड चिन्ता नगरौँ, पुरानाहरू सकिन्छन् र इतिहासले नयाँ अंकुरण हाल्छ । इतिहास यसरी नै नयाँ र ताजा बन्दै जान्छ । आउनुहोस्, पुरानाहरूको जगबाट नयाँ जीवन रचना गरौं । अनि मात्र बन्छ नयाँ र ताजा राजनीतिक विकल्प ।

प्रकाशित : पुस ८, २०७५ ०८:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

शान्ति प्रक्रियामा शंका

केशव दाहाल

काठमाडौँ — आशा र आशंकाका पुराना दिन सम्झौँ । ०६३ मंसिर ५ गते नेपाली राजनीतिको एक महत्त्वपूर्ण दिन थियो । त्यो यसकारण आशंकाको दिन थियो कि मान्छे माओवादीलाई शंकाको नजरले हेर्थे ।

जनमनमा प्रश्न थियो, माओवादी साँच्चै शान्ति प्रक्रियामा आएका हुन् ? सँगै आशाहरू पनि थिए । शान्ति एक अनिवार्य सपना भइसकेको थियो । अनेक रणनीतिक बाध्यताका कारण बृहत् शान्ति सम्झौता भयो । माओवादीले युद्ध अन्त्य गरे । उनीहरू लोकतान्त्रिक राजनीतिको मूलधारमा आए । यसर्थ त्यो नेपाली राजनीतिमा आशाको बिरुवा उमार्ने युगीन दिन थियो ।

तर भयो के ? माओवादीले उठाएका मुद्दा के भए ? गणतन्त्र आयो । संघीयता आयो । धर्मनिरपेक्षता आयो । व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन हुन सकेन । मैलो राजनीतिको भेलमा स्वयं माओवादी बगे । कम्युनिस्टहरू कम्युनिस्टजस्ता रहेनन् । कांग्रेसहरू कांग्रेसजस्ता रहेनन् । गणतन्त्र आयो तर बग्रेल्ती राजा देखा परे । राजनीति बिग्रियो । जनतासँग गरेका वाचा पूरा भएनन् । सत्तामा नयाँ मान्छे आए तर भोट हाल्ने भुईंका मान्छेको अवस्था फेरिएन ।

लोकतन्त्र जनताबाट टाढा गयो । यसो हुनु नेपाली राजनीतिको मात्र दुर्भाग्य थिएन, शान्ति सम्झौताको असफलता र लोकतन्त्रमाथिको विश्वासघात थियो । जस्तो– शान्ति सम्झौतापछिका १२ वर्षमा ७ जना प्रधानमन्त्री फेरिए । प्रदेश र स्थानीय तहको हिसाब गर्दा ५० हजारभन्दा धेरैले लाभको पद प्राप्त गरे होलान् ।

दल र नेताहरूले लोकतन्त्रको मजा लिए । उनीहरूको आर्थिक हैसियत फेरियो । राजनीतिक पहुँच अकासियो । तर तराईका मुसहर, चमार, खत्वेहरू कता छन् ? राजी, किसान, चेपाङहरू कता छन् ? कर्णालीको भोकमरी के भयो ? हलिया, हरुवा, चरुवाहरूको अवस्था के भयो ? यस्ता प्रश्नको जवाफ खोज्ने बेला भयो । शान्ति सम्झौताका यी १२ वर्षले के दियो, हिसाबकिताब गर्ने समय आयो ।

नेपालमा ३८.९ प्रतिशत युवा छन् । यिनै युवाले जनयुद्धदेखि जनआन्दोलनसम्म आफ्नो जीवनको ऊर्जा खर्च गरे । उनीहरूकै तागतले राजनीतिक परिवर्तन भयो । उनीहरू हाम्रो शान्ति प्रक्रियाका महत्त्वपूर्ण हिस्सा हुन् तर के उनीहरूले लोकतन्त्र प्राप्त गरे ? के उनीहरूको मन शान्त छ ?

दस वर्षअगाडि वैदेशिक रोजगारीमा जानेको संख्या वार्षिक ५५ हजार थियो । आज यो लाखौंमा छ । देशमा रोजगारी छैन । उत्पादन छैन । अवसर छैन । शान्ति सम्झौताका मुख्य नायकहरूले यसको जवाफ दिनु पर्दैन ?

किसानलाई न्याय र भूमिसुधारको नारा लगाउँदै सुरु भएको सशस्त्र युद्धले उनीहरूको अवस्थामा किन परिवर्तन ल्याउन सकेन ? उच्चस्तरीय भूमिसुधार आयोग र स्वतन्त्र अनुसन्धानका प्रतिवेदनहरूले बताउँछन् कि ग्रामीण गरिब किसानमध्ये २९ प्रतिशतसँग निजी जमिन छैन ।

हिमालका ७ प्रतिशत, पहाडका २१ प्रतिशत र तराईका ३१ प्रतिशत किसानसँग खेती गर्ने जमिन छैन । कुल खेतीयोग्य जमिनको २० प्रतिशत बाँझो हुन्छ । किसानमा पीडा छ । गरिबी छ । अन्याय छ । किन यस्तो भयो ? शान्ति प्रक्रियापछिका १२ वर्षले सबैभन्दा गरिब किसानको जीवनमा किन खुसियाली ल्याउन सकेन ?

यी १२ वर्षमा विकासको गति तीव्र बन्न सकेन । उद्योग, व्यापार धराशायी हँुदै गयो । पूर्वाधार छैन । न राम्रो अस्पताल छ, न त विश्वविद्यालय । सहरहरू धुलोले पुरिएका छन् । विगत १० वर्षमा ०.९ प्रतिशत व्यक्ति मात्र गैरकृषि क्षेत्रमा प्रवेश गरे । युवा अधिकारकर्मी भन्छन्, सातामा न्यूनतम एक घण्टा पनि काम नपाउनेहरू ०.६ प्रतिशत छन् । त्यसो त नेपाली युवाको बेरोजगारी दर संसारमै उच्च छ । काम गर्नेहरूले पनि थोरै कमाउँछन् ।

यता ५० हजार राजनीतिक कार्यकर्ता लाखौं कमाउँछन् । उनीहरूले राजनीतिलाई पेसा बनाएका छन् । उनीहरू अरू कुनै काम गर्दैनन् तर जीवन आरामले चलेकै छ । राज्यले दर्जन संख्याका विशिष्ट पदाधिकारिलाई दिएको सुविधा नै वार्षिक ५० करोड आसपास हुन आउँछ । राष्ट्रपतिको खर्च अकासिँदो छ । गाउँगाउँमा खर्चिला छोटेराजा छन् । यो बीचका केही वर्षमा सरकारले सवारीसाधन खरिदमै अर्बाैं खर्च गरेको तथ्यांक छ । के यस्तो परिदृश्यले शान्तिलाई प्रवद्र्धन गर्छ ?

शान्ति प्रक्रियाको अर्को कमजोरी संक्रमणकालीन न्यायमा उदासीनता हो । द्वन्द्वकालका पीडा थाक लागेर बसेका छन् । द्वन्द्वको त्रासदी हजाराैं नेपालीको मनमा खिल बनेर रहेको छ । किन यो सबै भयो ? दोषी को थियो ? उनीहरूले के सजाय पाए ? के यी घटनाको छानबिन हुनु पर्दैन ? क्षतिपूर्ति दिनु पर्दैन ? घटनाको सत्यतथ्य के थियो र न्यायको निरुपण कसरी हुन्छ ? यसको जवाफ पीडितले पाएका छैनन् ।

यी १२ वर्षमा सत्यनिरुपण आयोगमा ६३ हजार उजुरी परे । भनिन्छ, मात्र एक हजार उजुरीमाथि छानबिन भयो । यो कस्तो चालढाल हो ? यो कस्तो लाचारी हो ? हामीले सत्य निरुपण र मेलमिलापका लागि के गर्‍यौं ? द्वन्द्वका पीडा बिसाउने, आँसु पुछ्ने र क्षमा दिने आधार बनाउन हामीले के गर्‍यौं ? सत्यको निरुपण, न्यायको अनुभूतिका साथ सामाजिक सद्भाव बनाउन राज्यको सजगता चाहिन्छ ।

संसारभर भएका द्वन्द्व रूपान्तरका असल प्रयत्न यिनै काममा केन्द्रित देखिन्छन् । अपराधीलाई माफी दिने हो भने पनि पीडितलाई सोध्ने शान्ति निर्माणको महत्त्वपूर्ण प्रक्रिया हो ।पीडितलाई पर राखेर वा उसको पीडालाई कतैबाट पनि सम्बोधन नगरी नयाँ र शान्तिपूर्ण समाज कसरी बन्छ ?

दण्डहीनताको अन्त्य, मानवीय मूल्यको स्थापना, नागरिक अधिकारको रक्षा र शान्तिपूर्ण सामाजिक सांस्कृतिक मान्यताको जग निर्माण गर्न यति गर्नैपर्छ । हाम्रामा द्वन्द्वपीडित हजारौं परिवार, उनीहरूका आफन्त र लाखौं प्रियजनको मन शान्त नभई बनाएको शान्ति दिगो हुनै सक्दैन । यो काममा हाम्रो सरकार किन उदासीन छ ? विचित्र लाग्छ ।

सबै द्वन्द्वग्रस्त मुलुकमा सत्य निरुपण गर्ने, पीडितलाई मन खोलेर बोल्न सजिलो बनाउने, राज्यले घटनाको विवरण सविस्तार सुन्ने, दोषीलाई कारबाही वा माफी के दिने हो पीडितसँग परामर्श गर्ने र मेलमिलाप बनाउने कामलाई प्राथमिकतासाथ गरिन्छ । दक्षिण अफ्रिका यसको सुन्दर उदाहरण हो । जहाँ राज्यले ठूलाठूला सार्वजनिक सुनुवाइ गरेर सत्य सुनेको थियो । लाखौं मान्छेले भाग लिएका थिए ।

सञ्चार माध्यमहरूले प्रत्यक्ष प्रसारण गरेका थिए । पीडित मात्र हैन, पीडकले समेत आफूले विगतमा गरेका गल्ती सम्झिएर आँसु झारेका थिए । यो मान्छेका मनलाई धोइपखाली गर्ने राम्रो तरिका हो । युद्धपछिको राजनीतिक न्यायले मात्र शान्ति निर्माणमा सहयोग गर्दैन । भावनात्मक न्याय, प्रेम र सद्भाव चाहिन्छ ।

क्षमा दिन र लिन अहंकार र आडम्बरले हैन, विनयशीलताले काम गर्छ । माथिल्लो तहमा द्वन्द्वको सम्बोधन गरेर मात्र पुग्दैन । हरेक घटना र पीडाको फरक फरक सम्बोधन आवश्यक हुन्छ । यसैका लागि हामीले सत्य निरुपण र बेपत्ता नागरिकको छानबिन आयोग बनाएका हौं तर आयोगहरू किन प्रभावकारी भएनन् ? राज्य किन उदासीन छ ? नयाँ पुस्तालाई युद्धको भयानक पीडा बताउन र मानवीय प्रेम जगाउन गर्नुपर्ने आधारभूत काम छुटिरहेका छन् । यो विषयमा खै प्रभावकारिता ?

हाम्रा नेताहरूलाई लाग्छ कि उनीहरूले माफ दिएपछि सबै सकिन्छ । उनीहरूले विगत बिर्सिएपछि सबैले बिर्सिन्छन् । उनीहरूलाई लाग्दो हो, अमूक पार्टी सत्तामा पुगेपछि युद्धका घाउ आफैं भरिन्छन् । के त्यस्तै हो त ? किमार्थ हैन । जसले युद्धबाट न व्यक्तिगत जित हासिल गरे न त सत्ता र शक्ति प्राप्त गरे, उनीहरूका लागि विगत बिर्सिने आधार त्यति सजिलै निर्माण हुँदैन ।

जसले सबै कुरा गुमायो, मात्र उसले कसरी विगत बिर्सिन्छ ? राजनीतिक स्वार्थका कारण सजिलै ओली, प्रचण्ड र देउवा मिल्लान् तर पीडितहरू सायद न्यायको अनुभूति नभएसम्म पीडाको आगोमा जल्नेछन् । यो यथार्थमाथि आँखा चिम्लिएर कतै हामी पीडितमाथि भयंकर अपराध गरिरहेका छैनौं ? कतै शान्तिका नाममा विद्रोहको खेती भइरहेको छैन ?

विगतलाई त्यतिकै बिर्सिएर शान्ति निर्माण हुँदैन । विगतलाई यसकारणले पनि सम्झिन आवश्यक छ कि हामी यो त्रासदीदोहोर्‍याउन चाहँदैनाैं, हामी इतिहासबाट नयाँ पुस्तालाई सिकाउन चाहन्छौं । हामी विगतका अमानवीय अपराधको नालीबेली खोतल्न चाहन्छौं ताकि पीडितले न्याय पाऊन् । यो सबैका लागि सत्यको खोजी र प्रमाणीकरण आवश्यक हुन्छ ।

अब ढिलो नगरौं । जतिसक्दो चाँडो शान्ति निर्माणको राजनीतिक प्रयत्नलाई मानवीय प्रयत्नसँग जोडाैं। मनमा पीडा र आँखामा आँसु रहेसम्म शान्ति बन्दैन । अन्यथा निष्कर्ष निकाल्नुपर्ने हुन्छ नेपालमा न्याय मर्‍यो । शासकका लागि त्यो दुर्भाग्यपूर्ण निष्कर्ष हुनेछ ।

प्रकाशित : मंसिर ९, २०७५ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्