१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सहरिया बाँदर 

बाँदर निकै बाठा देखिन्छन् । तर यिनको दिमागी क्षमता तथा चतुर्‍याइँको गहन अनुसन्धान भएको छैन । 

काठमाडौँ — बाँदर बसोबास गर्ने सहर प्रशस्तै छन् । काठमाडौं, पोखरा, धरान लगायतका अधिकांश सहरमा बाँदरको प्रकोप हुनथालेको छ । बाँदर जंगली जनावर हो । तर आजकाल यो सहरिया भएको आभाष भइरहेको छ । विराटनगर जंगलविहीन पक्की सहर हो ।

नजिकको जंगल चारकोशे झाडी ३५ किलोमिटर टाढा छ । बीचमा ठूला मानव बसोबास क्षेत्र छन् । तर विराटनगरमा बाँदरको बसोबास गतिलै छ । रघुपति जुटमिलको गोदाममा केही वर्षअघि एउटा बाँदर देखिएको थियो । यिनको संख्या बढेर ४० हाराहारी पुगेको छ । सीमावर्ती भारतीय जोगवनी बजारमा डुलिखाने गरेका छन् । क्रमश: विराटनगर बजारतिर उन्मुख भइरहेका छन् । यहाँका बाँदरले दस जनाभन्दा बढी मजदुर र कर्मचारीलाई टोकेर घाइते बनाइसकेका छन् ।


जंगल बिना पनि यिनीहरूको जीवन चल्नु जीव विज्ञानमा आश्चर्य मानिएको छ । मानव निर्मित संरचनामै लुकिछिपी बस्ने, मानिसबाट मागेर नभए चोरेर खाने, बजारमा पाइने चाउचाउजन्य र पेयपदार्थ पनि प्याक खोलेर खाने, बच्चालाई प्रयोग गरेर मानिसका घर भित्रका खाद्यवस्तु चोर्ने जस्ता गतिविधिले जीव वैज्ञानिकको ध्यान तानिएको छ । यिनीहरूको सहअस्तित्व तथा आपसी क्रमविकास मानव र यसको सभ्यताको विकासक्रमसँगै अघि बढिरहेको अनुमान लगाउन सकिन्छ ।


नेपालमा बाँदरको गहिरो र बृहत अध्ययन मुकेश चालिसेले गर्नुभएको छ । बाँदर खाना र बासस्थानका लागि मानिसमा आश्रित भएर धेरै अल्छी र रोगी पनि भएको उहाँको तर्क छ । सहरिया खान्कीमा रमाएपछि यिनीहरूको आयु १५ बाट १० वर्षमा झरेको छ, पाँच वर्षमा मात्र यौन परिपक्वता हुनुपर्नेमा अढाई वर्षमै भएको पाइएको छ ।


प्रकृतिमा पाइनेको सट्टा मानव निर्मित खानेकुरा खाँदा जीउमा फस्के मासुमात्र जमेको छ । उमेर नपुगी गर्भिनी हुने गरेका छन् । बच्चा पनि कुपोषित छन् भनेर उनै बाँदरविज्ञ चालिसेले आफ्ना अनुसन्धानमूलक लेखहरूमा उल्लेख गर्नुभएको छ । सुरु–सुरुमा मान्छेले यिनलाई पल्काएका हुन् । पछि हातमा खानेकुरा बोकेर हिँड्दा आफूलाई नदिएकामा खोसी खान र आक्रमण गर्न साहसिक भएका हुन् ।


ग्रामीण क्षेत्रमा पनि जंगलमा आहार–विहार गर्नुको साटो गाउँ पसेर खानेकुरा चोरिखाने र अरु उपद्रो गरेका घटना समाचारमा आइरहेका छन् । गाउँघरमा प्रशस्त खान पाइने बुझेर अल्छी भएको बाँदर जंगल पसेर खोजी नखाने मनस्थितिमा पुग्ने गरेको अनुसन्धाताले उल्लेख गरेका छन् ।


कुनै कालखण्डमा शाकाहारी भएको यो जनावर अहिले सर्वाहारी बन्न पुगेको छ । धनकुटा नगरपालिका लगायत विभिन्न स्थानीय तहले बाँदर व्यवस्थापनमा बजेटै छुट्याएका छन् । नेपालका पूर्वदेखि पश्चिमसम्मै र मधेसदेखि तीन हजार मिटरको उचाइसम्म बाँदर पाइने गरेको छ ।


अमेरिकातिर पाइने नयाँ संसारिक र एसिया तथा अफ्रिकातिर पाइने पुराना संसारिक गरी दुई खालका बाँदर छन् । पुरानाचाहिँ मानिससँग नजिक मानिन्छन् । पृथ्वीमा अढाई सयभन्दा बढी प्रजाति पाइने भए पनि नेपालमा बाँदरका तीनवटा प्रजाति छन् । ती हुन्– मकाका मुलाटा (रातो बाँदर), मकाका आसामेन्सिस (पहरे बाँदर) र ढेँडु (सिम्नोपिथेकस इन्टेलस) । अध्ययनहरूबाट थाहा लागेको छ कि मुलाटा गाउँ–सहरतिर बढीजसो छिरेको छ । चालिसेका अनुसार आसामेन्सिसका पूर्वीया र पश्चिमा

दुई प्रजाति छन् ।


मानिसका खेतबारी हुँदै घर–भान्सामा आइपुगेका बाँदर र मानिसका पुर्खा एकै हुन् । क्रमविकासमा चार करोड वर्षअघि देखिएको मानिस हो कि बाँदर भन्नुजस्तो जनावर एन्थ्रोपोइड्सबाट बाँदरका पुर्खासँग मानिसको पुख्र्यौली हाँगो फाटेको हो ।


मानिससँग बनावट मिल्ने अति नजिकको जनावर हो– बाँदर । नेपालको सन्दर्भमा पहरे बाँदर संरक्षित २७ वटा स्तनधारीको सूचीमा कानुनद्वारा संरक्षणमा परेको छ । नेपालका बाँदरको अवस्था मजबुत भए पनि संसारमा कुनै बाँदर यति कम संख्यामा छन् कि कुनै पनि बेला ती अलप हुनेछन् । जस्तै– कालटाउके गिब्बन २० वटामात्र छन् भने टोनकिन घुमनाके बाँदर १५० वटा छन्, अनि रातो कोलोबस एक हजारमात्रै ।

बाँदरको दिमागी क्षमता तथा चतुर्‍याइँ कति बढेर आयो भनेर गहिराइमा अनुसन्धान भइसकेको छैन । यिनीहरू निकै बाठा भएका छन् । शब्द नफुटे पनि आवाजबाटै सञ्चार गर्छन्, औजार प्रयोग गर्छन्, अनुहारको प्रस्तुतिले पनि सन्देश संवाहन गर्छन्, हात मिलाउँछन्, मायाप्रेम र दया व्यक्त गर्छन्, अंकमाल गर्छन् । मानिससँग इगो लिन्छन् र मौका पर्दा धेरै अगाडिको रिस साँध्छन् ।


प्रशस्त खानेकुरा पाउने/नपाउने, सुरक्षित सुत्केरी हुन पाइन्छ/पाइन्न भन्ने अनुमान लगाई गर्भधारणका लागि तयार हुने कि नहुने भनेर निधो गर्छन् । राजनीतिका नियम बनाएका हुन्छन् र नेता चुन्छन्, समूह फुटाएर नयाँ समूह बनाउँछन् । कुनै समस्या दिमाग लगाएर समाधान गर्ने र आपसी सरसल्लाह गर्नेसम्मको चेतनशीलता छ । आफ्नो गृहक्षेत्र निर्धारण र सुरक्षा गर्छन्, जहाँ अरु आए सामुहिक बलले आक्रमण गर्छन् । यसको चेतना र बठ्याइँ वृद्धि हुँदै आएर मानिसबाट फाइदा लिँदै सहरमा रमाइरहेको एकथरी वैज्ञानिकको भनाइ छ ।


सुप्रसिद्ध विज्ञान पत्रिका प्राइमेटमा छापिएको एक लेख अनुसार नेपालका आसामिस बाँदरहरू एड्स रोगको अनुसन्धाननिम्ति अति उपयुक्त छन् । अरु देशका यस्तै बाँदरमा पोलियो, पितज्वरो, औलो, क्षयरोग, हेपाटाइटिस जस्ता रोगको भ्याक्सिनको सफल परीक्षण गरिसकिएको छ ।


नेपालका बाँदरहरूले प्रदूषणको मात्रा कस्तो छ भनेर पनि संकेत दिइरहेका छन् । युनिभर्सिटी अफ वासिङटनका लिशा जोन एन्जेल लगायतको टोलीले स्वयम्भूको बाँदरको बच्चाको जीउमा माउकोमा भन्दा बढी मात्रामा लिड पत्ता लगाएको छ ।


बच्चाले धेरै जीउ कन्याएको, उसको रौं झरेको भेटिएपछि अनुसन्धान गर्दा यस्तो पाइएको हो । यो गह्रौं धातुको कण प्रदूषित हावामा हुन्छ । तसर्थ जीवऔषधीय विज्ञानका अनुसन्धानमा बाँदर अति उपयुक्त जनावर हो । पश्चिमा जीव वैज्ञानिकले यस सन्दर्भमा अनुसन्धान गरेका छन् । उनीहरूको निष्कर्ष छ, बाँदरलाई अशक्त र वृद्धहरूको स्याहार–चाकर गर्नाका लागि सहयोगीको भूमिकामा मजाले प्रयोग गर्न सकिन्छ ।


भेँडा–बाख्रा, हाँस–कुखुराको गोठालो लगाउन, पसलमा स्टाफको रूपमा प्रयोग गर्न र घर रेखदेख गर्नसमेत बाँदरलाई सदाउन सकिने विज्ञहरूको ठम्याइ छ ।


लेखक स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

प्रकाशित : पुस १३, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?