सास्ती दिने शासकहरू !

भन्छन्– गणतन्त्र तर गणतन्त्रको सजीव पात्र अर्थात् नागरिकलाई चाहिँ आफ्नै प्रतिनिधिहरूबाट अपमानित भएर, उनीहरूसित डराएर, तर्सिंदै हिँड्न बाध्य पारिएको छ । 

काठमाडौँ — केही दिनपूर्व संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा उपचाररत बालिकाहरूका लागि काँधमा उपहारको पोको बोकेर बाल अस्पताल गए । त्यसको भिजुवलसहित तस्बिर ‘भाइरल’ भयो । यसले विश्वका सबै प्रतिष्ठित सञ्चारमाध्यममा महत्त्वपूर्ण स्थान पायो ।

सास्ती दिने शासकहरू !

कतिपय माध्यमले समाचारसहित सम्पादकीय लेखे । सामाजिक सञ्जालमा प्रशंसाको बाढी आयो । अनगिन्ती डिजिटल प्रयोगकर्ताले सेयर गरे । अति विशिष्ट अथवा विशिष्ट श्रेणीमा पुगेका मानिसले जब सर्वसाधारणको जस्तो जीवन झल्किने हाउभाउ र शैली अवलम्बन गर्छन्, त्यो अनुकरणीय दृष्टान्त बन्छ । त्यसैले ओबामाको सहजभाव र सरलता व्यापक चर्चा र प्रशंसाको विषय बनेको हो ।


यता नेपालमा अग्रपंक्तिमा पुगेकाहरू सर्वसामान्यको पहुँचबाट टाढा हुँदै जानु, आलिशान आवासमा बस्नु, महँगा वाहनमा सवार हुनु, असुहाउँदो गरी विलासी जीवन व्यतीत गर्नु तथा सर्वसाधारणलाई मान्छे नगन्नुजस्ता घटनाको शृंखला चलिरहेको छ ।


राज्यको नीति निर्माण गर्ने संस्था अर्थात् संसद्का धेरैजसो सदस्य उपत्यकामा आफ्नो घर भई भई राज्यबाट घरभाडा लिने, निजी सचिवालयका सहयोगीको तलब ‘मिलाएर’ आफैं असुल्ने, २४ मध्ये २३ मन्त्रीले यता र उता (मन्त्रिपरिषद् र मन्त्रालय) बाट इन्धन हरण गर्ने, प्रदेशका मन्त्रीहरूले त्यही अनुकरण गर्ने जस्ता प्रकरणका कारण राज्य आर्थिक विचलनको पराकाष्ठामा पुगेको दर्शाएको छ ।


एउटा गरिब राज्यमाथि राज्याधिकारीबाटै लुट चलिरहेको यस्तो समयमा, अमेरिका जस्तो सम्पन्न देशका पूर्वराष्ट्रपति ओबामा एकदमै सहजतासाथ सर्वसामान्यझैं प्रस्तुत भएकाले उनको प्रस्तुति नेपालमा पनि आकर्षण र चर्चाको विषय बनेको हो ।


उनी चर्चित हुनुपूर्व पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान आफू खर्चिलो सरकारी आवासमा नबस्ने, किफायती जीवनशैली अपनाउने घोषणाका कारण चर्चित बनेका थिए । उनका त्यस्ता उद्घोषका कारण नेपालमा पनि तरंग आएको थियो । त्यसअघि विश्वकप फुटबल चलिरहेका बेला क्रोएसियाकी राष्ट्रपति कोलिन्दाको आमनागरिकसरहको व्यवहार र प्रस्तुतिलाई नेपालीहरूले विभिन्न माध्यममा प्रत्यक्ष देखे, आफ्नी राष्ट्रपति पनि आफूजस्तै भइदिए हुन्थ्यो भन्ने कामना गरे ।


बाहिरका घटनाले किन भए नेपाली तरंगित ? के सम्बन्ध ओबामा, कोलिन्दा र खानको व्यवहार, उद्घोष र प्रस्तुतिसँग ? किन तुलना गरिन्छ अन्यत्रकालाई यहाँका नेता, शासक, प्रशासकसँग ? बाह्य जगत्का अतिविशिष्ट मानिसको सरलता र सहजता सम्बन्धित उदाहरणीय व्यवहार र आचरणसँग जोडिएका घटनालाई आफ्ना देशका सन्दर्भमा दाँजेर हेर्नुको कारण हो, हाम्रा त्यस्तै भइदिए हुन्थ्यो भन्ने कामना ।



तर नेपालका राष्ट्रपतिलाई १८ करोडको गाडी, राष्ट्रपति निवास परिसरमै हेलिप्याड र तम्तयार हेलिकप्टर चाहिने कारणचाहिँ के ? नागरिक स्तरबाट प्रश्न उठे, दुर्भाग्य नै हो, ओठेबाहेक जवाफ पाइएन ।


स्वदेश र प्रवासमा बस्ने नेपालीहरूले पनि ओबामा, इमरान र कोलिन्दाका तस्बिरहरूको सेयरिङमा जमेर हिस्सा लिए । प्रशस्तै कमेन्ट लेखे । त्यसको कारण हो, अझ भनौं, नेपालका अग्रपंक्तिको हदै दर्जाको असंवेदनशीलता र ढिटपनाबाट मानिस आजित र वाक्कदिक्क हुनु । नगण्य अपवादबाहेक अग्रपंक्तिमा जो पुगे पनि विलासितामै लुब्ध हुनु ।


पदमा हुँदा राज्यको ढुकुटीमाथि हालिमुहाली, ढलिमली, रजगज गर्नु । अग्रपंक्तिका मानिसले पदमुक्त भएपछि आजन्म सुविधा पाउन, आफूसित पर्याप्त धन हुँदाहुँदै आफ्नो उपचार गर्नसमेत राज्यकोषबाटै खर्चका लागि हुरुक्क हुँदै दबाब दिनु र रकम प्राप्त गर्नु । यस्ता प्रकरणका कारण नेपालको अग्रपंक्ति उदांगिएको एवं सर्वसाधारणको नजरमा नराम्ररी गिरेको छ ।


नागरिक माइक्रोमा कोचिएर यात्रा गर्छ । बस, टेम्पो चढ्छ । पैदल हिँड्छ । जबकि त्यहीं जाम गराएर, सडक रित्याएर राष्ट्रपतिको भव्य सवारी चल्छ । नागरिक चढेको वाहन जाममा फस्छ । उसको यात्रा रोकिन्छ । अस्पताल लगिँदै गरेका नागरिक बाटैमा फत्रकफत्रक हुन्छन् ।


विद्यालय जाँदै गरेका, फर्किंदै गरेका विद्यार्थी अलपत्र पर्छन् । त्यहाँ नागरिकले राष्ट्रपतिमा आफ्नो अनुहार देख्ने सवालै उठ्दैन, बरु अनायास मुखबाट नराम्रो गाली निस्कन्छ । प्रधानमन्त्री कालो सिसा लगाएको गाडीमा चढ्छन् । दुनियाँबाट बेखबर हिँड्छन्, मानौं सपनैमा छन् । उनलाई चुन्ने जनताका टाउकामा उनकै कारण पुलिसको लाठी बज्रिन्छ ।


गृहमन्त्री अर्थात् गृहका मन्त्री देशमा शान्ति सुव्यवस्था कायम गर्ने मन्त्री पनि कालो सिसाभित्रै यात्रा गर्छन् । साइरन बजाउँदै नागरिकलाई तर्साउँदै । सरकारका प्रवक्ता बोल्यैपिच्छे नागरिकलाई धम्क्याउँछन् । अरू मन्त्री लामालामा उपदेश दिन्छन् । पूर्वप्रधानमन्त्री, गृहमन्त्रीहरू पनि आगापिछा लस्कर लिएर हिँड्छन् । अलिकति नेता भइटोपलेको समेत छोइसक्नु हुँदैन ।


भन्छन्– गणतन्त्र तर गणतन्त्रको सजीव पात्र अर्थात् नागरिकचाहिँ आफ्नै प्रतिनिधिहरूबाट अपमानित भएर, उनीहरूसित डराएर, तर्सिंदै हिँड्न बाध्य पारिएको छ । यात्रामात्र होइन, सर्वसाधारण नागरिकको जीवन पनि दु:खसास्तीले भरिएको छ । तर राज्याधिकारीहरू, नेताहरूको अर्कै स्वर्गमय दुनियाँ छ, स्थानीयदेखि केन्द्रसम्मै ।


राज्याधिकारीहरू, नेताहरू विगतका राजा, रजौटा, सामन्त, जमिनदारका नयाँ अवतारका रूपमा प्रकट भएका छन् तर नागरिक भनिए पनि सर्वसाधारण अझै रैती । राज्याधिकारी र नेताहरूमा नागरिकहरूले भोगिरहेका पीडा–व्यथाको कुनै असर परिरहेको कहीं कतै झल्किँदैन, व्यवहारमा न त अनुहारमा ।


यस्तोमा यी राज्य गर्न पठाइएकाहरू, राजनीतिक दलका अगुवाहरूको प्रवृत्ति देख्दा लेखनाथ पौड्यालको तरुण तपसीका यी पंक्तिहरू जीवन्त भएर बोल्छन्, ‘म खाउँ, मैं लाउँ, सुख सयल वा मोज म गरुँ । म बाँचुँ, मैं नाचुँ अरू सब मरुन् दुर्बलहरू ।’ जनतालाई सास्तीमाथि सास्ती, राज्याधिकारीलाई मस्ती, यस्तो व्यवस्था त लोकतन्त्रले कहीं कतै परिकल्पनै गरेको हुँदैन ।


सडक बनाउँदा भ्रष्टाचार, सडक बनाउन र खानेपानीको पाइप वितरणमा समेत बासिन्दाको पार्टी हेरी भेदभाव, विमान खरिद गर्दा अथवा भाडामा लिँदा लाउडा र वाइडबडी प्रकरणजस्ता खुलेआम अनियमितता, जलविद्युत् आयोजना, इन्धन आयात, खाद्य पदार्थ र औषधिमा समेत कमिसनखोरी, कहीं कतै इमान नभएका अधिकांशत: यस्ता मान्छे राज्य सञ्चालन लागि चुनिएरै पुगेका हुन् भन्दा लाजै लाग्ने अवस्था छ ।


प्रश्न उठ्छ, जता हेर्‍यो, त्यतै लुटेराहरूको जगजगीजस्तो के भन्नु, अपसंस्कारले थिचिएको, राजधर्म मरेको यो राज्य कस्तो हो ? संविधानमा जेसुकै लेखिएको भए तापनि यो राज्यलाई कहिल्यै जनसेवक बनाइएन, शताब्दीयौंदेखि जो शासनमा पुग्छ, राज्य उसैको सेवक बन्न अभिशप्त छ ।


यही राज्यमा जनता राणाहरूबाट १०४ वर्ष र त्यसपछि राजाहरूबाट लुटिएर निख्रिएका थिए । त्यही लुटबाट त्राणका लागि गणतन्त्र ल्याइएको हो । तर गणतन्त्र आएपछि आफ्नै भनिएकाहरूबाट जनता यो वा त्यो बहानामा अरू थला पर्ने गरी लुटिन थाले, लुटिइरहेका छन् ।


कस्ता–कस्ता वाचा गरेर पुगेका थिए, वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली, सम्झौं त । के पानी नै खराब छ सिंहदरबार, बालुवाटार र शीतल निवासको ? मन्त्रालयहरूको, मन्त्री निवासको ? प्रश्न गरौं न, कस्तो अन्न खान्छन् यी शासकहरू ? धर्मको अन्न खान्छन् कि पापको ? के त्यहाँ पुगेपछि दया मर्छ ? एउटा गरबि देश, जहाँका जनता माम जुटाउन लाम लागेर प्रवास पस्छन्, तन्नेरीहरू कामदारका रूपमा विदेश जान बाध्य छन् ।


प्रतिदिन करिब १ हजारदेखि १५ सय युवा विदेशिन्छन् । भारतमा मजदुरी गर्न जानेको संख्या त झन् अथाह छ । सिमानामा गएर हेर्नुहोस् स्थिति कति भयावह छ ! तिनको भाग लुटेर आफूले मस्ती गर्दा अपराध लाग्छ भन्ने एकरत्ति मनमा नलाग्ने, कस्तो मन भएका मान्छे पुग्छन् प्रतिनिधि भएर ? अचम्म छ ।


गणतन्त्र आएपछि आफ्ना मान्छे, आफूले चुनेका आफ्नै अनुहारका प्रतिमूर्ति, आफ्नै दु:खदैन्यका साक्षी राज्य सञ्चालनमा पुग्छन्, त्यसपछि ठूलो राहत हुन्छ भनेर गणतन्त्र ल्याउन मरिमेट्ने आज जिल खाएर बसेका छन् । नाजवाफ छन् । गणतन्त्र, लोकतन्त्र, संघीयता निर्जीव प्रतीत हुन थालेका छन् ।


यी शब्दहरू सामान्य होइनन्, राज्य जनताप्रति उत्तरदायी छ भनेर जनाउने शब्दावली हुन् । राज्यधिकारीलाई नियन्त्रणमा राखेर जनतामा प्रतिफल पुर्‍याउने मन्त्रणाहरू हुन् । तर यी शब्दमा निहित अर्थ एकातिर व्यवहार अर्कातिर भइरहेको छ भने यो परिपाटीलाई के भनेर बुझ्ने ? कसरी बुझ्ने ? अर्थात् संविधानमा सुन्दर शब्द राखेर मात्र ती शब्दले बोक्ने भाव जीवन्त नहुँदारहेछन् । यथार्थमा शासनमा पुग्ने मन्छेकै स्वभाव र गुणले संविधानमा लेखिएका शब्दलाई अर्थ दिनेरहेछन् ।


वर्तमान अवस्था भनेको आफ्ना प्रतिनिधि मोजमस्तीमा छन्, तिनैको मस्तीकै लागि व्यवस्था परिवर्तन गरिदिएजस्तो छ । किनभने नागरिकका लागि जता गयो, त्यतै घूसबिना कामै नहुने परिस्थिति छ । एकरत्ति फेरिएको छैन । जबकि, तिनैका प्रतिनिधि भएकाहरू बिलासितामा डुबेका छन् । नयाँनयाँ वाहनमा राजसी सयर गर्छन् ।


कुनै जिज्ञासा राख्दा होस्, प्रश्न गर्दा अथवा गुनासो पोख्दा ओठे प्रतिक्रिया सुन्नुपर्छ । वर्तमान दुई तिहाइभन्दा बढी समर्थन प्राप्त ‘शक्तिशाली’ जनप्रतिनिधि प्रधानमन्त्री ओलीलाई सर्वसाधारण दु:खसास्तीमा छन् भनेर सुनायो भने भन्नेलाई नै उनी उल्टै गिज्याउन थाल्छन् ।


अरू त अरू, आफ्नै दलका, अलिकति मर्मका कुरा गर्ने उनकै पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई समेत कुखुराका चल्लाको कोटीमा राखिदिन्छन् । उनका मन्त्रीहरू भुइँमा हिँड्ने मान्छेलाई मान्छे गन्दैनन् । यस्तोमा सत्ताका सामु लोकतन्त्र पगपगमा पराभूत भइरहेको प्रतीत हुन्छ ।


यी यावत् परिदृश्यको पृष्ठभूमिमा नेपालीहरू ओबामाको व्यवहार देखेर लोभिएका, इमरान र कोलिन्दाको छविले तरंगित भएका हुन् । नागरिकहरूले वास्तवमा आफ्ना जनप्रतिनिधिहरू आफू नजिक भइदिउन्, गणतन्त्र, लोकतन्त्र संविधानमा लिपिबद्ध भएर मात्र नरहुन्, व्यवहारमा अनूदित र जीवन्त हुन सकुन्, महान् परिवर्तन दुर्भाग्य नबनोस्, शासकहरू जनतालाई सास्ती दिने नबनुन्, लोकतन्त्र पराभूत हुने अवस्था नआवोस् भन्ने कामना गरेका हुन् ।

प्रकाशित : पुस १३, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?