१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राजतन्त्रलाई पुँजीवादी जलप

ज्येष्ठ पुत्र राजा हुने राजतन्त्र समाप्त भए पनि जन्मसँगै जोडिएर रहेका वंश, वर्ण, जात र लिंगको एकाधिकार र धेरै मानिसको अधिकार–विहीनता कम भएको छैन ।

काठमाडौँ — कुनै सत्ताच्युत राजा राजधानीको रेस्टुरेन्टमा पारिवारिक जमघटमा नाच्दैमा लोकतन्त्रका लोकहरू उनीसँगै तालमा ताल मिलाएर नाच्ने गर्छन् र ? कुनै भूतपूर्व राजाले अवाञ्छित अभिव्यक्ति दिँदैमा गणतन्त्रका गणहरूले उनको लोलीमा बोली मिलाउँछन् र ?

राजतन्त्रलाई पुँजीवादी जलप

कुनै हिन्दु शासक मठमन्दिर चहार्दै, पूजापाठ गर्दै, मन्त्रोच्चारण गर्दै सनातन धर्म पुन:स्थापनाका लागि भगवानसँग प्रार्थना गर्दैमा आम जनताले उनको पूजाअर्चना गर्छन् र ? कुनै तानाशाहले राजतन्त्र फर्काउन राजनीतिक चलखेल गर्दैमा लोकतान्त्रिक गणतन्त्रका खम्बा हल्लिन थाल्छन् र ?


यस्ता प्रश्नमा नेपाली राजनीतिको बाह्रखरी पढेका कुनै पनि व्यक्तिको जवाफ सकारात्मक हुन सक्दैन । आफूलाई लोकतान्त्रिक गणतन्त्रका मसिहा ठान्नेहरूको असन्तुलित उत्तर सुन्दा ‘नाच्न नजान्ने, आँगन टेढो’ उखान पनि निम्छरो लाग्छ ।


चाहे निजी जमघटमा होस् या सार्वजनिक समारोहमा, सत्ताच्युत राजा ज्ञानेन्द्र शाह नाच्दा विरोध गर्ने प्रचण्ड–शैलीमा लोकतान्त्रिक राजनीतिक र संवैधानिक मर्मसमेत तिरोहित भएको प्रस्ट देखिन्छ । कसैको पनि नाच्ने–गाउने स्वतन्त्रतामाथि आपत्ति जनाउने अराजनीतिक अभिव्यक्ति वा विरोध जनाउने असंवैधानिक व्यवहारकै कारण राजतन्त्रवादीहरूले गणतन्त्रको जगमाथि प्रश्न उठाउने मौका पाएका छन् ।


राजतन्त्रदेखि गणतन्त्रसम्मको तर मार्न पाएका कमल थापाले प्रचण्डको अभिव्यक्ति हतास मनस्थितिको उपज भन्दै सोधेका छन्, ‘ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो ?’ जसले सत्ताशक्तिमा हुँदा आम जनताका निजी र सार्वजनिक जीवनमाथि दमन गरे, वाक् र अभिव्यक्ति स्वतन्त्रता हनन गरे, उनीहरूले नै भूतपूर्व राजाको व्यक्तिगत स्वतन्त्रतामाथि आक्रमण गरिएको आरोप लगाउने अवसर छोप्न भ्याएका छन् ।


कुन संविधान विपरीत ?

लोकतान्त्रिक घोषित संविधान अनुसार कुनै पनि नागरिकको बोल्ने, लेख्ने, नाच्ने, छाप्ने, घुम्ने, पुज्ने अधिकार प्रतिबन्धित छैन, चाहे त्यो पूर्व तानाशाहको होस् या भावी महाराजको ।


कोही नांगै नाचे पनि, बहुलाएर राजतन्त्र पुन:स्थापना गर्ने पश्चगामी अभिव्यक्ति दिए पनि, ‘राजा आऊ देश बचाऊ’ भन्दै प्रदर्शनै गरे पनि आफूलाई लोकतान्त्रिक ठान्ने जोकोहीका लागि ती हर्कत आक्रोश र विरोधले भरिएको भाषणको मुद्दा नबन्नुपर्ने हो ।


सत्ताच्युत राजाको काम बन्द गराउन संसद् गुहारेका सांसद झपटबहादुर रावलले भनेझैं राजतन्त्र पुन:स्थापनाका लागि बोल्नु वा त्यसलाई धार्मिक आवरण दिनु संविधानको व्यवस्था विपरीत हो, तर राज्यले रोक लगाउनुपर्ने गैरसंवैधानिक होइन ।


कसैले जुनसुकै विचार बोकेर लोकतान्त्रिक गणतन्त्र विरुद्ध हतियार नउठाएसम्म, हिंसात्मक वारदात नगरेसम्म, उसको वाक् तथा अभिव्यक्ति स्वतन्त्रतासँगै हिँडडुल गर्ने मौलिक हकलाई कटौती गर्न खोज्नु लोकतान्त्रिक हर्कत हुन सक्दैन ।


पञ्चायती र बहुदलीय संविधान विरुद्ध हतियार उठाएका दल र नेताहरू नै अहिले कसैलाई पश्चगामी त कसैलाई विखण्डनकारीको आरोपमा अभिव्यक्ति, हिँडडुल र सभा–समारोह गर्ने अधिकार बेदखल गर्ने दुष्कर्ममा लाग्नु पाखण्ड प्रदर्शन बाहेक केही होइन ।


विडम्बना, ‘लोकतान्त्रिक र वामपन्थी’ पूर्व प्रधानमन्त्रीदेखि वर्तमान सांसदसम्म पनि सबैभन्दा बदनाम सत्ताच्युत राजाका ‘राजनीतिक चलखेल’ विरुद्ध हावामा हतियार चलाउनमा मग्न छन् । ज्ञानेन्द्र शाहले राजसंस्था पुन:स्थापनाका लागि अभियान चलाएको आरोपमा उनका कारबाहीमाथि रोक लगाउन खोज्ने नेताहरूले मिगुएल डे सर्वान्टेसको पात्र डन किहोतेका हास्यास्पद हर्कतलाई पनि माथ गर्न सक्छन् ।


उपन्यासका डन किहोतेले हावाको चापद्वारा घुमाइने घट्टलाई शत्रु सेनाको जर्नेल ठान्छ र भ्रामक शत्रुविरुद्ध अस्त्र चलाएर प्रभाव विस्तार गर्छ, हाम्रो जमानाका किहोतेहरू विस्थापित राजतन्त्रको भूत र सत्ताच्युत राजाको बुँख्या:चालाई लखेट्दै वीरता प्रदर्शन गर्दैछन् ।


त्रासदी र प्रहसन प्रदर्शन

ज्ञानेन्द्र शाहको दुईपटक सत्तारोहण भइसकेको छ, पहिलोपटक राणाशासनको अन्त्यको मुखैमा, दोस्रोपटक राजतन्त्रको समाप्तिको संघारमा । शाहको इतिवृत्तले कार्ल माक्र्सले फ्रान्समा राजतन्त्रको पुन:स्थापना र नयाँ राजाका रूपमा बोनापार्टको उदयबारे गरेको घोचपेचको सम्झना दिलाउँछ ।


माक्र्सका अग्रज हेगेलले लेखेका थिए, ‘विश्वमा अति महत्त्वको तथ्य दुईपटक घटित हुन्छ ।’ माक्र्सले त्यसमा थपेका थिए, ‘उनले यसमा के कुरा थप्न भुले भने पहिलोपटक त्रासदीका रूपमा, दोस्रोपटक प्रहसनका रूपमा ।’


गणतन्त्रका लागि भएको फ्रान्सेली क्रान्तिका क्रममा सेनापति र राजनीतिज्ञबाट सम्राट बनेका नेपोलियन बोनापार्टले राजतन्त्र पुन:स्थापना गरेका थिए । उनकै भाइका छोरा चाल्र्स–लुई नेपोलियन बोनापार्टले पनि सन् १८५१ मा ‘कू देताँ’ गर्दै राजतन्त्र पुन:स्थापना गरेका थिए, आफू सम्राट बन्दै ।


त्यही बेला माक्र्सले ‘दि एट्टिन्थ बु्रमेर अफ लुई बोनापार्ट’ लेखमा त्यस पश्चगामी प्रकरण र अभियन्तालाई राजनीतिक प्रहसन र खलपात्रका रूपमा उडाएका थिए । ‘माक्र्सवादी’हरूबाट शासित समकालीन नेपालमा एकै व्यक्तिको नामबाट दुई–दुईपटक प्रदर्शन भइसकेको प्रहसन तेस्रोपटक घटित हुने सम्भावना छैन, बरु घटना र पात्रमा फेरबदलका साथ नयाँ प्रहसन हुनसक्छ ।


किनभने लोकतान्त्रिक गणतन्त्रका लागि लडेका वा त्यसको तर मारेका ‘लोकतान्त्रिक वा वामपन्थी’ नेताहरू नै नयाँ महाराज र नयाँ महारानी हुँदैछन् र ‘बहुदलीय राजतन्त्र’का रूपमा राज्य चलाइने खतरा छ ।


इतिहासकार रामशरण शर्माका अनुसार कुनै बेला ‘राजा’को मतलब गणतन्त्रको प्रधान थियो भने अहिले त्यसको अर्थ भयो– स्थानीय सामन्ती प्रभु । गण वा प्रजा वा लोकबाट तन्त्र अलग्गिने, त्यस तन्त्रमाथि एउटै व्यक्ति, वंश, वर्ण, जात र लिंगको एकाधिकारसँगै राजतन्त्र स्थापित भएको इतिहास छ ।


नेपालमा ज्येष्ठ पुत्र राजा हुने राजतन्त्र समाप्त भए पनि जन्मसँगै जोडिएर रहेका वंश, वर्ण, जात र लिंगको एकाधिकार र धेरै मानिसको अधिकारविहीनता कम भएको छैन । विशेष वर्णमा जन्मिएकै आधारमा पाइने भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक प्रभुत्व विभिन्न रूपरंगमा जारी छ, जसले आर्थिक जीवन र अर्थसत्तालाई पनि प्रभावित पार्छ । ‘एक लज्जित पुरुषको बकपत्र’मा युग पाठकले जस्तै आफूलाई आत्मालोचक नजरले नियालेर हेरियो भने एक पहाडी ब्राह्मण पुरुषका लिखित–अलिखित विशेषाधिकारको सगरमाथा देखिन थाल्छ ।


राजतन्त्रका अनेक आयामको अभ्यास

नेपालको राजतन्त्रलाई शाह–वंशको शासन र सामन्ती संरचनाका रूपमा मात्रै बुझियो भने राजनीतिक बुझाइ अपुरो हुन्छ । यहाँको राजतन्त्र गोरखाका हिन्दु राजाको निर्विवाद शासनाधिकार र शक्तिमात्रै होइन, त्यसले बोक्दै आएका मूल्य–मान्यता र आचरण पनि हो ।


यहाँ शाह–वंशीय राजतन्त्रको अन्त्यपछि पनि सनातन हिन्दु मूल्य–मान्यता र परम्पराको सर्वाेच्चता, वर्ण र जातको विभाजनमा आधारित श्रेणीबद्ध सामाजिक व्यवस्थाको निरन्तरतासँगै सरकार, प्रशासन र शिक्षामा एक भाषाको प्रचलन एवं मान्यताको दबदबा कायम छ । एकल जातीय राजनीतिक नेतृत्वले निरन्तरता दिँदै आएका सामन्ती मूल्य–मान्यता, आचरण र ढाँचाले जन्मजात विशेषाधिकारलाई टेवा दिँदै आएको छ, जसले राजतन्त्रकै पुरातन संरचना, संस्कृति र मानसिकतालाई बोक्छन् ।


राजतन्त्रका सारभूत तत्त्वतिर जान नखोज्ने तर राजतन्त्रको भूत र ज्ञानेन्द्र शाहको बुँख्या:चासँग लड्ने सजातीय नेतृत्वले बेवास्ता गरेको वा ध्यान मोड्न खोजेको खास पक्ष हो– राजतन्त्रकै पुरातन संरचना, संस्कृति र मानसिकता । राजतन्त्रलाई ‘गथांमुग:’जस्तै फ्याँक्दैमा नफ्याँकिने हिन्दु सामन्तवादी आयाम पुँजीवादसँग गठजोडमा फल्दै–फुल्दै गरेको देख्न पाइनु समाजवाद–उन्मुख लोकतान्त्रिक गणतन्त्रकै त्रासदी हो ।


यही त्रासदीको परिणामस्वरूप गणतन्त्रका नायक र सञ्चालकबाट पुनरुत्पादन भइरहेका पक्ष हुन्– हिन्दु सामन्तवादले जन्माएका श्रेणी–विन्यास वा वर्ण–वर्गको विभाजन, पितृसत्तात्मक पारिवारिक संरचना र तिनले निर्माण गर्ने सत्ता–शक्ति–सम्पत्तिको प्रभुत्वसँगै सांस्कृतिक वर्चस्व । पहिलेदेखि राज्य र दलदेखि मिडिया, स्कुल र परिवारसम्ममा छाएका हिन्दु सामन्तवादी आयाम पुँजीवादी लोकतन्त्रमा नयाँ–नयाँ रूपरंगमा प्रकट हुँदैछन् ।


राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले बहुधार्मिक देशमा हिन्दु राजाकै शैलीमा पूजापाठ गर्दै हिँड्नु तथा राज्यको संविधानले एक धर्मको रक्षा र संरक्षणको मन्त्र जप्दै बस्नु सामन्तवादी मूल्य–मान्यताको निरन्तरता हो भने आधुनिक शिक्षा व्यवस्थाका नाममा जारी राखिएको विशेष वर्णमा जन्मिएकै आधारमा पाइने भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक प्रभुत्व त्यसको पुँजीवादी संस्करण हो ।


रामशरण शर्माका अनुसार सामन्तवादमा वैश्यबाट दानदक्षिणा र कर–नजराना–भेटी असुल्न तथा शूद्र–अछूतबाट श्रम–सेवा पाउन थालिएको वर्ण–वर्ग–श्रेणी विन्यास तथा त्यसले जन्माएको असमानता र विभेदलाई कर्मकाण्डी व्यवस्थाद्वारा वैधता दिइन्छ ।


पुँजीवादी लोकतन्त्रमा भने वर्ण–वर्ग–श्रेणी विन्यासको आधार शिक्षा व्यवस्था अन्तर्गत योग्यतातन्त्र, खुला प्रतिस्पर्धा र सार्वजनिक परीक्षा प्रणाली बनाइएको छ । प्रशासनदेखि सबैजसो व्यापारिक र बौद्धिक संरचनाका श्रेणी–विन्यासमा पस्न यही सजातीय भाषाको एकद्वारमार्फत छिर्नु अनिवार्य गरिएको छ । झट्ट हेर्दा सबै वंश, वर्ण, जात, लिंग, क्षेत्र, भाषा, धर्म, संस्कृतिका व्यक्तिका लागि स्वतन्त्र, खुला, समान र प्रतिस्पर्धी बनाइएको भान हुने सजातीय भाषाको एकद्वार प्रणाली स्वयंमा न लोकतान्त्रिक छ, न न्याय र समतामूलक ।


कुनै न कुनै रूपमा राजतन्त्र र त्यसको हिन्दु सामन्तवादी संरचना र संस्कृतिले जस्तै वर्ण–वर्ग–श्रेणी विन्यास, पितृसत्तात्मक पारिवारिक संरचना र सत्ता–शक्ति–सम्पत्तिको प्रभुत्व कायम गर्ने नीति–नियम–नियतको पक्षपोषणमा तथाकथित लोकतान्त्रिक र वामपन्थी दल र नेतृत्व क्रियाशील रहनु अर्काे अर्थमा ‘बहुदलीय राजतन्त्र’का लागि सक्रिय हुनु हो ।


शाही राजतन्त्र र ज्ञानेन्द्र शाह सिंहासनबाट च्युत हुँदैमा राजतन्त्रका मूल्य–मान्यता, परम्परा, संस्कृति र संस्कृति पनि अन्त्य भएको कसरी मान्न सकिन्छ र ? नयाँ ‘महाराज’ र ‘महारानी’सँग त्यस्ता मूल्य–मान्यता, परम्परा, धर्म र संस्कृतिलाई समाजवादी रङ्गरोगन गर्ने कला र सीपको अभाव छैन ।


twitter : @rmaharjan72

प्रकाशित : पुस १७, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?