कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पाहुना चरा विस्थापित 

बसाइँ–सराइ गर्ने पाहुना चराहरूको आहार, बासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थल हाम्रा सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन जरुरी छ ।

काठमाडौँ — नेपालमा पाइने चराका ८ सय ८६ प्रजातिमध्ये सबै चरा वर्षभरि नै नेपालमा भेटिँदैनन् । जाडो मौसममा अन्यत्रबाट बसाइँ–सराइ आउने हिउँदे आगन्तुक र गर्मी मौसममा आउने ग्रिष्मकालीन आगन्तुक पाहुना चराहरूको आवत–जावत वर्षभरि चलिरहन्छ ।

पाहुना चरा विस्थापित 

विश्वमा पाइने चराका ११ हजार १ सय २१ प्रजातिमध्ये करिब २२ सय २५ प्रजातिका चरा मौसम अनुसार बसाइँ–सराइ गर्ने गर्छन् ।


वर्षेनि करिब १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा उत्तरी मुलुकहरू रूस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्छन् । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हँुदै भारत, पाकिस्तान र श्रीलंकातिर जाने गर्छन् । उत्तरी धु्रवमा हिमपातको सुरुवातसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा हजारौं पाहुना चरा बसाइँ सरी आउने गर्छन् ।


जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरूको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छ, जुन नेपालका प्रमुख सिमसार क्षेत्र– कोसीटप्पु, चितवन, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरूमा मूल रूपमा आफ्नो समय व्यतित गर्छन् । जाडो सकिँदै गर्दा हिउँदे आगन्तुक चराहरू आआफ्नो स्थायी बासस्थान फिरिसकेका हुन्छन् भने दक्षिणी मुलुक र अफ्रिकासम्मबाट हजारौं ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आइसकेका हुन्छन् । यसरी आउने करिब ६० प्रजातिका पाहुना चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् ।


सिमसार क्षेत्रमा आश्रित हिउँदे पाहुना चराहरू पछिल्ला वर्षमा सिमसार क्षेत्रको संकुचन तथा विनाश, उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा सिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले विस्थापित हँुदै गएका छन् । बसाइँ–सराइ गरी आउने चराहरू लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ स्थान हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम हुन्छ । सिमसार क्षेत्र आफैमा बहुआयामिक र जैविक महत्त्वको क्षेत्र हुँदाहुँदै पनि सबैभन्दा बढी ह्रास हँदै गएको सम्पदा हो ।


सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा धार्मिक पर्वहरूमा पूजाका सामान विसर्जन, बाह्य तथा मिचाह प्रजातिको संक्रमण, भूक्षय र वरपरबाट बगेर आउने भलसँगै ढुंगा, बालुवा, पांगो माटो थुप्रिनुका साथै पछिल्ला दिनहरूमा पर्यटन प्रबद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचना निर्माण र वनभोज जस्ता पर्यावरण अमैत्री क्रियाकलापले सिमसारको गुणस्तर र आयु छोट्याइदिएको छ । उदारणका लागि काठमाडौंको टौदह र कपिलवस्तुको जगदीशपुर ताललाई लिन सकिन्छ ।


हाल विश्वबाटै लोप भैसकेको अनुमान गरिएको गुलाफी टाउके हाँस, विश्वमै दुर्लभ कैलो टाउके हाँस लगायत कैयौं पाहुना चरा कुनै समय टौदह क्षेत्रमा अभिलेख गरिएका थिए । आज पोखरी सिमेन्टी पिढी र वरिपरि कटेजले सिँगारिएको त छ, तर पाहुना चरा आउनै छाडे । किनकि यो सब उनीहरूका लागि उपयोगी छैन । जगदीशपुर जलाशय देशकै सबैभन्दा उत्कृष्ट पाहुना चराको आरक्ष क्षेत्र हो । तर पछिल्ला दिनहरूमा तालमा बन्दै गरेका भौतिक संरचना र डुङ्गा चलाउने कार्यको सुरुवातले विस्थापित भएका छन् ।


यसले पानी चरालाई मात्र होइन, त्यस क्षेत्रको समग्र जैविक विविधता संरक्षण, दिगो विकास र पर्यावरण–मैत्री दिगो पर्यटन प्रबद्र्धनमा चुनौती दिइरहेको छ । रामसार क्षेत्र र महत्त्वपूर्ण चरा तथा जैविक क्षेत्रजस्तो अन्तर्राष्ट्रिय महत्त्वको यस ठाउँमा पछिल्ला दिनहरूमा विकसित क्रियाकलापले विश्वव्यापी रूपमा चिन्ता जाहेर भएको छ ।


१९८७ देखि वर्षेनि गरिँदै आएको सिमसारमा आश्रित चराहरूको गणनाले हिउँदे आगन्तुक पानी चराहरूको अवस्था खतरा उन्मुख देखाएको छ । नेपालमा पाइने विश्वका दुर्लभ चराहरूमध्ये १३ प्रजाति त जलपन्छी नै छन् । नेपाल पन्छी संरक्षण संघको एक अध्ययन अनुसार संकटापन्न अवस्थामा रहेका १ सय ४९ प्रजातिका चरामध्ये ४० प्रजाति सिमसारमा आश्रित छन् ।


यी आगन्तुक चराहरू केही बीच–बीचमा बास बस्दै र केही सिधै उडेर हजारौं माइलको यात्रा अनेकौं जोखिम पार गर्दै नेपाल आउने गर्छन् । गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि यी चराहरू सूर्य तथा तारा, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्छन् । यसरी चराहरूले बसाइँ–सराइको बेला प्रयोग गर्ने बाटोलाई फ्लाइवे भनिन्छ । विश्वमा ८ वटा यस्ता बाटा छन्, तीमध्ये नेपाल मध्यएसिया बाटोमा पर्छ ।


यसर्थ बसाइँ–सराइ गर्ने पाहुना चराहरूको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थल हाम्रा सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन जरुरी छ । बसाइँ–सराइ गर्ने चराहरू एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने–जाने गर्ने हुँदा संरक्षणका लागि विश्वव्यापी जनचेतना अभिवृद्धि र संरक्षणमा समन्वयात्मक क्रियाशीलता, एकीकृत सोच, अवधारणा र कार्यक्रम आवश्यक छ ।


बदलिँदो संरचनामा स्थानीय निकाय स्वायत्त र शक्ति सम्पन्न भएका छन् । कतिपय स्थानमा पर्यावरण–मैत्री दीर्घकालीन योजना र नेपाल पक्षराष्ट्र भएका वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा ख्याल गरेको

देखिँदैन । स्थानीय निकायले स्थानीय स्तरमा यी पाहुना चरा र तिनको बासस्थान संरक्षणलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवं पर्यटन उद्योग र विकास सँगसँगै लैजान समन्वयकारी तथा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ ।


चरा जोगाउन दशकअघि वाणगंगा जलउपभोक्ता संस्थाले लगाएको माछा पालनको ठेक्का सर्वोच्च अदालतले बदर गरेपछि सिमसारको गुणस्तरसँगै चराका प्रजाति र संख्या उल्लेख्य रूपमा बढेको थियो ।


बसाइँ–सराइ गर्ने पाहुना चरा जसले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जोडी खास प्रकारको वातावरणीय सूचकको काम गरिरहेको हुँदा अभ्यासमा आधारित सहभागितामूलक संरक्षण पद्धतिलाई दीर्घकालसम्म सनातन राख्नु हामी सबैको कर्तव्य हो । पाहुनाको स्वागत, सत्कार र सुरक्षा हामी नेपालीको परम्परागत संस्कार र चलन हो । यसर्थ यी पाहुना चरालाई स्वागत गरौं, संरक्षण गरौं र स्थापित बनाई दिगो पर्यावरण–मैत्री विकास, पर्यटन प्रबद्र्धन र समृद्धिको बाटोमा बढौं ।

प्रकाशित : पुस १८, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?