२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

राष्ट्रिय ध्वजावाहकको कमजोर सेवा

साना तहका कर्मचारीदेखि उच्च व्यवस्थापकसम्मकाले ल्याकतअनुुसारको जिम्मेवारी बहनमा बेइमानी गरेर नेपाल वायुसेवा निगम ध्वस्त पार्दै लगेको देखिन्छ । 
रोजिना पोखरेल

काठमाडौँ — केही साता अगाडि काठमाडौंबाट विराटनगर जान नेपाल एयरलाइन्सको टिकट बुक गरेर बिहान ७:४५ बजेको फ्लाइटका निम्ति एयरपोर्ट गएँ । बोडिङ पास लिने ठाउँमा एकजना युवती आफ्नो सामानको वजन र तिर्नुपर्ने अतिरिक्त शुल्कका विषयमा विवाद गर्दै थिइन् । ती युवती विदेशबाट आएकी रहिछिन् ।

राष्ट्रिय ध्वजावाहकको कमजोर सेवा

नि:शुल्कको वजनभन्दा लगेज ७३ केजी बढी भएकाले अतिरिक्त पैसा लाग्ने बताउँदा ती युवती कराउँदै थिइन् ।


काउन्टरबाट एक स्टाफले ‘उता बस्दै गर्नुस्, म मिलाउँछु’ भन्दै उनलाई लगे । केही समयपछि ती युवती हाँस्दै आइन् र ‘अलि सस्तोमा मिलाएँ’ भनिन् । बढी वजनमा लाग्ने शुल्क यसरी मिलाउँदा मिल्ने व्यवस्था रहेसम्म नेपाल वायुसेवा निगमको सुधार होला ?


बोडिङ पास लिएर भित्र पसेँ । अरु एयरलाइन्सका डेक्समा स्टाफ थिए । नेपाल एयरलाइन्सका भने कोही थिएनन् । ७:३५ तिर एक मोटा, दाह्री फुलेका, पाको उमेरका मानिस आए । तिनी स्टाफ रहेछन् । ‘प्लेन टाइमै छ नि ?’ भन्दा सोध्दा ‘प्लेनको टाइम भयो र ?’ भन्ने जवाफ दिए । केही समयपछि उद्घोषण भयो, ‘विराटनगरमा हस्सु लागेकाले प्लेन उडानको समय ८:४५ कायम गरिएको छ ।’


अरु एयरलाइन्सले पनि विराटनगरको उडानमा त्यस्तै सूचना सुनाए । अन्तत: १० बजेतिर बसमा राखेर प्लेन चढाउन लगियो । बसबाट उत्रेपछि केही समय लाइनमै उभिन भनियो, अनि बाहिरबाट प्लेनको पङ्खा लगायत परीक्षण गर्न थालियो । आधा घन्टासम्म उभिँदा ‘प्लेनको अगाडिको बत्ती बलेन, अत: तपाईहरू गाडीमा बस्नुहोला’ भनेर पुन: बसमा बसाइयो । हामी बसमा १ घन्टाजति बस्यौं । बच्चा पानी खाने भन्दै थिए, कोही भोक लाग्यो भन्दै थिए, कोही बाथरुम जाने भन्दै थिए । त्यहाँ एयरलाइन्सको स्टाफका रूपमा एक ड्राइभरमात्र थिए ।


उनी भन्दै थिए, ‘कृपया बाहिर ननिस्किदिनु होला ।’ हारगुहार गरेपछि बाथरुम जाने प्रबन्ध मिल्यो । धेरै बेरपछि उडान भयो । प्लेनमा समस्या आउन सक्छ । तर प्लेन उडानको समय ७:४५ हुँदा परीक्षण कति बजे गर्नुपर्ने हो ? डिले भइकन पनि यात्रु चढाउन लाग्दा जहाज परीक्षण सुरु गर्ने कस्तो व्यवस्थापन हो ?


म मिल्दासम्म राष्ट्रध्वजावाहक नेपाल एयरलाइन्समा यात्रा गर्ने गर्छु । मनमा ढुक्क भने हुँदैन, हरेकपटक केही न केही व्यवस्थापकीय समस्या देखिइरहन्छ । लोकसेवा आयोगको प्रत्यक्ष सहभागिताबाट पदपूर्ति गरिएका कर्मचारी विस्तारै आइरहँदा अब सुधार होला भन्यो, तर उस्तै देखिन्छ ।


राष्ट्रध्वजावाहकमा गिद्दे नजर बढ्दै गएको भान हुन्छ । वाइड बडी खरिद प्रकरणका आइरहेको नकारात्मक समाचार देख्दा, वायुसेवाका बिग्रिरहने विमानका खबर पढ्दा लाग्छ, त्यहाँ सक्नेले लुट मच्चाइरहेका छन् । निगम लुटको माध्यम बन्दै गर्दा यसका सेवामा विश्वास गर्न गाह्रो पर्दै आएको छ । नेपाल वायुसेवा निगमको नाम चाँडै हराउने हो कि जस्तो लाग्छ ।


कहिलेकाहीं निगमलाई ध्वस्त पार्न सुनियोजित रूपमा खेदो खन्ने गरिन्छ भन्ने सुन्थेँ । तर निगमको आर्थिक, वित्तीय स्थिति, सेवा प्रवाह हेर्दा अरुले होइन, आफ्नै साना तहका कर्मचारीदेखि उच्च व्यवस्थापकसम्मकाले ल्याकत अनुुसारको जिम्मेवारी बहनमा बेइमानी गरेर ध्वस्त पार्दै लगेको भान हुन्छ । आफ्नो संस्थाको प्रगति, उन्नतिका लागि गलत कार्य, भ्रष्टाचार विरुद्ध बुलन्द आवाजका लागि संगठित हुन नसक्ने कर्मचारी राजनीतिक दलका कार्यकर्ताको रूपमा विभक्त भएर आफ्नो खुट्टामा आफै बन्चरो हान्दैछन् । हरेक कार्यमा अनुचित लागत बढ्दै जाँदा, बढाउँदै जाँदा वायुसेवा निगम हरेक दृष्टिबाट सेतो हात्ती बन्दै आएको देखिन्छ ।


आम जनतालाई सर्वसुलभ वस्तु तथा सेवा उपलब्ध गराउन, राज्यमा रोजगारी सिर्जना गर्न सघाउ पुर्‍याउन, सामाजिक, आर्थिक, पूर्वाधार निर्माण गर्दै समग्रमा मुलुकको विकासमा सकारात्मक योगदान गर्न सार्वजनिक संस्थान स्थापना गरिएका थिए । तर संस्थानहरूको योगदान तथा प्रभावकारिता सन्तोषजनक देखिँदैन । नेपाल वायुसेवा निगमको सञ्चालन स्थिति तथा व्यवस्थापकीय र वित्तीय कार्यसम्पादन सूचकहरूमा अपेक्षित स्तरमा सुधार छैन । संविधानले सरकारी, निजी र सहकारीको संलग्नता र उच्च क्रियाशीलताबाट आर्थिक पक्षको मजबुती खोजेको छ । आर्थिक कार्य प्रणालीलाई व्यवस्थित र चुस्त पार्न निगम लगायतका संस्थानको कार्यपद्धतिमा आमूल परिवर्तनको खाँचो छ ।


व्यावसायिक कार्यकुशलताका आधारमा निगम मुलुकको आर्थिक तथा सामाजिक विकासको एक आधार स्तम्भको प्रतीक हुनुपर्छ । निगमले कार्यसम्पादन परिसूचकहरू सुधार गर्नुपर्छ । सेवा शुल्क क्षेत्रमा कार्टेलिङ र सिन्डिकेट नियन्त्रण जस्ता कार्यमा निगमको भूमिका हुनुपर्छ । यसलाई पूर्णरूपमा व्यावसायिक, जवाफदेही र उत्तरदायी बनाई सञ्चालन तथा व्यवस्थापन गर्न जरुरी देखिन्छ । व्यवस्थापनमा अनावश्यक राजनीतिक लगायत बाह्य हस्तक्षेप र नियन्त्रण खुकुलो पार्दै सक्षम महाप्रबन्धक लगायतको नियुक्ति गर्नुपर्छ । निगम अधिकार सम्पन्न निकाय बन्नुपर्छ ।

राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रको प्रतिनिधित्वसमेत गरेको हुन्छ । सीमित स्वार्थका लागि सारा नेपालीको इज्जत गुमाउनेगरी सेवा प्रवाहमा लापरबाही गर्ने छुट निगमलाई हुन्न । लुट्ने र सारा नेपालीलाई धोका दिने कार्यमा सुधार ल्याउन राजनीतिक नेतृत्वले इच्छाशक्ति देखाउनैपर्छ । होइन भने अनियमितताका काण्डहरू दोहोरिरहन्छन् ।


सुरक्षित उडान, नियमितता र विश्वसनीयता बढाउँदै नयाँ–नयाँ सम्भावना खोज्न निगमले अल्पकालीन र दीर्घकालीन योजना तयार गरी त्यसको कुशल कार्यान्वयन गर्न जरुरी छ । आशा छ, आगामी दिनमा नेपाल वायुसेवा निगमको विमानमा यात्रा गर्दा गौरव महसुस गर्न पाइयोस् ।

प्रकाशित : पुस १८, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?